Websoft University

www.radiomakalu.com || 021-522512


जननेता भण्डारीको पुर्खौली घर उपेक्षित



नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै सङ्घसंस्था खुलेका छन्। भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न सङ्घसंस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन्। नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी नेकपा (एमाले) वर्तमान सरकारको नेतृत्वकर्ता पनि हो।

यति मात्रै हैन स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन्। तर तिनै स्व. नेता भण्डारीको जन्मघर एवम् त्यही घरसँग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुङ्गेसाँघुमा कम्तीमा पनि ओत लाग्ने छानोको अभावमा देखिएको छ। दुईतले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनै बेला पार्टीको सभा, गोष्ठी हुँदा नेता कार्यकर्ताको खचाखच हुन्थ्यो। तर अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाई दिने कोही नहुँदा दिनानुदिन जीर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ। अहिले घरका भित्ता उप्किएर गारो भत्कन थालेको छ भने छानो मक्किएर झर्ने अवस्थामा पुगेको छ।


लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गारोसमेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा बर्सातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ। सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो। विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन बर्खायाममा बन्द हुन्थ्यो) बाट नै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गरेका थिए। जन्मिएको १५ वर्षसम्म सो गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरीमा बसाइँ सर्यो।

भण्डारी परिवारको बसाइँसराइपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समयमा सम्पूर्ण जग्गामध्ये घरसहितको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको एमाले ताप्लेजुङका नेता कार्यकर्ताले बताएका छन्। सो क्षेत्रलाई नमुना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी मदन भण्डारी स्मृति प्रतिष्ठानले घरजग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए।

अनेरास्ववियु ताप्लेजुङका अनुसार अहिलेसम्म आश्वासन बाहेक अरू केही काम हुन सकेको छैन। 'न त मर्मत नै भयो न घरको अवस्थाका बारेमा कसैलाई चासो नै छ, अब कसले गर्ला यस घरको मर्मत र सम्भार ?' एमाले निकट सो विद्यार्थी सङ्गठनले सो ठाउँमा पुगेर यस्तै प्रश्न गर्दै चासो बढाएको छ।

विभिन्न समयमा जननेता भण्डारीको पुख्र्यौली घर भनेर ठूलै चर्चा चल्ने गरे पनि मर्मतसम्भारका लागि कसैले वास्ता नगरेपछि बुधबार अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र सोही विद्यार्थी सङ्गठनकै पाथीभरा बहुमुखी क्याम्पस एकाई कमिटीको संयुक्त टोली सो घरमा पुगेर सरसफाइ गरेको थियो। चुहिँदै गरेको छानोमा त्रिपालसमेत ओढाउने काम भयो। 'नेता भण्डारीको घरलाई महत्वका साथ हेरिने गरिए पनि कसैले मर्मत सम्भारमा ध्यान नदिएपछि हामी पुगेर सरसफाइ गर्नुका साथै त्रिपाल ओढाउने सम्मको काम गर्यौँ', सङ्गठनका जिल्ला उपसचिव राजु नेपालीले भने।

नेता भण्डारीको जन्मस्थल र घरलाई आन्तरिक वा बाह्य पर्यटकका लागि समेत घुम्न योग्य ठाउँको रुपमा प्रवद्र्धन गरिनुपर्ने स्थानीयवासीको भनाइ छ। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget