Websoft University

www.radiomakalu.com || 021-522512


सुधार भइरहेछ चितवनको क्यान्सर अस्पताल


Cancer-Hospital-Chitwan
चितवन,साउन ३१ गते । अस्तव्यस्त बनेको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनको हस्तक्षेप पछि विस्तारै सुधार हुँदै गएको छ ।

गत जेठ पहिलो साता अस्पतालमा विचौलिया नियन्त्रणबाट थालिएको सुधार अभियान दुई महिना कट्दा नकाट्दै यसको प्रभाव सकारात्मक देखिएको हो ।

अस्पतालमा बिरामी छिर्न नपाउँदै विचौलिया तान्न आइपुग्ने, अस्पतालको कार्यालय समयमा चिकित्सक र कर्मचारी नबस्ने, स्वयम् चिकित्सक कर्मचारी विचौलियासँग मिलेमतो गरी आफ्नो निजी अस्पताल, क्लिनिक, फार्मेसी, ल्याबमा बिरामीलाई जान दबाब दिने, अस्पतालका उपकरण बिगारेर निजीमा सिफारिस गरी रकम असुल्ने जस्ता गतिविधिका कारण अस्पताल अस्तव्यस्त भएको थियो ।

स्थानीय प्रशासनले बाहिरी विचौलियासँगै अस्पतालभित्रैका पाँच जना कर्मचारीलाई विचौलियाको काम गर्दागर्दै पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस यता नियमित रुपमा स्थानीय प्रशासनले निगरानी गरिरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुन स्थानीय प्रशासनको सहयोगपछि अस्पतालमा धेरै सुधार आएको बताउँछन् । उनी भन्छन्, ‘पहिले दैनिक बढीमा रु तीन लाख आम्दानी हुन्थ्यो, अहिले दैनिक रु छ लाख ७५ हजारसम्म आम्दानी पुगेको छ ।’ एमआरआइ मेसिन बिग्रिएको छ, बनेपछि आम्दानी थप रु एक लाख बढ्ने पुनले बताए ।

अस्पतालमा सुधार आएको भन्दै पुनले भने, ‘पहिले डाक्टर, कर्मचारी खोज्दा पनि पाउन मुस्किल हुन्थ्यो, अहिले बिहान र बेलुका हाजिरको थम प्रिन्ट गर्न पूरै लाइन लाग्ने गर्दछ ।’

अस्पतालमा सिटिस्क्यान र रेडियोथेरापी अतिरिक्त समयमा सञ्चालन गर्नसकेमा अस्पतालको आम्दानी बढ्ने र बिरामीले सुविधा पाउने देखिएको छ । अहिले दैनिक १५/१६ वटा सिटिस्क्यान हुँदै आएको छ । अतिरिक्त सेवा दिँदा एकै दिनमा ५७ वटासम्म सिटिस्क्यान भएको अस्पतालले जनाएको छ । चिकित्सक र सहयोगीले अतिरिक्त भत्ता लिए पनि बिरामीले सेवा पाउने र अस्पतालको आम्दानी बढ्ने हुँदा सञ्चालक समितिबाट निर्णय गराएर पुनः अतिरिक्त सेवा दिने तयारी गरिएको उनले बताए ।

६ महिनादेखि आमाको उपचार क्यान्सर अस्पतालमा गराइरहनु भएका स्याङ्जाका भुवन अर्यालले दुई महिनायता अस्पतालमा निकै परिवर्तन आएको बताएका छन् । ‘अहिले विचौलिया छैनन्, हामीले दुःख पाएका छैनौँ,’ उनले भने, ‘विचौलिया नभएपछि सेवा पनि राम्रो हुँदो रहेछ ।’

श्रीमती उपचारका लागि गुल्मीबाट आएका शान्तिमान सिंजालीले पहिलेभन्दा अस्पतालमा सुधार भएको भने पनि चिकित्सकको लापर्बाही भने अझै कायमै रहेको बताए । उनले भने, ‘ अझै सुधारको खाँचो छ।’

चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको क्यान्सर अस्पतालमा ५२ जना विशेषज्ञ चिकित्सक र २० जना मेडिकल अधिकृत छन् । उनीहरुसँगै चिनियाँ १५ जना विशेषज्ञ चिकित्सक बिरामी सेवामा जुटिरहेका छन् । डा पुनका अनुसार अस्पतालमा गत आवमा एक लाख १९ हजार बिरामीले बहिरङ्ग सेवा लिएका छन् । अस्पतालमा भर्ना भएर उपचार गर्नेको सङ्ख्या छ हजार ५०० छ । ती बिरामी नेपालसँगै भारत र भुटानका समेत रहेका छन् । भारतका धेरै बिरामी आउने गर्दछन् । गत आवमा मात्र ४७८ जना नयाँ क्यान्सरका बिरामी भारतबाटै आएको पुनले जानकारी दिए ।

अस्पतालमा अहिले १९४ शैया सञ्चालनमा छ । थप २०० शैयाका लागि भवन निर्माण कार्य भइरहेको छ । एसियामा नमुना अस्पताल बनाउने उद्देश्यका साथ यहाँ सञ्चालनमा रहेको क्यान्सर अस्पताल अस्तव्यस्त बनेपछि प्रशासन हस्तक्षेप गर्न बाध्य भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह अहिले पनि अस्पताललाई निगरानीमै राखेको बताउँछन् । उनले भने, ‘अस्पतालमा अहिले पनि अनुसन्धानमा सक्रिय प्रहरी निगरानीमा छन् ।’ स्थानीय प्रशासनले पछिल्लो समय विशेषज्ञ चिकित्सक र प्रशासनमा काम गर्नेको कमीकमजोरी खोजीरहेको छ । अस्पताल बिगार्न लाग्नेलाई नछाड्ने सिंहले बताएका छन् । -रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget