Websoft University

www.radiomakalu.com || 021-522512


महिलामा एक्कासी पिसाब चुहिने समस्या र समाधान

dr arjun
-डा अर्जुनदेव भट्ट, कन्सल्ट्यान्ट युरोलोजिष्ट
मूत्र संक्रमण जस्तै पिसाब चुहिने पनि स्त्रीमा देखा पर्ने एउटा व्यापक समस्या हो । यो जुनसुकै उमेरमा पनि हुन सक्दछ तर जति उमेर बढ्दै गयो त्यति नै यो बढ्दै जाने हुन्छ । पिसाब चुहिने समस्या धेरै थरीका र विभिन्न कारण संलग्न हुन्छन् । अहिले पेटभित्र एक्कासि चाप बढ्दा देखा पर्ने पिसाब चुहिने अवस्थालाई समेट्ने प्रयत्न गरिएको छ ।

पिसाब थैली भरि वा केही मात्रामा मूत्र सन्चय भएको अवस्थामा एक्कासि खोकी वा हाछ्यू आए पेट भित्र चाप बढ्दछ । फलस्वरूप मूत्र थैलीको घाँटी र मूत्र नली कमजोर भएका स्त्रीहरुमा यस्तो अवस्थामा पिसाब चुहिने हुन्छ । गुरुङ्गो बोझ बोक्दा, शाररीक व्यायाम गर्दा र यौन सम्पर्क राखेको अवस्थामा पनि पिसाब चुहिन सक्छ । पिसाब चुहिने नगन्य मात्रा भन्दा बढी भए भित्री लुगा भिज्ने, समयमै सफाइ गर्न नभ्यए मूत्र गन्हाउने, यौनाङ्ग चिलाउने वा त्यतातिर घाउ खटिरा देखा पर्ने, मूत्र संक्रमण हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।

पिसाब चुहिने कारण
पेटभित्र एक्कासी चाप बढ्दा स्त्रीमा पिसाब चुहिनाको कारण मूत्र नली पुरुषको दाँजोमा छोटो हुनु होइन । स्वस्थ्य अवस्थामा मूत्र थैलीको घाँटी र मूत्र नलीको भित्री भागमा रहेको झिल्लीले आपसमा टाँसिएर पिसाब चुहिन दिँदैन । यो प्रक्रियामा मूत्र थैली र मूत्र नलीका मांसपेशीहरू र तिनिहरूलाई समन्वय गर्ने नशाले ठूलो भूमिका खेल्दछ । त्यस्तै योनीले मूत्र नलीलाई आधार प्रदान गर्दछ । त्यो भागमा उपयुक्त मात्रामा रक्त सन्चार तथा स्नायुको स्वस्थता उपलब्ध भए त्यस ठाउँ लाई सुख्खा हुन नदिएर आपसमा टाँसिएको अवस्थामा राख्दछ । मूत्र नलीलाई मांसपेशी र तन्तुबाट बनेको झोलुङ्गे पट्टाले बेरेर राखेको हुँदा एक्कासि पेटभित्र चाप बढ्दा मूत्र नलीलाई थिचेर खुल्न दिँदैन । तर मूत्र नलीका झिल्ली सुक्खा र शक्ति हीन भए तथा मूत्र नलीलाई बेर्ने झोलुङ्गे पट्टा कमजोर वा च्यातिएको अवस्थामा हुँदा पेट भित्र एक्कासी चाप बढेका खण्डमा मूत्र नली खुलेर पिसाब चुहिने गर्दछ । गर्भ धारण, प्रसव क्रिया, मधुमेह, मोटोपन, पाठेघर निकालेको अवस्था इत्यादिले पिसाब चुहिन नदिने संरचनालाई कमजोर तथा विनाश गर्ने गर्दछ ।

समस्याको समाधान
स्त्रीमा पिसाब चुहिने समस्या व्यापक हुन्छ तर सबैले भन्न चाहँदैनन् भन्ने यथार्थलाई ध्यानमा राखेर चिकित्सकहरूले यो अवस्था भए नभएको जानकारी लीन उपयुक्त वातावरणमा प्रश्न गर्नु पर्दछ । यदि पिसाब चुहिने गर्दछ भने त्यसको उपयुक्त उपचारका निम्ति बिरामीलाई सल्लाहा प्रदान गर्दै विशेषज्ञ कहाँ पठाउनु पर्दछ ।

समस्या निदानको सिलसिलामा पिसाब चुहिने पेटभित्र चाप बढ्ने अवस्थामा मात्र हुन्छ या पिसाब लागे पछि रोक्नै नसक्ने भएर चुहिने गर्दछ त्यो यथार्थ प्रस्ट पार्नु पर्दछ । पिसाब लागेपछि रोक्नै नसकिने भएर जाँदा जाँदै वा पुग्दा पुग्दै पिसाब चुहिनछ र खोक्दा पिसाब चुइदैन भने त्यस्ता दुई पिसाब चुहिनाको कारणमा ठूलो फरक हुन्छ । त्यसैले यी दुई अवस्थाको उपचारमा पनि ठूलो अन्तर हुन्छ । निदानको सिलसिलामा रक्त तथा मूत्र परीक्षण, पेटको अल्ट्रासाउण्ड गरेर मृगौला, मूत्र थैली, पाठेघर बारे सम्पूर्ण जाँच गर्नु पर्दछ । त्यो बाहेक आवश्यकता अनुसार अरू परीक्षण पनि गर्नु पर्ने हुन सक्छ ।

उपचार
एक्कासि पेटभित्र चाप बढेर स्त्रीमा देखा पर्ने पिसाब चुहिने समस्या ज्यादै सुरुको अवस्थामा छ र त्यसले बिरामीलाई धेरै ठूलो असुविधा तथा मानसिक तनावमा पारेको छैन भने उपचार व्यायाम, मधुमेहको उपयुक्त व्यवस्था र शाररीक तौल नियन्त्रणमै सिमित हुन मिल्छ । तर, यी तरिका अपनाउँदा पनि रगतमा चिनीको मात्रा पूरै नियन्त्रण, शरीरको तौलको उचाइसँग वैज्ञानिक तालमेलका बाबजुत पनि पिसाब चुहिने अवस्था स्वीकार्य नहुने गरिकन रहि रहे शल्यउपचार एकमात्र पछिल्लो विकल्प रहन्छ । यो विकल्पलाई समयमै अपनाउनु बुद्धिमानी हुन्छ । तौल धेरै भएका स्त्रीहरूले आफ्नो शरीरको उचाइ अनुरूप तौल समायोजन गर्नु ज्यादै महत्पुर्ण हुन्छ । तौल समायोजन गर्दा पनि पिसाब चुहिनुमा कमी आउन सक्छ तर तौलको महत्व खाली त्यसमा मात्र सिमित हुन्न । उपयुक्त शाररीक तौल बाट संपुर्ण शरीर खास गरेर मुटु र फोक्सो जस्ता महत्वपूर्ण अंगहरूलाई सजिलो पारेर विभिन्न रोगहरूको न्यूनीकरण हुने हुँदा त्यसलाई शल्य उपचार नअपनाउने र अपनाउने सबैले प्राथमिकतामा राख्नु पर्दछ । मधुमेहको उचित औषध उपचार समयमै गर्ने र उपचारको अभिन्न अङ्ग शाररीक व्यायाम तथा सन्तुलन भोजन र तौल नियन्त्रण सँगसँगै अभ्यास गर्नु पर्दछ । रगतमा ग्लुकोजको स्तर सन्तोष जनक हुने गरि कन मधुमेहको व्यवस्थापन गर्नु पर्दछ । आवश्यक परे इनसुलिन जस्ता औषधीको पनि प्रयोग गर्न हिचकिचाउन हुँदैन ।

स्त्रीमा गरिने टीओटी प्रक्रिया पछिल्लो समयमा ज्यादै आधुनिक शल्यक्रिया मानिन्छ । यो बेहोस गरेर वा कम्मर मुनिमात्र नदुःख्ने पारेर गर्न मिल्दछ । यस्तो शल्यक्रिया प्राय सबै बिरामी सजिलै सँग बहन गर्दछन् ।

खोक्दा वा हाछ्यु गर्दा पिसाब चुहिने समस्या स्त्रीमा व्यापक हुन्छ । समयमै त्यसको उपचार नभए व्यायाम गर्दा, केही बोझ उठाउँदा वा यौन सबन्ध राखिरहेको समयमा पनि एक्कासी पिसाब चुहिने भएर आउँछ । यस्तो पिसाब चुहिने समस्याको कारण गर्भाधान, प्रसबक्रिया, मोटो पन, मधुमेह, पाठेघर निकालिएको अवस्था इत्यादि हुने गर्दछन् । सुरुको अवस्थामा उपचार व्यायाम, खानपिनमा पथपरेज र हिँडडुल तथा शाररीक तौल नियन्त्रण र मधुमेहको ओषध उपचार बाट गरिन्छ । बार्रवार मूत्र संक्रमण भइ रहे र चुइएको पिसाबले असुविधा तथा मानसिक बेचैनी ल्याए शल्य उपचार अपनाउनु पर्दछ । पछिल्लो समय अभ्यासमा आएको टीओटी प्रक्रियाबाट जालीलाई मूत्र नलीको मुनी बाट पठाएर कमजोर तथा बिग्रेको प्राकृतिक झोलुङ्गे आधारलाई प्रतिस्थापन गरेर पिसाब नचुहिने गराइन्छ ।
(डा भट्ट मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत छन् )

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget