Websoft University

www.radiomakalu.com || 021-522512


'यहाँ महिला ल्याउने कुरामा भयंकर ठूलो विभेद छ'

'मैले आजै लोकमानलाई भेटेँ, नचाहिने अफवाह फैलाउने भन्दा ङिच्च हाँसे'
पूर्वसभासदलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले उक्त सिफारिसको बचाउ गरेकी छन्। खासगरी सपना मल्ल प्रधानलाई आफूले नै सर्वोच्चमा ल्याउन अडान लिएको उनको भनाइ छ। कार्कीले यही कुरा संसदीय सुनुवाइमा समेत भनिसकेकी छन्। न्यायालयमा महिला संख्या बढाउन पनि त्यो आवश्यक रहेको उनको जिकिर थियो। सोमबार कार्यभार सम्हालेपछि यी र यस्तै विषयमा प्रधानन्यायाधीश कार्कीले बिबिसी नेपाली सेवालाई दिएको अन्तवार्ताको सम्पादित अंशः


कयौंले त उक्त सिफारिसपछि राजनीतिककर्मी पनि न्यायाधीशमा नियुक्त हुने बाटो खुल्यो भन्छन् नि?
मलाई त्यस्तो लाग्दैन। यो कुर्सीमा म महिला भएर बसेको हैन, प्रधानन्यायाधीश भएर बसेको हो। त्यसैले महिला–पुरुष भनेर छुट्याउन मिल्दैन। हाम्रा सबै कुरा हेर्नुस्, पुरुषको हैसियत कहाँ छ, महिलाको कहाँ छ! महिला न्यायाधीश बनाउन हामीलाई यतिखेर कठिनाइ छ।

सकारात्मक विभेदको नीति लिएर तपाईंले जोखिम उठाउनुभएको हो?
यो कस्तो कुराको जोखिम हो र? संविधान र कानुनले न्यायाधीशको योग्यतामा राजनीतिमा लागेकालाई ल्याउनु हुँदैन भनेर कहीँ पनि राखिदिएको छैन। राजनीतिमा लागेका व्यक्तिहरूलाई न्यायपालिकामा ल्याउनै हुँदैन भने कानुन बनाउनुपर्थ्यो। अब त्यो पनि एउटा राख्नु पर्यो, राजनीति गरेको मान्छे न्यायाधीश बनाउनु हुँदैन। यो पहिलो कुरा भयो।
दोस्रो कुरा के भने, तपाईंहरूले सायद यसलाई गल्ती मान्नुहुन्छ होला, जे मान्नुस्। अहिलेको समयमा एउटा राम्रो सक्षम महिला खोजी गरियो। हामीभन्दा पहिलेका जो महिला न्यायाधीश आउनुभयो, उहाँहरूले फैसलामा सिधै सदर–बदर लेखेर जानुभयो। अब सर्वोच्चलाई हाँक्न सक्ने मान्छेको जरुरी छ। त्यो पनि समग्र महिला समाजका लागि नेतृत्व गर्ने खालको एउटा महिलाको आवश्यकता थियो। त्यो आवश्यकता हेर्दा उनी (सपना मल्ल प्रधान) सभासद् हुन् कि के हुन् हामीलाई त्यसको अर्थ छैन।
अत्यन्त पढेकी विद्वान, विज्ञ भएकी, सर्वोच्च अदालतमा सयौं महिलासम्बन्धी नजिरहरू कायम गरेकी, अहिले पनि त्यही विषयमा लडिरहेको देखेपछि र सारा रुझान न्यायपालिका र न्यायप्रति मात्रै देखिएकाले प्रधानलाई ल्याइएको हो।


जोखिम किन भनेको भने त्यही नजिर टेकेर भोलिका दिनमा न्यायालयमा राजनीति प्रवेश गराउने खालको प्रवृत्ति हावी हुन्छ कि ?
त्यो सम्भव छैन। सिधै राजनीति गर्ने व्यक्तिलाई यहाँ ल्याइँदैन। राजनीतिक पृष्ठभूमिभन्दा त हरिकृष्णको पनि छ नि। हु इज ही? ऊ को? वकालतमा अभ्यास गरेको मान्छे हो। राजनीतिक पृष्ठभूमिको त प्रकाश राउत पनि हो नि। शेरबहादुरजीको नजिकमा भएको मान्छे हो। शेरबहादुरजीकै पार्टीमा लागेर हिँड्या मान्छे हो। त्यो कुरा आएन नि। उसको भोलिको निष्ठा के हो? इन्टिग्रिटी (इमान) के हो? त्यो पो हेर्ने कुरा हो।

भनेपछि भिम रावल, सुवासचन्द्र नेम्वाङ, अर्जुननरसिंह केसीहरूलाई ल्याए पनि हुने भयो?
हाम्रो नियत त्यस्तो भएको भए हामी त्यस्तै मान्छेलाई खोजेर ल्याउँथ्यौं होला नि। तर, यी त महिला हुन्। खाली न्याय क्षेत्रमा काम गरेको। तपाईंलाई म एउटा कुरा बताउँछु, यहाँ महिला ल्याउने कुरामा भयंकर ठूलो विभेद छ। ६० जना न्यायाधीश ल्याउने बेला एउटी महिला ल्याउनुपर्छ भन्ने सोच कसैको हुँदैन। त्यस्तो स्थिति भएको संस्था हो यो। बाहिर जति नै उदार, समानुपातिक र समावेशी भनेर के गर्नु?

नयाँ संविधान बनेको छ। नयाँ संविधानको विषयलाई लिएर राजनीतिक विवाद जारी नै छ। धेरै सैद्धान्तिक व्याख्या पनि गर्नुपर्ने होला। तपाईंले सपना मल्ल प्रधानसँगसँगै सिफारिस गरेका अरू व्यक्तिहरू, त्यो टिमले संवैधानिक जटिलता सामना गर्न सक्लान्?
बिल्कुल गर्न सक्छन्। तीन जना त यस्ता राम्रा न्यायाधीश छन्, तिनका इन्टिग्रिटीमा शंका गर्न सकिँदैन। आनन्द मोहन हुनु भो, ईश्वरजी पनि धेरै अध्ययनशील मान्छे हो। विश्वम्भरजीहरू। हरिकृष्ण र प्रकाश राउतहरूले पनि सक्छ। बहुतै गम्भीर छन् तिनीहरू।

एउटा नेपाली कांग्रेस, एउटा एमालेको वा एउटा नेताको दौराको फेर नसमाती आउने दिन गएकै हुन् त?
त्यसरी पार्टीकै दौरा समातेर आउन् भन्ने त हाम्रो सोचै छैन। हामीले ल्याएका मानिस पोलिटिकल पद लिएर बसेका होइनन्। एउटा सपना मल्ल प्रधानलाई तपाईंले सभासद भन्नुभयो तर उनी पनि चुनाव लडेर जितेर आएकी होइनन्।

अघोषित रूपमा पार्टीहरूको भागबन्डा हुन्छ अनि न्यायाधीश सिफारिस हुन्छ भन्छन्, तपाईं त्यो कुरा स्वीकार गर्नुहुन्छ?
म स्वीकार्दिनँ। पार्टीका क्याडरहरूलाई ल्याउने र भर्ती गर्ने ठाउँ यो होइन। हिजो के विचार थियो, तर अब यहाँ आएर पार्टीका नीति, विचार लागू हुँदैनन्।

तपाईंको सिफारिसमा पनि टिकाटिप्पणी भयो बाहिर। माओवादीको सिफारिस भन्ने थियो।
हैट, कहाँबाट? म माओवादी हो र? माओवादीले आफ्नो क्याडर ल्याउँदैनथ्यो र? म माओवादी हो भन्ने लाग्छ तपाईंलाई? कुनै वादी पनि होइन। प्रजातन्त्रवादी चाहिँ हो है म। कम्युनिस्ट होइन, डेमोक्रेट हो। कांग्रेस होइन, माओवादी पनि होइन। तपाईंलाई माओवादीका बेला ल्यायो भन्छन् होला हैन? अहिले कांग्रेसले के भन्छन् अरे थाहा छ? ‘थुक्क त्यस्तो मान्छे ल्याइएछ कांग्रेसमाथि नै डकैती भयो’ भन्छन्। तपाईं कहाँको कुरा सुन्नुहुन्छ? कहाँको मलाई माओवादीले ल्याउनु? एउटा माओवादीका नेतालाई म चिन्दिनँ। अहिले चिन्न थालेँ बरु। कसैसँग मेरो भेटघाट पनि छैन।

संविधान मस्यौदा समितिमा सिफारिस हुँदा चाहिँ? त्यो बेला कांग्रेस प्रजातान्त्रिकबाट हैन?
कसले सिफारिस गर्यो मलाई भगवान जानुन्। म विराटनगरको मान्छे, मलाई यहाँ बोलाए। यो पार्टीले ल्यायो कि उ पार्टीले म जान्दिनँ। तर यहाँ भन्ने बेला सबैले आफैंले ल्याएको भन्छन्। राप्रपाले मात्रै भन्न बाँकी छ।

सबैले भन्छन् कांग्रेसले पनि भन्यो?
अब न्यायमा कांग्रेस–कम्युनिस्ट हुन्छ त? अझ म अर्को कुरा तपाईंलाई भन्छु, म र अर्को न्यायाधीश छ भने मैले चाहेको कुरा अर्को न्यायाधीशले नमान्न सक्छ। यहाँ राय बाझी हुन्छ। त्यस्तोमा एमालेको सिद्धान्त पूरा गर्छु भन्नुभयो भने अर्को न्यायाधीशले मान्छ त?

जसरी तपाईंले समावेशीको कुरामा जोड दिइरहनुभएको छ, त्यसरी नै महिला भएका कारण यो अवसर पाएँ भन्ने लाग्छ कि लाग्दैन?
यो त बिल्कुलै होइन। कुनै पोलिटिकल पार्टीका मानिसले न्यायाधीश पाउँ भनेर हामीकहाँ भन्न आथ्यो भनेर भनुन् न। त्यो सोध्नुस् न। म कुनै पार्टीका दैलामा गएको छैन यो माग्नलाई। यहाँका न्यायाधीशहरूले, जसले मलाई चिनेको थियो, र बारका वकिलहरूले तपाईं आउनुपर्छ भन्या हो। अर्को कुरा के भने, एउटा मुद्दा एउटै न्यायाधीशकोमा राखेर हेर्ने भन्ने आलोचना पनि भयो। म पनि त्यहाँ थपिदिन्छु। प्रधानन्यायाधीश भनेको को हो? यहाँको लिडर हो। लिडरले के गर्छ? भोलि कुनै न्यायाधीशले गरेको गल्ती पनि मेरो टाउकोमा लिनुपर्छ। त्यो जिम्मेवारी लिएर मैले कुन न्यायाधीशका बेन्चमा कुन मुद्दा पार्ने, को न्यायाधीश के को विज्ञ छ, कसले इन्साफ दिन सक्छ भनेर म आफैंले हेर्नुपर्छ। कतिपय न्यायाधीशहरू यो मलाई नदिएको भए हुन्थ्यो, त्यसले मलाई रिस गर्छ भनेर पन्छिन्छन्। प्रधानन्यायाधीशले आफैं यो सबैको जिम्मा लिनुपर्छ। कुरा चाहिँ यही हो। त्यस्ता कुराका प्रचार गरेर हुन्छ र?

तपाईंको नियत–निष्ठा, तपाईंको स्वाभिमान अथवा आर्थिक मामिलामा प्रश्न नउठाए पनि यही न्यायालयमा न्यायलाई बुझ्ने र फैसला लेख्ने मामलामा प्रश्न उठाउँदा रहेछन् नि? तपाई स्वमूल्यांकन गर्दा के भन्नुहुन्छ?
मैले त गरेको भन्छु नि। मैले के भन्नु? नगरेको भन्छु र? मैले त हिजो पनि प्रस्ट्याइदिएको थिएँ, के फैसला सबै लेख्न पाइन्छ र? सिनियर जजसँग बस्यो भने सिनियर जज आफैंले लेख्छ, कहिलेकाहीँ उसले दिएको मात्रै आफैले गर्ने हो। जहिले पनि म सिनियर जजसँग बसेँ। आफ्ना पालामा त मैले लेखिरहेकै छु नि।

एकैचोटि सर्वोच्चमा आउँदा अभ्यासको कमी हुँदोरहेछ भन्ने लागेन?
अभ्यासको कमी भन्दा पनि ज्ञान चाहिँ रहेछ। कहीँ पनि अप्ठेरो भएन। जस्तो आयकर राजस्वमा गाह्रो पर्यो, म कमर्सियल ब्याकग्राउन्डको होइन, तर फौजदारी देवानीमा त म उस्तैलाई पनि पानी पिलाउँछु। यति छिटो आउँछ मलाई। त्यो वकालतको अभ्यासले गर्दा हो। फैसला लेख्न चाहिँ गाह्रो पर्छ त्यो पनि विस्तारै सिकिन्छ, नजान्ने कुरा होइन।

सर्वोच्चमा आउनुभन्दा पहिले पुनरावेदनबाट प्रवेश गरेको भए त्यस्तो गाह्रो हुँदैनथ्यो कि?
त्यो त होइन। एउटा कुरा संसारमा मैले के बुझेको छु भने, जसले पनि अलि हिम्मत गर्नुपर्छ। यहाँ तपाईंहरूले महाभारत देख्नुभएको होला, त्यो होइन। वकिलले बहस गर्छ पोइन्ट आउँछ, त्यसपछि अर्को पक्षले बहस गर्छ बुँदा आउँछ। अनि हाम्रा ड्राफ्ट गर्ने (इजलास अधिकृत) ले लेखेर ल्याइदिन्छन्। त्यसैलाई सो ह्वाट, सही, गलत सबै भिडायो, नबुझे साथीभाइसँग सल्लाह गर्यो। एउटा रिजल्ट आउँछ डराउनुपर्दैन, के को डराउनुपर्छ बारबाट एकैचोटि आएको भनेर फैसला लेख्न?

तपाईंको प्रधानन्यायाधीशमा नियुक्तिपछि को डराउनुपर्छ अब?
को डराउनुपर्ने र? कोही पर्दैन। म त भन्दिन कोही डराऊ। त्यो त भ्रष्टाचार गर्ने भन्या होला हैन? हो, भ्रष्टाचार गर्या देखेँ भने चाहिँ छोड्नेवाला छैन म त।

सुनुवाइ समितिमा तपाईंले एउटा प्रसंग निकाल्नुभएको थियो लोकमानसिंह कार्कीको मुद्दाका बारेमा!
अँ ल भन्नुस न के हो? लोकमान सिंहको के हो म भन्छु नि। आजै पनि उसलाई मैले भनेँ, दिदीभाइका सम्बन्ध यहाँ केही छैनन् भनेर। नचाहिने कुराको अफवाह फैलाउने भन्दा ङिच्च हाँसे। मैले आजै भेटेको, कहिले पनि भेटेको, देखेको थिइन। नचिन्नु र नाता पर्नु त बेग्लै कुरा हो नि? हैन के फरक पर्छ र त्यसले? बाजेका सन्तानसम्म पो हेर्न पाइँदैन त। अब त्यो को हो, को हो, कहाँको, कसरी मैले चिन्नु? त्यस्तो पनि हुन्छ कहीँ? लोकमानको मुद्दा उसको घरभित्रको मुद्दा हो कि, अख्तियारको मुद्दा हो? घरभित्रका मुद्दा त हैनन् नि, त्यो त अख्तियारको मुद्दा हो। अख्तियारले अन्याय गर्यो भने मैले हेर्दै नहेर्ने?

भनेपछि लोकमानसिंह कार्कीको आसन चाहिँ डगमगाउने भयो त?
किन आसन डगमगाउनु? किन उसले गरेका गल्ती पो मैले कोट्याएको हो त। उसको आसन डगमगाउने काम मैले गरुँला त? नचाहिने कुरा हो त्यो। मेरो रिसिबी, द्वन्द्व कसैसँग छैन।

तपाईं नेपालको पहिलो महिला प्रधानन्यायाधीश, अवकाश पाइसकेपछि अर्को पनि कुनै पहिचान होस् भन्ने ठान्नुहुन्छ?
मलाई केही चाहिएको छैन। मैले बहुत कमाउ स्टेजमा छाडेर आएँ। पैसाको लोभ भएको भए म यहाँ आउने थिइन। सर्टकटमा भनुँ भने कतिपय यहाँ वरिष्ठ वकिलसापहरूलाई तपाईं यहाँ अदालतमा आएर सेवा गर्नुस् न भने मान्दैनन्। किनभने, त्यहाँ उनीहरूको लाखौं–करोडौं आम्दानी हुन्छ। त्यो छाडेर यहाँ महिनाको तीस–चालीस हजार कमाउन आउँछन्? तीस–चालीस हजारले काठमाडौंमा के खान पुग्छ? धेरैको हामीले त्यो सुनेका छौं। उनीहरू नै फेरि प्रधानन्यायाधीश बन्ने भए मात्रै आउँछु भन्छन्। त्यो कारण के हो भन्दा कि पैसा कि पद। त्यसैले आउँदैनन्। म पनि आफ्नो त्यो स्टेज छाडेर यहाँ आएँ। के का लागि? मुलुकका लागि। मेरो स्वार्थ केही छैन। यहाँ एक वर्ष बसुञ्जेल मैले आफ्नो काम देखाउने हो। पहिले जे काम गरेको छ देखाएँ। मसँग स्वच्छता हुन्छ, भ्रष्टाचार गर्दिन।

सात आठ वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहनुभयो। यो अवधिमा न्यायपालिकाको निम्ति सबैभन्दा दुर्भाग्यपूर्ण कुनै घटना सम्झिनुहुन्छ?
दुर्घटना भनेको, एकपल्ट हामी पाँच जना मात्रै न्यायाधीश भयौं, त्यही हो। यहाँ त स्याल कुद्ने बेला जस्तो भएको थियो। ती पाँच जना न्यायाधीश त्यो पल्लो भवनमा हराउँथे। त्यतिखेर चाहिँ के खान आइएछ नि, भन्याजस्तै भएको थियो।

खिलराज रेग्मी कार्यपालिकाको समेत प्रमुख भएको घटना तपाईंले उल्लेखै गर्नुभएन!
खिलराज रेग्मी जानुभयो, के भन्नु अब गैसक्या कुरा? तर हामीले फैसला गर्यौं नि, संवैधानिक इजलासबाट अब चाहिँ यस्तो घटना नहोस् भनेर। एकै व्यक्ति प्रधानन्यायाधीश र एकै व्यक्ति प्रधानमन्त्री हुनाले न्यायालयलाई घाटा पुर्यायो। खिलराजजी बसिराख्नुभएको भए अदालतको यो दुर्गति हुने थिएन। नियुक्तिमा यो लफडाबाजी पनि हुने थिएन। उहाँ अत्यन्त फियर जज हो। उहाँ ज्ञानी पनि हो। तर अब समय र परिस्थितिले त्यहाँ पुग्नुभयो। उहाँ त्यहाँ पुगेपछि सबैभन्दा घाटा अदालतलाई भयो।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget