Websoft University

www.radiomakalu.com || 021-522512


नेविसंघको चुनावी परिणामले पौडेल समूहमा किचलो, सिटौला बलियो !


Nepali Congress New cc
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक । फाइल फोटो
काठमाडौं,भदौ ३ गते । ठूलो रस्साकस्सीपछि नेपाल विद्यार्थी संघको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । तर, विद्यार्थीको चुनावी परिणामले भने कांग्रेसमा ठूलै तरंग ल्याएको छ ।

अधिवेशन विद्यार्थीको थियो । तर, प्रतिस्पर्धामा भने माउ पार्टी कांग्रेसका तीन गुट मैदानमा उत्रिए । चुनावी परिणामले पार्टी नेतृत्वमा पारेको जोडघटाउको प्रभावबारे कांग्रेसमा बहस अझै सकिएको छैन ।

पौडेल गुटमा शेखरको चुनौती

नेविसंघको चुनावले रामचन्द्र पौडेल गुटमा अन्तरकलह सिर्जना गरेको छ । यो विद्यार्थीसम्म पुगेको थियो । समूहको आधिकारिक उम्मेदवार मनोजमणि आचार्य थिए । तर, त्यही समूहका आनन्दप्रसाद त्रिपाठीले त्यसलाई चुनौती दिए ।

आचार्य महरसँग ११९ भोटले हारेका हुन् । त्रिपाठीले पाएको मत ३३८ छ । यसरी हेर्दा त्रिपाठी नभएको भए आचार्यर्ले जित्ने सम्भावना निकै बलियो हुने थियो भन्न सकिन्छ ।

त्रिपाठी संस्थापन समूहका लोकपि्रय विद्यार्थी नेता हुन् र नेविसंघको अध्यक्षमा उनको उम्मेदवारीमा शेखर कोइरालाको दह्रो साथ थियो । यसले के संकेत गर्छ भने विद्यार्थीमा मात्रै होइन, कुनै पनि बेला पौडेल समूहमा रामचन्द्र पौडेलले थप चुनौति झेल्न सक्छन् ।

पार्टीको १३ औं महाधिवेशनमै यो समूहको सर्वसम्मत नेता हुन पौडेललाई हम्मेहम्मे परेको थियो । प्रकाशमान सिंहदेखि डा. रामशरण महत र सुजाता कोइरालाले नेतृत्व दाबी गरेका थिए । भलै उनी नै नेता भए तर, चुनाव जित्न सकेनन् ।

शेरबहादुरको विजय रथ

पार्टीमा लामो समयसम्म विपक्षी खेमामा बस्दै आएका शेरबहादुर देउवा गत फागुनमा सभापति भए । उनी सभापति भएपछि यो नै भ्रातृ संगठनको पहिलो अधिवेशन थियो । जसमा उनले आफ्ना उम्मेदवारलाई विजयी गराउन सफल भएका छन् ।

नेविसंघको चुनावी परिणामले देउवा समूहमा कुनै असर गरेको छैन, मनोवल बढाएको छ । उम्मेदवार छनौटमा केही समस्या नदेखिएको होइन । तर, उनले अध्यक्षका अर्का दावेदार जितजंग बस्नेतलाई मनाउन सफल भए र नैनसिंहले चुनाव जिते

सिटौला समूह अझै स्थापित भयो

कांग्रेसको १३ औं महाधिवेशन अघिसम्म कृष्ण सिटौला, गगन थापाहरु संस्थापन समूहमै थिए । यदि महाधिवेशनको संघारमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन नभएको भए शायद उनीहरु त्यही समूहमा हुन्थे ।

तर, महाधिवेशनमा कृष्णप्रसाद सिटौला र गगन थापाले तेस्रो समूह बनाउने प्रयास गरे । आफूले धेरै मत नपाए पनि सभापतिको चुनावलाई दोस्रो चरणमा धकेल्न सफल भए । महाधिवेशनपछि पार्टीमा तेस्रो समूहका रुपमा स्थापित हुने प्रयासमा रहेको यो समूहलाई नेपाल विद्यार्थी संघको अधिवेशन एउटा अवसर बन्यो ।

नेताहरुले बताएअनुसार पार्टीको महाधिवेशनमा छुटि्टएका प्रदीप पौडेल विद्यार्थीको चुनावमा एकै ठाउँमा आएपछि यो समूहले छुट्टै चुनाव लड्ने तयारी गरेेको थियो । किनकि शेरबहादुर देउवा पक्षले सम्मानजनक ठाउँ दिन चाहेको थिएन ।

तर, रामचन्द्र पौडेल समूह अधिवेशन हुन नदिने खेलमा लाग्दा प्रदीप र गगनहरु निर्णायक बने र देउवालाई साथ दिए । जसले विद्यार्थीमा देउवा सिटौलाको गठवन्धन बन्यो ।

यो समूहबाट कुन्दन काफ्ले महामन्त्री बनेका छन् । पदाधिकारीमा ८/९ जना यो समूहबाट आएको छ भने सिंगो केन्द्रीय समितिमा झण्डै ४० जनाको उपस्थिति हुनेछ । यो समूहका एक नेता भन्छन्, यसले पार्टीमा तेस्रो समूह बन्ने हाम्रो प्रयासलाई बल मिलेको छ ।’

यो यसअर्थमा पनि महत्वपूर्ण छ कि रामचन्द्र पौडेल समूहको विद्यार्थीमा उपस्थिति निकै कमजोर छ । केही उपाध्यक्ष, कोषाध्यक्ष त छ तर, उनीहरु निर्णायक होइनन् ।

महामन्त्रीमध्ये एक पौडेल समूहको (दीपक भट्टराई २ मतले हारेका छन्) आएको भए सिटौला समूहलाई गाह्रो हुने थियो । किनकि एउटा समूहको नैन र अर्को समूहको नेता भट्टराई हुने थिए र कुन्दन छायाँमा पर्ने थिए । तर, त्यसो हुन सकेन । बरू सिटौला समूहका कुन्दन आफु मात्रै जितेर आएका छैनन्, उनले नैनसिंहलाई जिताएका छन् । यदि उनको समर्थन नभएको भए नैन जित्न सक्दैनन् भन्ने स्थापित भएको छ ।

मन्त्रिपरिषद भागवण्डामै असर गर्छ ?

नेविसंघको चुनावी परिणाम आएसँग कांग्रेसको पहिलो कार्यभार मन्त्रीहरु छनौट गर्नुछ । उसले १३ मन्त्रालय पाएकोमा ११ मन्त्री चयन गर्न बाँकी छ र भागवण्डाको बहस चलिरहेको छ ।

नेताहरुका अनुसार नेविसंघको चुनावी परिणामले यो बहसमा ठूलो फरक पार्ने छैन । पार्टी सभापति शेरबहादुर देउवा एउटा मुडमा पुगिसकेका छन् र, पौडेल समूहलाई पाँच तथा सिटौला समूहलाई एक मन्त्रालय दिने उनको तयारी देखिन्छ ।

तर, सहजै अनुमान के लगाउन सकिन्छ भने नेविसंघको चुनावी परिणामले पौडेल समूहको स्वर केही मलिनो बनाउनेछ भने सिटौला समूहलाई केही उर्जा दिनेछ ।-अनलाइनखबरबाट




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget