Websoft University

www.radiomakalu.com || 021-522512


अनसनबीच पनि टिचिङ अस्पतालको सेवा सधैंझैं चालू


केसी अनसनको दोस्रो दिन
वरिष्ठ चिकित्सक डा. गोविन्द केसी चिकित्सा क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचारविरूद्ध अनसन बस्दा उनका आलोचकहरू भन्ने गर्छन्, केसीको आन्दोलनले टिचिङ अस्पतालको सेवा प्रभावित हुन्छ, बिरामीहरूले अनाहक दुःख पाउँछन्।

अनसनको दोस्रो दिन सोमबार हामी टिचिङ अस्पताल पुग्दा त्यहाँको दृश्य भने बिल्कुलै फरक थियो।

केसीका आलोचकहरूले आरोप लगाएझैं टिचिङ अस्पतालको सेवामा कुनै असर परेको थिएन। अस्पताल परिसरमा सधैंझैं बिहानैदेखि बिरामी खचाखच थिए। टिकट काउन्टर नियमित समयमै खुलेको थियो। ओपिडीमा बिरामीले न टिकट काट्न अवरोध बेहोरे न उपचार गराउन। इमरजेन्सी वार्ड सधैंझैं चालू थियो। फ्याकल्टी चिकित्सक, रेजिडेन्ट डाक्टर, एमबिबिएस विद्यार्थी उसैगरी आफ्नो नियमित काममा व्यस्त थिए। अस्पताल परिसरमा मेडिकल रिपोर्ट बोकेर यताउति दौडिरहने बिरामी र आफन्तको दृश्य सधैंजस्तै थियो।

टिचिङ अस्पतालको यो नियमित व्यस्ततामा रत्तिभर असर पारेका थिएनन् डा. केसीले, जो ओपिडी कक्षबाट लगभग दुई सय मिटर टाढा निर्माणाधीन गणेशमानसिंह भवनको अँध्यारो-साँघुरो कोठामा एक्लै निष्ठाको लडाइँ लडिरहेका छन्।

उनी जुन कोठामा अनसनरत छन्, त्यहाँ बिरामीको आउजाउ हुँदैन। निर्माणसमेत पूरा नभएको त्यो कोठा नाक, कान, घाँटी (इएनटी) विभागको माथिल्लो तलामा रहे पनि बिरामीसँगको सम्पर्कबाट टाढा छ।

डा. केसीले आइतबार अनसन सुरु गर्दा हामी गणेशमानसिंह भवनको मुख्यढोकाबाट छिरेर इएनटी विभाग नाघ्दै त्यहाँ पुगेका थियौं, सोमबार त त्यो पनि फेरिएछ। रेजिडेन्ट डाक्टरहरूले केसीलाई भेट्न आउने शुभेच्छुक तथा समर्थकहरूको आउजाउबाट बिरामीलाई असुविधा नहोस् भनेर पछाडिको छुट्टै ढोका खोलिदिन अस्पताल प्रशासनसँग आग्रह गरेछन्। त्यसैअनुसार सोमबार बिहानै उक्त निर्माणाधीन भवनको पछाडिको ढोका खुला गरिएको छ। अब केसीलाई भेट्न जानेहरूले बिरामी आउजाउ भइरहने इएनटी विभाग छिचोल्नुपर्दैन।

टिचिङ अस्पताल छाडेर कहिल्यै निजी क्लिनिक नधाएका र जीवनै बिरामीको उपचारमा समर्पित गरेका डा. केसी आफैं पनि बिरामीले दुःख नपाओस् भन्नेमा बढी नै सतर्क छन्। उनले पहिल्यैदेखि आफ्नो अनसनका कारण टिचिङको स्वास्थ्य सेवा प्रभावित नहोस् भन्दै आएका छन्।


यसअघि सातौं चरणको अनसनसम्म टिचिङको स्वास्थ्य सेवा ठप्प भएन। आकस्मिक कक्ष चालू नै रह्यो। वार्ड र ओपिडी पनि चालू नै रह्यो। शल्यक्रिया कहिल्यै रोकिएन। केसीको स्वास्थ्य बिग्रेर जीवन-मरणकै दोसाँधमा पुगेपछि भने रेजिडेन्ट डाक्टरहरू साथ दिन ओर्लिने गरेका छन्। रेजिडेन्ट डाक्टर भनेका यहाँ अध्ययनरत विद्यार्थी नै हुन्। उनीहरूले साथ दिनु भनेको बिरामीको उपचार नगर्नु होइन, बरु डा. केसीको समर्थनमा आफ्नो पढाइ त्याग्नु हो।

रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. लिजन महर्जनलाई नै हेरौं।

उनको संगठनले घोषित रूपमै केसीको सत्याग्रह आन्दोलनमा समर्थन गरेको छ। उनी आफैं पनि केसीका तर्फबाट आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको वार्ताटोलीमा सामेल थिए। सोमबार साँझ पनि एमबिबिएस विद्यार्थीलाई सत्याग्रह आन्दोलनमा सघाउ पुर्याउन आह्वान गर्दै छलफलमा व्यस्त थिए। केसी अनसनप्रति समर्थन र ऐक्यबद्धताले डा. महर्जनको नियमित काममा भने कुनै बाधा पारेको छैन।

कतिसम्म भने सोमबार डा. केसीलाई उनले भेट्नधरि भ्याएनन्। उनी दिनभरि बिरामीको अप्रेसनमै व्यस्त रहे।

‘मैले त आज उहाँलाई भेटेकै छैन, दिनभरी ओटीमा बिजी भएँ। त्यसपछि यहाँ मिटिङमा छु,’ एमबिबिएस विद्यार्थीसँग छलफल गरेर फर्कंदै गरेका डा. महर्जनले सेतोपाटीसँग भने, ‘केसी सरको आन्दोलनले टिचिङ अस्पतालको सेवा ठप्प भएको मलाई अहिलेसम्म थाहा छैन। ओपिडी चलिरहन्छ, अप्रेसन भइरहन्छ। इमर्जेन्सी र वार्ड त झन् बन्द हुने कुरै भएन।’

गत वर्षदेखि रेजिडेन्ट डाक्टर्स एसोसिएसनको नेतृत्वमा रहेका महर्जन डा. केसीको स्वास्थ्यमै तलमाथि हुने अवस्था आएपछि भने सबैले आ-आफ्नो तर्फबाट दबाब दिन बाध्य हुनुपर्ने बताउँछन्।

‘डा. केसीले टिचिङ अस्पतालका बिरामी र विद्यार्थीको सेवामा आफ्नो जिन्दगी नै समर्पण गर्नुभएको हामीले देखेका छौं। उहाँ दिनरात अस्पतालको प्रगतिमै खटिनुहुन्छ। यहीँ वार्डमा, लाइब्रेरीमा घुमिरहनुहुन्छ। यस्ता गुरुको प्राणमै संकट आउने स्थिति बन्दा पनि सरकार मौन भएर बस्छ भने हामी कसरी चुप लागेर बस्न सक्छौं?’ डा. महर्जनले भने, ‘हामी मात्र किन, आफ्नो गुरुको जीवनरक्षाका लागि कुन विद्यार्थी चुप लागेर बस्नसक्छ?’

रेजिडेन्ट डाक्टर तथा एमबिबिएस विद्यार्थीहरूको ऐक्यबद्धता र समर्थनलाई स्वास्थ्य सेवा नै ठप्प पारेको भनी अर्थ्याउन नमिल्ने उनको भनाइ छ। ‘हामीले सेवा नदिनु भनेको पढाइ छाड्नु हो, त्यसले त हाम्रै अंक घट्ने हो, हाम्रै शैक्षिक कार्यक्रम बिग्रिने हो,’ उनले भने, ‘फ्याक्टी डाक्टरहरू त सधैं भइहाल्नुहुन्छ, बिरामीको उपचार गर्न।’

अघिल्ला अनसन र यसपालि अलि फरक स्थिति भने डा. महर्जनले महसुस गरेका छन्।

पहिलेको तुलनामा अनसन असफल तुल्याउन दबाब बढेको उनको भनाइ छ। उनी आफैंले पनि जिल्ला प्रशासन कार्यालयदेखि अस्पताल प्रशासन समेतबाट तारन्तार चिठीपत्र बुझ्नुपरेको छ। ती सबै पत्र अनसन रोक्ने र अनसनमा सामेल नहुन चेतावनी दिने उद्देश्यले पठाइएका हुन्। हुँदाहुँदा रेजिडेन्ट डाक्टरहरूको आचारसंहिता उद्धृत गर्दै केसी आन्दोलनमा समर्थन नजनाउन चेतावनीसमेत आइसकेको छ। विगतमा टिचिङ वा आइओएमबाट यस्तो कहिल्यै भएको थिएन।

‘यो आन्दोलन चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको निम्ति हो भन्ने हाम्रो बुझाइ छ, त्यसैले जहाँबाट जोसुकैले दबाब दिए पनि डा. गोविन्द केसीको पक्षमा हामी सम्पूर्ण रेजिडेन्ट डाक्टरहरू एकमत छौं, उहाँका सबै मागप्रति हाम्रो समर्थन छ,’ उनले भने।

उनका अनुसार एमबिबिएस विद्यार्थीका तर्फबाट पनि यही आसयको घोषणा जारी गर्ने तयारी भइरहेको छ।

चिकित्सा क्षेत्र सुधारका निम्ति पहिले भएका सम्झौता पालना, मनमोहन मेमोरियल मेडिकल कलेजलाई सम्बन्धन दिन संसद पठाइएको विधेयक फिर्तासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसी आठौंपटक अनसन बसेका हुन्। यसपालिको अनसन निर्णायक हुने चेतावनी केसीले दिइसकेका छन्।

डा. केसीको सत्याग्रह आन्दोलनको समर्थनमा रेजिडेन्ट डाक्टर तथा एमबिबिएस विद्यार्थी एकजुट रहेका बेला टिचिङ अस्पताल प्रशासनले भने केसीलाई असहयोग गर्न कुनै कसर छाडेको छैन।

अस्पताल प्रशासन कतिसम्म अन्यायपूर्ण ढंगले प्रस्तुत भयो भने, आइतबार उनलाई अनसन बस्न नदिन सबै सम्भावित कोठाहरूमा नाटकीय ढंगले ताल्चा मारिएको थियो। उनी विगतमा अनसन बस्दै आएको कोठा र गत वर्ष अनसन बसेको कोठामा समेत ताल्चा मारेर कसैलाई छिर्न दिइएको थिएन।

चारैतिरबाट निशानामा परे पनि निष्ठाको अगाडि कसैको केही जोड चल्दैन भन्ने डा. केसीले प्रमाणित गरिछाडे। उनी टिचिङ परिसरभित्रै हाडजोर्नी विभाग सार्न भनी नयाँ बन्दै गरेको भवनतिर लम्के। त्यहाँका पनि सबै कोठा पहिल्यै ताल्चा मारिएका थिए। एउटा मात्र कोठा बचेको थियो, जुन केसीकै लागि चेम्बर बनाउन छुट्टयाइएको थियो। त्यसको साँचो केसीसँगै थियो।


आखिरमा छ बाई दस फुटको त्यही साँघुरो कोठामा अस्पतालको डसना भुइँमा बिछ्याएर डा. केसी पलेँटी कसे। उनी अनसन बस्दा एउटा बेड पनि उपलब्ध थिएन। सहयोगी विद्यार्थीहरुले आइतबार राति बेड खोजे, तर कतै भेटेनन्। उनीहरूले कबाडीमा फालेको बेड खोजेर ल्याए। र, पुछपाछ पारेर तयार पारिदिए। भुइँमा बसेका डा. केसी बेड तयार भएपछि बल्ल सुतेका थिए।

सहयोगी अनिल कार्कीका अनुसार केसी अनसन बस्छन् भनेर अस्पताल प्रशासनले उनको चेम्बरमा बिजुली पनि काटिदिएको थियो। पंखा पनि चल्थेन। विद्यार्थीहरूले तुरुन्तै टेबल पंखा ल्याएर जोडेका थिए। अहिले प्राविधिक डाकेर बिजुली लाइन त जोडिएको छ, तर कोठा यति साँघुरो छ, एकैचोटि धेरै जना भित्र छिर्दा गुम्सेर सास फेर्नधरि सकस हुन्छ।

त्यही साँघुरो-अँध्यारो कोठामा कबाडीबाट ल्याएको बेडमाथि दोस्रो दिन गुजारे सत्याग्रही डा. केसीले।

‘मेरो सुविस्ता ठूलो कुरा होइन, तीन करोड नेपाली जनताको सुविस्ता ठूलो कुरा हो,’ ओछ्यानमा पल्टिएका केसीले सोमबार मसिनो स्वरमा भने, ‘मलाई जस्तोसुकै अवस्थामा पुर्याए पनि नेपाली जनताको भविष्यका लागि म सबै दुःख सहन तयार छु।’- सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget