![](http://setopati.com/timthumb.php?src=/home/setopati/public_html/images/newsManagement/1467959796_%E0%A4%AC%E0%A4%AC%E0%A4%AC%E0%A4%AC.jpg&w=675&q=60)
ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। शुक्रबार बिहान उनले आफ्ना सहयोगी भरत तिवारीसँग घरमै उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
'उहाँ आज बिहान घर जाउँ भन्नुभएको छ,' तिवारीले सेतोपाटीसँग भने। उनका अनुसार कोइरालाले बिहान जुस पिएका थिए। मंगलबार बेलुकी अस्पताल भर्ना भएपछि उनले पहिलोपटक खानेकुरा खाएका हुन्।
कोइरालालाई भेट्न शुक्रबार बिहान पार्टी सभापति शेर बहादुर देउवा र नेता प्रकाशमान सिंह अस्पताल पुगेका थिए। कोइरालाले सभापति देउवासँग कुरा गर्न खोजेका थिए। तर सभापति देउवाले नै पछि कुरा गर्ने भन्दै उनलाई रोकेको तिवारीले बताए।
कोइरालाले पिसाब फेर्नका लागि लगाइएको 'क्याथेटर' हटाइदिन आग्रह गरेपछि अहिले 'डाइपर'प्रयोग गरिएको छ।
उनको थप उपचारका लागि अन्य मुलुक लैजाने कुरा भइरहे पनि बाहिर लान आवश्यक नभएको उनका भतिजा सिद्धार्थ कोइरालाले बताए। उनले भने, 'प्रधानमन्त्री र पार्टी सभापतिले उपचारका लागि बाहिर लैजानु पर्छ भने तयारी गर्नुस् भन्नु भएको छ। तर, नेपालमा नै राम्रो उपचार भइरहेकाले बाहिर लैजान आवश्यक नभएको हामीले जानकारी गराएका छौं।'
नेपालका सबैभन्दा राम्रा चिकित्सकहरू महामन्त्री कोइरालाको उपचारमा खटिएकाले विदेशमा हुनेभन्दा पनि राम्रो उपचार भइरहेको उनले बताए। महामन्त्री कोइरालाकी श्रीमती सुपात्रा कोइरालाले पनि नेपालमा नै राम्रो उपचार भइरहेको हुँदा विदेश लैजान आवश्यक नभएको बताएकी छिन्।- सेतोपाटीबाट
Post a Comment