Websoft University

www.radiomakalu.com || 021-522512


रियो ओलम्पिकमा नेपालकी निशा रावलको अग्निपरीक्षा अाज ७ बजेर ४५ मिनेटमा


नेपालले रियो ओलम्पिकमा आफ्नो अन्तिम खेल शनिबार साँझ ७ बजेर ४५ मिनेटमा खेल्दैछ। नेपाली महिला तेक्वान्दो खेलाडी निशा रावल ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन झिङसँग भिड्दैछिन्।

रियोस्थित कारिओका एरिना–३ मा उनले चिनियाँ प्रतिद्वन्द्वीलाई पराजित गरेको खण्डमा उनी नेपाली खेल इतिहासमा ओलम्पिकमा पहिलो खेल जित्ने खेलाडी बन्ने छिन्। तर, उनका लागि आजको खेल फलामको चिउरा चपाएसरह हुनेछ। किनभने उनकी प्रतिद्वन्द्वी २२ वर्षीया झिङ गत वर्ष दक्षिण कोरियाको ग्वान्झाउमा भएको युनिभर्सिटी ओलम्पियाडमा ७३ केजी मुनीको प्रतिस्र्धाकी स्वर्ण विजेता हुन्।

रियो ओलम्पिकमा ७३ केजी तौल समूह समावेश गरिएको छैन। यसपालि महिलाको चार वटा समूहमात्र रियोमा समावेश गरिएको छ। त्यसैले, ६७ केजी भन्दामाथिको तौल समूहलाई हेभिवेट मानिएको छ। र, यही समूहमा निशा युनिभर्सिटी ओलम्पियाडकी विजेतासँग भिड्दैछिन्। ‘मेरो उद्देश्य राम्रो फाइट गर्ने हुनेछ,’ २० वर्षीया निशा भन्छिन्।

ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो। र, निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी हुन्। सन् २००४ मा संगीना वैध ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन्। उनी पहिलो खेलमै चिनियाँ ताइपेयीकी चेन सी-हासिनसँग पहिलो भिडन्तमै ४-० ले पराजित भएकी थिइन्।

उनले त्यतिबेला चित्तबुझ्दो प्रदर्शन गर्न सकेकी थिइनन्। अहिले उनी निशाको प्रशिक्षक छिन्। उनी ओलम्पिकमा खेलाडीमा पर्ने मानसिक दबाबलाई कसरी कम गर्ने भनेर उनलाई सिकाइरहेकी छिन्। ‘म उसलाई उत्कृष्ट भिडन्तका लागि प्रेरित गरिरहेकी छु,’ संगीनाले सेतोपाटीसँग भनिन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपक बिष्ट पनि छनोटमार्फत सहभागी भएका थिए। निशा ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेल्दैछिन्।

निशाकी प्रतिस्पर्धी चीनकी सुयिन झिङ।

आजको खेलमा निशा नीलो गार्डमा देखिनेछिन्। निशाको उचाई ५ फिट ६ इन्ची छ र तौल ७३ केजी। उनको तुलनामा चिनियाँ खेलाडी झिङको उचाई ६ फिट २ इन्ची छ र चौल ७५ केजी रहेको छ। ‘म आजको खेलमा नेपालीहरूले पनि ओलम्पिकमा भिड्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्छु,’ नेपाली तेक्वान्दोमा आक्रामक खेलाडीको परिचय बनाएकी निशा भन्छिन्। निशाले आफूले खेलेको पछिल्लो ३ ठूला प्रतियोगितामा कुनै पनि खेल जितेकी छैनन्।

उनी २०१४ दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा मकाउकी वाङ जुनानसँग पहिलो खेलमै ११–४ ले पराजित भएकी थिइन्। २०१५ ग्वाङझुमा भएको युर्निभर्सियाड गेम्समा पनि उनी चीनकी निउ लुलुसँग १४–२ ले पराजित भएकी थिइन्। यही वर्ष ओलम्पिक छनोटका लागि फिलिपिन्समा भएको एसियन ओलम्पिक क्वालिफाइङमा उनी सोही देशकी क्रिष्टी इलेन अलोरासँग ९–० ले पराजित भइन्।

छ महिनाअघि भारतको आसाम र सिलोङको संयुक्त आयोजनामा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उनलाई स्वर्णको दावेदार मानिएको थियो। तर, उनको तौल समुहलाई प्रतियोगितामै समावेश गरिएन। त्यही भएर उनले साग गेम्स नै खेल्न पाइनन्। नेपाली खेलकुदमा तेक्वान्दो सबैभन्दा सफल खेल मानिन्छ। नेपालले एसियन गेम्समा १ रजत र ९ कास्य जितिसकेको छ।

सन् १९८८ मा दक्षिण कोरियाको सिओलमा भएको ओलम्पिकमा तेक्वान्दो खेललाई प्रदर्शनीको रूपमा राखिएको थियो। त्यो खेलमा नेपालका विधान लामाले कास्य जितेका थिए। तर, प्रदर्शनी भएको हुनाले पदक तालिकामा उनले जितको पदक दर्ता भएन्। निशाले आज भिड्ने चिनियाँ खेलाडी सन् २०१० मा सिङ्गापुरमा भएको युथ ओलम्पिकमा ६३ केजी तौल समूह भन्दामाथिको स्वर्ण विजेता पनि हुन्।

यस वर्ष मनिलामा भएको एसियन च्याम्पियनसिपमा ७३ केजी मुनी झिङले कास्य जितेकी थिइन्। झिङले आफूले खेलेको ६१ वटा फाइटमा ४७ मा जित दर्ता गराएकी छिन्। उनको जित प्रतिशत ७७ मानिन्छ। उनी ६७ केजी माथिको तौल समूहकी स्वर्ण दावेदार पनि हुन्। उनलाई पराजित गर्न सफल भएको खण्डमा निशाको अगाडि पदकको सम्भावना खुल्ने देखिन्छ।

झिङसँग पराजित भए पनि उनीसँग राम्रो भिडन्त गर्न सफल भएको खण्डमा उनी कास्यका लागि रेपेचार्ज राउन्डमा भिड्न पाउनेछिन्। स्वर्णका लागि पहिलो चरणमा १६ खेलाडी भिड्दैछन्। यसमा जित्ने ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। राम्रो अंक ल्याएर हार्ने ४ खेलाडी भने रेपेचार्ज राउन्डका लागि छनोट हुनेछन्।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget