Websoft University

www.radiomakalu.com || 021-522512


विषादीयुक्त तरकारी भान्सामा पुगेपछि मात्रै ल्याबमा देखाइन्छ ‘नष्ट गर्नुपर्ने’


‘विषादी द्रुत विश्लेषण प्रयोगशाला’ ले विगत दुई वर्षदेखि निरन्तर कालिमाटीस्थित फलफूल तथा तरकारी बजारका तरकारीमा प्रयोग हुने विषादीको मात्रा परीक्षण गरिरहेको छ। सरकारको लापरबाही र सुरक्षा प्रशासनको असहयोग हुँदा खान नमिल्ने गरी विषादी प्रयोग भएको तरकारी पनि उपभोक्ताको भान्सामा पुग्ने गरेको तथ्य खुलासा भएको छ। वैशाख ७ र असार २३ गते चितवनबाट आएको ३३ किलो घ्यू सिमी र फर्पिङबाट आएको ४० किलो काँक्रो उपभोग गर्न नमिल्ने प्रमाणित भए पनि उक्त तरकारी उपभोक्ताले किनेर लगिसकेका थिए।
 
उपभोक्ताको भान्सामा तरकारी पुगिसकेपछि मात्रै कालिमाटीको 'विषादी द्रुत विश्लेषण प्रयोगशाला'को परीक्षणमा खान नमिल्ने र तत्कालै नष्ट गर्नुपर्ने अवस्थामा विषादी फेला पर्ने गरेको छ। पछिल्लो समय वैशाख ७ गते चितवनबाट किसानले बजारमा पठाएको ३३ किलो घ्यु सिमीको परीक्षणमा उपभोग गर्ने नमिल्ने रातो स्तरको (तत्कालै नष्ट गर्ने पर्ने) अवस्थामा विषादी प्रयोग भएको फेला पर्यो।

नतिजा आएसँगै तरकारी जफत गर्न जाँदा सबै बिक्री भई उपभोक्ताको भान्सामा पुगिसकेको तरकारी जफत हुन सकेन। त्यस्तै असार २३ गते फर्पिङबाट आएको ४० किलो काँक्रो परीक्षण गर्दा खान नमिल्ने अवस्थामा विषादी प्रयोग भएको फेला पर्यो।

नष्ट गर्नेपर्ने अवस्था देखा परेपछि काँक्रो जफत गर्न जाँदा सबै उपभोक्ताले खरिद गरिसकेका थिए। यो त एउटा उदाहरण मात्र हो। विगतमा पनि परीक्षणमा नष्ट गर्नुपर्ने वा होल्ड गर्नु पर्ने अवस्थामा विषादी फेला पर्दा ८० प्रतिशतभन्दा बढी तरकारी उपभोक्ताको भान्सामा पुगिसकेको हुन्थ्यो।

यस्तो अवस्थामा सरकारले सुरक्षाको प्रत्याभूति नगराउन्जेल र नमुना संकलन भएका तरकारी परीक्षणको रिर्पोट नआउँदासम्म बिक्री वितरणमा रोक लगाउन आवश्यक हुन्छ। तर तरकारी बजारमा बिहान ४ बजेदेखि बिक्री वितरण सुरु भईसकेको हुन्छ। ल्याब ६ बजे मात्रै खुल्छ र ८ बजेसम्म नमुना संकलन गर्ने काम हुन्छ। ९ बजेतिर विषादी परीक्षणको नतिजा सार्वजनिक हुन्छ। यतिबेलासम्म तरकारी उपभोक्ताको भान्सामा पुगिसकेको हुन्छ।

सरकारले उपभोक्ताको भान्सामा विषादीरहित तरकारी पुग्ने अवस्था सिर्जना गर्न सबैभन्दा पहिले ल्याब र त्यहाँका कर्मचारीको सुरक्षा व्यवस्था गर्न आवश्यक रहेको ल्याबका वरिष्ठ अधिकृत प्रदिप कुमार भण्डारीको तर्क छ।

सरकारले सुरक्षा र सुविधा उपलब्ध गराई तरकारी होल्ड गर्ने वातावरण सिर्जना गर्ने हो भने आफूहरुले रातको समयमै भएपनि नमुना संकलन गरेर परीक्षणको नतिजा ४५ मिनेटमै दिन सक्ने उनले बताए। विषादी परीक्षणका लागि सरकारले सुरुमा करिब २० लाख रुपैयाँ खर्च गर्यो भने अहिले दैनिक १२ हजार रुपैयाँ खर्च गरिरहेको छ। यसको उपलब्धी भने बालुवामा पानी हालेजस्तै छ।

‘तरकारीमा विषादी प्रयोग कम देखिएको हो भन्ने अवस्था आएपनि कहिले काँही पुनः बढी देखिनु राम्रो होइन,’ भण्डारीले भने, ‘किसानले पछिल्लो समय यहाँ परीक्षण हुने बाहेक अन्य ग्रुपका विषादी प्रयोग गरेका हुन सक्छन्। त्यसको लागि जतिसक्दो छिटो अन्य ग्रुपको विषादी परीक्षण सुरु गर्न आवश्यक छ।’

प्रयोगशालामा कार्बामेट्स र अर्गानोफोस्फेट गु्रपका विषादीको परीक्षण हुँदै आएको छ। आज दुई वर्ष बितिसक्दा पनि ल्याबले त्यही दुई ग्रुपको विषादी मात्र परीक्षण गरिरहेको छ। अन्य विषादीको परीक्षण भने भौतिक अवस्था र प्रयोगशालाको अभावले गर्ने नसकेको ल्याबका वरिष्ठ अधिकृत भण्डारी बताउँछन्।

कालिमाटी तरकारी बजारको गोदाम, होलसेल बजार, खुद्रा बजार र अनुगमन गर्दै किसानको फार्मबाट समेत नमुना संकलन गरेर विषादी परीक्षण हुने गरेको भण्डारी बताउँछन्। विषादीको मात्रा ३५ भन्दा कम देखिएका खान मिल्ने (हरियो), ३५ देखि ४५ सम्म देखा परेमा केही समय होल्ड गर्नुपर्ने (पहँलो) र ४५ भन्दा बढी देखिएका तरकारी नष्ट गर्नुपर्ने (रातो)मा वर्गीकरण गर्दैै परीक्षण हुने गरेको छ।

चालु आर्थिक वर्षको असार २३ गतेसम्म करिब २ हजार भन्दाबढी तरकारीको नमुना संकलन भई परीक्षण भएको छ। जसमा अघिल्लो आर्थिक वर्षभन्दा अति नै कम विषादी प्रयोग देखिएको भण्डारीले बताए। परीक्षणको क्रममा ३ वटा तरकारी रातो, ८ वटा पहेँलो र अन्य सबै हरियो स्तरका पाइएको उनले जानकारी दिए।

आर्थिक वर्ष २०७१/७२ मा करिब २ हजारभन्दा बढी तरकारीको नमुना परीक्षण गर्दा ३० वटा भन्दा बढी नमुनामा रातो स्तरको (नष्ट गर्नपर्ने) विषादी फेला परेको थियो। २१ वटा नमुनामा पहेँलो र अन्य सबै हरियो स्तरकोे फेला परेको भण्डारीले बताए।

यसै विषयमा बाली निर्देशनालयका प्रमुख डिल्लीराम शर्मा भन्छन्, ‘प्राविधिकको काम ल्याबमा परीक्षण गर्ने मात्र हो। उनीहरुले तरकारी जफत गर्न सक्ने अवस्था हुँदैन।’ उनका अनुसार यसको लागि निर्देशिकामा नै स्पष्टरुपमा ल्याबले परीक्षणका लागि नमुना संकलन गरेको तरकारीको बिक्री वितरण होल्ड गर्न सुरक्षा प्रशासनले सहयोग गर्नुपर्ने भनेर लेखिएको छ। यही अनुरुप आफूहरुले बारम्बार जिल्ला प्रशासन कार्यालयसँग सुरक्षाको माग गरिरहेको उनले बताए।

अहिले भने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले सुरक्षा व्यववस्था गरिदिने बचन दिएको र आफू आशावादी रहेको उनले बताए। शर्माका अनुसार किसानले प्रयोग गर्ने विषादी आँखाले सिधै देख्न सकिँदैन र यसका लागि परीक्षण नै आवश्यक हुन्छ। बारम्बार उपभोक्ताले बढी विषादी प्रयोग भएको तरकारी खाएमा विभिन्न खालका क्यान्सर, प्यारालाइसिस, झाडा वान्ता हुने, ज्वरोे आउने, टाउको दुख्नेजस्ता समस्या आउने शर्मा बताउँछन्। त्यसैले तरकारीमा विषादीको मात्रा परीक्षण गर्न आवश्यक रहेको उनको तर्क छ।

निर्देशनालयले अहिले तीन जना प्राविधिकलाई विषादी परीक्षणको तालिम गर्न पुनः विदेश पठाएको छ। उनीहरु आएपछि परीक्षण गर्न सक्ने अन्य ग्रुपको विषादी परीक्षण हुने शर्माले बताए। मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले ल्यावले परीक्षणका लागि नमुना संकलन गरेको तरकारीको रिर्पोट नआएसम्म बिक्री वितरण रोक्न आफूहरुले तयारी गरिरहेको बताए।

तरकारी होल्ड गर्न आफूले आफ्ना मातहतका सबैलाई लिखित र मौखिक निर्देशन दिएको काठमाडौं जिल्ला प्रमुख रामकृष्ण सुवेदीले बताए। प्रयोगशाला र उपभोक्ताले गुणस्तरीय र विषादीरहित तरकारी प्रयोग गर्न पाउने अधिकार सुरक्षाको लागि कुनै कमी नगर्ने सुवेदीले दाबी गरे। कुनै तहबाट निर्देशन अनुसार काम नभए त्यहाँ खटिएका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने उनले स्पष्ट पारेका छन्।

कालिमाटी तरकारी बजारमा विगत दुई वर्षदेखि तरकारीमा प्रयोग हुने विषादीको मात्रा परीक्षण हुँदै आएको छ। उक्त ल्याबको उद्घाटन तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणी पोखरेलले गरेका थिए। किसानले धेरै तरकारी उत्पादन गर्ने मनसायमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी बढी प्रयोग भएको गुनासो बढ्दै गएपछि मन्त्रालयले परीक्षण गर्ने निर्णय गरेको थियो।

निर्णयअनुसार २०७१ असार ४ गतेदेखि कालिमाटीकै विषादी द्रुत विश्लेषण प्रयोगशालाले तरकारीमा प्रयोग हुने विषादी परीक्षण सुरु गरेको हो। अहिले पनि परीक्षण चलिरहेकै छ। परीक्षण सुरुभएको केही महिनासम्म तरकारीमा विषादी बढी प्रयोग भएको पाइएको थियो। विषादी भएका तरकारी केही समय होल्ड गर्ने बानी किसानमा विकास हुँदै गएपछि फाटफुट्ट मात्र विषादीयुक्त तरकारी बजारमा आउने गरेको प्रयोगशालाको रिर्पोटले देखाउँछ।

केही तरकारी उपभोग गर्न नै नमिल्ने गरी विषादी फेला पर्ने गरेको पाइन्छ। तर तरकारी भान्सामा पुगिसकेको हुन्छ। यसले गर्दा विषादी परीक्षणको सही प्रभाव पर्न सकेको छैन। - सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget