रोजगार प्रवद्र्धनका लागि ः आज मुलुकमा बेरोजगार समस्या धेरै भयानक छ । अस्ति शुक्रबार यसै दैनिकमा प्रकाशित तथ्याङ्क अनुसार यहाँका युवामा पूर्ण बेरोजगार दर १९ दशमलव २ प्रतिशत छ भने अर्ध बेरोजगार दर २८ दशमलव ३ प्रतिशत देखिएको छ । रोजगारकै लागि खाडीमा पसिना बगाउने युवाको सङ्ख्या हजारौँमा होइन लाखौँमा पुगिसकेको छ । यसको मूलकारण अरू केही नभएर वर्तमान शिक्षाप्रणाली नै हो भन्न नहिचकिचाए हुन्छ । जब मुलुकको शिक्षा प्रणाली नै बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना बनिरहेको छ भने स्वाभाविकरूपमा नतिजा पनि त्यस्तै आउने नै भयो । त्यसैले हामीले शिक्षालाई यदि रोजगारमूलक बनाउने हो भने पुनः गुरुकुल शिक्षातर्फ फर्कनै पर्ने हुन्छ । गुरुकुल शिक्षा समाजमैत्री मात्र छैन रोजगारमूलक पनि छ । अहिले पनि संस्कृत पढ्नेहरू कोही पनि बेरोजगार छैनन् । उनीहरूले खाडीमा पसिना बगाउनेहरूको भन्दा बढी कमाइ यहीँ बसेर गरिरहेका छन् । अझ केहीको कमाइ त युरोप र अमेरिकातिरको भन्दा पनि बढी नै छ ।
आपसी समन्वयका लागि ः संस्कृत शिक्षा तोड्नमा भन्दा जोड्नमा विश्वास गर्छ । यसबाट हरेकलाई एकअर्काको नजिक ल्याई सहयोगी बनाउन मद्दत पुग्छ । संसारमा मानिसलाई अपूर्णबाट पूर्णतातर्फ उन्मुख गराउँदै ‘आत्मन्नेवात्मना तुष्ट’को स्थितिमा पु¥याउने प्रयास गर्ने कुनै शिक्षा छ भने संस्कृत शिक्षा नै छ । उसले हामीलाई तिमी आफू आफैँमा पूर्ण छौ भन्दै आएको मात्र छैन त्यस्तै किसिमको संसारको ढोका खोल्ने प्रयाससमेत गर्दै आएको छ । पूर्णबाट पूर्ण नै झिक्दा पनि पूर्ण नै बाँकी रहने चमत्कार दुनियाँमा कतै पनि हुँदैन तर संस्कृत शिक्षाले त्यो पनि सम्भव छ भन्दै आएको छ । ‘पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते । ’ संस्कृत शिक्षामा मानिस मात्र होइन पशुपक्षी र वनजङ्गल समेत एकअर्काको सहयोगी बनेको प्रशस्तै उदाहरण भेटिन्छ । दधीचि ऋषिका छोरा पिप्पलादलाई वन जङ्गलले पिपलको फल खुवाएर बचाएका थिए । जन्मनासाथ पिपलको फल खाएकाले उनको नामै पिप्पलाद रहेको थियो । त्यस्तै कण्वपुत्री मासिषालाई पनि वनजङ्गलले नै हुर्काएका थिए, जुन कन्याले पछि गएर प्रचेतासित विवाह गरी सृष्टिप्रक्रिया अघि बढाउने दक्षप्रजापतिलाई जन्माएकी थिइन् । अझ पशुपक्षीले त आफैँ मरेर भए पनि आफैँलाई मार्न खोज्नेहरूको समेत उद्धार गरेका उदाहरण छन् ।
मानवीय भावना प्रवद्र्धनका लागि ः मानिसमा पूर्णतः मानवीय भावना जगाउन पनि संस्कृत शिक्षा परम आवश्यक देखिन्छ । आज मानिस ध्वंश र विस्फोटप्रति प्रवृत्त छ । मानिसले मार्न मर्नबाहेक केही जानेकै छैन भन्दा फरक पर्दैन । कतै बम विस्फोट भइरहेका छन्, कतै आत्मघाती आक्रमण भइरहेका छन् । कतै तोडफोड छ, कतै आगजनी छ । मानिसले शिक्षा र स्वास्थ्य संस्थान त यसै पनि बाँकी राखेका छैनन् नै स–साना स्कुले बालबालिका बोकेका सवारी साधनलाई समेत निशाना बनाउँदै ल्याएका छन् । कतिपयमा जति बढी मार्न सकियो त्यति नै ठूलो मानिस बनिन्छ भन्ने मान्यता छ भने कतिपय नेतृत्वहरू नै ५० लाखको प्रलोभन देखाएर मानिसलाई यस्तै कार्यमा हौस्याइरहेका छन् । उनीहरू शान्ति सुरक्षाको कुरा त गर्छन् तर उनीहरूकै कारण सुरक्षाकर्मीहरूले जिउँदै जल्नुपरेको वा भालामा रोपिएर मर्नुपरेकोतर्फ भने ध्यान दिन भ्याउँदैनन् । अझ विडम्बना त के भने कतिपय अवस्था र स्थानमा सरकार आफैँ त्यस्तै ध्वंशप्रेमीलाई सहिद घोषणा गर्दै दस लाख नगदले पुरष्कृत गर्ने काम गरिरहेको छ । जहाँ कतिपय राजनीतिक दलहरू नै ध्वंशप्रिय छन् । अनि जहाँ नयाँ उद्योगधन्दा खोल्नुभन्दा भएकालाई नै बन्द गराउन गौरव ठन्ने गरिन्छ र विकास निर्माणतिर ध्यान दिनुभन्दा त्यसमा खर्च हुने रकम दशलाखे सहिदको सम्मानमा खर्चिनु नै उपयुक्त ठानिन्छ भने त्यहाँ मानवीय भावनाको आशा गर्नुसम्म पनि मृगतिष्णा बाहेक केही हुने छैन । यस्तो अवस्थामा अरूको भलाइभित्र नै आफ्नो भलाइ खोज्नुपर्छ वा अरूको भलाइ नगरी आफ्नो भलाइ हुँदैन भन्ने सन्देश दिने संस्कृत शिक्षाको आवश्यकता कति बढी होला सोझै अनुमान गर्न सकिन्छ ।
अनुशासनका लागि ः हामीले समाजमा शान्ति, सदाचार र अनुशासन कायम राखी पुर्खाको भावनाको सम्मान गर्न पनि संस्कृत शिक्षा परम आवश्यक देखिन्छ । आजको समाज कति बढी विशृङ्खलित हुँदै गएको छ भनिरहनु पर्दैन । मानिसहरूले आफूले भनेबमोजिम भएन भने आफ्नै गुरुलाई समेत कालोमोसो र जुत्ताको मालाले स्वागत गर्नुलार्ई सामान्य ठान्दै आएका छन् । जुन बाबुआमाले जन्माए, हुर्काए र शिक्षा–दीक्षा दिएर उज्यालो संसार देखाए तिनै बाबुआमालाई बुढेसकालमा वृद्धाश्रमको पाहुना बनाउन रुचाउनेहरूको समेत कमी छैन । यस्तो अवस्थामा बाबु, आमा, गुरु र अतिथिहरूलाई देवता सरह मान्नुपर्छ भन्दै ठूलालाई आदर र सानालाई माया गर्न सिकाउने संस्कृत शिक्षाको महìव कति होला त्यो पनि आफैँमा उत्तिकै मननीय पक्ष हो ।
वातावरणीय सन्तुलनका लागि ः आज प्राकृतिक वातावरणमा आएको असन्तुलनका कारण के कस्ता समस्या निम्तिदै छन् त्यो पनि सबैलार्ई थाहा भएकै कुरा हो । यसैका कारण सेता हिमालहरू काला हुँदैछन् भने कतिपय समुद्री किनारका सहरहरूमा डुवानको समस्या देखिन थालेको छ । भविष्यमा यदि तेस्रो विश्वयुद्ध भयो भने त्यसको कारण पानी नै हुने अनुमान पहिले नै सार्वजनिक भइसकेको छ । त्यसैले पनि संस्कृत शिक्षा झनै बढी आवश्यक हुन पुगेको देखिन्छ । किनभने यसले यज्ञअनुष्ठानको माध्यमबाट जसरी वातावरण जोगाउने प्रयास गर्दै आएको छ त्यो वास्तवमै नमूनालायक छ । यज्ञ विधानभित्र वातावरणीय सन्तुलनको जुन विज्ञान भेटिन्छ आधुनिक शिक्षा त्यसको छेउछाउसम्म पनि पुग्न सकिरहेको छैन ।
यद्यपि हालको संस्कृत शिक्षा कहाँ गुरुकुल शिक्षामा आधारित छ भन्ने प्रश्न पनि उठ्न सक्छ । हो, हालको संस्कृत शिक्षा जरुरै विशुद्ध गुरुकुल शिक्षामा आधारित छैन । तथापि यथार्थ के हो भने त्यसको संस्कार भने अहिले पनि कायमै छ । संस्कृत पढ्नेहरू प्रायः बेरोजगार नदेखिने र कदाचित कोही भइहाले पनि उनीहरू ध्वंशप्रिय नहुनु नै यसको उदाहरण हो । यसको अर्थ संस्कृत शिक्षा समग्रमा सम्झौतावादी हो, उसले कुनै पनि कुराको विरोध गर्दैन भन्ने चाहिँ होइन । संस्कृत शिक्षाले पनि विरोध त गर्छ तर उसको विरोध जाइकटक गर्ने नभई झिकीकटक गर्ने खालको छ । उसले कसैमाथि त्यत्तिकै जाइलाग्न सिकाउँदैन तर कोही आइलाग्छ भने उनीहरूमाथि जाइलाग्नुलाई चाहिँ परम धर्म नै ठानेको छ । यसको राम्रो झाँकी हामी गीतामै पाउन सक्छौँ, जहाँ कृष्णले अर्जुनलाई आक्रमणको प्रत्याक्रमण हुनैपर्छ अन्यथा लोकमा अनेक अफवाह फैलिन्छ भन्दै युद्धमा होमिन अभिप्रेरित गरेका छन् ।
त्यसैले अब पनि ध्वंशमै रमाइरहने हो भने त भन्नु केही छैन, जे गरे पनि भयो । होइन भने कहीँ न कहीँ पाठ्यक्रममा गुरुकुल शिक्षा प्रणालीलाई पनि स्थान दिनैपर्छ । वर्तमान शिक्षा प्रणाली कसैका निम्ति सत्ताको सोपान त बन्ला । कतिले यसबाट लाभ लिन पनि सक्लान् र कतिले विजयको सुरुवात पनि मान्लान् तर आम जनताले भने जीतको महसुस गर्न सक्ने छैनन् । सामाजिक परिदृश्यमा पात्रहरू त फेरिइ नै रहने छन् तर प्रवृत्ति भने जहिले पनि यस्तै रहनेछ, जस्तो अहिले भइरहेको छ । सबमा चेतना भया ।
Post a Comment