Websoft University

www.radiomakalu.com || 021-522512


सम्पन्न नेपाल भारतको पनि हितमा


Purushottam marhattha

डा.पुरुषोत्तम मरहठ्ठा 
नेपाल र भारतबीचको सम्बन्ध धर्म र संस्कृतिसँग मात्र छैन । यो सम्बन्ध सामाजिक, आर्थिक, राजनीतिसम्म जोडिन पुगेको छ । गोरखा भर्तिदेखि लिएर सीमापारि र वारिबीच बेटी–रोटी, साली– भेनासम्मको सम्बन्ध छ । दीर्घकालदेखिको परम्परागत सम्बन्ध टुट्ने र जुट्ने क्रममा बेलाबखत क्रमभङ्गता पनि देखिएको छ । निरन्तरको यो सम्बन्ध बन्ने र बिग्रने, जोडिने र फाट्ने नजिकिने र टाढिने क्रम निरन्तर चलिरहेको छ । सम्बन्धलाई बनाउने र बटार्ने काममा राजनीतिक रूपमा भिन्न दुई राष्ट्रले समयसमयमा विभिन्न क्रिया, प्रतिक्रिया र अन्तक्र्रिया गरे पनि अन्य विषयमा भने दुवै राष्ट्र एकजस्तै देखिन पुगेका छन् ।
दुवै देशभित्र बसोवास गर्ने ठूलो सङ्ख्यामा रहेका सनातन हिन्दु धर्मका अनुयायीहरूमा भावनात्मक सम्बन्ध छ । यद्यपि नेपाल र भारत कहिलेकाहीँ ‘अनईजी पार्टनर’ जस्तो पनि देखिन्छ तर यी दुईलाई कसैले पनि निषेध गर्न भने सक्दैनन् । दुई देशका जनता लामो समयसम्म पानी बाराबारको स्थितिमा कहिल्यै रहेनन् । सबैभन्दा बढी गाली गर्नेमा माया पनि लुकेको हुन्छ । त्यसैले एकको नीति र गतिविधिले दोस्रोलाई लामो समयसम्म प्रभावित बनाइरहेको देखिन्छ तर छोड्नै नसक्ने मित्रता पनि दुवैमध्येमा एकै देखिन्छ । भारत र नेपाल दुवै विभिन्न सभ्यताबाट गुज्रिँदै आएका छन् । दुवै देश महाभारत, पुराण, गीता, रामायणलगायत गङ्गाघाटीदेखि सिन्धुघाटी सभ्यता र हिमवत्खण्डबाट प्रभावित छन् । धार्मिक रूपमा जसरी भारत र नेपाल गोलबद्ध भएका छन् त्यसैगरी राजनीतिक रूपमा पनि ।
नेपाल अब्बल लोकतन्त्रको प्रयोग गर्न निरन्तर लागिरहेको छ । हरेक देशलाई कस्तो व्यवस्था राख्ने वा नराख्ने उसको स्वविवेकको कुरा हो । भारतले ०४७ सालको संविधान निर्माणका लागि आइ.के. गुजरालको निर्देशनमा त्यस समय त्यहाँका दुईजना संविधानविज्ञ एल.एम.सिंग्भी र ए.जी.नुरानीलाई पठाएको थियो । ‘इण्डियन कन्स्टिच्युसन एक्स्पर्टस फर नेपाल अ रिस्की भेञ्चर’ वास्तवमै त्यही भइदियो । विश्वनाथ उपाध्यायको प्रयासले भारतीय विशेषज्ञको संविधान निर्माणमा छायाँसमेत पर्न दिइएन । नेपालले नै आफ्नो देशको संविधान कस्तो बनाउने भन्ने निर्णय आफैँं लियो । तत्कालीन अवस्थाजस्तै संविधानसभाबाट संविधान घोषणा हुनेताका पनि भारतबाट यस्तै हर्कत दोहोरिन पुगेको थियो । पहिलोमा विश्वनाथ उपाध्यायको सुझबुझ र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कूटनीतिक प्रयोगले भारतीय प्रभाव नेपाल अधिराज्यको संविधानमा हुन पाएन । संविधानसभाबाट निर्माण हुन लागेको संविधानमा नेपालका ठूला राजनीतिक दलहरू एकै ठाउँमा उभिएकै कारण भारतीय विदेश सचिवको आकस्मिक नेपाल अवतरणले यसमा पनि कुनै प्रभाव पार्न सकेन । नेपालका राजनीतिक दलहरूकै खबरदारीले गर्दा छिमेकबाट आएको बाछिटा आफ्नो घरभित्र छिर्न दिएनन् नेताहरूले ।
वास्तवमा प्रजातन्त्र कुनै एक देशको मात्र पेवा होइन भन्ने विचारले भारतीय नेताहरूको उपस्थिति नेपालको पहिलो र दोस्रो जनआन्दोलनमा भएको थियो । ४९ दिनसम्म नेपालमा चलेको जनआन्दोलनले मुलुकमा लगभग ३० वर्षदेखि चल्दै आएको निरङ्कुश पञ्चायती व्यवस्था खारेज गर्न पुग्यो । भारतीय विधायक र अन्य नेताहरूले नेपालको जनआन्दोलनलाई नैतिक सहयोग दिइनै रहेका थिए । नेपालको प्रजातन्त्र पुनस्र्थापना अनि पछिल्लो राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा भारतीय नेताहरूको भूमिकालाई नकार्न मिल्दैन ।
भारतको स्वतन्त्रता सङ्ग्राम देखेका नेपाली स्वाधीनताका लागि भारतीय भूमिमा बसेर गरेको आन्दोलन र भारतमा समाजवादी नेता जयप्रकाश नारायण र डा. राममनोहर लोहियालाई नेपालीहरूले सन् १९४२ मा हनुमाननगर कारागारबाट जेल मुक्त गराएको ऐतिहासिक तथ्यले यी दुई देशबीच जनस्तरको राम्रो सम्बन्ध क्रान्तिअघिदेखि नै थियो भन्ने पुष्टि गर्छ । साथै सन् १९४४ मा भारतमा आजाद हिन्द फौजको झण्डा फहराएवापत फाँसीको सजाय पाउने नेपाली दलबहादुर थापामगर, दुर्गामल्ल जस्ताको योगदानलाई बिर्सने हो भने हामी कृतघ्न हुन पुग्छौँं ।
तर आज हामीले भारतले नेपाललाई र नेपालले भारतलाई गरेको उपकारको फेहरिस्त खोजेका छैनौं । इतिहासको उषाकालबाट विकसित भएको सम्बन्धमा झिना मसिना स्वार्थ भने सम्बन्ध विकासमा देखिनु हुँदैन । स्व.कृष्णप्रसाद भट्टराईको सहयोगीका रूपमा लामो समय काम गएकी कविता भट््टराई अहिले भारतको रक्सौलमा कुष्ठरोग पीडितको उपचारमा काम गरेको सुन्दा सबै हर्षित हुनुपर्छ । नेपाली महिला सिस्टर निर्मलाले कोलकातामा दीनदुःखीलाई पु¥याएको सेवा र भट्टराईले रक्सौलमा पु¥याएको सेवाले सीमाविहीन अवस्थामा नेपालीहरू भारतीय भूमिमा पहिचान हैन सेवाभाव दिइरहेका छन् भन्ने पुष्टि गर्छ । राष्ट्रियताभन्दा पर सीमाविहीन भएर अझै कति सेवारत् छन् तिनको हिसाब किताब गरेर बस्नुको कुनै अर्थ छैन ।
त्यसैले अहिले नेपालको संविधान देखाएर भारतले जीत र हारको रूपमा हेर्ने बेला होइन । यो समय आँधीबेहरी र प्रचण्ड हावासँग जुधिरहेका नेपालीहरूप्रति डिलमा बसेर खुच्चिङ गर्ने होइन । सानो राष्ट्रको मामिलामा खोंचे थाप्ने समय होइन । मुलुकको स्थिरता र स्थायित्वका लागि पटक पटक ठूला छिमेकी राष्ट्रको घोषित र अघोषित हस्तक्षेप डरलाग्दो हुन्छ । नेपालसँग ११६ देशहरूले शान्तिक्षेत्रको प्रस्तावलाई समर्थन गरेको ऐतिहासिक मान्यता छ । विश्वबाट मान्यता पाएको नेपालले भारतबाट मान्यता पाउन सकेन । भारत यो क्षेत्रमा अहिले क्षेत्रीय शक्तिको रूपमा उदयमान छ । उसलाई चुनौती दिनसक्ने अवस्थामा नेपाली छैनौँ । थुप्रै राष्ट्रियताहरूले बसोवास गरेको नेपालमा भारत विरोधी भावना जगाउँदैमा हाम्रो आर्थिक विकासको उद्देश्य पूरा हुन पनि सक्दैन । लामो ऐतिहासिक धरातलबाट सिर्जिएको यो सम्बन्धमा कसैले पनि छिर्कनी थाप्ने काम गर्नु हुँदैन । प्रत्येक घटनामा भारतको हात छ भनेर बस्दैमा सम्बन्ध सप्रने हैन, बिगार्ने मात्र काम गर्छ । दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा सङ्गठित र विकसित भएकोले भारतले छिमेकीलाई पनि त्यस्तै हालतमा रहने वातावरण बनाइदिनु पर्छ । बलियो नेपाल बलियो भारतसँग प्रतिस्पर्धा हैन मेलमिलाप र सद्भावना खोजिरहेको हुन्छ । छिमेकको निःस्वार्थ सहयोगले हाम्रो आर्थिक कायापलट हुन सक्छ ।
तीनतिरबाट भारतले घेरिएको नेपाल कहिल्यै पनि भारतलक्ड (भारतवेष्ठित) होइन, विश्ववजारमा प्रवेश गर्ने खुला ढोका हो । एउटासँग ज्यादै नजिक र अर्कोसँग ज्यादै टाढा बस्न खोजेर पनि हामी बस्न सक्दैनौं । समदूरीको नीतिमा नबस्ने हो भने यो मुलुकले गम्भीर परिणाम स्वीकार्न तयार हुनुपर्छ । छिमेकीसँग टक्कर लिनुभन्दा मिलेर बस्नुको विकल्प छैन । त्यसैले आत्मनिर्भर अर्थतन्त्र अहिलेका लागि नेपालको अपरिहार्य आवश्यकता बनेको छ । आत्मनिर्भर अर्थतन्त्रको अभाव र जलविद्युत्मा परनिर्भरता रहेसम्म यो मुलुक सदैव दानपात्र देखाएर बाँच्न विवस हुन्छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशको स्रोत र साधनको अत्यधिक उपयोग गर्ने भनिरहेको अवस्थामा हामी नेपाली भने प्रकृतिले दिएको प्राकृतिक स्रोतलाई संरक्षणको हौवा फिँजाएर अत्यधिक दोहोन रोकिरहेका छौँ । प्राकृतिक स्रोतको व्यवस्थापन गर्न तर्सिएका छौँ । कतिन्जेल तर्सिरहने ? हामीसँग जे छ छिमेकीलाई बेच्ने त्यही हो । देश विकासका लागि प्राकृतिक स्रोतको अत्यधिक दोहनसँगै संरक्षणमा तल्लो तटीय क्षेत्रले खोई नेपालको हितमा काम गरेको ? नेपाल डुबान हुनेगरी बाँध बनाउँदा किन अन्तर्राष्ट्रिय कानुनअनुसार क्षतिपूर्ति र त्यसका विरुद्धमा पहल हुन सकेन ? यसका लागि आवश्यक छ शान्त कूटनीतिक पहल ।
नेपालको भूगोल बुझ्नेले भारतसित द्वन्द्व बढाउन सक्दैन । जसले बढाउँछ प्रतिरक्षा, सुरक्षा र शक्तिमा धक्का खान पुग्छ । अनि भारतले गुजराल घोषणाअनुसार कमजोर छिमेकी सम्पन्न भारतका लागि बोझ बन्न सक्छ भन्ने कुरालाई अहिले सत्तामा रहेको बीजेपीले बुझिदिएमात्र पर्याप्त छ । नेपाललाई गरिब र गरिबीमा राखेर भारतले गौरव गर्न सक्दैन ।
आफ्नै विगतको इतिहास सम्झेर भारतले नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामा चोट पु¥याउने काम नगरी यसको भूगोलमा दखल दिने काम गरेन भने यो सम्बन्धमा कहिल्यै उतारचढाव आउलाजस्तो देखिन्न । आज पर्यन्त हामी कसैको अधीनमा बस्नु परेन । भारत र नेपालबीच कहिलेकाँही सम्बन्धमा उतारचढाव नभएको हैन । बेलाबखत हुने यस किसिमको अवस्थामा दुवै देशले एकअर्काबीच पुलको काम गर्न सक्नुपर्छ । सेना र भेनाको सम्बन्ध भएको दुई देशबीचको सम्बन्ध चलायमान हुन सकेन भने त्यो फेरि शून्यतामा आउन सक्छ । यस्तो शून्यतामा बस्नु कुनै पनि देशको हितमा हुँदैन ।
नेपाल भारतबीच सम्पन्न सन्धि सम्झौता र सम्बन्धमाथि बृहत पुनरावलोकनका लागि विज्ञ समूहमा आवद्ध दुई देशका विद्वान्हरूले व्यापक विचार विमर्श गरी आफ्नो काम अगाडि बढाइसकेको अवस्थामा आपसी सम्बन्ध अझ सुमधुर हुने विश्वास लिन सकिन्छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget