Websoft University

www.radiomakalu.com || 021-522512


अनलाइनबाट नक्सा दर्ता गर्नेको सङ्ख्या कम




काठमाडौँ, साउन ७ गते । नयाँ घर निर्माणका लागि काठमाडौँ महानगरपालिकामा हरेक दिन दैनिक १० देखि १५ वटासम्म नक्सा दर्ता हुने गरेकामा केही दिनदेखि अनलाइनबाटनै नक्सा पासको प्रक्रिया सुरु गरेपछि कमी आएको छ ।

नागरिकलाई सहज र पारदर्शी सेवा दिनका लागि विस्तार गरिएको अनलाइन सेवामा पाँच दिन बित्दा अहिलेसम्म चारवटा मात्र नक्सा दर्ता भएको सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले बताउनुभयो ।

यही साउन १ गतेदेखि विस्तार गरेको उक्त सेवाबारे नागरिकलाई जानकारी नभएको र कामपामा पनि यस विषयमा थप व्यवस्थापनको काम भइरहेकाले अनलाइनबाट नक्सा पास प्रक्रियामा कमी आएको प्रमुख थापाको भनाइ छ ।

काठमाडौँ महानगरपालिका ३५ वटै वडामा सुरु गरेको उक्त सेवामा नागरिकले घरबाटै अनलाइनबाट नक्सा पासका लागि दर्ता गर्न पाउनेछन् ।

थापाले भन्नुभयो, “कामपामा नै आएर नक्सा पास गराउँदा लाइनमा बस्नुपर्ने, मापदण्ड पूरा नहँुदा विभिन्न किसिमको झन्झट नागरिकले व्यहोर्नुपर्ने हँुदा उक्त समस्याबाट मुक्त गराउनका लागि यो व्यवस्था गरीएको हो ।” सुरुसुरुमा केही कमी आएपनि पछिका दिनमा अनलाइनबाटै नक्सा पास गर्नेमा उल्लेख्य सहभागिता हुने कामपाले विश्वास लिएको छ ।

महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनको हकमा भने नक्सा पास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृत लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सा पासको प्रक्रिया हुने जानकारी गराइएको छ ।

मापदण्डअनुरुप नक्सा पासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सा पासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनुका कारण पनि सूचीमा पठाइने जानकारी गराइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget