प्रधानमन्त्रीका रूपमा अन्तिम दिन बुधबार संसदमा सहभागी हुँदा भने उनै ओली आफ्नो स्वभावविपरीत निराश देखिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा निवर्तमान प्रधानमन्त्रीका रूपमा ओली संसदको अग्रभागमा थिए। दाहाल बोलिरहेको रोस्ट्रमबाट उनीसम्मको दुरी धेरै थिएन। उनी घरि गालामा हात लाउँदै त घरि हातमा चिउँडो अड्याउँदै दाहालको भाषण ध्यान दिएर सुन्थे। भाषण अवधिभरि उनको अनुहारको निराशा हटेन। निराशा लुकाउने प्रयाससमेत उनले गरेनन्।
संसदले नयाँ प्रधानमन्त्री निर्वाचित गर्नुअगावै बालुवाटार छाडिसकेका उनको यो ‘बडी–ल्याङ्वेज’ लाई प्रधानमन्त्रीबाट बाहिरिनुको पीडाका रूपमा स्वाभाविक मान्न सकिएला। तर, भावी प्रमुख प्रतिपक्षी नेताका रूपमा स्वाभाविक होइन।
संसद बैठकमा ओली र राप्रपा–नेपालका अध्यक्ष कमल थापाको सिट सँगै थियो। बीचबीचमा उनीहरूले ‘साइड–टक’ गरेका थिए। एमाले उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य पनि ओली बसेकै लहरमा थिए। त्यही लहरको अर्को छेउमा बसेका सुवास नेम्वाङ दाहालनजिकै थिए। दाहालले भाषण गरूञ्जेल नेम्वाङ पनि ओली जत्तिकै निराश देखिन्थे। यद्यपि मत परिणाम आएर प्रधानमन्त्री घोषणा भएपछि दाहालसँग हात मिलाउने पहिलो व्यक्ति उनी नै भए।
नेम्वाङले चलाखीसाथ आफ्नो अनुहारको भाव बदल्दै दाहाललाई पहिलो बधाइ दिएका थिए। सांसदहरूले वरिपरि दाहाललाई घेरा हालेपछि ओलीसँग भने उनले तत्कालै हात मिलाइहाल्न भ्याएनन्।
संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङबाहेक एमालेका अरू नेता ओलीझैं गम्भीर देखिएका थिएनन्। एमालेका पूर्वप्रमुखहरू झलनाथ खनाल र माधव नेपाल सँगै बसेका थिए। उनीहरूमा न खास उत्साह थियो न त निराशा। दुवै तटस्थ मुद्रामा थिए। दाहालले भाषण क्रममा आफ्नो नाम लिँदा खनाल र नेपाल दुवै आपसमा मुखामुख गर्दै हाँसेका देखिन्थे। यो प्रसंगमा पनि अध्यक्ष ओलीको सधैंको सुलभ मुस्कान गायब थियो।
कतिसम्म भने, दाहालको भाषणमा एक–दुईचोटि धेरै सांसद हाँसेका थिए, ओलीको गम्भीर मुद्रा भने तैपनि तोडिएन। उनी जम्मा एकचोटि मुस्काए, दाहालले ‘योजनाहरू कार्यान्वयन गर्न स्रोत पनि देखाइदिनुस् न’ भन्दा।
दाहालका समर्थक कृष्णबहादुर महराले भाषण गर्दा त ओली बैठक कक्षबाटै बाहिरिएका थिए। त्यसपछि मतदान सुरु हुनै लाग्दा मात्र उनी भित्र प्रवेश गरे। मतदान कक्षमा प्रवेश गर्दा र निस्कँदा सबै सांसद आपसमा कुरा गरिरहेका देखिन्थे। ओली भने चुपचाप थिए। मतदान कक्षमा जाँदा र निस्किएपछि पनि उनी चुपचापै रहे।
ओली सामान्य सन्दर्भमा समेत फोटो खिचाउन रुचाउने नेता हुन्। संसदमै पनि मोबाइल निकालेर नेताहरूसँग फोटो खिचाउन अग्रसर भइहाल्थे। प्रधानमन्त्रीका रूपमा अन्तिमपटक संसदमा उपस्थित हुँदा भने उनले संसदमा कसैसँग फोटो खिच्न आवश्यक ठानेनन्। बैठक चलिरहँदा उनले दुईपटक मोबाइल चलाएका थिए। बैठक सकिएपछि भने चुपचाप बाहिर निस्किए।
संसद बैठक सकिएपछि पत्रकारहरू प्रतिक्रिया माग्न उनीसामु झुम्मिए। यहाँ पनि उनको अनुहारमा पुरानो चमक देखिएन। बरु उनी ‘के बोल्नु’ भन्दै जवाफै नदिई हिँडे। प्रश्न खस्न नपाई तीखो जवाफ दिन खप्पिस ओली प्रश्न सुनेर चुपचाप हिँडेको यस्तो विरल अनुभव धेरै पत्रकारका लागि अनपेक्षित थियो।
ओली टुक्का जोडेर हँसाउन जति सिपालु नेता हुन्, छुच्चो बोलेर अरूलाई घोचपेच गर्न उत्तिकै पोख्त छन्। ’गोरूगाढा चढेर अमेरिका पुगिँदैन’ भन्दै गणतन्त्रको पक्षमा आन्दोलन गर्नेलाई होच्याएको घटना होस् वा ‘बालकोटको आँगन पनि सम्म छ’ भन्दै मधेसवादीलाई चिढ्याएको प्रसंग होस्, उनको तीरबोली धेरैले झेल्नुपरेको छ।
बुधबार संसद बैठकमा ओलीको ‘बडी–ल्याङ्वेज’ प्रधानमन्त्री कालमा उनले बनाएको पहिचानभन्दा फरक मात्र होइन, पूरै विपरित रह्यो। - रोहित खतिवडा , सेतोपाटीबाट
Post a Comment