Websoft University

www.radiomakalu.com || 021-522512


नेविसङ्घ महाधिवेशन ‘नर्सरी मासियो, बिरुवा कसरी उम्रिनु ?’



काठमाडौँ, साउन २१ गते । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनमा तनहुँबाट भाग लिन आउनुभएका चुडामणि खनाल २०५१ सालदेखि सङ्घमा आबद्ध हुनुहुन्छ । उहाँ ८ कक्षा पढ्दादेखि नै सङ्घको राजनीतिमा प्रवेश गनुभएको हो । आठ वर्षसम्म सङ्घको जिल्ला उपाध्यक्ष तथा तीन वर्ष अध्यक्ष पदमा रहेर काम गर्नुभएका खनाल आउँदो महाधिवेशनमा सङ्घको सहमहामन्त्रीका आकाङ्क्षी हुनुहुन्छ ।

लामो समयसम्म सङ्घको अधिवेशन हुन नसकेका कारण नयाँ पुस्ता विद्यार्थी राजनीतिमा आउन नसकेको उहाँको भनाइ छ । उहाँ सङ्घको अधिवेशनलाई बिरुवा उत्पादन गर्ने नर्सरीका रुपमा लिनुहुन्छ । “अधिवेशन समयमै हुन नसक्दा नर्सरी मासियो, अब बिरुवा कसरी उम्रिनु ?” खनालले प्रश्न गर्नुभयो ।

यस्तै, दाङबाट महाधिवेशनमा भाग लिन आउनुभएका पवन यादव १२ वर्षअघि सङ्घको राजनीतितर्फ आकर्षित हुनुभएको हो । तर अहिलेसम्म उहाँको राजनीति सङ्घको जिल्ला सचिवसम्म मात्र सीमित छ । “अधिवेशन समयमै हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ, नयाँ पुस्ता त झन् सङ्घमा आउन सकेको छैन”, उहाँले भन्नुभयो । यादव यसपालिको अधिवेशनमा समावेशीतर्फ केन्द्रीय उपाध्यक्षमा भिड्ने सोचमा हुनुहुन्छ ।

नेपाल विद्यार्थी सङ्घ रुपन्देहीका पूर्वअध्यक्ष प्रकाश राना २०४९ सालदेखि विद्यार्थी राजनीतिमा होमिनुभएको हो । समयमै अधिवशेन हुँदै आएको भए उहाँ अहिलेसम्म सङ्घको केन्द्रीय अध्यक्षमा प्रतिस्पर्धा गर्न भ्याउनुहुन्थ्यो । तर यसपालिको अधिवेशनमा उहाँले केन्द्रीय सदस्यमा मात्र प्रतिस्पर्धा गर्ने योजना बनाउनुभएको छ । “नौ वर्षमा चारपटक अधिवेशन सम्पन्न हुनुपर्ने अवस्था हो, तर एक दशक बित्दासमेत अधिवेशनको कुनै टुङ्गो लाग्न सकेको छैन”, रानाले भन्नुभयो ।

खनाल, यादव र रानाले भन्नुभएजस्तै सङ्घको अधिवेशनका लागि देशभरिबाट काठमाडौँ आएका प्रतिनिधिको आक्रोश एउटै छ, “समयमै अधिवेशन हुन नसक्दा सङ्गठनलाई ठूलो क्षति पुगेको छ, नर्सरी नै मासिएको छ । यसबीचमा नयाँ बिरुवा नै उत्पादन हुन पाएन ।”

सङ्घको अधिवेशन हुनेमा प्रायः प्रतिनिधि ढुक्क छन् । तर आफ्नो मत प्रयोग गरी आफूले रुचाएका नेता छान्न पाइने हो कि होइन भन्नेमा भने दोधारमा छन् । “पार्टी (काँग्रेस) नेतृत्वले कसैलाई टीका लगाउन खोजियो भने हामीलाई मान्य हुने छैन, यसबाट सबैभन्दा ठूलो घाटा पार्टीलाई नै हुनेछ”, दुर्गम डोल्पाबाट १३ जना महाधिवेशन प्रतिनिधिको नेतृत्व गर्दै काठमाडौँ आइपुग्नुभएका सङ्घका जिल्ला अध्यक्ष जयश उपाध्यायले भन्नुभयो ।

करिब रु एक लाख खर्च गरेर अधिवेशनमा सहभागी हुन आइपुग्नुभएका उहाँ सङ्घको अधिवेशन समयमै सम्पन्न हुन नसक्दा अरू विद्यार्थी सङ्गठनका अघिल्तिर आफ्नो सङ्घको साख गुमेको बताउनुहुन्छ ।

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन मिति यही साउन २३ देखि २५ गतेसम्मलाई तय गरिएको छ । महाधिवेशनका लागि जिल्लाजिल्लाबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ । तर विभिन्न माग राखी सङ्घको दुईवटा समूहले सातायता पार्टी कार्यालय, सानेपा, ललितपुरमा छुट्टाछुट्टै रुपमा रिले अनशन बस्दै आएका छन् ।

देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरु भने रिले अनशन र आमरण अनसनबीच सङ्घको महाधिवेशनमा आफ्नो मतको सदुपयोग गर्न पाउनेमा आशावादी देखिन्छन् ।

“नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) बीच एकता भएपछि पार्टीको दुईवटा महाधिवेशन सम्पन्न भैसक्यो तर नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नौ÷नौ वर्षसम्म नहुँदा विद्यार्थीमा निराशा छाएको छ, यसपालि अधिवेशन हुनेमा ढुक्क छौँ,” कञ्चनपुरबाट महाधिवेशन प्रतिधिधि रहेकी विकलकुमारी विकले भन्नुभयो–“यो महाधिवेशन सङ्घको एकताको अधिवेशन हो, यसले पार्टीलाई समेत बलियो बनाउँछ ।” नेतृत्व जसको आए पनि यस महाधिवेशनले आगामी पुस्तालाई बाटो खोल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget