Websoft University

www.radiomakalu.com || 021-522512


के पूर्वमन्त्री मण्डलको गाडी बीच बाटोबाटै खोसिएको हो?

गत साता केपी शर्मा ओली आफ्नो कार्यकालमा सहयोग गरेकोमा कर्मचारीलाई धन्यावाद दिँदै ‘खुसी’ साथ प्रधानमन्त्रीबाट बिदा भए।

ओली क्याबिनेटका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल पनि गत साता नै मन्त्री क्वाटर पुल्चोकबाट बानेश्वरको डेरामा फर्किए तर कर्मचारीले हेला गरेको गुनासोका साथ। उनी चढेको गाडी कर्मचारीद्वारा बीच बाटोबाट नै खोसिएको समाचार आए।

हामीले यथार्थ के हो बुझ्न पूर्व मन्त्री मण्डल, मन्त्रालयका कर्मचारी र त्यो दिन मण्डलको गाडी चलाएका चलाकसँग कुरा गर्यौं। कुराकानीबाट मन्त्री र कर्मचारीबीच लामो समयसम्म तिक्तता रहेको, नीतिगतदेखि व्यक्तिगत कारण जोडिएर मन्त्री-कर्मचारी बीच सम्बन्ध चिसिएको, तथा दुई पक्षको मनमुटाबका कारण पछिल्लो समय मन्त्रालय कुनै महत्वपुर्ण काम गर्न नसक्ने गरी थलिएको देखियो।

नौ महिना मन्त्रालयको मूली भएका मण्डलले यो सबैका पछाडि ‘सामन्ती खस आर्य’ संस्कारका कर्मचारीको एउटा मधेसी मन्त्री प्रतिको हेयभाव प्रमुख कारण रहेको बताउँछन्। मन्त्रालयका कर्मचारी भने मण्डलले आफ्नो विवेकले भन्दा 'आसपासे र स्वार्थ समूह'को प्रभावमा परेर असंगत काम गरेकाले मन्त्री र कर्मचारीबीच तिक्ततापूर्ण सम्बन्ध भएको तर्क गर्छन्।

करिब नौ महिना मन्त्रालय सम्हालेका मण्डल र मन्त्रालयका उच्च तहका कर्मचारीबीच पछिल्लो डेढ महिना त बोलचाल नै लगभग बन्द थियो।

मण्डलका अनुसार मन्त्री भएको केही महिनादेखि नै कर्मचारीले उनले भनेको मान्न छोडेका थिए। ‘मन्त्रालयमा राजदूत आउनेदेखि विदेश जानु पर्नेसम्मका कार्यक्रममा पनि उहाँहरूले मलाई सहयोग गर्नु भएन’, मण्डलले भने ‘सुरुका दुई तीन महिना त के भैरहेको छ भनेर मलाई बुझ्नलाई समय नै लाग्यो।’

मन्त्री र कर्मचारीबीचको सम्बन्धमा सबैभन्दा ठूलो दरार भने पोखरा रंगशालाका लागि अधिग्रहण गरिने जग्गाको मुअाब्जासम्बन्धी विषयबाट शुरु भयो।

तत्कालीन सरकारले २०३३ सालमा रंगशाला निर्माणका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो। पछि जिल्ला प्रशासन कार्यालयले जग्गाको मूल्य पनि तोक्यो। तोकिएको मूल्यविरुद्ध स्थानीय अदालत गए। अदालतले प्रशासनको निर्णय सदर गरेर पठाइदियो। केहीले मुआब्जा लिएर जग्गा छोडे, केहीले अझै छोडेका छैनन्। ती स्थानीय अहिले पनि मन्त्रालय मार्फत् मन्त्रिपरिषद्बाट मुआब्जा रकम बढाउनु पर्ने माग गर्दैछन्।

गत फागुनमा राष्ट्रिय खेलकुद परिषद्ले ती स्थानीयको माग सम्बोधनका विषयमा आवश्यक प्रक्रिया बढाउन मन्त्रालयमा पत्र पठायो। मन्त्री मण्डलले पनि सो विषय मन्त्रिपरिषदमा लैजानका लागि प्रस्ताव बनाउन कर्मचारीलाई भने। मन्त्री र मन्त्रालयका सचिव तथा दुई सहसचिवले कस्तो प्रस्ताव बनाउने भन्नेमा राय बाझ्यो।

‘आउने दक्षिण एसियाली खेलकुद पनि नेपालमा हुँदैछ, रंगशाला छिटो बनाउनुपर्छ भनेर मैले प्रस्ताव बनाउन लगाएको थिएँ,’ मण्डलले भने ‘सचिवज्यूले यस्तो विषयमा आफूले प्रस्ताव बनाउँदा अख्तियार जानुपर्ने भन्दै प्रस्ताव बनाउन मान्नु भएन।’

अझैसम्म जग्गाको क्षतिपुर्ति लिन नमानेका जग्गाधनीलाई सरकारले बढाएर क्षतिपुर्ति दिनुपर्ने प्रस्ताव तयार गर्न मन्त्री मण्डलले निर्देशन दिएका थिए। आफूले पवित्र भावना राखेर सो प्रस्ताव मन्त्रिपरिषदमा लैजान खोजेको उनले बताए।

मन्त्रालयका कर्मचारी भने मन्त्री मण्डलले आर्थिक चलखेलका कारण गलत प्रस्ताव अगाडि बढाउन खोजेको आरोप लगाउँछन्। ‘स्वार्थ समूहको प्रभावमा परेर उहाँले आर्थिक लाभका लागि प्रस्ताव बढाउन खोजेपछि हामीले रोकेका हौं’, मन्त्रालयका सहसचिव चुडामणि पौडेलले भने।

नीतिगत तहमा शुरु भएको मन्त्री-कर्मचारी बिचको यो टकराव व्यक्तिगत तहमा झर्यो। गत जेठमा रुसमा हुने 'चाइल्ड ओलम्पिक'मा मन्त्रालयका तर्फबाट सहसचिव पौडेल जाने कुरा थियो। प्रथम श्रेणीका कर्मचारी पौडेलको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्थ्यो, तर मण्डलले उनको नाम मन्त्रिपरिषदमा पठाउनुको साटो लिस्टबाट काटिदिए। बरू प्रतियोगितामा उनले आफ्नो छोरालाई पठाए।

सहसचिव पौडेलको नाम रूस जाने लिष्टबाट किन काट्नु भएको भन्ने प्रश्न झर्न नपाउदै उनले भने, ' मलाई त्यस्तो गर्ने मान्छेलाई मैले किन (विदेश) पठाउने?'

किन आफ्नो छोरालाई पठाउनु भएको त?

‘खासमा खेलकुद परिषद्ले मलाई जान सिफारिश गरेको थियो, तर स्वास्थ्यका कारण म जान सकिनँ,’ मन्त्री मण्डलले भने ‘आफ्नो साटो छोरालाई पठाइदिएको हुँ।’
मन्त्रालयका लागि आएको सिटमा छोरालाई पठाउन मिल्छ?
'अरुले श्रीमती छोराछोरी लिएर कैयौं दिन विदेश सयर गर्दा केही फरक नपर्ने, मेरो सट्टा मेरो छोरा जाँदा चै अपराध भयो? आखिर ऊ पनि त नेपाली नागरिक हो।’

तपाईको छोरा खेलाडी हो? के हो नाम भन्ने प्रश्नमा मण्डलले आगो हुँदै भने, 'नाम जेसुकै होस्, ऊ मेरो छोरा हो।'

यो घटनापछि कर्मचारी पनि मात्रीसँग आगो भए। त्यसपछि मन्त्रालयमा कर्मचारी र मन्त्रीबीच बोलचाल र सामान्य शिष्टाचार पनि हुन छोड्यो। ‘उहाँले त मलाई सरुवा पनि गर्न खोज्नु भएको थियो तर सक्नुभएन’, पौडेलले भने ‘तर हामीले उहाँले भनेका अरु कुरामा मिल्ने जति गरेकै हो।’

पौडेलले अन्तिम दिन गाडी बीच बाटोबाट खोसिएको भन्ने समाचार पनि कर्मचारीलाई बदनाम गराउन गरिएको प्रोपोगाण्डा भएको बताए।

हामी सँगको कुराकानीमा मण्डलले पनि आफ्नो गाडी बाटोबाट खोसिएको नभई मन्त्री क्वाटर पुल्चोकबाट मन्त्रालय लगिएको बताए। ‘म सपथ ग्रहण (प्रधानमन्त्री पुष्पकमल दाहालको) बाट झण्डावाल गाडीमा नै बानेश्वरको डेरामा आएको हुँ। त्यसपछि प्राइभेट गाडीमा मन्त्री क्वाटर गएँ र सचिवालयको गाडीमा बानेश्वर आउन खोजेको बेला कर्मचारीले ड्राइभरलाई धम्की दिएर आउन दिएनन्’ मण्डलले भने ‘अब त्यो मन्त्रीले केही गर्न सक्दैन भने रे, म त त्यतिबेला ओराली लागेको मृग जस्तै भैसेको थिएँ।’

उनले आफूले इमान्दारिताको साथ मन्त्रालयको गाडी फिर्ता गरेको र आफ्नो निजी सचिवालयलाई दिइएको गाडीमा डेरा आउन खोज्दा कर्मचारीले पहिलेको रिस पोख्न गाडी नदिएको बताए।

हामीले त्यो दिन मण्डलको गाडी चलाएका जब्बर चौधरीलाई के भएको हो भनेर सोध्यौं।

सहसचिव पौडेलले मन्त्रालयमा सपथ ग्रहणपछि मण्डललाई डेरामा छोडेर चालकले गाडी मन्त्रालयमा ल्याएको र सोही ड्राइभर नयाँ मन्त्रीलाई लिन जानु पर्ने भएकाले अर्को गाडी लिएर मण्डलको डेरामा जान नपाएको बताए। ‘उहाँको स्वकीय सचिव दुर्गानन्द ठाकुरसँग त्यो गाडी रहेछ, मलाई पटक पटक फोन गर्नु भएको थियो नयाँ मन्त्रीको स्वागतमा रहेकाले मैले फोन उठाइन’ पौडेलले भने।

चालक चौधरीले पनि पूर्वमन्त्री मण्डललाई डेरामा छोडेर आफू मन्त्रालय पुगेपछि हाकिमले अन्त नजाऊ स्टान्डबाइ बस भनेको बताए।

पूर्व मन्त्री मण्डल भने कुराकानीको अन्तिमसम्मै आफूले कर्मचारीबाट सहयोग नपाउनुमा 'सामन्ती खस संस्कार' जिम्मेवार रहेकोमा अडिग रहे। ‘यो नौ महिनामा मलाई नेपालको कर्मचारीतन्त्रका बारे धेरै अनुभव भयो’ मण्डलले भने।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget