Websoft University

www.radiomakalu.com || 021-522512


‘दसैँ, तिहारमा कुनै वस्तुको अभाव हुँदैन’

puspa kamal dahal prachanda_1

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताउनुभएको छ । हरेक वर्षजसो दसैँ, तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुँदैन, नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा शनिबार प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन । ”
आमजनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी सूचना तथा सञ्चारलाई जोड्ने र त्यसको सदुपयोग कसरी गर्ने भन्नेबारे गम्भीर छलफल भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको पनि बताउनुभयो ।
उहाँले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रस्ट पार्नुभयो । विदेशमा रहेका लाखाँै नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले समाजमा पछि परेका समुदायलाई अगाडि ल्याउने उद्देश्यले पनि समानुपातिक सिद्धान्त लागू गरिएको जानकारी दिनुभयो ।
पुनःनिर्माणलाई प्राथमिकता दिन माग
आरूघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान आरूघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्नसक्ने बस्तीको उचित व्यवस्थापन गर्न पनि आरूघाटवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरूघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
“आरूघाटमा अढाई र तीन वर्ष अध्यापन गरेँ । त्यो बसाइँ मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईँहरूसँग बिताएका ती दिनहरू कहिल्यै विस्मृतिमा गएनन्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले आफू कठिन अवस्थामा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आरूघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थवाङलाई आश्वासन
प्रधानमन्त्री दाहालले रोल्पाको थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । रोल्पा थवाङका वामपन्थी अग्रज बर्मन बुढासहित १५ जनाको प्रतिनिधि टोलीसँग शनिबार साँझ भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना समितिले आफ्नो काम गरिरहेको अवस्थामा थवाङलाई नगरपालिकाको केन्द्र बनाउनेबारे दलहरूसँग छलफल गरेर टुङ्गोमा पु¥याउने बताउनुभयो ।
प्रतिनिधिमण्डलले रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ । वामपन्थी अग्रज बुढाले तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्धको केन्द्र थवाङलाई थप परिचित बनाउन पनि नयाँ गाउँपालिकाको केन्द्र बनाउनुपर्छ भन्नुभयो ।
गोर्खाका समस्या समाधान गर्न आग्रह
बेलायती सेनाका पूर्वगोर्खा सैनिकको टोलीले आफूहरूमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग वार्ता गरी समस्या समाधान गरिदिन प्रधानमन्त्री दाहालसँग माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वगोर्खा सैनिकको टोलीले भेट गर्दै आफूहरूको जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको हो ।
प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएका गोर्खा सैनिकका अगुवा कृष्णबहादुर राईका अनुसार २५ वर्षदेखि आफूहरू बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरिएको हो ।
पूर्वबेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीलाई तलब कम दिइने, कैयौँ विभेद र असमानता रहेको, नेपालसमेत रहेको त्रिपक्षीय सन्धिअनुसार भर्ती गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको राईले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले गोर्खा सैनिकका मागका सम्बन्धमा पटक–पटक कुरा उठाइसकेको बताउँदै जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिने बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget