बंगालको खाडी र आन्ध्रा महासागरदेखि आउने डल्फिन नेपालमा पाईने एक मात्र स्तनधारी जलचर प्राणी हो । यो नेपालबाहेक भारत, बंगलादेश र पाकिस्तानमा पनि पाईन्छ । यो पानीमै बस्छ र त्यहीं बच्चा जन्माउँछ । बेलाबखत भएका अनुसन्धानले नेपालमा ४० देखि ५० वटासम्म डल्फिन देखाएको छ । खासगरी कोसी, गण्डकी र कर्णालीमा डल्फिन पाईने भनिए पनि कर्णाली, मोहनाको सहायक नदीहरू पथरैया, काँडाबाहेक अरु नदीप्रणालीमा धेरै समयदेखि नदेखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले बताएको छ ।
यस वर्ष समयमै वर्ष सुरु भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल जैविक विविधता अनुसन्धान समाजले संयुक्त रुपमा असार अन्तिम साता कर्णाली नदी र मोहनाको सहायक नदीहरू पथरैया, काँडा र कन्द्राका १५ वटा व्वाईन्ट (उपकेन्द्र) मा एकै समयमा गणना गर्न लागिएको छ । मान्छेपछिको बुद्धिमानी प्राणी डल्फिन संरक्षित सूचीमा छ भने साईटिसको अनुसुची १ मा छ । आईयूसिएनले यसलाई रातो किताबको सूचीमा राखेको छ । साथै डल्फिन गणना पनि शुरु गरिएको छ ।
डल्फिन गणनामा त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रिय विभागका प्राध्यापक डा.मुकेशकुमार चालिसेसहित प्राणीशास्त्रीहरू सुनिल खतिवडा, अनुज घिमिरेको टोलीमा स्थानियस्तरमा डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ र विजयराज श्रेष्ठसहित डल्फिन पाईने १५ वटा उपकेन्द्रका जानकार पनि सहभागी छन् । करिब एक साता चल्ने गणनामा ८० जना सहभागी हुने बताइएको छ ।
डल्फिन संरक्षणकर्ता विजय श्रेष्ठका अनुसार डल्फिन पाइने उपकेन्द्रहरू चौगुर्दीघाट, खक्रौलाघाट, कालाकुण्डा, पथरैया र मोहनाको संगम, काँडा र पथरैयाको संगम, झप्टिनाला र पथरैयाको संगम, गैरी र मोहनाको संगम, राप्तीनाला र मोहनाको संगम, कुसुमघाट, मडियाघाट, कौवाखेडा, पगियापचार र हल्लौना बाबाघाटमा एकै समयमा गणना गरिनेछ । एक ठाउँमा चार जना बसेर डल्फिनको अवलोकन गरिनेछ । उहाँका अनुसार यो वर्षको वर्षासंगै ती स्थानमा डल्फिन देखिन थालेको छ । यो पटक बच्चा डल्फिन बढी देखिएका छन् । केही दिनअघि कैलाली थापापुर गाविसको ढुंगानाटोलमा देखिएका सात डल्फिनमा तीन बच्चा थिए । डल्फिन संरक्षण केन्द्रले आईयुसिएनको सहयोगमा ती नदीको पानीको गुणस्तर र माछाका प्रजातिबारे अध्ययन गरेको थियो ।
डा.चालिसेले एकैपटक गणना गर्दा वैज्ञानिक आँकडा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । डल्फिन पाईने संभावना भएका सबै नदीमा एकै पटक गणना गर्दा दोहोरिने संभावना कम हुने उहाँको भनाई छ । ठूला नदीहरूमा जलविद्युतलगायत भौतिक निर्माणका साथै भारतले बाँध बाँधेपछि ओहोरदोहोरको समस्याले डल्फिन देखिन छाडेको चालिसेले बताउनुभयो । उहाँका अनुसार नेपालमा देखापर्ने डल्फिनको थुतुनो लामो हुन्छ । थुतुनोमा एक अर्कामाथि खप्टिएर बसेका तिखा दाँत हुन्छन् । यसका खुट्टाहरू माछाका पँखेटा जस्तो देखिन्छन् । त्यसले यीनलाई पानीमा पौडिन सहयोग गरेको हुन्छ । यसको शरीर खैरो फुस्रो रङको हुन्छ ।
जानकारहरूका अनुसार डल्फिनको मुख्य आहार माछा प्रजाति हो । यसले पुच्छरले आहारा समात्छ । डल्फिनका आँखा अत्यन्तै साना हुन्छन् । यसले आवाजबाट नै आहारको खोजी गर्छ । भाले भन्दा पोथी लामो हुन्छ । यो २८ वर्षसम्म बाँच्न सक्छ । डल्फिन नदीको उल्टो बहाब हुने वा पानी घुमेको ठाउँमा बस्न रुचाउँछ । डल्फिनले एक घण्टामा ५५.५ किलोमिटरसम्मको यात्रा गर्न सक्छन् ।
Post a Comment