Websoft University

www.radiomakalu.com || 021-522512


नेपालका लिगलिगे राजा ओलम्पिक च्याम्पियनसँग दौड्दै


रियो ओलम्पिकमा भाग लिन गत साता काठमाडौंबाट उड्नुअघि नेपालका मध्यदुरीका धावक हरिकुमार रिमाल भन्दै थिए- राष्ट्रिय कीर्तिमान मेरो लक्ष्य हो। बेलायतका कीर्तिमानी धावक मो फराहलाई भेट्ने ठूलो इच्छा छ।

बुधबार साँझ रियोको एथलेटिक्स रंगशालामा ५ हजार मिटर दौडका लागि ट्रयाकमा उत्रिँदा हरिले यी दुवै अवसर पाउँदैछन्। उनी ४ वर्षअघि लन्डन ओलम्पिकमा बेलायतलाई १० हजार र ५ हजार मिटर दौडमा दोहोरो स्वर्ण दिलाएका मो फराहसँगै एउटै हिट्समा दौडिदैछन्। फराहले २ दिनअघि यही रंगशालामा १० हजार मिटरतर्फको स्वर्ण आफ्नो नाममा लेखाइसकेका छन्। अब उनको चुनौती लन्डन ओलम्पिकको स्वर्ण विजेताको छविलाई ५ हजार मिटरमा पनि कायम राख्ने हुनेछ।

यस्तो अवस्थामा नेपालमा लिगलिगे राजाको परिचय बनाएका हरिलाई १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्ने दबाब हुनेछ। नेपालमा ५ हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान त्रिभुवन आर्मीका राजेन्द्र भण्डारीको नाममा छ। भण्डारीले सन् २००६ श्रीलंकाको कोलम्बोमा आयोजना भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) मा १४ मिनेट ०१ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।

हरिको ५ हजार मिटरको उत्कृष्ट समय १४ मिनेट ३२ दशमलव १८ सेकेन्ड हो। त्रिभुवन आर्मीबाटै दौडिने हरि ६ महिनाअघि भारतको पूर्वोत्तर राज्य आसाममा सम्पन्न १२ औं सागको कास्य विजेता खेलाडी हुन्। उनले यही दौडमा ५ हजार मिटरमा आफ्नो उत्कृष्ट समय निकालेका थिए। हरिले जितेको कास्य १२ औं सागमा नेपालको एथलेटिक्सले जितेको एक मात्र पदक थियो।

‘मो फराहसँग भेट्ने इच्छा आज पुरा हुँदैछ’, हरिले रियोस्थित ओलम्पिक भिलेजबाट टेलिफोनमा सेतोपाटीलाई भने, ‘अब मेरो लक्ष्य राष्ट्रिय कीर्तिमान नै हो। यसका लागि प्रयास गर्नेछु।’

हरि बुधबार साँझ ६ बजेर ५० मिनेटमा दौडिदै छन्। उनी लेन नम्बर १० मा २ हजार ७ सय ९० नम्बरको ‘बिप’ मा देखा पर्नेछन्। उनीसँगै हिट्समा ३ पटकका विश्व च्याम्पियन र लन्डन ओलम्पिकका स्वर्णधारी मो फराह, इथोपियाका हागोस गेब्रिवेट, केन्याका दुई धावक चार्ल्स योसी मुनेरिया र मावानगाङ्गी नादिकु कालेब, क्यानडाका लुकास ब्रुचेट, जमैकाका क्यामबेल केमोईजस्ता स्तरीय धावक पनि दौडिदै छन्।

मो फराह अहिले १२ मिनेट ५९ दशमलव २९ सेकेन्डमा दौडिरहेका छन्। उनलाई यसपालि केन्याका कालेब नादिकु र इथोपियाका हागोस गेब्रिवेटले कडा टक्कर दिने बताइएको छ। नादिकु दोस्रो हिट्समा समावेश छन्। त्यसैले पहिलो हिट्समा रहेका इथोपियाका गेब्रिवेटबाट मो फराहले कडा टक्करको सामना गर्नु पर्नेछ।

पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको सम्झनामा हरेक बर्ष उनको जन्मदिनमा गोरखामा लिगलिगे दौडको आयोजना हुने गर्छ। हरि यस बर्ष लिगलिगे दौडको विजेता हुन्। लिगलिगे दौडका २८ वर्षीय यिनै विजेता रियो ओलम्पिकमा २० देशका २४ खेलाडीसँग हिट्समा दौडिने छन्।

हरि युनिभर्सल कोटाअन्तर्गत दौडमा भाग लिदैछन्। विश्वका सबै खेलाडीले ओलम्पिकमा सहभागिता जनाउन सकुन् भन्ने उद्धेश्यले अन्तर्राष्ट्रिय एम्एच्योर एथलेटिक्स संघले युनिभर्सल कोटाको अवधारणा अगाडि सारेको हो।

५ हजार मिटर दौडमा यसपालि ६ देशलाई युनिभर्सल कोटा छुट्टयाइएको थियो। जसमा नेपाल,मालावी, बर्मा, साओ टोमे एन्ड प्रिन्सिपे, सोलोमन आइसल्यान्ड र सोमालियाका खेलाडी छन्। हरिको हिट्समा सोलोमनका सियोसी रोसेफेलो र सोमालियाका मोहम्मद दाउद मोहम्मद समावेश छन्। ५ हजार मिटरमा सियोसीको उत्कृष्ट समय १६ मिनेट ५५ दशमलव ३३ को छ। यस्तै, मोहम्मद दाउद पनि १४ मिनेटभन्दा माथि दौडिरहेका छन्।

नेपालमा त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भ्वाङ परेको ट्रयाकमा २ महिना अभ्यास गरेर रियो पुगेका हरिले ६ दिन ओलम्पिक ट्रयाकमा अभ्यास गर्ने मौका पाएका थिए।

५ हजार मिटरमा विश्व कीर्तिमान केन्याका बेकेले केनेनिसाको नाममा छ। उनले सन् २००४ मा १२ मिनेट ३७ दशमलव ३५ को विश्व कीर्तिमान बनाएका थिए।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget