Websoft University

www.radiomakalu.com || 021-522512


तातोपानी क्षेत्रको अस्तित्व खतरामा


तातोपानी क्षेत्रको अस्तित्व खतरामा
नदीको कटानमा पर्ने अवस्थामा रहेको तातोपानी कोदारीका घर ।




तातोपानी (सिन्धुपाल्चोक) , साउन १ गते । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रूपमा फर्कन्छ भन्नेमा शंका छ । तातोपानी–१ कोदारीका खड्का सर्वस्व गुमाएको भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन् ।

असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन् । घर छाडेको केही मिनेटमै बाढी बस्तीमा पसेपछि चौकीडाँडा पुगेका खड्का भूकम्पपछि कमै कोदारी बसे । संयोग, घर आएकै दिन उनले त्यो त्रासको सामना गर्नुपर्‌यो । चौकीडाँडामा पट्यार लाग्दो दिन गुजारिरहेका उनी भोटेकोसीको एकै झट्काले आफूहरूलाई सुकुमबासी बनाएको बताउँछन् ।

‘भएको सबै भोटेकोसीले लग्यो, अब कसरी यहाँको बास होला र ? ' खड्काले भने, ‘अब यहाँको विकल्प खोज्नुपर्छ ।' खड्कामात्र होइन कोदारीकै फुर्पु तामाङ पनि अब फेरि यही ठाउँमा बस्ने कल्पना गर्न सक्दिनन् ।

चौकीडाँडामा राहतमा आएको खानाको भरमा बसिरहेकी उनलाई अब परिवार कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ । बाढीअघि नै आएको कम्पनले घर छाडेकी फुर्पुको घर पनि भोटेकोसीमा मिसिने आज हो कि भोलि हो भएको छ ।

कटानमा पर्नै लागेको घरमा फेरि बस्न सकिन्छ भन्ने आस मारिसकेकी फुर्पु तत्काल छोरीसँग बस्न काठमाडौं जाने सोचाइमा छिन् । ‘अहिले त काठमाडौंमा बस्छु, तर पछि कहाँ जाने अन्योल छ', उनले भनिन् ।

कोदारीकै डोल्मा तामाङ पनि तातोपानी क्षेत्रको अबको भविष्य अन्योल भएको बताउँछिन् । माथितिर भीर र तल भोटेकोसीको तिरमा रहेका बस्ती फेरि ब्युँतेलान् भन्नेमा उनी आशावादी छैनन् । दुईमध्ये एक घर कटानमा परिसकेको र अर्कोलाई पनि पहिरोले तान्ने अवस्था रहेको डोल्माले बताइन् । ‘भएको सबै यहीं थियो, अब कहाँ गएर कसरी बस्ने भन्ने टुंगो छैन', डोल्माले भनिन्, ‘ज्यान जोगिएको छ, केही उपाय होला नि ।'

बाढीपछि भोटेकोसीको ड्यामका कारण घर थप जोखिममा परेको तातोपानीका पूर्वगाविस अध्यक्ष अमृत खड्काले बताए । खड्काका अनुसार ड्याम तत्काल नखोले थप एक सय ६८ घर कटानमा पर्ने सम्भावना छ । ड्याम पुरिएर नदीको धार बस्तीतिर बगेकाले थप समस्या परेको खड्काले बताए ।

उनका अनुसार तातोपानीको लिपिङदेखि लार्चासम्मका ७६ घर भोटेकोसीको कटानमा परिसकेका छन् । लिपिङका मात्र ४३ घर पूर्ण क्षति भइसकेको छ । कटान हुने क्रम नरोकिएकाले क्षति अझै बढ्न सक्ने अनुमान छ ।

गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतविक्षत बनाएको छ । बाह्रबिसेदेखि सीमासम्मको २७ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा सडक कटान भएको छ । पूर्ण रूपमा सडक कटान भएकाले पहिरो र भीरबाट यात्रा गर्नुपरेको बाढीपछि पुगेका ग्रामीण महिला सिर्जनशील परिवारका कार्यक्रम संयोजक राजु विकले बताए ।

‘तलबाट कटान र माथिबाट पहिरोका कारण पैदल यात्रा पनि सुरक्षित छैन', विकले भने, ‘ज्यान माया मारेर पनि सर्वसाधारण तातोपानी छाडेर राजधानी लागेका छन् । तातोपानीमा भविष्य नदेखेपछि अन्यत्र बसोबासको व्यवस्था हुनेहरू थातथलो छाडेर बाहिरिन थालेका छन् ।' - अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget