काठमाडौं ,भदौ ५ गते । ४० वर्ष कटेपछि पनि अझै विद्यार्थी ? कांग्रेसको राजनीतिमा यो सम्भव देखिएको छ । पढेर जागिर खाइवरि पेन्सन पकाउने यो उमेरमा नेविसंघभित्र अझै पनि ‘विद्यार्थी नेता’ बन्ने अभियान जारी छ ।
यसैसन्दर्भमा हामीले पूर्वनेविसंघ अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई नेविसंघको अधिवेशनको विषयमा केन्द्रित रहेर केही प्रश्नहरु राखेका छौं:
नेविसंघको अधिवेशन उद्घाटन त भयो । तर, १२ दिन लगाएर पनि नीति, कार्यक्रम, आगामी कार्ययोजनाबारे छलफल गर्ने बन्द सत्र गर्न स्क्नुभएन, बल्लतल्ल चुनाव मात्र भो । नेतृत्व चयन गर्न मात्रै त अधिवेशन गर्ने होइन होला ?
एउटा विद्यार्थी आफ्नो नेता चुन्न बेलुका छ बजेदेखि लाइनमा बसेको भोलिपल्ट विहान ४ बजे मात्र पालो आयो । १० घण्टा लाइनमा बसेर नेता छानेका छन् । त्यसैले कमिटमेन्टको पक्षबाट अटल विश्वास देखियो ।
यो पक्षबाट हेर्दा यो अधिवेशन सफल भयो भनेर दाबी गर्न सक्ने अवस्था छैन । तर, नेपालको राजनीतिमा विचारको पक्ष स्खलित हुँदै गएको छ । पार्टीकै अधिवेशनहरुमा पनि बैचारिक छलफलमा छलफल हुने, विचारको जगमा उभिएर नेतृत्वबारे बहस हुने परिपाटी कमजोर हुँदै गएको छ । यसको प्रभाव नेविसंघमा पनि पर्यो होला ।
सँगसँगै, लामो समयसम्म ट्रयाकमा नआएको संगठन भएकाले वैचारिक, कार्यक्रमिक पक्षमा छलफल हुने स्थिति बनेन । तर, हामी त्यसलाई कसरी परिपूर्ति गर्न खोज्दैछौं भने कमसेकम एउटा ट्राकमा त आयो नि । निर्वाचनबाट नेतृत्व आयो र एउटा संरचना विधिबाट आयो । र, अब यो नेतृत्वले विचारको अधिवेशन छुट्टै गर्न सक्छ ।
तर, भोटिङ गर्नै पनि १२ दिन कुर्नुपर्यो । १०/११ दिनसम्म न प्रतिनिधिको टुंगो थियो, न अधिवेशनको । कार्यक्रम हलको बुकिङ सकियो, कार्यकर्ता अलपत्र परे । भन्नलाई देशकै जेठ र लोकतान्त्रिक पार्टी भन्ने । अनि किन यति धेरै अव्यवस्था ?
पहिलो कुरा त यो समाजले वढी भरोसा र अपेक्षा गरेको पार्टी कांग्रेस हो । र, पनि कांग्रेसले आफ्नै भ्रातृ संगठनको अधिवेशन व्यवस्थित ढंगले गर्न सकेन भने आफूले अनुत्तरित प्रश्नहरु राखेर देशको नेतृत्व दावी गर्दै गर्दा हामीमाथि प्रश्न उठ्ने आलोचना हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । यो कमजोरी सच्याउन पर्छ, अनिमात्र कांग्रेस देशको नेतृत्व गर्न सक्षम छ भनेर मानिसहरुले विश्वास गर्न सक्छन् ।
र, यो बीचमा जुन अव्यवस्था देखियो । होटलको वुकिङ सकिएको थियो । उनीहरु कहाँ बसे, के खाए ? यसको खासै असन्तुष्टि देखिएन । वास्तवमै यो त सडकमा जुलुस नै निस्कनु पर्ने हो । अझ प्रतिवद्धता कतिसम्म छ भने एउटा विद्यार्थी आफ्नो नेता चुन्न बेलुका छ बजेदेखि लाइनमा बसेको भोलिपल्ट विहान ४ बजे मात्र पालो आयो । १० घण्टा लाइनमा बसेर नेता छानेका छन् । त्यसैले कमिटमेन्टको पक्षबाट अटल विश्वास देखियो ।
धेरै दुःख पाएर पनि यो प्रकृयामा सहभागी भए । यसले हामीलाई उत्साहित बनाएको छ । तर, अव्यवस्थापनको जुन परिस्थिति देखियो, यसले आलोचित पनि गराएको छ । र, यसलाई सच्याउनुपर्छ ।
कार्यकर्ताको प्रतिवद्धतामा कसैले प्रश्न गरेका छैनन् । तर, यसमा दोषी त तपाई नेताहरु होइन र ? एकपटक माफी माग्नुपर्छ भन्नेसम्म लागेन ?
अनौपचारिकरुपमा हामीले हरेक भोटर्सलाई कन्भिन्स नगरेको भए विस्फोट हुन्थ्यो । आन्तरिक विषय भएका कारणले अधिवेशनका सन्दर्भमा बनेका सबै मञ्चहरुमा गल्ती भएको स्वीकार गरेका छौं । हाम्रो आन्तरिक विषय भएकाले जिम्मेवार नेविसंघका प्रतिनिधिहरुले दुःखकस्ट आफैंसँग राखेर यो विषय बाहिर ल्याएनन् । र, यो सबै कुराको क्षति निर्वाचनबाट नेतृत्व चुनेर भयो र अबको नेतृत्व विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने काममा लाग्छ भन्ने विश्वासले मतदान गरेका छन् । र, आफूले भोग्नु परेको पीडा, दुःख बिर्सिएका छन् भन्ने लाग्छ ।
यो प्रक्रियामा कार्यकर्ताको आक्रोस कुनै पनि बेला पोखिन सक्छ भन्ने लाग्यो कि लागेन ?
हामीलाई यो विषयको एकदमै डर थियो । किशोर किशोरी प्रतिनिधिहरु देशभरबाट आएका छन् । उनीहरुले के सिके त ? यो पक्षले हामीलाई चिन्तित बनाएको थियो ।
तर, मतदानमा उपस्थित हुँदा हाम्रो संगठन ट्रयाकमा गयो र नेतृत्व छान्न पायौं भनेर जसमाथि विश्वास थियो, त्यही समूह/व्यक्तिलाई भोट हालेर निर्वाचित गरे । अबको नयाँ नेतृत्वको चुनौती हो कि यो भद्रगोललाई सुधार गर्ने र ट्राक बाहिर गएको संगठनलाई ट्राकमा ल्याउने । यसले तल्लोतहका नेता कार्यकर्ता विचलित नहुने अवस्था आउँछ ।
तपाईलाई लाग्दैन, यो सबैको कारक कांग्रेसभित्रको गुट र नेताहरुको पेटी स्वार्थको परिणाम हो ?
एउटा त पार्टीको नेताहरुले नेविसंघप्रतिको दृष्टिकोण बदल्न जरुरी छ । यसलाई आफ्नै ढंगले चल्न दिनुपर्छ । हामी कहाँ कस्तो चलन छ भने टाउका गनेर राजनीति गर्ने । यो पनि मेरो भयो, त्यो पनि मेरो भयो भनेर नेता हुन कल्चर गलत हो । व्यक्तिगत रुपमा हात मिलाएर, कसैको काम गरिदिएर नेता हुन सकिँदैन । विचार दृष्टिकोणमा आफू अब्बल भएर कार्यकर्तालाई पछि लगाउने हो । त्यसैले यो संस्कार बदल्नुपर्छ ।
अर्को नेविसंघ मजबुत भयो भने कांग्रेस मजबुत हुन्छ । नेविसंघ मजबुत हुन त्यो योग्य नेता आउनुपर्छ । त्यसैले योग्य नेता आउने मार्गलाई कांग्रेसले सहज बनाउनुपर्छ ।
र, तेस्रो कुरा, अहिलेकै सन्दर्भमा नेविसंघको अहिलेको नेतृत्वले समयमै काम गर्न सकेन । नेविसंघलाई अधिवेशनमा लिएर जान जुन आधारभूत तयारी हुनुपथ्र्यो, त्यो भएकाले पार्टीले निर्देशक समिति बनाएर यो अधिवेशन सम्पन्न गराइदिएको हो ।
तर, फर्जी मतदाताको आरोप लाग्यो,अधिवेशन नै बहिस्कार गर्ने चेतावनीसम्म दिए नि ?
कांग्रेसभित्र अहिले कुनै पनि गुट उपगुट यो प्रक्रियासँग असहमत छैन । अधिवेशन सम्पन्न गर्ने चरणहरुमा धेरै आरोप अवरोध आए । सहमति भयो, फेरि तोडियो । गुटको कुरालाई केन्द्रमा राखेर नेविसंघलाई फेरि पनि अवरुद्ध गर्ने कोशिश भयो । तर, यसको अन्तिम प्रक्रियामा कोही पनि असफल भएनन् । र, निर्वाचन सम्पन्न भयो ।
अहिले जित्ने भन्दा हार्नेहरु बढी जिम्मेवार भएर अंकमाल गरेर नेविसंघ राम्रो बनाउन हामी सहयोग गर्छौ भनिरहेका छन् ।
जहाँसम्म फर्जी मतदाता भन्ने छ तत्कालीन अध्यक्ष तयार गर्नु भएको डकुमेन्टका आधारमा मतदाता सूची भएको हो । सिलिङ क्रस पहिले नै भएको हो । र, अहिले नेविसंघमा आस्था राख्ने सबैलाई सहभागी गराएर अधिवेशन सम्पन्न गरिएको हो ।
उसोभए अध्यक्षका लागि आफूले अधिवेशन गर्न नपाएपछि निर्देशक समितिको सदस्यका रुपमा यो पटक सक्रिय सहभागी हुनु भो । कत्तिको सन्तुष्ट हुनुहुन्छ यो प्रक्रियाबाट ?
सबै पक्षबाट हेर्दा एकदमै ठूलो सफलता हो भन्ने अवस्था छैन । तर, जुन परिस्थितिमा हामी थियौं, त्यससँग जोडेर हेर्दा सफलता हो । मानौं, अधिवेशन उद्घटनपछि भोटर लिस्ट नै फाइनल भएन, चुनाव पनि हुन सकेन भन्ने अवस्था आएको भए टीका लगाएर कसैलाई अध्यक्ष बनाइन्थ्यो । अर्कोले बहिस्कार गर्ने अवस्था आउन सक्थ्यो । र, आम जनमानसमा इमेज झन खस्किने अवस्था आउँथ्यो । त्यसैले थोरै भएपनि मेन्टेन भएको छ । विकराल समस्या आउने स्थिति तोडिएको छ ।
अबको नेतृत्वले विगतलाई आधारमा बनाएर सच्चिने कोशिष गर्यो भने ट्रयाकमा आउन सक्छ ।
जहाँसम्म मेरो प्रश्न छ, म अध्यक्ष हुँदा अधिवेशन गर्न नसकेको होइन, पाइनँ । तर, कत्तिले पत्याउँछ थाहा छैन । अहिले अधिवेशन सम्पन्न गर्नमा निर्देशक समितिका सदस्य भएका कारणले मैले पनि जस लिने अवस्था बन्यो, यसमा आत्मासन्तुष्टि छ ।
साँच्ची तपाई नेविसंघको अध्यक्ष हुँदा कति वर्षको हुनुहुन्थ्यो ?
उमेर जन्य हिसावले उहाँहरु जेठो हो नै, यसलाई स्वीकार गर्नुपर्छ । यति जेठाहरु नेतृत्वमा आउने स्थिति अब बन्दैन, यो अन्तिम नै हो ।
म नेविसंघको अध्यक्ष हुँदा ३० वर्षको थिए ।
तर, अहिले त अंकलहरु चुनाव लडे । नवनिर्वाचित अध्यक्ष ४२/४३ वर्षका छन्, अरु उम्मेदवार पनि यस्तै उमेरका ..
उहाँ (नवनिर्वाचित अध्यक्ष) को उमेर मलाई थाहा छैन । तर, विद्यार्थी आन्दोलनमा सक्रिय मान्छे हो उहाँ । यो नेविसंघको लामो समयसम्म अधिवेशन भएन । संगठनको महामन्त्री, उपाध्यक्ष भएको मान्छे स्वतः अध्यक्षको दावेदार हुन्छ । अनि अध्यक्षबाट रिटायर्ड हुनु र उपाध्यक्ष/महामन्त्रीबाट रिटायर्ड हुनुमा राजनीतिकका आधारमा एकदमै ठूलो अन्तर हुन्छ । त्यसैले उमेर गए पनि नेविसंघमा एउटा अन्तिम अवसर लिनका निम्ति उहाँहरु पर्खिरहनु भएको थियो । यो उहाँहरुको दोष भन्दा पनि अधिवेशन समयमा हुन नसकेका कारण यो परिस्थिति आएको हो ।
हामीले पनि उहाँलार्इ कहाँ दोषी भनेका हौं र ! ४० कटेपछि बल्ल विद्यार्थी नेता हुने, ५० कटेपछि कांग्रेसको केन्द्रीय राजनीतिमा जाने र काम गर्ने पदमा पुग्दा ७५/८० वर्ष हुने । कहिलेसम्म यस्तो पो भनेको ?
नेविसंघको मामिलामा यो पनि अब सच्चिँदैछ । विधानमा हामीले ३२ वर्षको उमेर हद तोकेका छौं । अर्को कुुरा २ वर्षमा अधिवेशन गर्नु पर्ने र विशेष परिस्थितिमा तीन महिना थप्ने सक्ने छ । यसले नियमित ढंगले अधिवेशन हुने र ३२ वर्षसम्म मात्र नेता हुन पाइने भएपछि अब नेविसंघमा २४/२५ वर्षको उमेर समूह नै नेतृत्वमा आउँछ ।
जहाँसम्म पार्टीको कुरा छ, कांग्रेस मुलुककै पुरानो पार्टी हो । यो पार्टीमा जन्माउने र विचमा सक्रिय भएर नेतृत्व जान चाहने दुबै समूह सक्रिय छ । भर्खर जन्मिएका पार्टीहरुमा जस्तो व्यवस्थापन सजिलो छैन । यद्यपि म आफैं पनि चार दशकको हाराहारीको मान्छे केन्द्रीय सदस्य भएकाले कांग्रेसमा युवाको प्रतिनिधित्व छैन भन्न मिल्दैन ।
उसो भए अब अंकलहरु नेविसंघका नेता हुने यो अन्तिम हो ?
खासै यही नेतृत्वसँग जोडेर म त्यसो भन्न चाहन्नँ । उहाँहरुको लामो यात्रा गर्नु भएको छ । विजेता र उपविजेता सबै योग्य हुनुहुन्थ्यो । तर, उमेर जन्य हिसावले उहाँहरु जेठो हो नै, यसलाई स्वीकार गर्नुपर्छ । यति जेठाहरु नेतृत्वमा आउने स्थिति अब बन्दैन, यो अन्तिम नै हो ।-अनलाइनखबर
Post a Comment