काँग्रेस मुलुकको जेठो र ठूलो राजनीतिक दल हो । जनताले भोग्नुपरेको दुःख, कष्ट र समस्या निराकरण गर्ने र उनीहरुलाई स्वतन्त्र तुल्याउने एकमात्र उद्देश्यसाथ राणा शासन ढाल्नैका लागि स्थापना भएको यो पार्टीले राजाको तानाशाह व्यवस्था ढाल्यो । आफ्नै नेतृत्वमा प्रजातान्त्रिक व्यवस्था हुँदै लोकतान्त्रिक मार्गमा पनि काँग्रेसले आफूलाई जनमतअनुसार अघि बढाउँदै आएकोमा दुईमत छैन । जहाँ लोकतान्त्रिक अभ्यास हुन्छ, त्यहाँ प्रजातान्त्रिक पद्धति अँगालिन्छ । त्यहाँ सबैले आफ्नो स्थान वा भूमिका खोज्ने÷रोज्ने अवस्था सिर्जना हुन्छ । काँग्रेसभित्र पनि धेरैले यस पार्टीलाई यहाँसम्म ल्याइपुर्याउन भूमिका खेलेका छन् । त्याग, समर्पण गरेका छन् । दुःख झेलेका छन् । खुसी लुटाएका छन् । तर, पार्टी नेतृत्वले सही मूल्यांकन गर्न नसक्दा अर्थात् चाकडी, चाप्लुसी गर्नेका मात्रै कुरा सुनेर । उनीहरुकै मूल्यांकन गरिँदा योग्य, कुशल तथा त्यागी, इमानदार कार्यकर्ता पछि पर्नु स्वाभाविकै हो । लोकतान्त्रिक पार्टीको नेतृत्व लिन त्यति सजिलो छैन । जसले जे भन्छ, त्यसलाई हुन्छ भनिहाल्ने बानी परेका शेरबहादुर देउवा यतिबेला काँग्रेसको नेतृत्वमा छन् । सुशील कोइरालाको निधन हुनु नै देउवाको भाग्य चम्किनु थियो । उनी जीवित रहेको भए, सभापतिमा अरु कसैले चिहाउनै पर्दैनथ्यो । सँगसँगै देउवाको काँग्रेसको नेता बन्ने सपना तुहिने निश्चित थियो । तर, निधारमा लेखेर ल्याएको कसैले खोसेर खोसिन्न भन्ने देउवाको चम्केको भाग्यले पुष्टि गरेको छ । किनकि तत्कालीन संस्थापक समूहका कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गोविन्दराज जोशी, कुलबहादुर गुरूङ, चन्द्र भण्डारी, विगतमा आफूलाई धोका दिने खुमबहादुर खड्काले देउवालाई आफूले चलाउन पाउने विश्वाससाथ गुट परिवर्तन गरेकोमा शंका छैन । त्यसमाथि पनि हल्का रुपमा प्रस्तुत हुने जे पनि हुन्छ भनिदिने बानीले देउवालाई यतिबेला गम्भीर संकटमा पारेको छ । पार्टी सभापतिको प्रतिस्पर्धी रहँदा देउवाले जसलाई जे भनेर हुन्छ, आफूतिर तान्न गरेको प्रयास÷पहल यतिबेला उनका लागि अभिसाप बनेको छ । काँग्रेसकै अग्रसरतामा गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा काँग्रेसले आफ्नो भागमा परेका १३ मन्त्रालयमा क–कसलाई पठाउने भन्ने सूची तयार पार्न आधा महिनासम्म सकेको छैन । सम्भवतः आजभोलि सूची तयार हुने अपेक्षा गरिएको छ । हिजोसम्म त नेविसंघ महाधिवेशन भन्दै अलमल्याउने समय थियो देउवासँग । तर, आज त्यो अवस्था छैन । त्यसो भन्दैमा मन्त्रीको सूची तुरून्तका तुरून्तै दिइहाल्ने अवस्था पनि छैन देउवासँग । किनकि धेरैको मन शान्त पार्नु छ उनलाई । कसैलाई अर्काेपटक मेरो नेतृत्वमा गठन हुने सरकारमा रोजेकै मन्त्रालय दिउँला नि भन्दै फकाइरहेका छन् भने कसैलाई पार्टीमा स्थापित गराउने आश्वासन पनि बाँडिरहेका छन् । किनकि हिजो सभापति पदमा प्रतिस्पर्धा गर्नेक्रममा विगतका आफ्नै गुटका कतिपय नेतालाई कस्ता–कस्ता प्रलोभन दिएका थिए होला ? त्यसपछि आफ्नो गुटमा तान्न र मत चोर्न पनि उत्तिकै प्रलोभन बाँडिएको थियो । जिन्दगीभरि ‘इमानदार’को भूमिका निर्वाह गरेका गोपालमान श्रेष्ठ, नत्र चुनाव हराइदिने ध्वाँस दिने खुमबहादुर खड्का, देउवालाई आफूले चुनाव जिताइदिएको घमन्ड गर्ने कृष्णप्रसाद सिटौला, प्रलोभन देखाएर चुनावी मुखैमा गुट परिवर्तन गराई महामन्त्रीमा चुनाव लडेर हार्दा पनि गृहमन्त्री बन्न नपाउँदा स्वास्थ्य कि रक्षा मन्त्रालयसमेत अस्वीकार गर्ने अर्जुननरसिंह केसीलगायतलाई कसरी व्यवस्थापन गर्ने प्रमुख चुनौती देउवासामु छँदै छ । त्यसमाथि विगतमा ६०÷४० को भागबन्डा पार्टीभित्र संस्थागत गराउने स्वयम् देउवालाई यसपटक प्रतिस्पर्धी रामचन्द्र पौडेल पक्षलाई कसरी व्यवस्थापन गर्ने, भागबन्डाको कोटा कति दिने भन्ने चुनौती सानो छैन । आफ्ना विगतदेखिकै सहयोगी भनाउँदाले विकासे मन्त्रालय पाउनुपर्ने अडान लिइरहेका छन् । श्रीमती आरजु देउवा परराष्ट्रमन्त्री बनाउन दबाब खातिर ठुस्स पर्दै बसेकीमात्र छैनन्, आफूनिकट मार्फत ‘आरजु भाउजूलाई पनि मन्त्री बनाएर स्थापित गराउनुपर्छ, सधैं–सधैं मौका आउँदैन । पछि तपाईंले नेतृत्व गरेको सरकारमा भाउजू मन्त्री बन्न पनि मिल्दैन’ भन्दै देउवामाथि दबाब दिने नाममा आरजुको चाकडी गर्नेको संख्या पनि कम छैन । काँग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका शेखर कोइराला परराष्ट्र मन्त्रालय नपाए सरकारमै नजाने बताइसकेका छन् । सशांकले पनि निर्वाचित महामन्त्रीका हैसियतले आफ्नो कोटामा दाबी गरेको अवस्था छ । अधिकांश युवा तथा प्रभावशाली नेताले भविष्यमा शक्तिशाली देखिने ठानेरै होला वा प्रहरी प्रशासनमा पकड रहने बुझेर हो, मन्त्रीभन्दा पनि गृह राज्यमन्त्री तिरै नजर डुलाइरहेका छन् । कसैले मन्त्री पाए पनि रोजेकै मन्त्रालयमा अडान लिने, कसैले कोटा भन्दै पोकाकै आधारमा सिफारिस गर्ने अवस्था उत्पन्न भएपछि काँग्रेस सभापति देउवाले छिट्टै मन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन सक्लान्जस्तो देखिँदैन । बुझाइहाले पनि विवादरहित हुने छैन । अरु भान्से हुँदा आफ्नालाई यस्तो दियो, उती दियो भन्ने शेरबहादुर आफू भान्से हुँदा कसलाई के–के दिँदारहेछन् ? भान्से अर्थात् नेतृत्व लिन कस्तो गाह्रो पर्दाेरहेछ ? यसपटक बुझाइने मन्त्रीको सूची नै देउवाका लागि क्षमता र सफलताको परीक्षा ठहरिनेछ । यसमा पास हुन सके काँग्रेसमा उनको भविष्य छ । नत्र कार्यकाल नै पूरा गर्नै नपाउने निश्चित छ ।-मधु लम्साल, रातोपाटीबाट
Post a Comment