Websoft University

www.radiomakalu.com || 021-522512


पाइलटको सावधानीले निगमको एयरबस दुर्घटना हुनबाट जोगियो

काठमाडौँ , भाद्र ८ गते । शुक्रबार साँझ थाइल्याण्डको बैंकबाट नेपाल उडेको नेपाल एयरलाइन्सको एयरबस ए-३२० क्याप्टेन दीपुराज जुहार्जनको नेतृत्वमा उडिरहेको थियो। त्रिभुवन विमानस्थल आइपुग्न केही समयमात्र बाँकी थियो। 

 
पाइलटले जहाजलाई धावनमार्गको दिशा दिएर ‘डाउन’ गरिरहेका थिए। क्याप्टेन जुहार्जनको अनुसार हात्तीवनमाथिको आकाशमा आइपुगेपछि विकीरण उत्सर्जन गर्ने ‘लेजर लाइट’ जमिनबाट कसैले फाल्यो। एयरबस पाँच हजार फिटमाथि थियो। 
 
ककपिटमा हरियो विकीरणयुक्त लाइट देखा परेपछि चालक दल आत्तिएको थियो। किनभने विकीरणयुक्त लाइट आँखाको लागि एकदमै खतरा हुन्छ।
 
१ सय ४० यात्रु भएको उक्त एयरबसको ककपिट ताकेर जडिबुटी क्षेत्रबाट विकीरण फालिएको थियो। यो विकीरण कसले र किन फाल्यो पहिचान हुन सकेको छैन। चालक दलले यसलाई अत्यन्तै गम्भीर मान्दै तत्कालै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई जानकारी गराएर विकीरण फाल्नेमाथि कारबाही गर्न माग गरेका छन्। 
 
जुहार्जनका अनुसार पाँच हजार फिटदेखि ककपिटमा देखिन थालेको उक्त विकीरण एक हजार फिटमा आइपुगेपछि हराएको थियो। ‘यो विकीरणबाट बच्न हामीले एकदमै सावधानी अपनाएका थियौं,’ जुहार्जनले भने, ‘यदि त्यो विकीरण नहराएको भए जहाज जे पनि हुनसक्थ्यो। 
 
‘एक हजार फिटमा जहाज आइपुग्दा विकीरण हराएपछि हामीले ढुक्कसाथ जहाज अवतरण गरायौं,’ जुहार्जनले भने। 
 
नेपालमा यो नै पहिलो घटना थियो, यसअघि जहाजको ककपिट ताकेर कसैले पनि विकीरण फालेको थिएन। 
 
जहाजको ककपिटमा ‘लेजर लाइट’ संसारभरमै खतरा मानिन्छ। ‘यो क्रिटिकल साइन हो, लाइटको सोर्स आँखामा पर्यो भने खतरा हुन्छ,’ क्याप्टेन जुहार्जनले सेतोपाटीसँग भने, ‘यस्तो क्रियाकलाप तुरुन्त निरूत्साहित होस् भनेर हामीले माग गरिसकेका छौं।’ विकीरण फाल्नेको पहिचान गर्न चालकदलले लिखित उजुरी नै हालेको छ। 
 
क्याप्टेन विजय लामाका अनुसार यस्तो किसिमको विकीरण आँखामा पर्यो भने क्षणिक ‘अन्धोपन’ नै हुन्छ। ‘जहाज अवतरण गराउने क्रममा यस्तो आइपर्नु घातकमात्र हैन, जहाज दुर्घटना नै हुन्छ,’ लामाले भने, ‘किनकि, अवतरण गराउने बेला जहाज म्यानुअल्ली उडाइएको हुन्छ।’ 
 
पाइलटहरूका अनुसार पाँच हजार फिटसम्म पुग्ने विकीरणयुक्त लाइट निकै नै क्षमतावान थियो। यस्तो लाइट जसले चलाए पनि निरूत्साहित गर्न जरुरी छ। विकीरणयुक्त लाइट विज्ञान पढ्ने विद्यार्थी, डाक्टरहरूले प्रयोग गर्छन्। 
 
जहाज ताकेरै किन देखाइयो भन्ने चाहिँ शंकास्पद रहेको नेपाल वायुसेवा निगमकै अधिकारी स्वीकार्छन्। तर, यसको अनुसन्धान कसरी गर्ने र कानुनी उपचार के हुन्छ भन्नेमा उनीहरू अन्योलग्रस्त छन्। 
 
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले एयरबसको ककपिटमा विकीरण फालिएको घटनामाथिको अनुसन्धानबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई यो कुरा भनिएको पनि छैन, म आफैं अनभिज्ञ छु,’ उनले भने। 
 
अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडडयन संस्था (आइकाओ)ले विकीरणयुक्त लाइट उत्सर्जन गर्नेमाथि नियमन गर्छ। नेपालमा यो नै पहिलो घटना भएकाले कुन कानुनद्वारा कारबाही गर्ने भन्ने समस्या छ। 
 
विकसित देशमा यस्तो घटना भए जिपिएसद्वारा विकीरण उत्सर्जन गर्ने स्थान पहिचान गर्छन्। नेपालमा भने यस्तो प्रणाली नभएको केसीले बताए। 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विभाग प्रमुख प्रेमनाथ ठाकुरले विकीरण फाल्ने स्थानमा सुरक्षा गस्ती बढाएको बताए। ‘एयरबसको ककपिटमा कसले लेजर लाइट फाल्यो यो अनुसन्धानकै क्रममा छ, कारबाही गर्ने कानुनी आधार नभएकाले हामीले तत्कालका लागि विकीरण फालिएको स्थानमा सुरक्षा गस्ती बढाएका छौं,’ उनले भने। 
 
लेजर लाइट प्रयोगको सीमितता र नियमनबारे कानुन नभएकाले समस्या भएको उनले बताए। ‘लाइट प्रतिबन्ध छैन, पहिलोपटक यस्तो भयो, धन्य दुःखद घटना हुन पाएन,’ ठाकुरले भने, ‘लेजर लाइट प्रयोग घटाउन सचेतना गराउने योजना बनाएका छौं।’ 
 
एयरबस ए-३२० सरकारले सन् २०१५ मा किनेको थियो। सरकारले फ्रान्सबाट १८३ मिलियन अमेरिकी डलरमा यो एयरबस खरिद गरेको थियो। 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget