Websoft University

www.radiomakalu.com || 021-522512


तिलाठीको वास्तविकता

dhirendra p shah
धीरेन्द्रप्रसाद साह
वि.सं. २०७३ साउन १३ गते सप्तरी जिल्लाको तिलाठीमा भएको घटना छिमेकी मुलुकको बल मिच्याइँ र त्यसको प्रतिकार गर्दै सीमा रक्षाका लागि बलिदान दिन नेपाली तयार रहेको अर्थमा व्यापक चर्चामा छ ।
सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि दक्षिण ७–१० किलोमिटर दक्षिण तिलाठी गाविस र गाउँ पर्दछ । जिल्लामा शिक्षित गाउँले प्रसिद्ध तिलाठीमा अन्य जातभन्दा ब्राह्मण जातिको बाक्लो बसोबास छ । राजविराजदेखि दक्षिण पक्की सडकको करिब ७ किलोमिटर बाटो तय गरेपछि तिलाठी गाविसको सीमा सुरु हुन्छ, त्यसपछि अझै कच्ची २ किलोमिटरको बाटो तय गरेपछि खाँडो नदी र त्यहाँबाट १ किलोमिटर पूर्व कच्ची बाटो पार गरेपछि सप्तरीको मुख्य नाका बेल्ही भन्सार (कुनौली भन्सार) पुगिन्छ । राजविराज– कुनौली सडक खण्डको तिलाठीस्थित खाँडो नदीदेखि करिब एक÷डेढ सय मिटर दक्षिण भारतीय सीमामा कुनौली बजार पर्दछ ।
भारतीय कुनौली बजार तिलाठी, सकरपुरा, रम्पुरा मलहनियाँ, बरहीवीरपुर, लालापट्टी, इनर्वा, हनुमाननगर, महदेवा, लगायत दक्षिण क्षेत्रका एक दर्जनभन्दा बढी गाविसबासीको मुख्य बजार हो । कुनौली बजारबासीसँगै ती गाविसबासीहरूको आत्मीय सम्बन्ध समेत गाँसिएको छ । सदिंयौदेखि हरेक दुःखसुखमा एक अर्कालाई सहयोग गर्ने, एकअर्काको निम्तोमा आउजाउ छ । ती गाविसबासी र कुनौली बजारबासीमा पराइको छनक नै छैन ।
तिलाठी–कुनौलीबासीबीच यस्तो प्रगाढ सम्बन्ध रहेको छ,
जसलाई टुटाउन जसले जति प्रयास गरे पनि सक्दैन । कुनौलीको व्यापार व्यवसाय नेपाली ग्राहक तथा उपभोक्ताकै भरमा चल्ने गरेको छ । सीमावर्ती नेपालीका लागि राजविराजभन्दा सस्तो, सहज पहुँच र नजिक कुनौली बजार नै हो । बाटोघाटोको दुरावस्था तथा दूरीको हिसाबले उनीहरूको लागि राजविराज बजार टाढा पर्दछ । सरकारी कार्यालय काम बाहेक सबै काम कुनौली बजारमै आश्रित छन् ।
तिलाठीदेखि–कोसी पश्चिमी तटबन्ध (बोर्डर) सम्म दशगजा छेउबाटै नेपालतिर जीर्ण सडक छ, हिँड्नलायक पनि छैन । यी सडकको दक्षिण दशगजामा खाँडो, जिता, र त्रियुगा नदी बग्छन् । नदीको दक्षिण भागमा कुनौली बजारलाई जोगाउन भारतीयले बनाएको कच्ची बाँध छ । तिलाठीदेखि सीमासम्मको दुई देशबीचको सीमा नै नदी रहेको देखिन्छ । दशगजाको बीच भागमा बग्ने गरेका यी नदीहरूमा आउने अत्याधिक बाढीले नेपालतिरको सडकसँगै कुनौलीको त्यो बाँध पनि कटान गर्दै आएका छन् ।
भारतले सन् १९७१ मा नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत तिलाठी क्षेत्रको दशगजा नजिकै एउटा आली जस्तो बनाएको बुढापाकाहरूको भनाइ छ । भारतले सीमा सुरक्षाका लागि आउजाउ गर्न आलीलाई बाँधको रूपमा बनाएको छ । पूर्व–पश्चिम दिशामा रहेको उक्त बाँध तिलाठीको दशगजास्थित खाँडो खोलामा आएका बाढीले कटान गरी पारीको सयौँ बिघा जग्गा बालुवाले पुरिएको छ भने कुनौली गाउँमा पानी पसेको थियो । यता भारतले बाँध निर्माण गरेकोले नदीको सीधा बग्ने प्रवाह नै थुनिएको छ । नदीको बहाव पश्चिम बगाउने प्रयास गरिएको भए पनि बालुवाले पुरिएको कारण पानी जाम हुने गरेको छ । यसले गर्दा तिलाठी, रम्पुरा मलहनिया, सकरपुरा लगायतका गाविसमा पानी पस्ने गर्दछ । यसै पानी निकासको लागि तिलाठी र कुनौलीबासी बीच बेलाबखतमा तनाव भई टकराव हुने गरेको छ । यस्तो घटना प्रायः वर्षायाममा बढी हुने गर्दछ । दुवै देशका यी बासीहरूले सीमाभन्दा पनि गाउँबस्ती डुबान तथा कटानबाट जोगाउन चाहन्छन् र बाढीबाट सुरक्षित रहन चाहन्छन् । यही झगडा हो, साउन १३ गतेको ।
नदीले कटान गरेको उक्त क्षेत्रमा भारतीय कुनौलीबासीले पूर्व अवस्थाकोभन्दा करिब ५ मिटर उत्तरतर्फ बोरामा बालुवा हालेर बाँध बनाउन थालेका थिए । यो बाँध जति उत्तर सारिएर बाँध्यो त्यति नै मुख्य रूपमा तिलाठीबासीको लागि खतरा हुन्छ । नदीको सतह बालुवाले भरिँदै गएको कारण नेपालतिर सडकमा रहेको खाँडो नदीको पुल बालुवाले पुरिएको अवस्थामा छ र अर्को पुल निर्माणाधीन अवस्थामा छ । भारतीय बाँधका कारण बालुला जम्दै जाँदा यो पुल बालुवाले पुरिएको हो भने पानी पनि जम्दा तिलाठी पनि डुबानमा पर्दै आएको छ ।
यसै नदीको पानीको प्राकृतिक बहावबाट तिलाठी–कुनौलीबासीले धनजनको क्षति रोक्न आ–आफ्नो स्तरमा प्रयास गर्दै आएका छन् । पछिल्लो पटकको यो प्रयास दुई देश बीचको सीमाभन्दा पनि ज्यानको सुरक्षासँग गाँसिएको छ । कुनौलीबासी पनि सीमा मिचेर बाँध निर्माण गर्ने मनसायमा रहेको देखिन्नन् । एकअर्कामा झगडा गर्ने मनसायमा पनि छैनन् । बाँध कटान गरिएको ठाउँमा गहिरो खाल्डो रहेकोले तत्काल पानी रोक्न अलिकति उत्तर मात्र सारेर बाँध्न लागेको उनीहरूको भनाइ छ । दशगजा क्षेत्रमा भारतीयहरूले बनाउन लागेको बाँध नेपालतिर तिलाठीका जनताले भत्काउन खोजेपछि झडप भयो । दुबैतिरका केही मानिसहरू घाइते भए । घाइते नेपालीहरूको तस्वीर वीर योद्धाको रूपमा नेपालका पत्रपत्रिका, सञ्चार माध्यमहरूमा छ्यापछ्याप्ति देखियो । स्वाभिमानको मुद्दालाई यस घटनाले निकै हौस्याएको छ । तिलाठीका जनताले भारतीय अतिक्रमणका विरुद्धमा सीमा रक्षकका रूपमा लडेर घाइते भएको अर्थमा चर्चामा ल्याए । यथार्थमा यो दुवैतिरका जनताका जनजीविकाको सवाल मात्र हो ।
सीमासँग जोडिएर आएको यो समस्या समाधान दुवै देशका जनतालाई द्वन्द्वमा धकलेर हुने होइन । यसका लागि भारत सरकार र नेपाल सरकारका बीच कूटनैतिक पहल आवश्यक छ । समयमा समाधानतिर नलागेमा आउने वर्षहरूमा पनि यसको पुनरावृत्ति भई नै रहन्छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget