Websoft University

www.radiomakalu.com || 021-522512


बृहत् दरबार सङ्ग्रहालय गुरुयोजना अलपत्र

darbar

काठमाडौँ, भदौ १० गते । नारायणहिटी दरबारलाई बृहत् सङ्ग्रहालय बनाउन तीन वर्षअघि तयार गरिएको गुरुयोजनाको अत्तोपत्तो छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा गठित कार्यदलले गुरुयोजना तयार गरी सोही मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई बुझाएको थियो । प्रतिवेदन २०७० सालमा बुझाइएको थियो ।
त्यस बेला बुझाइएको झन्डै तीन सय पृष्ठको प्रतिवेदन कहाँ छ भन्नेबारे सम्बन्धित निकायका कोही पदाधिकारीहरू पनि जानकार छैनन् । संस्कृति मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रतिवेदनबारे आफूलाई थाहा नभएको बताउनुभयो । प्रतिवेदन मन्त्रालयको कुनै दराजमा थन्किएको हुनसक्ने दरबार सङ्ग्रहालयका कर्मचारीहरू बताउँछन् ।
प्रतिवेदनले दरबार सङ्ग्रहालय परिसरमा रहेका सम्पूर्ण भौतिक सम्पत्तिलाई बृहत् दरबार सङ्ग्रहालयका रूपमा परिणत गर्ने गरी गुरुयोजना तयार गरेको थियो । प्रतिवेदनको अत्तोपत्तो नहुँदा त्यससम्बन्धी कार्य अगाडि बढ्न सकेको छैन भने सरकारी निकायहरूले नै त्यहाँभित्रका जग्गा तथा भौतिक पूर्वाधार कब्जा गर्ने क्रम बढ्दै गएको छ ।
सुरुमा परराष्ट्र मन्त्रालय सरेको पूर्वराजाहरूको सचिवालयमा हाल राहदानी विभाग रहँदै आएको छ । पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र शाहले आफ्नो सचिवालयका रूपमा प्रयोग गर्नुभएको सो भवनलाई त्यहाँबाट हटाएर पूर्वराजाका सचिवालयलाई पूर्वअवस्थामा राख्ने योजना सोही प्रतिवेदनमा उल्लेख छ । “सङ्ग्रहालय हेर्न आउने धेरै अवलोकनकर्ताहरूले पूर्वराजाहरूको अफिस खोइ भनेर सोध्ने गरेका छन् । उहाँहरूको अफिसलाई साविककै अवस्थामा राख्ने योजना बने पनि राहदानी विभागका कारण त्यो सम्भव हुन सकेको छैन”, दरबार सङ्ग्रहालयका एक कर्मचारीले भने ।
सबैभन्दा महत्वपूर्ण भवनका रूपमा रहेको मङ्गल सदन पनि ढोका बन्द अवस्थामा छ । राहदानी विभाग रहेको भवनको पूर्वमा मङ्गल सदन छ । सोही भवनमा २०४६ सालको जनआन्दोलनका बखत राजनीतिक दलका नेताहरूसँग वार्ता राजा वीरेन्द्रले सामूहिक गर्नभएको थियो । त्यस्तै, पूर्व राजपरिवारका सदस्यका लागि दूधदहीको व्यवस्था गर्न त्यहाँ रहेको गाईगोठ र घोडचढीका लागि रहेको तबेला दुवैको अवस्था नाजुक छ भने ती दुवै संरचनासँगै जोडेर नेपाली सेनाले आफ्नो भवन निर्माण गरिसकेको छ ।
पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य प्रातः भ्रमणका लागि प्रयोग गर्ने स्थानमा हाल धमाधम गणतन्त्र स्मारक निर्माण भइरहेको छ । त्यहाँ रहेका दुई सय रुखसमेत गायब छन् ।
गुरुयोजनासम्बन्धी प्रतिवेदनमा पूर्वराजा वीरेन्द्रले विवाहमा प्रयोग गरिएको बग्गीलाई प्रदर्शनीमा राख्ने भनिएको थियो । सो बग्गी पनि हाल बेवारिसे छ । दुलाहा बन्नुभएका राजा वीरेन्द्र सोही बग्गी चढेर सिंहदरबार जानुभएको थियो ।
राजा महेन्द्रको मोटर ग्यारेजलाई राहदानी विभागले प्रयोग गर्दै आएको छ भने पूर्वराजा ज्ञानेन्द्रले चढ्नुभएको बुलेट प्रुफ गाडी राहदानी विभागको बाहिर बेवारिसे छ ।
श्रीपेच सार्वजनिक गर्ने कार्यक्रमलाई केही वर्षअघि बजेटमै पारिएको थियो । त्यसैगरी पूर्वराजा वीरेन्द्रको निजी निवास श्रीसदन, पूर्वराजा वीरेन्द्रदेखि पूर्वअधिराजकुमार निराजनसम्मले फाइरिङ अभ्यास गर्ने फाइरिङ रेन्ज, खसी पाल्ने स्थान खसीपाला, पूर्वराजा त्रिभुवनको पौडी पोखरी, राजपरिवारको मोटर ग्यारेजलगायत संरचना सार्वजनिक गर्ने योजना अगाडि बढ्न सकेको छैन । दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले सो प्रतिवेदन कहाँ छ भन्ने आफूलाई थाहा नभएको बताउँदै भन्नुभयो, “मन्त्रालयमा हुनुपर्छ । ”

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget