इन्द्रमोहन सिग्देल
नेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्त रुपमा प्रस्तुत भएको पाइँदैन भने अर्काेतिर संघर्षका कतिपय गतिविधि भने सञ्चालित हुँदै आएको देखिन्छ । यस स्थितिमा समूहबारे केही उल्लेख गर्न जरूरी छ ।
प्रतिक्रियावादी सत्ताका भ्रष्ट शासक र तिनका जनविरोधी हर्कतविरूद्ध सञ्चालन गरिने संघर्षका कार्यक्रम जनताबीचमा स्वभावतः प्रिय हुन्छन्् । यसमा दुईमत हुन सक्दैन । तर, कुनै पनि संघर्ष त्यसको रुपको मात्र आधारमा सही वा गलत हुन्छ भन्ने हुँदैन । क्रान्तिकारी देखिने संघर्ष सुधारवादी र सुधारवादी देखिने संघर्ष क्रान्तिकारी पनि हुन सक्छन्् । त्यतिमात्र होइन, क्रान्तिकारी देखिने संघर्षको सार प्रतिक्रियावादी पनि हुन सक्छ । उदाहरणका लागि मुस्लिम अतिवादी आईएसले मुस्लिम बाहुल्य क्षेत्रमा सञ्चालन गरेका सशस्त्र संघर्षका कारबाही निकै त्याग र बलिदानीपूर्ण छन््, साम्राज्यवादविरूद्ध परिलक्षितजस्ता पनि देखिन्छन्् तर तिनको सार भने नितान्त प्रतिक्रियावादी छ । कुनै पनि संघर्ष क्रान्तिकारी, सुधारवादी वा प्रतिगमनकारी के हो भन्ने कुरा त्यसको रुपका होइन, त्यसको उद्देश्यका आधारमा निर्धारित हुन्छ । त्यसै भएर, ‘आन्दोलन सबथोक हो उद्देश्य केही होइन’ भन्ने बर्नस्टिनको भनाइलाई कमरेड लेनिनले संशोधनवादी भनेर आलोचना गरेका थिए । यसलाई गम्भीर भएर मनन गर्नु जरूरी छ ।
नेकपा माओवादीले सञ्चालन गरेका उपरोक्त प्रकारका संघर्षका कार्यक्रम जनताको सत्ता प्राप्तिको संघर्षसँग जोडिएका छन्् या सामान्य सुधारसँग मात्र भन्ने कुरा पार्टीको समग्र रणनीतिक उद्देश्य र राजनीतिक कार्यदिशासँग सम्बन्धित हुन्छ । नेकपा माओवादीले यी संघर्षका कार्यक्रम आफ्नो पार्टीको राजनीतिक कार्यदिशाअनुरुप अगाडि बढाएको छ । त्यो कार्यदिशा सही भए त्यसमातहतको संघर्षको शृंखलाले सही गन्तव्यसम्म पु¥याउन मद्दत गर्छ, नत्र संघर्ष जतिसुकै कर्णप्रिय र जनप्रिय देखिए पनि त्यसको अन्तिम प्रतिफल क्रान्तिकारी हुन्छ नै भन्ने छैन । त्यसकारण संघर्ष कति सार्थक छ भन्ने कुरा राजनीतिक कार्यदिशाको कसीमा घोटेरमात्र थाहा पाउन सकिन्छ ।
नेकपा माओवादीले एकीकृत जनक्रान्तिलाई आफ्नो कार्यदिशा बताएको छ । बदलिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाली क्रान्तिका समस्या समाधान गर्ने भनेर यो कार्यदिशा विकास गरिएको दाबी गरे पनि यो वस्तुतः रुपमा क्रान्तिकारी तर सारमा दक्षिणपन्थी कार्यदिशा हो । यो आफ्नो रणनीतिक उद्देश्यमा स्पष्ट नभएकोमात्र होइन, यो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत मान्यताबाट समेत विचलित भएको छ । यसका मूलभूत समस्यालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
एक, माक्र्सवाद–लेनिनवाद–माओवाद सर्वहारावर्गको विश्व दृष्टिकोण हो । यसका तीनवटा संघटक अंग रहेका छन्् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । द्वन्द्वात्मक भौतिकवाद मालेमावादको दार्शनिक पद्धति हो । यो एउटा विज्ञान हो । तर, नेकपा माओवादीले यसको वैज्ञानिकतामै प्रश्न उठाएर विचारको विकासको नाममा मालेमाको दार्शनिक जगमाथि नै आक्रमणको निशाना साँधेको छ । आफ्नो पार्टी प्रकाशन ‘जनक्रान्ति’को एकीकृत जनक्रान्ति ः कार्यदिशा संश्लेषणबारे भन्ने शीर्षक दिइएको लेखमा कमरेड विप्लवले भनेका छन््, ‘आजको विश्वको समाधान १७७ वर्षपहिलेका माक्र्सको संश्लेषण, १०० वर्ष पहिलेका लेनिनको संश्लेषण र ६५ वर्षपहिलेका माओको संश्लेषणबाट मात्र खोज्न थालियो भने वाष्पइन्जिनमा हवाईजहाज फिट गर्न खोजेकोजस्तो हुन्छ ।’ यसले समग्र मालेमै पुरानो भएको विषय उठाएर त्यसको द्वन्द्वात्मक भौतिकवादी पद्धतिमाथि समेत आक्रमण गरेको छ । यो भनाइले मालेमाको विकासको बाटो होइन, बरू निषेधको बाटो अर्थात् उत्तर–मालेमावादतर्फको बाटो पक्डेको छ ।
दुई, आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा, साम्राज्यवाद र सामन्तवादको दोहोरो उत्पीडनमा परेका तेस्रो विश्वका देश तथा जनतालाई उक्त उत्पीडनबाट कसरी मुक्त गर्ने र सर्वहारावर्गको नेतृत्व र जनवादी अधिनायकत्वअन्तर्गत ती जनवादी मुलुकमा राष्ट्रिय पुँजीको विकास कसरी गर्ने भन्नेबारे नेकपा माओवादीका दस्तावेजहरु मौन छन्् । यतिमात्र होइन, नेपालमा गरिने क्रान्तिको चरणबारे कमरेड विप्लवले प्रयोग गरेको भाषा गोलमटोल छ । सोही लेखमा उनले लेखेका छन््, ‘हामीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाले यही नेपाली राजनीतिक विशेषतालाई पक्डेर नेपालको दलाल पुँजीवादी राज्यसत्तालाई बदल्ने र नेपालमा जनताको राज्यसत्ता स्थापना गर्ने उद्देश्यसँग सम्बन्धित छ ।’ ख्याल गर्नुपर्ने कुरा यो छ कि उनले दलाल पुँजीवादी राज्यसत्तालाई ध्वंश गर्ने र त्यसका ठाउँमा नयाँ जनवादी सत्ता निर्माण गर्ने कुरा कहीं कतै उल्लेख गरेका छैन । उनले पुरानोलाई बदल्ने र नयाँको स्थापना गर्नेमात्र भनेका छन्् । अर्काको कुरा, त्यसपछि स्थापना गर्ने भनिएको सत्ता नयाँ जनवादी हुने कि समाजवादी हुने यसमा पनि उनी मौन छन्् । यसबाट उनी नयाँ जनवाद कि समाजवाद यसैको सेरोफेरोमा रूमलिएको देखिन्छ । यसबाट नेकपा माओवादीले पनि अन्ततः नेकपा (माओवादी केन्द्रले जस्तै समाजवादलाई आफनो रणनीतिक गन्तव्य बनाउने र संसदीय यथास्थितिमै रमाउने त होइन, एउटा गम्भीर प्रश्न तेर्सिएको छ ।
तीन, उनले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि सामरिक कार्यदिशा पनि अगाडि सारेका छन् । तर, उनको विचारमा त्यो कार्यदिशा दीर्घकालीन जनयुद्ध पनि हुन सक्दैन र अल्पकालीन जनविद्रोह पनि होइन । उक्त लेखमा कमरेड विप्लव लेख्छन्– हतारमा सत्ता कब्जाको कार्यदिशा बनाउँदा दुस्साहसवादमा फस्ने वा संसदीय व्यवस्थाको पुच्छरमा परिणत हुने अवस्था आउँछ । त्यसैगरी, दीर्घकालीन जनयुद्धमा जाने कार्यदिशा बनाइयो भने अलगावमा पर्ने वा घुमन्ते विद्रोहीमा पुग्ने समस्या आउँछ ।’ यहाँनेर नेकपा माओवादीले यस्तो अचुक हतियार फेलापारेको दाबी गरेको छ, जसलाई प्रयोग गर्दा ऊ दुस्साहसवादी बन्नु पनि पर्दैन, संसदीय व्यवस्थाको पुच्छर बन्नु पनि पर्दैन, अलगावमा पर्नु पनि पर्दैन, घुमन्ते विद्रोही बन्ने डर पनि हुँदैन, बरू सदावहार क्रान्तिकारी भइरहन पाइन्छ । उक्त पार्टीका अनुसार यी सबै समस्याबाट बच्न सकिने कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा हो । तर विडम्बना, नेकपा माओवादीले अहिलेसम्म त्यस्तो कार्यदिशाको स्पष्ट र मूर्त व्याख्या कहीं कतै गरेको थाहा पाइएको छैन । अपेक्षा गरौँ, यो क्रान्तिकारी लफ्फाजीमात्र नबनोस् ।
चार, नेकपा माओवादीले सत्ता साझेदारीको प्रश्नलाई अहिले पनि जोड दिएर उठाउँदै आएको छ । यसै सन्दर्भमा १३, २०७३ मा प्रकाशित अनलाइन पत्रिका ‘जनपाटी’को अन्तर्वार्तामा कमरेड विप्लवलाई ‘तपाईंले सेना, अदालतलगायत त्यसपछिका राज्यका अरू अंगमा साझेदारी भन्न खोज्नुभएको हो र ?’ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्, ‘हो, हामीले राजनीतिक, आर्थिक, सेना, पुलिससहित सुरक्षा र अदालतसहितको कानुनी क्षेत्रमा हामीले सत्ता साझेदारीको विषय उठाएका हौं ।’ सत्ता साझेदारीको विषयलाई दुई भिन्न अवस्थाका आधारमा विश्लेषण गर्नुपर्छ । जनसत्ता र प्रतिक्रियावादी सत्ता रणनीतिक सन्तुलनमा रहेको विशिष्ट स्थितिमा पहलकदमी आफ्नो हातमा पार्नका निमित्त क्रान्तिकारी नेतृत्वले तात्कालिक कार्यनीतिका रुपमा सत्ता साझेदारीको प्रश्नलाई अगाडि सार्नु गलत हुँदैन । चीनमा चुकिङ वार्ताका बेला माओले यो कार्यनीति अगाडि सारेका थिए । त्यो गलत थिएन, सही नै थियो । भोलि पनि त्यस्तो परिस्थिति फेरि आउन सक्छ । तर, अहिले जनसेना, जनसत्तालगायत जनयुद्धका सम्पूर्ण उपलब्धि गुमेको र नयाँ सत्ताका भ्रुणसम्म पनि नबनेको बेला उठाइने यो नारा कार्यनीतिक रहँदैन, नितान्त रणनीतिक बन्न जान्छ । त्यसकारण यो सिद्धान्ततः गलत छ ।
पाँच, कमरेड विप्लवले नेपालमा अहिले द्वैध सत्ता रहेको दाबी गरेका छन् । ‘त्यसो हो भने हामी अहिले दुई सत्ताबीचमा छौं ?’ भनी ‘जनपाटी’ ले सोही अन्तर्वार्ताक्रममा सोधेको प्रश्नको जवाफमा विप्लव भन्छन्, ‘निश्चय नै । अहिले नेपालमा द्वैध सत्ता छ । एकातिर जनताको सत्ता छ भने अर्कातिर परम्परागत सत्ता छ ।’ प्रतिक्रियावादी सत्ताविरूद्धको जनमत नै जनसत्ता होइन र हुन सक्दैन । सत्ता भनेको लेनिनको भाषामा एउटा वर्गले अर्काे वर्गलाई दमन गर्ने राज्यसंयन्त्र हो । विप्लवले यति कुरा पनि नबुझेर होला त यस्तो भनेको ? अवश्य होइन । जताबाट नापे पनि, नेपालमा द्वैध सत्ता विद्यमान छ भन्ने उनको घोषणा प्रतिक्रियावादी सत्तामा साझेदारी गर्न कैलागि अगाडि सारेका हुन् भन्नेबाहेक यसबाट अर्काे अर्थ निस्कँदैन । नेपालको अहिलेको शक्ति सन्तुलनको स्थितिमा उनले भनेको सत्ता साझेदारी प्रतिक्रियावादी सत्तामा सहवरण गर्नेभन्दा अरु केही हुने देखिँदैन ।
माथि बुँदागत रुपमा केही आधारभूत सिद्धान्तका कुरा गरियो । यीबाहेक थुप्रै यस्ता विषय छन्, जसमा नेकपा माओवादीले परिस्थितिमा आएको फेरबदलका नाममा विश्वकम्युनिस्ट आन्दोलनले ग्रहण गरेका थुप्रै मान्यताका ठाउँमा भिन्न व्याख्या गरेर त्यसलाई मालेमावादमा गरेको विकास भनेको छ । यो छोटो लेखमा कम्युनिस्ट आन्दोलनको आममान्यताबाट नेकपा माओवादीले कहाँ–कहाँ क्रमभंग ग¥यो त्यसको फेहरिस्त तयार पार्न अहिले सम्भव छैन । मालेमावादको विकासको नाममा नेकपा माओवादी कता उन्मुख हुँदै छ भन्ने कुराको छनक पाउन माथिका केही बुँदा पर्याप्त छन् । यहाँ विश्वपरिस्थितिमा फेरबदल आएको छैन र मालेमावादलाई जडसूत्रका रुपमा समातिराख्नुपर्छ कसैले भनेको छैन । मालेमावाद जडसूत्र होइन, विज्ञान हो त्यसको विकास गर्न जरूरी छ । प्रश्न मालेमावादको जगमा टेकेर त्यसको प्रयोगमार्फत विकास गर्ने कि सिर्जनात्मक प्रयोग र विकासका नाममा त्यसको आधारभूत सिद्धान्तबाट चिप्लिएर प्रतिक्रियावादी सत्तामा सहवरण गर्न सुधारवादी बाटो पक्डने ? बहसको विषय यहाँनेर हो । माक्र्स, लेनिन तथा माओले लिएको बाटो पहिलो र ख्रुश्चेभदेखि सुरू भएर प्रचण्ड हुँदै बादलसम्मले लिएको बाटो पछिल्लो हो । यी दुईमध्ये कुन बाटाले कसलाई कहाँ पुर्यायो । यो जगजाहेर छ ।
तत्कालीन नेकपा–माओवादीबाट कमरेड विप्लवलगायतको एउटा टिम अलग भइसकेपछि पार्टीले आयोजना गरेको पाँचौं प्लेनमले विप्लवमा देखिएका गलत प्रवृत्तिको संश्लेषण गरेको थियो । त्यसबारे प्लेनममा पारित दस्ताबेज भन्छ, ‘यसरी हेर्दा, यी गतिविधि सांगठनिक रुपमा अराजकतावादी, व्यक्तिवाद, दार्शनिक रुपमा निषेधात्मक द्वन्द्ववाद तथा अनुभववाद र राजनीतिक रुपमा पश्चगामी सत्तासाझेदारीको रणनीतिमा आधारित छन् । कमरेड विप्लवको भिन्नमतको प्रस्तावमा जनयुद्ध, जनविद्रोह वा जनयुद्धको जगमा जनविद्रोह सबैको निषेध गरी एकीकृत क्रान्तिको सिद्धान्तको जुन सामरिक कार्यदिशा प्रस्तुत गरिएको छ, त्यो अत्यन्तै अस्पष्ट, भ्रामक, अन्तरवस्तुशून्य तथा रहस्यमूलक रहेको छ । साथै, उहाँको प्रस्तावमा राष्ट्रिय स्वाधीनताप्रति संवेदनशीलताको कमी र भारतीय विस्तारवादपरस्तताका कैयौँ लक्षण पनि देखापर्छन् । अन्ततः उहाँका यी गतिविधि र भिन्नमतको प्रस्तावलाई समग्रतामा हेर्दा, तिनमा अभिव्यक्त मूल प्रवृत्ति रुपमा वामजस्तो देखिए पनि सारमा दक्षिणपन्थी अवसरवादतिर उन्मुख रहेको पाइन्छ ।’
नेकपा माओवादीका आजसम्मका गतिविधिबाट कमरेड विप्लवबारे उक्त प्लेनमले जे संश्लेषण गरेको थियो, त्यो सही थियो भन्ने कुरा राम्ररी पुष्टि भएको छ । नेकपा माओवादीले हालसम्म सञ्चालन गरेका संघर्षका कार्यक्रम प्रतिक्रियावादी सत्ताको ध्वंश र नयाँ जनवादी क्रान्तितिर उन्मुृख छैनन् । ती सत्तासाझेदारीको नाममा प्रतिक्रियावादी सत्तामा गरिने सहवरणका लागि दबाबको राजनीति गर्न र अर्थोपार्जनका आधार निर्माण गर्न उद्यत भएको देखिन्छ । यो क्रान्तितर्फको यात्रा होइन, बरू त्यसकोविरूद्धको हो । यतिबेला, नेपाल र सिंगो संसारभरिका क्रान्तिकारी कम्युनिस्टले नेकपा माओवादीले यी कमजोरीलाई छिट्टै सच्याएर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको पक्षमा आफूलाई पुनः दह्रोसँग उभ्याओस् भन्ने अपेक्षा गरेका छन् ।
लेखक नेकपा (क्रान्तिकारी माओवादी) सचिवालय समिति सदस्य हुन् ।
Post a Comment