Websoft University

www.radiomakalu.com || 021-522512


गहना धितो राखेर गाउँमा सडक



म्याग्दी, साउन ५ गते । म्याग्दीको भकिम्ली गाविस–५ राखुका महिलाले गहना धितो राखेर गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।


गाउँमा उत्पादित सुन्तला निकासी, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीका साथै आवतजावत गर्न समस्या भएपछि महिलाको सक्रियतामा सडक निर्माण भएको हो ।

५० लाखको लागतमा भकिम्लीको जयन्ती मावि हुँदै राखु गाउँ भएर नयाँपुल जोड्ने सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता सकिएको उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताए ।

उनका अनुसार भकिम्ली गाविस कार्यालयले पाँच लाख सहयोग गरेको सडक योजनाका लागि स्थानीयवासी महिलाले बैंकमा सुन धितो राखेर रु १२ लाख ऋण जुटाएका थिए ।

राखु आमा समूहकी अध्यक्ष मनकुमारी पुन, भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले बेनीस्थित गरिमा विकास बैंकको शाखामा करिब २० तोला सुन धितो राखेर सडक उपभोक्ता समितिलाई ऋण जुटाउन सहयोग गरेका हुन् ।

“गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन” – आमा समूहकी अध्यक्ष मनकुमारी पुनले भनिन्– “सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौँ ।” वार्षिक करिब रु २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा समस्या भएको थियो ।

बैंकबाट लिएको सहित उपभोक्ता समितिलाई सडक निर्माण गर्न रु २५ लाख ऋण लागेको छ । भिरालो भूगोल र चट्टानी पहाडमा घुमाउरो सडक निर्माण गर्दा दूरी थोरै भएपनि लगानी धेरै भएको हो । सडक निर्माणका लागि राखुमा बसोबास गर्ने ६५ घरधुरीले ५० हजारदेखि रु एक लाखका दरले चन्दा सङ्कलन गरिरहेका छन् ।

सडक सञ्जालसँग जोडिएपछि राखु गाउँमा उत्पादित सुन्तला निकासी गर्न, दैनिक उपभोग्य वस्ता र निर्माण सामग्री ढुवानी तथा आवतजावत गर्न सहज भएको छ । राखु गाउँमा १० हजार सुन्तलाका बिरुवा रोपिएको छ । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget