Websoft University

www.radiomakalu.com || 021-522512


जर्मनीसँग विश्वकप हारको बदला लिन जुर्मुराएका नेइमार


युरोपका दुई बलिया फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडको प्रतिद्वन्द्वीताबाट सायदै कोही बेखबर होलान्। स्पेनमा मात्र होइन, पूरै विश्वमा रियल म्याड्रिडका कट्टर समर्थकले बार्सिलोनाका खेलाडीको तारिफ गरेको कहीँ कतै सुन्न पाइँदैन। तर, ब्राजिली फुटबलका ढुकढुकी बनिसकेका नेइमारको हकमा यो लागू हुँदैन।

केही वर्षअघि मात्र म्याड्रिडका पूर्व खेल निर्देशक जर्जे भाल्डानोले उनको विषयमा भनेका थिए– ‘म नेइमारलाई निकै रुचाउँछु। ऊ महान खेलाडी हो।’

अहिले ब्राजिलको फुटबलमा यही कुराको बहस चलिरहेको छ, के नेइमार उनका पूर्वज पेले, रोमारियो र रोनाल्डो जत्तिकै महान हुन्। पेलेले ६० र ७० को दशकमा तीनपल्ट ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाए। सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दा रोमारियो टिमका नायक थिए। रोनाल्डोले सन् २००२ मा ब्राजिललाई विश्वकप दिलाए। अहिले नेइमार ओलम्पिकमा ब्राजिललाई पहिलो स्वर्ण दिलाउने अभियानमा छन्।

ब्राजिलले सन् २००२ मा विश्वकप जितेपछि अन्तर्राष्ट्रिय फुटबलमा खासै प्रभाव जमाउन सकेको छैन। त्यसैले, रियो ओलम्पिकको फाइनल पुगेको ब्राजिल आफ्ना पुराना उपलब्धिलाई पुनः एकपल्ट आफ्नै घरबाट स्थापित गर्न लालायित देखिन्छ। र, यो कामका लागि फुटबलको देश भनेर चिनिने ब्राजिलले कप्तानका रूपमा नेइमारको छनोट गरेको छ।

ब्राजिलले अहिलेसम्म ओलम्पिकको फुटबल स्पर्धामा स्वर्ण जितेको छैन। उसँग विश्वकपको ५ वटा उपाधि छ। पाँचैपल्ट कोपा अमेरिका जितिसकेको छ। यस्तो अवस्थामा ब्राजिलका लागि ओलम्पिकको स्वर्णले कति महत्व राख्छ, यो भनिरहनुपर्ने विषय होइन।

ब्राजिल दुनियाको यस्तो अनौठो विकासशील देश हो, जहाँ टेलिभिजनको पहुँच थुप्रै बस्तीमा अझसम्म छैन्। कति स्थानीयबासी रंगशालामा प्रवेश गरेका छैनन्। तर, उनीहरू फुटबलको कुरा यति सहजता साथ गर्छन्, जसको गफ सुन्दा लाग्छ, उनीहरू कुनै बेलाका नामुद खेलाडी थिए।

त्यसैले ब्राजिल अहिले नेइमारमय भएको छ। ब्राजिलका धनाढ्यहरूले ‘मर्निङ वाक’मा डुलाउन ल्याउने कुकुरले पनि नेइमारको जर्सी पहिरिएका हुन्छन्। यस्तो अवस्थामा आफूसँग देशले राखेको अपेक्षा नेइमारलाई थाहा नहुने कुरा पनि भएन। उनी रियो ओलम्पिकमा संयमित देखिन्छन्। दुई वर्षअघि देशमै आयोजना भएको विश्वकपअन्तर्गत क्वाटरफाइनल खेलमा उनी घाइते बन्न पुगेका थिए।

कोलम्बियासँगको खेलमा उनको ढाँड नराम्ररी भुइँमा बचारिन पुग्यो। यही कारण उनले जर्मनीविरूद्धको सेमिफाइनल चुकाउनुपर्यो। अग्रपंक्तिमा जर्मनीका डिफेन्सलाई चुनौती दिने खेलाडी नहुँदा ब्राजिलले त्यो खेल ७–१ गोलले गुमायो।

रियोमा नेइमार निकै प्रभावशाली देखिएका छन्। र, यसैको नतिजा हो, ब्राजिल फाइनल पुगेको छ। ब्राजिलले स्वर्णका लागि पुरानै प्रतिद्वन्द्वी जर्मनीसँग भिड्नुपर्नेछ। आइतबार बिहान ७५ हजार दर्शक क्षमताको माराकाना रंगशालामा स्वर्णका लागि मैदानमा ओर्लिंदा नेइमारको अगाडि एउटै लक्ष्य हुनेछ– दुई वर्षअघि घरेलु मैदानमा जर्मनीबाट पाएको लज्जास्पद पराजयको बदला लिने र १८ वटा ओलम्पिकमा फुटबलतर्फ भाग लिए पनि स्वर्ण जित्न नसकेको ब्राजिलको असफल इतिहास बदल्ने।

संसारभरि फुटबल राष्ट्रको परिचय बनाएको ब्राजिलको पुरानो साखलाई रियोमार्फत फर्काउन सफल भएको खण्डमा देशभित्र नेइमारको ख्याति अझ चुलिनेमा दुईमत छैन।

फेरि उनी यो ओलम्पिकमा उत्कृष्ट फर्ममा देखिन्छन्। होन्डुरसविरूद्ध सेमिफाइनलमा उनले १५ सेकेन्डमै गरेको गोल यसको उदाहरण हो। यही गोलमार्फत आधुनिक ओलम्पिकको १ सय २० वर्ष लामो इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको परिचय पनि उनले बनाएका छन्।

अहिले ब्राजिलको टोलीमा यस्ता थुप्रै प्रतिभाशाली खेलाडी छन्, जसका कारण नेइमारको नेतृत्वमा ब्राजिलले ओलम्पिकको स्वर्ण जित्ने विश्वास गरिएको छ।

ओलम्पिकमा २३ वर्षभन्दा माथि ३ खेलाडीले खेल्न पाउने नियम छ। यो नियमअन्तर्गत २४ वर्षीय नेइमार मात्र होइन, पाल्मेरिजका ३८ वर्षीय अनुभवी गोलरक्षक फर्नान्डो प्रासा र चीनको बेइजिङ गुआनबाट व्यावसायिक फुटबल खेलिरहेका २८ वर्षीय मिडफिल्डर रेनाटो अगुइस्टो समावेश छन्।

त्यस्तै, टोलीमा प्रतिभाशाली युवा खेलाडी सान्तोष क्लबका गार्बियल बारोसा र पाल्मेरिजबाट भर्खरै इङ्लिस क्लब म्यानचेस्टर सिटी (२०१७ देखि सिटीबाट खेल्ने) लागेका गार्बियल जेसस, फ्रान्सको पेरिस सेन्ट जर्मनीबाट खेल्ने डिफेन्डर मार्कुनोस र बार्सिलोनाका राफिन्हाका कारण ब्राजिलको टोली पहिलेभन्दा निकै सन्तुलित देखिन्छ।

ओलम्पिकका लागि डुँगालाई प्रशिक्षकबाट हटाएर ४७ वर्षीय रोजेरियो मिकाललाई ब्राजिली टिम हस्तान्तरण गर्ने निर्णयको ठूलो आलोचना भएको थियो। गत वर्ष ब्राजिललाई युथ–२० विश्वकपको फाइनल पुर्याएका मिकाल त्यति अनुभवी मानिँदैनन्। तर, उनको प्रशिक्षणमा टिम फाइनल पुगेपछि उनलाई प्रशिक्षक बनाएको विषयमा उठेको विवाद साम्य भएर गएको छ।

रियो ओलम्पिकमा प्रशिक्षक मिकाललाई पनि सबैभन्दा ठूलो भर नेइमारकै छ। उनले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि नै भनेका थिए– ‘ब्राजिलले ओलम्पिकको स्वर्ण जित्ने मुख्य आधार नै नेइमार हुन्। टिमका सबै खेलाडी उनलाई आफ्नो आदर्श मान्छन् र नेइमारजस्तै बन्ने चाहना राख्छन्।’ उनी बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाका फ्यान हुन्।

ब्राजिलले हालसम्म ओलम्पिकमा ३ रजत र २ कास्य मात्र जितेको छ। ४ वर्षअघि लन्डन ओलम्पिकमा पनि ब्राजिल फाइनल पुगेको थियो। त्यतिबेला नेइमार पहिलोपल्ट ब्राजिली टिममा समावेश भएका थिए। फाइनलमा ब्राजिल दुर्भाग्यपूर्ण नतिजाका बीच २–१ ले मेक्सिकोसँग पराजित भएको थियो।

लन्डन ओलम्पिकमा नेइमारको उत्कृष्ट खेल देखेपछि बार्सिलोनाले उनलाई अनुबन्धित गर्ने प्रस्ताव अगाडि सारेको थियो। उनले त्यतिबेला ३ गोल गरेका थिए।

रियो ओलम्पिकमा पनि नेइमारले ३ गोल गरिसकेका छन्। समूह चरणको खेलमा दक्षिण अफ्रिका र इराकसँग गोलरहित बराबरी खेलेपछि नेइमारको पनि ठूलो आलोचना भएको थियो। तर, पछि समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई ४–०, क्वाटरफाइनलमा कोलम्बियालाई २–० र सेमिफाइनलमा होन्डुरसलाई ६–० ले हराउन खेलेको भूमिकालाई लिएर अहिले उनको सर्वव्यापी प्रशंसा भइरहेको छ। उनले ब्राजिललाई फाइनलमा स्थान दिलाउन ३ गोल गर्नुको साथै ३ वटा गोलको अवसर जुरासकेका छन्।

अब फाइनलमा उनको खेलले निर्धारण गर्नेछ, ब्राजिलले फुटबलमा स्वर्ण जित्छ कि जित्दैन भनेर। यही ओलम्पिक खेल्न उनले दुई महिनाअघि अमेरिकामा भएको दक्षिण अमेरिकी राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कप हापेका थिए। उनलाई बार्सिलोना क्लबले पनि इतिहास रच्न ओलम्पिकभरिका लागि छुट्टी दिएको छ।

तर, के उनी, सन् १९८४ को ओलम्पिकमा डुँगाले फाइनलमा, १९८८ को ओलम्पिकमा रोमारियो र बेबेटोले फाइनलमा र २०१२ को ओलम्पिकमा थियागो सिल्भाले फाइनलमा पुगेर पनि ब्राजिललाई दिलाउन नसकेको सफलता यसपालि रियोमा दिलाउन सफल होलान्?

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget