Websoft University

www.radiomakalu.com || 021-522512


सुनाकोठी सडकमा सवारी चाप बढेर स्थानीयवासी हैरान


ललितपुर, साउन २५ गते । भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी चापागाउँकी निशा शर्मा कुनै दिन सुनाकोठीमा एक घन्टा लामो गाडी जाममा पर्दा परीक्षा हलमा ढिला पुग्नुभएको थियो ।

सातदोबाटो–चापागाउँ सडकखण्डअन्तर्गत सुनाकोठीमा दैनिक हुने जामका कारण उहाँ परीक्षाहलमा पुग्न ढिला हुनुभएको थियो । सुनाकोठीको जाम लामो समयसम्म नखुलेपछि बस धापाखेलको बाटो घुम्दा उहाँ आधा घन्टा ढिला हुनुभएको हो । आफू कलेज जाँदा दैनिकजसो नै ढिलो हुँदा कक्षा छुटेको अनुभव उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “कार्यालय समयमा ओहोरदोहोर गर्न अझै हैरानी भोग्नुपर्छ ।”

ठेचोका सुमन महर्जन आफूले हजुरबुबालाई उपचारका लागि लैजाँदा झन्डै आधा घन्टा जाममा परेको सुनाउनुहुन्छ । जामका कारण एम्बुलेन्ससमेत अघि बढ्न सकेको थिएन । ट्राफिक प्रहरीले प्रयास गरे पनि कतै पनि बाटो नहुँदा एम्बुलेन्स अघि बढ्न सकेन । उहाँ भन्नुहुन्छ – “एम्बुलेन्ससमेत अघि बढ्न बाटो नपाएपछि आफन्तलाई के गर्ने भन्ने हैरान हुने गर्छ ।”

वार्षिक रुपमा सडकको चाप बढ्दै गए पनि साँघुरो बाटोका कारण यहाँँका सडकमा दैनिक गाडी अड्किने गरेको छ । केही वर्ष पहिलेसम्म ठूला सवारीको प्रवेशमा रोक लगाए पनि अहिले ठूला सवारी साधनका कारणसमेत दैनिक सडकमा जाम हुने गरेको छ । दैनिक रुपमा बाटो अवरुद्ध हुँदा एम्बुलेन्स, शव वाहन, दमकललगायतका अत्यावश्यक सवारीसमेत जाममा फस्ने गरेका छन् । बिहान ८ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म बाटो ओहोरदोहोर गर्न झनै कठिन हुने गरेको स्थानीयवासी बताउँछन् ।

चापागाउँका निशान्त देशार आफू मोटरसाइकलको वैकल्पिक बाटो खोज्दा दुर्घटनासमेत परेको बताउनुहुन्छ । हतारका समयमा भित्री बाटो प्रयोग गर्दा आफू चिप्लिएर आलीमा लडेको उहाँले सुनाउनुभयो । मूल बाटो पनि साँघुरो र वैकल्पिक बाटोसमेत राम्रो नहुँदा चालक र यात्रु दुवैले हैरानी बेहोर्नु परिरहेको हो । उहाँ भन्नुहुन्छ – “साँघुरो बस्ती भएका ठाउँमा कम्तीमा वैकल्पिक बाटो मात्रै हुँदा पनि सहज हुने थियो ।”

ट्राफिक प्रहरीले भने कार्यालय समयमा ठूला सवारीलाई यस सडकखण्डमा प्रवेशमा रोक लगाएको दाबी गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग चापागाउँमा कार्यरत प्रहरी चन्द्रदेव गिरी वर्षाका समयमा सडक अझै अस्तव्यस्त हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “उसै त साँघुरो बाटो छ त्यसमा पनि खाल्टाखुल्टीले गर्दा सवारी जाम हुने गरेको छ ।” बाटो साँघुरो हुँदा ट्राफिक प्रहरीले प्रयास गर्दा पनि सडक खुल्न गाह्रो हुने उहाँ बताउनुहुन्छ ।

कार्यालय समयमा सवारी जाम हुने स्थानमा सडक व्यवस्थापनका लागि ट्राफिक पहिले नै तयारी अवस्थामा हुने गरेको प्रहरी गिरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामीले सकेसम्म आधा घन्टाभन्दा बढी जाम हुन दिएका छैनौँ ।” जाम खुलाउन स्थानीयवासीले समेत सहयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

यो सडकखण्डमा सुनाकोठी र चापागाउँ पुरानो बजार गरेर दुई ठाउँमा दैनिक समस्या हुने गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले दुई वर्ष पहिलेदेखि नै सडक विस्तारको काम थालेको थियो । भूकम्पका कारण झन्डै एक वर्षसम्म सडक विस्तार रोकिएको थियो ।

प्राधिकरणको ललितपुर शाखामा कार्यरत इञ्जिनियर पूर्णबहादुर महर्जनले प्राधिकरणले गर्ने काम सकिएको र अब डिभिजन सडक कार्यलयले गर्ने काम मात्रै बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले चिह्न लगाउने काम सकेका छौँ । अब कार्यालयले नै निर्माणको काम अघि बढाउने हो ।” प्राधिकरणले घर भत्किएका वा विस्थापितलाई दिनुपर्ने मुआब्जा भने दिन बाँकी छ । ठेचो र सुनाकोठीमा गरेर गरेर झन्डै ८०० घर सडक विस्तारका लागि भत्काइने छ । बाइस मिटरको मापदण्ड भएकामा कतिपय स्थानीय बासिन्दा १८ मिटरको मापदण्ड कायम गर्न भनिरहेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget