हालसालै ट्वीटर प्रयोगकर्तामाझ एक सर्वेक्षण गर्न मन लाग्यो । प्रश्न राखेँ( तपाईं दिनमा कतिपटक चिया पिउनु हुन्छ ?
अधिकाशंको उत्तर थियो कम्तीमा तीन । कसैले ५÷६ । कसैको उत्तर मुडमा भर पर्छ रे । थोरैको चाहिँ उत्तर आयो( मन पर्दैन । बाध्यतामा मात्र खान्छु । केही साथीभाइ पिउनुको पनि बाध्यता हुन्छ भन्थे । तर, चिया पिउनु पनि बाध्यता हुँदोरहेछ ।
वास्तवमा, हिजोआज त कसैलाई खुला हृदयले स्वागत गरेको त्यतिबेला मात्र बुझिन्छ, जतिबेला चियाको कप आइपुग्छ । विदेशको कुरा छाडौँ, नेपालमै पनि चिया अब सबैको साझा अम्मल भइसकेको छ । प्रायःजसो सबै होटल र सहरमा विशेषगरी उपत्यकामा प्रख्यात मानिएको क्याफेको दिगो रुपमा आयआर्जनको स्रोत बनेको छ( चिया । यसैगरी, सहरका पेटीदेखि ठेलावाला र विभिन्न पार्कदेखि घर–घर र पसल–पसल अनि कार्यालयमा चिया बेचेर पनि कतिपय निम्नआय भएकाले आफू बाँच्ने र घरपरिवारसमेत त्यसैको भरमा पालिरहेका छन् । प्रत्येक स्कुल, कलेज र सरकारी होस् वा निजी, कार्यालयका क्यान्टिनमा चिया राख्नु अनिवार्य नै हो । बिहान जुरूक्क उठ्यो( चिया, दिउँसो खाजा खाने बेला भयो( चिया, दिउँसो थकाइ मारेर फ्रेस हुनुपर्यो( चिया, कसैलाई अल्छी लाग्यो( चिया, कसैलाई काम गर्ने जाँगर हराए( चिया, कसैसँग भेट भयो( चिया । घरमा पाहुना आए सुरूमा कसरी स्वागत गर्ने त ?(चिया । अली जाडो बढ्यो( चिया । कहीँ कतै कसैलाई पर्खनुपर्यो, के गर्दै बस्ने त ?(चिया ।
कहिलेकाहीँ त केही कामै छैन केपो गर्नु हौ ? लौ चिया खाऔँ । गाउँघरमा बिहानै मेलापात जाने बेला भयो, केही खाजा बनेको छैन, के खाने त ? चिया खाँदै गरौँ न रे । अझ हाम्रा बालाई त चिया भए ११ बजेसम्म खाजै नपर्ने । कस्तो गज्जबको चीज हो भन्या यो चिया । उता, सहरिया युवाको त फेसन नै भयो । टेन्सन होस् कि खुसी, जाँच आओस् कि रिजल्ट । पास भएको दिन होस् कि फेल, भाइवा होस् या इन्टरभ्यु, क्याफे गयो दन्कायो– चिया । अहो कस्तो गज्जब, यसरी सबैको प्यारो के चीज रहेछ त यो चिया ?
Teapot pouring tea into glass cup and saucer
चियाबारे अर्को रमाइलो कुरा के भने संसारका प्रायः सबै ठूला र महत्वपूर्ण निर्णय चियाको चुस्कीसँगै हुन्छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको चिया पार्टीले पनि निकै चर्चा पाएको थियो । नेपालमा पनि चियापानको नाममा धेरै बिल भुक्तानी हुन्छ । राजनीतिक पार्टी पनि कसैले घटस्थापना त कसैले कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान कार्यक्रम राखेकै हुन्छन् ।
तातो दूध, तातो पानी र चिया रङको समिश्रणलाई हाम्रो बोलीचालीको भाषामा चिया भनिन्छ । तर, यसको लोकप्रियताका कारण यसको फर्मुलेसनमा पनि विविधता पाइन्छ । मिल्क टि, लेमन टि, सुगर फ्री टि, ब्ल्याक टि, मिल्क र सुगर फ्री टि आदि–इत्यादि । यो छनोट उपभोक्ताको इच्छा र स्वास्थ्य स्थितिमा भर पर्छ । सामान्यता चिनी रोग भएकाले सुगर फ्री चिया मगाउने गर्छन् ।
चिया सदियौँदेखि पिउँदै आइएको संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । यसको उत्पत्तिबारे पूर्ण तथ्य नपाइए पनि चिनियालीले पाँचाँैैँ शताब्दीदेखि नियमित रुपमा चियाको प्रयोग गरेको पाइन्छ । सुरूमा चियालाई औषधिका रुपमा प्रयोग गरिन्थ्यो । तर, पछि समयसँगै यसलाई ‘रिफ्रेसिङ विभिरेज’का रुपमा प्रायोग गर्न थालिएको हो । एसियामा इनरको व्यापारिक रूट हुँदै फैलिएको चियाको प्रयोग सत्रौँ शताब्दीमा मात्र युरोपमा डच व्ययापारीले पुर्याएका थिए । अठारौँ शताब्दीसम्म आइपुग्दा त इंग्ल्यान्डमा अति लोकप्रिय रहेको कफीलाई पछि पार्दै चिया त्यहाँको राष्ट्रिय पेयका रुपमा स्थापित हुन पुग्यो । अहिले, चियाको सबैभन्दा बढी उपभोग गर्ने देश बेलायत हो भने चियाको सबैभन्दा ठूलो बजार लन्डन हो ।
नेपालमा पनि चिया खेतीको लामै इतिहास छ । केन्द्रीय प्रविधि क्याम्पस धरानका चिया विशेषज्ञ श्यामकुमार मिश्रका अनुसार भारतको दार्जिलिङमा भित्रिएकै दशकमा नेपालमा पनि चिया भित्रिएको हो । गजराजसिंह थापा नेपालमा चिया रोप्ने पहिलो व्यक्ति हुन् । उनले इलाममा पहिलोपटक चिया रोपेका थिए ।
नेपालबाट निर्यात गरिने सामानमध्ये, नेपाली अर्थोडक्स चिया पनि महत्वपूर्ण हो । पूर्वका इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा मुख्य गरी उत्पादन गरिने चियाको विशेष स्वादका लागि लोकप्रिय मानिन्छ । नेपालमा उत्पादन हुने अर्थोडक्स चिया भारत एक्लैले ९० प्रतिशतसम्म आयत गर्छ, जसलाई भारतीय व्यापारीले उच्च मूल्यमा अन्य देश र विशेषगरी जर्मनी पठाउँछ । विश्वव्यापी रुपमै उच्च माग भए पनि अर्गानिक अर्थोडक्स चियाको उत्पादन नेपालमा अझै कम छ ।
विश्वको जनसंख्यामध्ये करिब तीन चौथाइले पिउने चिया, क्यामेलासिनेसिस बिरूवाको पातलाई केही प्रशोधन गरेपछि सुकाएर बनाइएको हो । यसको लोकप्रियता भनेकै यसको असाध्यै राम्रो फ्लेभर र यसले मनाव स्वास्थमा पार्ने सकारात्मक असर हुन् । चियामा पाइने क्याफिनले स्टिमुलेटिङ असर दिन्छ । त्यस्तै ट्यानिनले चियाको झोलमा रङ र आकार दिन्छ भने इसेन्सियल तेलले सुगन्ध दिएर चियालाई स्वादिलो र बास्नादार बनाउँछन् । यसैकारणले चियालाई सुगन्धित स्टिमुलेन्टका रुपमा लिइन्छ । चियामा क्याफिनको मात्रा २.५ देखि ४.५ प्रतिशतसम्म हुन्छ भने कफीमा ४.५ प्रतिशत हुन्छ ।
पोषणविज्ञानको हिसाबले भन्ने हो भने चियालाई लगभग पोषणरहित भन्न सकिन्छ । चियामा पाइने केही प्रोटिनको मात्रा, प्रशोधन गर्ने समयमा पातमै अघुलनशील भएर रहन्छ । त्यस्तै चियामा फ्याट र कार्बोहाइड्रेट पनि हुन्छ । तर, त्यो नगन्य मात्रामा हुन्छ । वास्तवमा भन्ने हो भने एक कप चियाबाट हामीले चार क्यालोरी मात्र इनर्जी पाउँछौँ । सामान्यता त्यसमा एक चम्चा दूध, जसमा करिब १० क्यालोरी इनर्जी पाइन्छ । एक चम्चा चिनी जसमा करिब २५ क्यालोरी इनर्जी पाइने भएकाले एक कप दूधचियाबाट हामीले करिब ४० क्यालोरी इनर्जी पाइन्छ । त्यसैले चियालाई इनर्जीको स्रोतका रुपमा भन्दा बढी स्टिमुलेन्टका रुपमा प्रयोग गरिन्छ ।
विश्वव्यापी रुपमा चियाको उपभोग बढ्नु भनेको यसको सुगन्धदार बास्ना, उत्कृष्ट स्वाद र मानव स्वास्थमा पर्ने अनुकूल फाइदा हुन् । चियाको उपभोग गर्ने मानिसको स्नायु प्रणाली रक्तसञ्चार र मुटुको क्रियाकलापमा पनि चुस्त–दुरूस्त हुन्छ भन्ने विभिन्न अनुसन्धानले प्रस्ट्याएका छन् । त्यस्तै, चियाको उपभोगले खाना पचाउनसमेत मद्दत गर्ने तथा उच्च रक्तचाप पनि घटाउन मद्दत गर्छ ।
चियामा पाइने पोलिफिनोलले थाइराइडको उच्च सक्रियतालाई न्यूनीकरण गर्न र रक्तनलीलाई बलियो बनाउन मद्दत गर्छन् । तीनै पोलिफिनोलको मात्रा फर्मेन्टेड चियामाभन्दा ग्रीन टिमा बढी पाइने भएकाले ग्रीन टिलाई, फर्मेन्टेड टिभन्दा राम्रो मानिन्छ । ग्रीन टिमा भिटामिन पी पनि राम्रै मात्रामा पाइने भएकाले यसलाई स्कर्भी निवारकका रुपमा पनि लिन सकिन्छ । ग्रीन टिको झोलले एन्टिब्याक्टेरियल गुण देखाएको हुनाले वैज्ञानिकले यसलाई झाडापखालाको निरोधकका रुपमा पनि सक्रिय मानेका छन् । त्यस्तै यही ग्रीन टिको उपभोगले क्यान्सरको ट्युमर बढ्न नदिने कुरा पनि केही वैज्ञानिकको अनुसन्धानले बताएको छ ।
चियामा पाइने सबैभन्दा गज्जबको चीज भनेको क्याफिन नै हो । यसले हाम्रो पेटलाई ढिलोगरी खाली बनाउँछ । जसले गर्दा हामीलाई चिया पिएपछि लामो समयसम्म भोकको अनुभूति त्यति हँुदैन । त्यही भएर पो रहेछ त बूढापाकाले भोक लाग्यो कि, खै–खै चिया खाऊँ भनेका ।
यतिविघ्न फाइदा भएको चीज चिया जति पिए पनि हुन्छ त ? भनिन्छ– चिनी पनि धेरै खाए तीतो हुन्छ । त्यसैगरी यतिविघ्न फाइदा भएको चिया र त्यसमा पाइने क्याफिन पनि धेरै मात्रामा सेवन गरे हाम्रा लागि घातक हुन सक्छ । धेरै मात्राको क्याफिन सेवनले मानिसमा निद्रा नलाग्ने समस्या हुन सक्छ, जसलाई इन्सोम्निया भनिन्छ । त्यस्तै धेरै चिया पिउनाले त्यसै वाक्कदिक्क भएजस्तो हुने र तीव्र गतिमा मुटुको धड्कन चल्ने समस्या पनि कतिपय मानिसमा देखिएको केही अनुसन्धानले बताएका छन् । विशेषगरी केटाकेटी र बुढेसकालमा अधिक मात्रामा चियाको प्रयोग हानिकारक हुन सक्छ । यो उमेरमा धेरै चिया पिउनाले स्नायु प्रणालीमा उत्तेजना ल्याउने समस्या पनि आउन सक्छ । त्यही भएर पो, यो उमेरमा धेरै चिया पिउनुहुँदैन भनिएको रहेछ । त्यस्तै चिया अक्जालीकऐसिडको समेत राम्रो स्रोत भएकाले यसको अधिक प्रयोगले किड्नी स्टोन पनि िवकास हुने खतरा हुन्छ । त्यसैले ठिक्क मात्रामा चिया प्रयोग गरौँ, स्वस्थ रहौँ, मस्त रहौँ । सकेसम्म नेपाली चियाकै उपभोग पो गर्ने कि ?
(लेखक, खाद्यप्राविधिक हुन् ।)
Post a Comment