Websoft University

www.radiomakalu.com || 021-522512


स्वार्थी मिलाप ! कपटी विलाप !

gopal-budathoki1

गोपाल बुढाथोकी
नेपाली राजनीतिमा अहिले देखिएको दुईटा विचित्र तमासा हो–देउवा र प्रचण्डको मिलन र दुईभाई राप्रपाको एकीकरण नाटक । नेपालमा दलीय राजनीति सुरु भएको पछिल्लो करीब तीन दशक नियाल्ने हो भने राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र कोही हँुदैन भन्ने चर्चित भनाई नेपाल देशमा गजबैसंग पुष्टि हुन्छ । नेपाल देशमा यो भनाई पुष्टि गर्दै राजनीति चाहिं अनैतिकताको बाटो हँुदै रसातालतर्फ लम्कँदो छ ।

शेरबहादुर देउवा उनै हुन् जसले प्रधानमन्त्री छादा माओवादी नेता प्रचण्डसहित केहीको टाउकोको मोल तोक्ने निर्णय गरेका थिए । अहिले आएर प्रचण्डको टाउकोको होइन, स्वयं प्रचण्ड नै देउवाका लागि मूल्यवान बनेका छन् । प्रधानमन्त्री पदमा सपथ लिनासाथ प्रचण्ड कसैका लागि मूल्यवान बनेका छन् भने ती देउवा नै हुन् । देउवाका लागि प्रचण्ड यति मूल्यवान छन् कि देउवाको भविष्यमा प्रधानमन्त्री पदप्राप्ति प्रचण्डमार्फत मात्र सम्भव हुने देखिन्छ । अब नौ महिना प्रचण्ड प्रधानमन्त्री रहनेछन्, प्रचण्डबाट कुनै अन्यथा नभएमा त्यसपछि देउवा प्रधानमन्त्री बन्नेछन् । प्रचण्डले देउवालाई समर्थन दिनेछन् । तर, राजनीतिमा नौ महिनापछि अहिले गरिएका सहमति लागू होला ? प्रचण्डबाटै नौ महिनापछि सत्ता छोड्ने त्यस्तो कुनै सहमति भएको छैन भन्ने महावाणी २०७३ साउन २२ गते नै सार्वजनिक भइसकेको छ । त्यस कारण नौ महिने साटफेरमाथि प्रश्न खडा भइसकेको छ ।

देउवा र प्रचण्ड हिजो सत्रु थिए, आज मित्र छन् । प्रचण्ड र केपी ओली हिजो मित्र थिए, आज पक्षविपक्ष बनेका छन् । संसदीय राजनीति, खासगरी त्रिशंकु संसद भएको अवस्थामा यस्तो स्थिति सामान्य मानिनुपर्छ । तर, गठवन्धन केका लागि बन्छ ? केका लागि भविष्यमा आलोपालो गर्ने सहमति हुन्छ ? कुनै विचार सिद्धान्तका आधारमा हँुदैन, विशुद्ध ब्यक्तिगत स्वार्थका लागि हुन्छ । प्रचण्डले नौ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छन् कि गर्दैनन् भन्ने त्यसबेलाको अवस्थाले निर्धारण गर्नेछ । प्रधानमन्त्री प्रचण्डले यो दिन र ऊ दिनमा देउवालाई पालो दिने भनेर समय किटान नगरिएको भनिसकेका छन् । अर्थात्, प्रचण्डको सत्ता त्यागको समस्या सुरु भइसक्यो ।

बाहिरबाहिर देखेको र बुझेको कुरा के हो भने आगामी २०७३ चैतमा स्थानीय निकायको चुनाव गरिनेछ । त्यसपछि प्रचण्डले छाड्नेछन्, प्रचण्डकै समर्थनमा देउवा प्रधानमन्त्री बन्नेछन् । चैतमा चुनाव भएन भने के हुन्छ ? प्रचण्डको अहिले नै आशय आयो– नौ महिनापछि सरकार छाड्ने होइन भनेर । चैतमा चुनाव हुनेभन्दा नहुने नै सम्भावना देखिन्छ । चुनाव भएन, चुनाव नभएसम्म म प्रधानमन्त्री हो भन्लान् प्रचण्डले । किनभने नेपाली चलन यही हो, कुनै हालतमा कुर्सी नछाड्ने । प्रचण्डले सर्लक्क कुर्सी छाड्न चुनाव हुनपर्छ, चुनाव भएन भने उनलाई बहाना मिल्नेछ । त्यसपछि के हुन्छ ? त्यसपछि अहिलेको देउवा प्रचण्ड मिलाप बन्नेछ विलाप । मिलाप र विलापबाटै राजनीति अगाडि बढिरहेछ । अगाडि त बढिरहेछ तर कतातिर ? ठीक ठाउँतिर अगाडि बढिरहेको छ त ?

हरेक मुलुकको राजनीतिका आआफ्नै मौलिकता हुन्छ । दक्षिण एसियामा सबैभन्दा राम्रो राजनीतिक मेलमिलाप भएको देश चाहिं नेपाल हो । जति बाझे पनि, जति विवाद भए पनि एउटा सीमामा पुगेपछि दलहरु मिल्छन्, औपचारिक संवाद नभए पनि अनौपचारिक संवाद कहिल्यै टुट्दैन । परस्पर विरोधी भएपनि राजनीतिक नेतृत्वले आपसी सामाजिक सम्बन्ध राख्छ । एउटाले अर्काेलाई घोर बेइमानी गर्छन् अनि मेरो मित्र भन्दै गला पनि मिलाउँछन् । यसको अर्थ के हो भने सम्पूर्ण राजनीतिक सम्बन्धहरु स्वार्थबाट निर्देशित भइरहेको छ । स्वार्थ नै सर्वाेपरी हो भने नौ महिनापछि प्रचण्डले देउवालाई कसरी पद छाड्छन् ?

देउवा र प्रचण्डको विशुद्ध स्वार्थ सम्बन्ध हो । स्वार्थ मिलिन्जेल यी साथ बस्नेछन्, नमिलेका दिन आआफ्नो बाटो लाग्नेछन् । यस्ता मुख्य शक्तिका मुख्य नेताहरुको स्वार्थपूर्ण मेलमिलाप र कपटपूर्ण विलापले नेपाली राजनीति भयानक रुपमा प्रदुषित भइसकेको छ । लोकतन्त्रको भविष्य मात्र नभएर मुलुकको भविष्यमा नै प्रश्नचिन्ह लाग्न थालिसकेको छ । यी नेताहरुले देशको दूरगामी भविष्यका लागि नभएर केही दिनको मिलापका लागि सहमति गर्छन्, निजी र पार्टीगत स्वार्थका लागि मात्र सम्बन्ध राख्छन् । पार्टीभन्दा माथि देश र जनता छन् भन्ने यिनको दिमागमा घुस्दै घुस्दैन । त्यसैले यिनको मिलाप पनि नाटकीय र विलाप पनि नाटकीय लाग्छ ।

मिलापकै प्रसंगमा लेख्नपर्दा दुई भाई राप्रपाको एकताको चर्चा गर्नैपर्ने हुन्छ । राप्रपा जमात नेपालको अनौठो पार्टीहरु हुन् । यी पार्टीहरुमा जति स्वार्थपूर्ण सम्बन्ध अन्त विरलै देख्न पाइन्छ । पदका लागि यी पार्टीका नेताहरुले जे पनि गर्छन्, जस्तोसुकै तमासा पनि गर्छन् भन्ने जगजाहेर छ । अन्यथा नभएमा केही दिनमा यी दुई पार्टी एकीकरण हुँदैछ । एकीकरणपछि को पार्टी अध्यक्ष बन्ने ? मुख्य समस्या यही थियो, सरल समाधान निस्कियो– दुईजना अध्यक्ष बन्ने । पशुपति शमशेर राष्ट्रिय अध्यक्ष, कमल थापा अध्यक्ष ! वाफ रे, क्या गजब फर्मूला !! पार्टीमा दर्जनौं उपाध्यक्ष, दर्जनौं महासचिव र अन्यपदधारीहरु देखिएकै थिए, हजार पन्ध्रसय केन्द्रीय सदस्य पनि देखिएकै हो । अहिले आएर दुईजना अध्यक्ष पनि देखियो ।
नमरी बाँचे कालले साँचे, नेपाली राजनीतिमा आगामी दिनमा देख्न बाँकी अझै धेरै छ ।
( बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget