पौरस्त्य (पूर्वी गोलाद्र्धको) राज्यव्यवस्था पाश्चात्यभन्दा पृथक् थियो । 'प्रजाको रक्षा नगर्ने राजालाई सबै मिलेर बहुला कुकुरलाई झैँ मारे पनि हुन्छ' भन्ने शुक्राचार्यको घतलाग्दो कथन राष्ट्रनायक-जननायक दुवैका निम्ति हो । उनले भनेका छन्- 'रक्षिष्यामि व इत्युक्त्वा यो न रक्षति भूमिपः । स संहत्या निहन्तव्यः श्वेव सोन्माद आतुरः।।' 'नराणां न नराधिपः' भनेर योग्य शासक (राजा) विष्णु (भगवान्) जस्तै हुन् भन्ने धर्मग्रन्थले नै नालायक राजालाई मृत्युदण्ड दिनुपर्छसमेत भनेको पाइन्छ ।
सुन्दा अप्रिय तर सत्य यस्ता वचनको सार हो- 'कोही पनि सत्तामा बसेर कर्तव्यच्युत र निरंकुश हुन पाउँदैनन् ।' राष्ट्र सञ्चालकहरूले नै विधिको शासन (रुल अफ ल) उल्लंघन गर्ने र एकपटक पूर्णतः असफल भएका व्यक्तिले पुनः राज्यसत्ता सम्हाल्ने कुरा निर्मम ठट्टा हो । नेपालमा यस्तो ठट्टा बारम्बार दोहारिए पनि जनताले सहँदै आएका छन्, तर सधैँ कहाँ सहन्छन् र !
१८९७ साल असार १० गते नेपालमा पहिलोपटक सैनिक विद्रोह भयो । सेनाका जवानहरू हतियार बोकेर सडकमा आए । राष्ट्रका परम्परा, काइदा-कानुन र रीतिथिति बिगार्न खोजेको भन्दै घरघरमा गएर कैयन् ठूलाबडालाई लछारपछार गरे । त्यो अनुशासनहीन कारबाही थियो । तर सेनाका अधिकृत र जवानको तलबभत्ता घटाउने षड्यन्त्रकारी भारदारहरूलाई चेतावनी पनि थियो ।
सरकारले गलत नजिर स्थापना गर्न खोज्दा संगठित र सशक्त आवाज उठाउने त्यसबेलाका सैनिकहरूले बट्टाको धुलो दूध होइन, आमाको दूध नै खाएका थिए । त्यसैले सो घटनापछि धेरै वर्षसम्म शासकहरूले सेनाको मानमर्दन गर्ने हिम्मत गरेनन् । निष्कलंकहरूले शिर झुकाउनु पर्दैन भन्ने उदाहरण थियो, त्यो घटना । इतिहासमा यस्ता उदाहरण अरू पनि भेटिन्छन् ।
राजाका छोरा बोक्ने (ददा) गंगे दरबारमा कसरी गगनसिंह काजी भयो भन्ने कुरा डायमन शमशेरले वसन्ती उपन्यासमा मार्मिक र सुन्दर ढंगले वर्णन गरेका छन् । २०४६ सालको परिवर्तनपछि नेपालमा धरै गंगेहरू 'गगनसिंह' भए । ०६२÷६३ सालपछि विदेशीका एजेन्डा बोक्ने ददाहरू नै राजनीतिमा प्रबल हुन पुगे । त्यसैले नेपाल र नेपालीका एजेन्डा बोक्ने सुरवीरहरूको खोजी गर्दैछ, आजको युवापुस्ता ।
राजधानीका सडकहरूमा यदाकदा ठूलाठूला जुलुस प्रदर्शन हुन्छन् । हजारौँ युवकयुवती र विद्यार्थी हुन्छन्, जुलुसमा । ती कुनै दलका कार्यकर्ता होइनन् । राज्यसत्तासँग वाक्कदिक्क भएर सामाजिक सञ्जालहरूमार्फत ती बेलाबखत मुखर र एकाकार हुन्छन् । दस वर्षअघि ती युवा दस-बाह्र वा चौध-पन्ध्र वर्षका हुँदा हुन् । उनीहरूले राष्ट्र र जनताप्रति दलहरू इमानदार, समर्पित र वफादार छैनन् भन्ने राम्ररी बुझेका छन् । संसारलाई बुझेका छन् ।
यमन, सिरिया, टर्की, इजिप्ट र सुडानसम्मका प्रत्येक घटनाक्रम बुझेका छन् । त्यसैले, चीन, भारत, युरोप र अमेरिकी मामाहरूका कुरामा लागेर नेपाल आमालाई हेला गर्ने कथित नेताहरूलाई एक दिन सडकमा लगेर निमर्मतापूर्वक पछार्ने छन् युवापुस्ताले । त्यो दिन अब टाडा छैन ।
त्यस्तो अवस्था आयो भने त्यो परिस्थिति कसले कसरी रोक्न सक्छ ? प्रतिक्रान्ति वा जे नाम दिएपछि त्यो रोक्न सकिँदैन । लाखौँ युवक-युवती, किसान-मजदुर, गृहिणी, विद्यार्थी, व्यापारी, व्यवसायी र राष्ट्रलाई माया गर्ने सबैले भन्न थालेका छन्- पार्टीले हामीलाई खण्डखण्ड गरिरहेको छ । 'नेसन फस्ट' भन्नेलाई यो चित्त बुझेको छैन ।
देश ढल्ने अवस्थामा पुगेको छ । सिंहदरबारमा पटकपटक प्रधानमन्त्री फेर्ने कि राष्ट्रको भविष्य हेर्ने ? सचेत युवा वर्ग अचेल प्रश्न गर्न थालेका छन् । त्यसैले यहाँ कुनै पनि बेला 'नसोचेको कुरा' हुन सक्छ ।
एउटा कथन छ- 'योग्य र असल नेताले जिम्मेवारी स्विकार्छ तर खराब र अयोग्यले अरूलाई दोषारोपण गर्छ ।' नेपालमा यही देखिएको छ । जिम्मेवारी लिने र राष्ट्रलाई मार्गदर्शन गर्नेभन्दा सत्तामै रुमल्लिने प्रवृत्ति रहुन्जेल यस्तै रहन्छ ।
कीर्तिनिधि विष्टले एकपटक रोचक प्रसंग सुनाएका थिए ।
२०३० साल असार २४ गते मध्यरातमा सिंहदरबारमा भीषण आगो लाग्यो । एक हजारभन्दा धेरै कोठा भएको सो दरबार जलेर अग्रभाग मात्र बाँकी रह्यो । भोलिपल्टै प्रधानमन्त्री पदबाट बिष्टले राजीनामा दिए । राजा वीरेन्द्रले 'प्रधानमन्त्रीको गल्तीले आगो लागेको होइन, किन राजीनामा दिनुपर्यो' भनेर प्रश्न गर्दा बिष्टले भनेछन्- 'मैले मेरै कार्यालयको रक्षा गर्न सकिनँ, त्यसैले पदमा बसिरहन नैतिकताले दिँदैन सरकार ।'
दशरथ रंगशालामा फुटबल हेरिरहेका हजारौँ दर्शक हावाहुरीबाट बच्न भागाभाग गर्दा ७० जनाको ज्यान गयो । राष्ट्रिय खेलकुद परिषद् हेर्ने तालुकवाला शिक्षामन्त्री केशरबहादुर बिष्टले नैतिकताको कारण देखाउँदै राजीनामा दिएका थिए । अहिले त्यो संवेदनशीलताको मृत्यु भइसकेको छ ।
पहिलोपटक प्रधानमन्त्री भएपछि माओवादी नेता पुष्पकमल दाहालले भनेका थिए- 'संसद, सडक र सरकार तीनवटै मोर्चा कब्जा गर्न हामी सफल भएका छौँ ।' जगजाहेर छ- कांग्रेसको काँध चढेर अबिर जात्रा गर्दै दोस्रोपटक सरकार कब्जा गर्न सफल भएको माओवादीले राष्ट्रका सम्पूर्ण अंगलाई आफू अनुकूल बनाउन प्रयत्न गर्नेछ । माओवादीलाई राष्ट्रवादी, प्रजातन्त्रवादी र विकासवादी भन्नेहरूले पश्चात्ताप गर्नुपर्ने अवस्था आउँछ । किनभने सिंहदरबारलाई माओवादीले अर्को पेरिसडाँडा ठानेको पाइन्छ ।
एकजना दयालुले भरियालाई मागेजति ज्याला दिएर बजारबाट गाउँसम्म सरसामान पुर्याइदिन आग्रह गरेछन् । जाडोको महिना, ढुंगेलो बाटो, भरियाको खाली खुट्टा देखेपछि दयालु मानिसले आफ्ना जुत्ता खोलेर भरियालाई दिए । 'साह्रै जाडो भो हजुर' भनेपछि स्वेटर, कोट, मफलर सबै दिए । सबै लुगा पाए पनि भरिया प्रसन्न भएन ।
चौतारामा ढाकर बिसाएर मालिकसँग ऊ झगडा गर्न थाल्यो । बटुवा र गाउँलेहरूले सोध्दा भरियाले भन्यो- 'तल बजारबाट सामान घर पुर्याउने सर्तमा अग्रिम पैसा दिएर ल्याएको यो भरिया, यहाँ आएर बिब्ल्याँटो कुरा गर्छ । भारी बोक्दिनँ भन्छ ।' कट्टु र गन्जी मात्र लगाएर जाडोमा काँमिरहेको मालिकलाई भरिया ठानेर गाउँलेहरूले उल्टै हप्काए ।
एमालेसरह ८२ सिट बकस दिएर कुनै बेला जस्केलाबाट संसद्मा छिराइएका माओवादीले पहिलो संविधानसभा बुथ कब्जा, हतियार र पैसाको बलमा जितेपछि उनीहरू मालिक भए र एमालेलाई झन्डै भरियाजस्तो बनाए । कार्टर सेन्टरले मध्यान्हमै विज्ञप्ति निकालेर त्यसबेला चुनाव निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण भयो भन्दै क्रिश्चियन फौजको विजयप्रति खुसी मनायो । दोस्रो संविधानसभामा नराम्रोसँग पराजित भएपछि माओवादी नेताहरू छाँगाबाट खसे ।
नेपालले सन्तुलित र असंलग्न परराष्ट्र नीति बिर्संदै गयो भने गम्भीर संकटमा पर्ने देखिन्छ । चीनतिर भाइरस फैलिने खतरा बढ्दा बेइजिङका मानिसहरू पनि जीवाणु र कीटाणु मार्न ओखती बोकेर काठमाडौँ आउन सक्छन् । त्यतिबेला हामी दर्शक बन्छौँ कि खेलाडी ?
बेलुन फुटेपछि केटाकेटीले रुन्चे मुख लगाए झैँ प्रेससामु उपस्थित छँदा आँसु झार्ने अवस्थामा थिए माओवादी । जनतामा माओवादीप्रति कति घृणा छ भन्ने बुझेपछि बाबुराम भट्टराईले अर्कै पसल खोलेका छन् । तर जनतालाई थाहा छ, धोबीको नीलो रंगमिश्रित पानीमा डुबुल्की मारेर जंगलको राजा बन्न गएको छट्टु स्यालको कथा ।
दर्के पानी परेपछि नक्कली रंग स्वतः खुइलिन्छ । हजारौँ निर्दोष नेपालीको हत्या गर्नेहरूले निसास्सिने गरी माला लगाउने र बाख्रा चोरले झ्यालखाना बस्नुपर्ने 'व्यवस्था' सधैँ रहँदैन । युवा वर्गले नै यो स्विकार्दैन ।
सोलुखुम्बुका साङ्गे लामा (छिरिङ तेन्जिङ लामाका बाजे) श्री ३ चन्द्र शमशेरका मित थिए । त्यस्तै कास्की घान्द्रुकका खड्गबहादुर गुरुङ जंगबहादुरका मित थिए । उनी पोखरा विन्ध्यवासिनीका कांग्रेसी नेता दीपक गुरुङका पूर्वज हुन् । कालु (बलवीर) थकाली (भूपीका पूर्वज) श्री ३ चन्द्रका प्रिय मित्र थिए । उत्तरी क्षेत्रका धर्म-संस्कृति, परम्परा, मौलिकता बचाउन उनीहरूलाई सद्भावना दूतका रूपमा सम्मान दिइएको थियो ।
तराई, पहाड र काठमाडौँ उपत्यकामा पनि कैयन् क्षमतावान्, इमानदार तथा कर्मठ व्यक्तिलाई विशेष आदर-सम्मान दिएर राखिएको थियो । श्री ३ चन्द्रदेखि केशर शमशेरहरूलाई समेत सैनिक तालिम गराउने कर्णेल चक्रपाणी सापकोटा (बागलुङ) यस्तै व्यक्तिहरूमा पर्छन् । उनको प्रसिद्धि र गाथा इतिहासमा पाइन्छ ।
तराईमा विद्रोह हुँदा तत्कालीन श्री ३ ले उनैलाई खटाएका थिए । जनताका यावत् समस्या तत्काल जाहेर गर्ने र राष्ट्रिय सुरक्षाको संवेदनशीलताअनुसार सम्पूर्ण सूचना केन्द्रसम्म पुर्याउने पद्धति भएकै कारण नेपाल त्यसबेला सामरिक दृष्टिले सुदृढ थियो । अमेरिकाले चीनविरुद्ध गराएको खम्पा विद्रोह नेपाल दरबारको अग्रसरतामा सुरक्षा संयन्त्रले असफल बनाएको पाइन्छ । यसमा नेपाली सेनाको ठूलो योगदान रहेको छ ।
आज नेपाली कांग्रेसमा कति जना 'नेपाली' नेता छन् र नेपाल कम्युनिस्ट पार्टीका साइनबोर्डमुनि नेपालको हित चाहने कति छन् भन्ने प्रश्न उब्जिएको छ । तराईकेन्द्रितलगायतका प्रायः सबै दल नांगिएका छन् । माओको बद्नाम गर्नेहरू 'मुन्नी बदनाम दुई डालिङ तेरे लिए' गीतमा नाचिरहेका छन् । भारतीय, युरोपेली र अमेरिकी स्वार्थको कारण चीन अत्यन्त सशंकित बनेर बेइजिङको बार्दलीबाट काठमाडौँ हेरिरहेको छ ।
नेपालले सन्तुलित र असंलग्न परराष्ट्र नीति बिर्संदै गयो भने गम्भीर संकटमा पर्ने देखिन्छ । चीनतिर भाइरस फैलिने खतरा बढ्दा बेइजिङका मानिसहरू पनि जीवाणु र कीटाणु मार्न ओखती बोकेर काठमाडौँ आउन सक्छन् । त्यतिबेला हामी दर्शक बन्छौँ कि खेलाडी ? - युवराज गौतम , अन्नपूर्ण पोस्टबाट
Post a Comment