Websoft University

www.radiomakalu.com || 021-522512


प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषय अगाडि नबढाउन निर्देशन

फाइल फोटो

काठमाडौँ, साउन १७ गते । संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाइ प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा समितिको आज बसेको बैठकले समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन नहुँदै मन्त्रिपरिषद्ले प्रस्तावित राजदूतहरुको एग्रिमो अगाडि बढाउने निर्णयले यस समितिको कार्यक्षेत्रलाई सरकारले गम्भीरताका साथ नलिएको ठहरसमेत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले २०७३ जेठ २६ गतेको संसदीय सुनुवाइ विशेष समिति गठन नभएको, नियमावलीसमेत नबनिसकेको, एग्रिमो आउन समय लाग्ने भन्दै परराष्ट्र मन्त्रालयको सिफारिसअनुसार प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को २०७३ वैशाख ७ गतेको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो । उहाँहरूमध्ये आठ जना परराष्ट्र सेवामा कार्यरत हुनुहुन्छ भने १४ जनाको पृष्ठभूमि विभिन्न राजनीतिक दलसँग जोडिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झवीन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापालाई प्रस्तावित राजदूतका लागि सरकारले सिफारिस गरेको थियो ।

परराष्ट्र सेवा बाहिरबाट महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर केसी, डा नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा महेन्द्रप्रसाद सिंह राजपूत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई सरकारले राजदूतका लागि सिफारिस गरेको छ ।

समितिको बैठकमा समितिका सदस्यहरुले समितिको कार्यक्षेत्रलाई सरकारले अनधिकृतरुपमा हस्तक्षेप गरेको र यो सरकारको गम्भीर कार्य हो भन्नुभएको थियो ।

समितिका सदस्य एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले समितिको कार्यक्षेत्रलाई सरकारले बेवास्ता गरेको आरोप गलाउँदै अगामी दिनमा यस्तो कार्य नगर्न सरकारलाई सचेत गराउनुपर्ने धारणा राख्नुभयो ।

समितिका अर्का सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले नयाँ संविधानअनुसार संसदीय सुनुवाइ विशेष समिति गठन नभएको, नियमावलीसमेत नबनिसकेको सन्दर्भमा सरकारले प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने निर्णय गरेको हुनसक्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदीय सुनुवाइ विशेष समितिको कार्यक्षेत्रमाथि हस्तक्षेप गरेको र अगामी दिनमा यस्तो हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराउनुपर्छ भन्नुभयो ।

बैठकमा समितिका सदस्यहरु योगेन्द्र चौधरी, आनन्दप्रसाद ढुङ्गाना, अष्टलक्ष्मी शाक्य, डा प्रकाशशरण महत, गणेशमान गुरुङ र बालकृष्ण खाँणले समितिबाट नाम अनुमोदन नभई एग्रिमोका लागि प्रक्रिया अगाडि नबढाउन सरकारलाई आग्रह गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयको सिफारिसमा प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने निर्णय मन्त्रिपरिषद्को ः मुख्य सचिव डा सुवेदी

बैठकमा मुख्य सचिव डा सोमलाल सुवेदीले परराष्ट्र मन्त्रालयको सिफारिसअनुसार प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको जानकारी गराउनुभएको थियो ।

उहाँले लामो समयदेखि विभिन्न मुलुक तथा नियोगमा राजदूतको रिक्त भएकाले राजदूत नियुक्ति गरिएको हो भन्नुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने काम मन्त्रालयबाट नभएको समितिलाई जानकारी दिनुभएको थियो । उहाँले समितिले दिएका निर्देशन मन्त्रालयले कार्यान्वयन गरिराखेको पनि बताउनुभयो ।

हाल पाकिस्तान, ब्राजिल, संयुक्त राष्ट्रसङ्घीय कार्यालय भियना, रुस, जर्मनी, इजिप्ट, संयुक्त अधिराज्य, बेल्जियम र युरोपेली सङ्घ, चीन, जापान, श्रीलङ्का, इजरायल, साउदी अरेबिया, गणतन्त्र कोरिया, डेनमार्क, कतार, बहराइन, अस्ट्रेलिया, बङ्गलादेश, संयुक्त अरब इमेरेट्स, म्यानमा र ओमनमा नेपाली राजदूतको पद खाली रहँदै आएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget