Websoft University

www.radiomakalu.com || 021-522512


धरहराको डिजाइन तयार

काठमाडौंँ, साउन १८ गते । भूकम्पले भत्काएको धरहरा अझ बृहत् र अत्याधुनिक शैलीमा निर्माण गर्न अवधारणागत डिजाइन तयार भएको छ । विभिन्न छवटा कम्पनीमध्येबाट उत्कृष्टका रूपमा छनोट भएको केज कन्सल्ट प्रालिले तयार गरेको प्रारम्भिक डिजाइन सोमबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।
कम्पनीका आर्किटेक्चर इन्जिनियर विष्णु पन्थीले नयाँ बन्ने धरहराको डिजाइन गर्नुभएको हो । उहाँका अनुसार ऐतिहासिक स्तम्भका रूपमा रहेको धरहरालाई सोही महìवका साथ अझ सबल र अत्याधुनिक बनाइनेछ ।
त्यसका लागि हाल भएको धरहरा परिसरसँगैको गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र सुन्धारा क्षेत्रलाई समेत समेटेर एकीकृत रूपमा विकास गर्नेगरी योजना बनाइएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको हालको धरहरा परिसर विस्तार भएर करिब ४२ रोपनी क्षेत्रफल ओगट्नेछ । गोश्वारा हुलाक कार्यालयलाई डिल्लीबजारस्थित चारखाल अड्डामा सारिने सहमति सञ्चार मन्त्रालयले दिइसकेको छ भने टक्सार विभागलाई पनि राष्ट्र बैङ्कले अन्यत्रै व्यवस्था गर्ने सहमति भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम राईले जानकारी दिनुभयो ।
अब बन्ने धरहरा २४५ फिट अग्लो हुनेछ । बाहिरबाट हेर्दा वि.सं. १९९० सालको भूकम्पमा भत्किनुअघिको जस्तै ११ तलाको देखिनेछ भने भित्री भागमा करिब २० तलासम्म जानेछ । मुगलशैलीमा नै निर्माण हुने धरहराको टुप्पोसम्म जान दुईवटा लिफ्टको व्यवस्था हुनेछ । प्रत्येक लिफ्टले एकपटकमा १० जनालाई ओसार्ने क्षमता राख्नेछ । धरहराको भित्री भागको १८ र १९ तलामा १७ जनासम्म अट्ने थिएटर राखिनेछ जसमा बसेर पर्यटकले धरहराको ऐतिहासिक पक्षबारे जानकारी लिन सक्नेछन् ।
माथिल्लो भागबाट हेर्दा धरहराको तल्लो तलासम्म स्पष्ट हेर्न प्राकृतिक प्रकाश छिर्ने व्यवस्था गरिएको छ भने साँझमा विशेष आकर्षण देखाउन सकिने प्रविधि अपनाइने पन्थीले जानकारी दिनुभयो ।
धरहरा घुम्न आउनेका लागि केहीबेर सोही स्थानमा रमाउन सक्नेगरी आकर्षक फोहोरासहितको बगैँचा, रेस्टुराँको पनि व्यवस्था गरिनेछ । त्यस्तै टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर सङ्ग्रहालयसमेत राखिनेछ ।
त्यस्तै सुन्धारलाई व्यवस्थित गरेर राखिने र त्यसको परिसरलाई पनि आकर्षणको केन्द्रविन्दु बनाइने योजना पन्थीले प्रस्तुत गर्नुभयो । भत्किएको धरहरालाई थप क्षति हुनबाट जोगाउँदै भूकम्प स्मरणका लागि सोही स्थानमा संरक्षण गरिने निष्कर्षमा सरकार पुगेको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय रहेको स्थानमा तीन तलासम्मको पार्किङस्थल निर्माण गरिनेछ ।
धरहरा पुनर्निर्माणमा नेपाली जनताको स्वामित्व महसुस गराउने उद्देश्यले गत माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ अभियानको सुरुवात गर्नुभएको थियो । उक्त अभियान अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले राष्ट्रिय वाणिज्य बैङ्कको थापाथली शाखामा खोलेको खातामा हालसम्म करिब एक करोड ९५ लाख रुपियाँ जम्मा भइसकेको प्राधिकरणका विज्ञ सदस्य डा. ध्रुव शर्माले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले धरहरा पुनर्निर्माणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।
धरहराका लागि करिब तीन अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसका लागि सम्पूर्ण नेपाली जनतालाई नै स्वेच्छिक रूपमा सहयोग गर्न आह्वान गर्ने र नपुग रकम सहयोग गर्न नेपाल टेलिकम तयार भएको पनि उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget