शरीरमा छिद्र वा स–साना चिरा र विशेष दुरविन वा यन्त्रको सहायताले गरिने शल्यक्रियालाई मिनिमल्ली इन्भेसिभ सर्जरी (एम.आई.एस) भनिन्छ । विकसित मुलुकहरुमा यो प्रविधी धेरै अगाडि सुरु भएता पनि हाम्रो देशको लागि यो प्रविधि नौलो हो ।
सन् १९८१ मा प्रथम एमआइएस एपेन्डिक्स अङ्गको लागि भएको थियो । त्यसपछि एम.आइ.सीले शल्यक्रियामा नौलो आयाम ल्यायो । पेट, फोक्सो, घाँटी धमनी, मस्तिष्क, हाडजोर्नी, पाठेघर लगायत सबै अङ्गको यस प्रविधिद्धारा शल्यक्रिया गरिन्छ ।
फाइदा
शरीरलाई कम चोट र कम रगत बग्ने ।
घाउहरु चाँडो भरिने ।
छाला र बोसोमा किटाणु सङ्क्रमण कम हुने ।
चिरेर अप्रेशन गरे सरहकै परिणाम पाइने ।
शारीरिक सौन्दर्य कायम रहने
अस्पतालको बसाई कम हुने ।
शल्यक्रिया पछाडी घाउको दुखाई कम हुने ।
ठूलो चिरा पारेर शल्यक्रिया भन्दा खर्चको हिसाबमा केही महङ्गो मानिएता पनि यसका फाइदाहरुले बेफाइदालाई कुना लगाएको छ । अस्पताल बसाई र खपत हुने औषधी कम हुने हुनाले यो प्रविधि समग्रमा फाइदा सावित हुन्छ ।
नेपालको सन्दर्भः राजधानी लगायत विभिन्न ठाउँका मेडिकल कलेजहरुमा यो सेवा उपलब्ध भएता पनि क्यान्सर रोगको लागि यो एमआईसी प्रविधीको सेवा सीमित छ । सामान्यतया पित्त थैली तथा एपेन्डिक्स को अप्रेशनको लागि यस प्रविधिको प्रयोग धेरै भएतापनि क्यान्सर रोगको लागि भने एकदम कम अस्पतालमा मात्र यसको प्रयोग गएको पाइन्छ ।
बी.पी. सन्दर्भ
सन् २०१० देखि बी.पी.कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा यो प्रविधी सुरु भएको हो । प्रथम पटक घाँटीको क्यान्सरमा खानानली पनि फालेर यो प्रविधिको प्रयोगले आमासय घाँटीमा जोडिएको थियो । प्रथम प्रयासदेखि आजसम्म आइपुग्दा यो सेवा धेरै प्राविधिक, आर्थिक कठिनाइहरुको बाबजुत निरन्तर सञ्चालनमा रहेको छ ।
दक्ष जनशक्ति र उपलब्ध स्रोत साधनको सहयोगले आज बी.पी.को.मे. क्यान्सर अस्पतालमा एमआईसीको प्रविधिद्वारा फोक्सो, खानानली, आमाशय तथा आन्द्रा क्यान्सरको सफल शल्यक्रिया हुँदै आएको छ ।
यो प्रविधिबाट सयौँ बिरामीले फाइदा उठाइसेकेका छन् । भविष्यमा अरु अङ्गहरुको पनि यसै प्रविधिद्धारा शल्यक्रिया गर्ने उद्धेश्य बोकेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादनको लागि पनि गृहकार्य गर्दै आएको छ ।
अस्पतालमा आउने बिरामीहरु प्रायः जसो रोग छिप्पिएको अवस्थामा आइपुग्ने भएकाले सबै जसो बिरामीलाई यो प्रविधि सम्भव हुने हुँदैन ।
अर्को महत्वपूर्ण कुरा भन्नुपर्दा पुरानो मान्यतालाई गलत सावित गर्दै यस प्रविधिको प्रयोगबाट हुने क्यान्सरसम्बन्धी अप्रेशनबाट पनि चिरेर गरिने क्यान्सरका अप्रेशनहरु जतिकै पाइदाहरु पाउन सकिन्छ भन्ने कुरा यो अस्पतालमा तथा विकसित देशहरुमा भएका अध्ययनबाट सावित भएको छ ।
यसर्थ यस प्रविधिलाई भविश्यका दिनहरुमा अझ नियमित तथा धेरै क्यान्सर रोगीहरुको उपचारमा प्रयोग हुने कुरामा यस अस्पतालको सर्जिकल विभाग आशाबादी छ ।
निष्कर्षमा भन्नुपर्दा यस्तो शल्यक्रियाको आवश्यकता निकै छ र बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर रोगको लागि यो शल्यक्रिया प्रविधि अपनाएर बिरामीहरुलाई भरपर्दो र गुणस्तरीय उपचार दिँदै जाने ऐक्यबद्धता जनाएको छ ।
( लेखक बि.पी.को.मे. क्यान्सर अस्पतालमा थोरासिक सर्जरी युनिटमा मेडिकल अफिसरका रुपमा कार्यरत छन् । ) -
डा.परिवर्तन बराल,स्वास्थ्यखबरबाट
Post a Comment