Websoft University

www.radiomakalu.com || 021-522512


प्रमुख तीन शक्तिबीच तीनबुँदे सहमति




काठमाडौँ, साउन १९ गते । नयाँ सरकार निर्माणका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/सङ्घीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा आज बिहान प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकले खासगरी संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन उक्त सहमति गरेका हुन् ।

तीन बुँदे सहमतिपछि मधेस केन्द्रित र सङ्घीय गठबन्धनमा आबद्ध दलले काँग्रेस, माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्रीका साझा उम्मेदवार पुष्पकमल दाहाललाई निर्वाचनमा मतदान गर्ने भएका छन् ।

अध्यक्ष दाहालले संसद्मा उभिएर आफूलाई प्रधानमन्त्रीमा निर्वाचन गरियोस् भनी प्रस्ताव गर्ने क्रममा उक्त सहमति भएको जानकारी गराउनुभयो । उक्त सहमति पत्रमा काँग्रेस, माओवादी केन्द्र र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिको १ नम्बर बुँदामा सङ्घीय गठबन्धनले प्रस्तुत गरेका मागमध्ये संविधानसँग सम्बन्धित विषयमा सहमतिका आधारमा सरकारले संसद्मा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने सहमति रहेको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै २ नम्बर बुँदामा तराई मधेसको आन्दोलनमा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ । त्यस्तै आन्दोलनका मृतकलाई क्षतिपूर्ति र सहिद घोषणा गर्ने, घाइतेको सम्पूर्ण उपचार सरकारले गर्ने र आन्दोलनका क्रममा लागेका मुद्दा खारेजी गर्नेलगायतका सहमति भएको छ ।

तेस्रो नम्बर बुँदामा आगामी सरकार गठनका लागि काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार संसद्मा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको पक्षमा मतदान गर्ने सहमति भएको अध्यक्ष झाले बताउनुभयो ।

सहमतिपत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेस जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव र नेपाःराष्ट्रिय पार्टीका महासचिव डा विजय सैंजुले हस्ताक्षर गर्नुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget