Websoft University

www.radiomakalu.com || 021-522512


गलत परिचालनले निम्त्याउँदैछ सङ्कट

bibas wosti
 विवश वस्ती

केही दशकयता नेपाली समाज परिवर्तनका नयाँ नयाँ चरणहरूबाट गुज्रिरहेको छ । समाज परिवर्तनको तरङ्ग र लहरले हरेक वर्ग र तप्काका मानिसलाई जति उद्वेलित तुल्याउँछ, त्योभन्दा कैयौँ गुणा बढी उद्वेलित, आशावादी र उमङ्गमा रम्ने वर्ग युवा हो । किनकि, समाजमा हुने नयाँ–नौलो परिवर्तनले आफ्नो जीवन र भविष्यमाथि के कस्ता सकारात्मक÷नकारात्मक प्रभाव पार्छ भन्ने पक्षलाई युवापङ्क्तिले नजिकैबाट नियालिरहेका हुन्छन् । त्यसो त, अधिकांश परिवर्तनको बाहकका रूपमा युवा शक्ति नै रहेको हुँदा पनि नवीन परिवर्तनले सामाजिक प्रगति र उन्नतिका साथै आफ्नो जीवन–दर्पणमा कस्तो प्रतिविम्ब उतार्छ भन्नेमा युवा सचेत, केन्द्रित र चिन्तनशील हुन्छन्, यसलाई स्वाभाविक पक्ष मान्नुपर्ने हुन्छ । 
विशेषतः राजनीतिक र सामाजिक परिवर्तनरूपी आन्दोलन वा अभियानहरूमा युवापङ्क्ति जहिल्यै अग्रिम मोर्चामा रहँदै आएको यथार्थलाई कदापि भुल्न मिल्दैन÷सकिँदैन पनि । युवा–सहभागिता विनाको आन्दोलनको परिकल्पना गर्न पनि सकिँदैन । ०४६ सालको जनआन्दोलनको सफलताको पछाडि तत्कालीन निरङ्कुश व्यवस्था बदलेर देशमा प्रजातन्त्र ल्याउने युवा वर्गको उत्कट चाहनाको प्रतिफल थियो । आन्दोलनको नेतृत्व नेपाली काँग्रेस र वामपन्थी शक्तिहरूले गरेका भए पनि काठमाडौँ उपत्यका र देशका केही मुख्य सहरका सचेत युवापङ्क्तिको निरन्तरको आन्दोलनकै फलस्वरूप तत्कालीन समयमा देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना हुन सकेको थियो । २००७ सालमा प्रजातन्त्र स्थापना गर्न युवापङ्क्तिले नै तत्कालीन राज्यप्रणाली विरुद्ध कठोर रूपमा जुध्नुपरेको थियो । ०६२÷६३ को जनआन्दोलनमा देखिएको जनउभार र सफलता एवं त्यसपछि देशमा स्थापित गणतन्त्र व्यवस्था पोसाउन पनि युवापङ्क्तिकै विशिष्ट, क्रियाशील र शक्तिशाली भूमिका रहेका तर्फ आँखा चिम्लिन सकिँदैन । इतिहास साक्षी छ, हरेक ठूला–साना राजनीतिक आन्दोलनमा युवाले आफूलाई होमेका थिए र तिनै युवाकै सङ्घर्षशीलताका प्रतिफलस्वरूप देशमा परिवर्तन सम्भव हुन पुगेको हो ।
तर हरेक राजनीतिक एवं सामाजिक परिवर्तनमा युवापङ्क्तिको अतुलनीय भूमिका रहे पनि प्रायः राजनीतिप्रति युवामा नैराश्यताको ग्राफ भने उकालो चढ््दो छ । युवापङ्क्तिमा राजनीतिप्रति मोहभङ्ग व्याप्त छ । राजनीतिको कुरा उप्किने बित्तिकै ओठ लेप्य्राउने र आँखीभौं खुम्च्याउने युवाको पङ्क्ति विशाल छ । राजनीतिमा सामान्य ज्ञान बटुलेका युवाले पनि देशको विद्यमान राजनीतिक अवस्थाप्रति वितृष्णाभाव दर्साउँदै भन्ने गर्छन्– देशको राजनीतिले सही दिशा समातेन ।
युवालाई अपिल गर्नसक्ने राजनीतिक प्रणाली स्थापना गर्न नेतृत्व तह सक्षम देखिएनन् । युवामा व्याप्त यस्तो नैराश्यबोधमा आंशिक सत्यता नलुकेको पनि होइन ।
कुनै पनि ठूला–साना राजनीतिक परिवर्तनपछि हरेक वर्ग र समूहका मानिसले परिवर्तनको गहन आभास खोज्छन् नै । यो एउटा मानवीय स्वभाव नै हो । राजनीतिक वा सामाजिक परिवर्तनपछि त्यसले राष्ट्र र समाजमा परिवर्तनको नौलो रेखा कोरिने अपेक्षा राख्नुलाई अस्वाभाविक मान्न पनि सकिँदैन । किनकि, हरेक नागरिकले परिवर्तनपछि थुप्रै आशा, अपेक्षा र विश्वास सँगालेका हुन्छन्, नयाँ नयाँ सपनासमेत देखेका हुन्छन् तर आशा निराशामा परिणत हुने, अपेक्षा उपेक्षामा बदलिने, विश्वासको सङ्कट उत्पन्न हुने र सपनाहरू ऐंठनमा परिवर्तित हुने हो भने त्यसले समस्याको तहलाई उकास्न मात्र सहयोग पु¥याउँछ ।
अझ, समाजका अरू वर्गभन्दा आक्रामक, भविष्यप्रति चिन्तित र केही हदसम्म आत्मकेन्द्रित युवा वर्गले त परिवर्तनको स्वाद तत्काल नै चाख्न चाहन्छन् । यो उनीहरूको अधिकारको विषय पनि हो । कुनै पनि परिवर्तनमुखी आन्दोलन वा अभियानमा आफ्नो सहभागिता रहेपछि त्यसको प्रतिफलको अपेक्षा राख्नुलाई अन्यथा मान्न पनि सकिँदैन ।
तर नेपालमा जति पनि राजनीतिक वा सामाजिक परिवर्तनहरू भए, परिवर्तन ल्याउने आन्दोलनका क्रममा युवापङ्क्तिलाई राजनीतिक शक्तिहरूले उपयोग र परिचालन गरे पनि परिवर्तनपछि भने उनीहरूका अपेक्षालाई यथोचित रूपमा सम्बोधन गर्ने कार्यमा चुकेको पक्ष विदितै छ । राजनीतिक शक्तिहरूमा व्याप्त यस्तै–यस्तै कमजोर, उदासिनता र उपेक्षाभावको कारणले गर्दा नै युवापङ्क्तिमा नैराश्यता, वितृष्णा र मोहभङ्गजस्ता पक्ष सघन हुँदै गइरहेका छन् र त्यसले अन्ततः राजनीतिप्रति युवाको दुरी विकराल रूपमा बढ्दै गइरहेको तथ्यलाई बङ्ग्याउन सकिँदैन ।
ग्रामीण भेगका युवाको कथा केही बेग्लै छ । पछिल्लो समय उनीहरूमा राजनीतिप्रति खासै मोह छैन । देशभित्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् र आफ्नै सीप र सिर्जनामा स्वदेशभित्रै बाँच्न सकिन्छ भन्ने यथार्थबाट ग्रामीण युवा कोसौँ टाढा हुन थालेका छन् । केही दशकयता वैदेशिक रोजगाररूपी उर्लदो बाढीले ग्रामीण भेगका युवाको मानसिकतालाई लछप्पै भिजाएको छ र उमेर पुगेपछि नागरिकता र राहदानी बनाएर वैदेशिक रोजगारमा जाने चक्करमा उनीहरू जुट्न थालिहाल्छन् । अहिले यस्तै परिदृश्यको बोलबाला छ, ग्रामीण क्षेत्रका युवापङ्क्तिमा । विदेशमा पसिना बगाएर अर्थोपार्जन गर्ने कार्यलाई ग्रामीण भेगका युवाले उच्च सामाजिक प्रतिष्ठाको रूपमा समेत ग्रहण गर्न थालेका छन् । साथै, दुई चार वर्षको विदेशी कमाइसँगै स्वदेश फर्किएपछि कुनै न कुनै उत्पादक वा अनुत्पादकमूलक काम वा क्षेत्रमा लगानी गर्ने कार्यप्रति ग्रामीण भेगका युवाको चासो बढेको देखिएको छ ।
वैदेशिक रोजगारप्रति आकर्षित युवालाई देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने कार्यमा ठोस र प्रभावकारी योजना आउन नसक्नुलाई नै मुख्य समस्या ठान्न सकिन्छ । त्यस्ता युवा पङ्क्तिलाई लक्षित गरेर सरकारले केही कार्यक्रम त ल्याएको छ तर त्यस्ता कार्यक्रमहरूले युवालाई खासै आकर्षित तुल्याउन सकिरहेको छैन । खासगरी, ग्रामीण क्षेत्रका युवालाई स्वदेशमै रोजगारको अवस्था सिर्जना गराउन कृषि, पशुपालन र लघु उद्यमसँग सम्बन्धित कार्यक्रम सरकारी तहबाट सञ्चालित नरहेका होइनन् । देशभित्रै पसिना बगाउन चाहने युवाले आफ्नो सीप र दक्षता पोखिरहेका पनि छन् तर त्यस्ता कार्यमा समर्पित युवा सीमित छन् र स्थिति अत्यन्तै टिठलाग्दो छ । मूलतः युवा केन्द्रित रोजगारमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा लागू हुन नसक्दा त्यसले युवालाई आकर्षण पैदा गराउन सकेको छैन र उनीहरूको पहिलो प्राथमिकता वैदेशिक रोजगार नै बन्न पुगेको छ । युवा केन्द्रित कार्यक्रमहरूप्रति युवामा विश्वास र भरोसा नबढुन्जेलसम्म त्यस्ता कार्यक्रमहरूको प्रभावकारिता र कार्यान्वयनप्रति शङ्का गर्न सकिने प्रशस्तै ठाउँ र आधारहरू रहनेछन् ।
हरेक राजनीतिक शक्तिका युवा सङ्गठन छन् । ती राजनीतिक शक्तिले आफ्नो युवा सङ्गठनलाई पार्टीको आवश्यकताअनुरूप परिचालित पनि गर्दै आइरहेका छन् र कतिपय युवा सङ्गठनले समसामयिक राजनीतिलगायत अरू मुद्दामा चासो, तत्परता देखाउँदै स्वतस्फूर्त रूपले आफूलाई त्यस्ता मुद्दामा आवाज उठाउन, पहलकदमी लिन क्रियाशील देखाउँदै आइरहेका छन् । राष्ट्रियता, जनजीविकालगायतका सवालहरूमा पार्टी निकट युवा सङ्गठनले आवाज उठाउने र मोर्चाबन्दी गर्ने कार्यसमेत गर्दै आइरहेका छन् ।
केही प्रशंसायोग्य कार्यहरू राजनीतिक दल आबद्ध युवा सङ्गठनहरूबाट नभएका होइनन् । तथापि, देशको ठूलो युवापङ्क्तिलाई राजनीतिप्रति आकर्षित तुल्याउने, उनीहरूका निम्ति स्वदेशभित्रै रोजगारका अवसरहरू सिर्जना गराउने र आम युवाको भावना र आकांक्षालाई सम्बोधन गर्ने कार्यमा भने स्पष्ट कार्ययोजना ल्याउने र त्यस दिशामा अग्रसर हुने भूमिकाबाट प्रायः युवा सङ्गठन चुकेका छन् । अझ, कतिपय युवा सङ्गठनको नेतृत्व तहमा रहेकाले त युवाका निम्तिभन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्ने, ऐस आरामको जिन्दगी बाँच्ने आधारहरू खोज्ने र अनुचित ढङ्गले आर्थिक लाभ प्राप्तिका अवसर खोज्ने दिशामा केन्द्रित तुल्याउन थालेका छन् । यस्ता प्रवृत्ति हाबी हुँदै जाँदा युवा आन्दोलनको दिशा अस्पष्ट, अन्योलग्रस्त हुने मात्र होइन, सिङ्गो राजनीतिप्रति नै उनीहरूमा तीव्र वितृष्णाबोध उत्पन्न हुने सम्भावना पनि त्यत्तिकै बढ्दो छ । तसर्थ, युवा पङ्क्तिको सही परिचालन कसरी गर्ने भन्नेमा राजनीतिक नेतृत्वले नै सोच्नु अपरिहार्य छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget