Websoft University

www.radiomakalu.com || 021-522512


डा. गोविन्द केसीको ‘अनशन कनेक्सन’ : कनकमणिसँग डिनर बैठक, राष्ट्रपति सल्लाहकारसहित १८ जनासँग ‘विशेष सल्लाह !’

काठमाडौं असार २८ गते । चिकित्सा क्षेत्रमा देखिएको बेथितिविरुद्ध लड्दै आएको दाबी गर्ने डा. गोविन्द केसीले यसपटक अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउनुपर्ने नयाँ मागसहित आइतबारदेखि आमरण अनशन सुरु गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापकको रुपमा कार्यरत सादगी छविका देखिने डा. केसीले अचानक अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने माग राखेपछि धेरैले उनको अनशनलाई शङ्कास्पद नजरले हेरिरहेका छन् र प्रश्न उठाएका छन्, ‘कतै डा’सापको सादगी छवि कसैको स्वार्थ सिद्धका लागि प्रयोग भएको त छैन ?’
डा. केसीको अनशन प्रकरणमा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको कनेक्सन रहेको तथ्य बाहिर अएको छ । साझा यातायातको अध्यक्षको हैसियतमा करोडौँ भ्रष्टाचार गरेको भन्दै दीक्षितलाई गत वैशाख १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालतको आदेशले छुटेका दीक्षित र अख्तियार प्रमुखबीच त्यसयता कटुतापूर्ण सम्बन्ध रहेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।
Dr Govinda KC begins 8th fast-unto-death


अख्तियारको छानविनमा परेका दीक्षितमाथि प्रहरी निगरानी कायम थियो । प्रहरी स्रोत भन्छ, ‘अख्तियारको नियन्त्रणबाट मुक्त भएको १८ दिनपछि अर्थात् गत जेठ दोस्रो साता कनकमणि दीक्षितले डा. केसीलाई आफ्नो घरमा डिनरको निम्ता दिएका थिए ।’ स्रोतका अनुसार सोही डिनर बैठकमा दीक्षितले डा. केसीलाई चिकित्सा क्षेत्रको पुराना मागमा लोकमानसिंह कार्र्कीविरुद्ध महाअभियोग समेत थपेर अनशन बस्न आग्रह गरेका थिए । त्यसको केही दिनपछि डा. केसीले दीक्षितलाई पुल्चोकमा दोस्रो पटक भेटेको दीक्षितमाथि निगरानी गरिरहेको प्रहरी स्रोतले बतायो ।

‘दोस्रो भेटमा राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलसहित एमाले महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र छानिएका १० जना पत्रकारसँग भेटेर मिटिङ गर्ने तय भयो ।’ स्रोत भन्छ । यसबीचमा उनीहरुबीच दर्जनौं टेफिलोन संवाद भएको पाइएको छ ।

एमाले महासचिवसहित पत्रकारसँग ‘विशेष सल्लाह’

दीक्षितको पहलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मूलधारका मिडियामा कार्यरत दस पत्रकारसहित २० जनाको भेलाले डा. केसी कहिलेबाट अनशन बस्ने भन्ने मिति तय गरेको थियो । जेठ २८ र २९ गते काठमाडौंको भाटभटेनीस्थित ‘मन्नम गल्फ रेस्टुरन्ट’मा भएको भेलाले लोकमानसिंह कार्र्की युरोपबाट फर्किएपछि अनशन बस्न डा. केसीलाई आग्रह गरेको थियो ।
mann nam resturant


सहभागी एक पत्रकारका अनुसार भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार एवं एनजीओकर्मी सुशील प्याकुरेल, पत्रकार अमित ढकाल, अतुल मिश्र, हरिबहादुर थापा, बलराम बानियाँ, प्रतीक प्रधान, विजयकुमार पाण्डे, नारायण वाग्ले, घनश्याम खड्का र गोपाल गुरागाईं उपस्थित थिए । त्यस्तै जुगल भुर्तेल, विद्याधर मल्लिक, ज्योति बानियाँ, चरण प्रसाईंसहित भेलामा डा. गोविन्द केसी र कनकमणि दीक्षित उपस्थित थिए ।

नेताहरु समेत भएको भेलामा दीक्षितले अख्तियार प्रमुख जेठ २९ गतेदेखि युरोप जान लागेको जानकारी गराउँदै उनी युरोपबाट फर्केपछि अनशन सुुरु गर्न आग्रह गरेका थिए । भेलामा सहभागी एक पत्रकारले भने, ‘हामी करिब २० जना थियौं, त्यतिवेला डा. केसीले तपाईंहरुको सहयोग भएमा अनशन बस्न तयार छु भन्नुभाथ्यो, नेताहरुले खासै केही बोलेनन् ।’

अनि, पितासहित लन्डन उडे दीक्षित ।

डा. गोविन्द केसीलाई अनशनमा उतार्ने सुनिश्चित गरेपछि कनकमणि दीक्षित गत असार ३ गते लन्डनतिर लागे । लन्डन जाँदा आफ्ना बाबु कमलमणी दीक्षितलाई पनि साथै लगेका थिए । बेलायतलगायत केही विदेशी बैङ्कमा उनले जम्मा गरेको पैसामाथि अहिले अख्तियार र राजस्व अनुसन्धान विभागले छानविन गरिरहेको छ ।
kanak mani dixit (13)


बाबु कमलमणी दीक्षित, अन्जु दीक्षित र कनकमणि दीक्षितको नाममा रहेको लन्डनको एच.एस.बी.सी बैङ्कको संयुक्त खाताबाट दिल्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.लि.को नाममा उनले पचास हजार अमेरिकी डलर पठाएको यसअघि नै सार्वजनिक भइसकेको छ । यसरी लन्डनबाट दिल्लीमा पैसा पठाएको कुरा दीक्षितले राष्ट्र बैङ्कलाई जानकारी नगराएको राष्ट्र बैङ्क स्रोतले जनाएको छ ।

यता अख्तियार प्रमुख कार्की युरोप भ्रमणबाट फर्केको भोलिपल्ट अर्थात असार १२ गते डा. केसीले दुई साताभित्र आफ्नो माग पूरा नभए अनशन बस्ने घोषणा गरे ।

सुशील प्याकुरेलले भेटे अनेरास्ववियुका नेता

कनकमणि दीक्षितका साझेदार एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा हाल राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले गएको असार १२ गते अनेरास्ववियुका पूर्व विद्यार्थी नेतासँग छलफल गरी डा. केसीको अनशनको समर्थन र प्रचार प्रसार गर्न अग्रह गरेका थिए । त्यसलगत्तै सामाजिक सञ्जालहरुमा विभिन्न पेजहरु सक्रिय भएका छन् ।

विगतमा २३ अक्टोबरसम्म प्रयोग भइरहेको ‘फ्रिल्यान्स युथ मुभमेन्ट’ नामका नक्कली संस्थाको नामबाट असार १३ र १४ गते प्रोफयल फोटो अपलोड गरेर असार १५ गतेदेखी डा. केसीको समर्थन र अख्तियार प्रमुख कार्कीका विरुद्ध एमाले सम्बद्ध विद्यार्थीहरुले अभियान चलाएका छन् । यस अभियानमा विद्यार्थी नेताहरु विकास ज्ञवाली, गौतम राई, विशाल न्यौपाने र रोमश खतिवडा मुख्य रुपमा सक्रिय रहेको देखिएको छ ।

सार्वजनिक स्थलमा डा. केसीको समर्थन र कार्कीका विरुद्ध प्रदर्शन गर्दै आएका विद्यार्थीहरुले राजनीतिक दलको कार्यालयमा ज्ञापनपत्र बुझाउने अभियान चलाएका छन् । डा. केसीको समर्थनमा प्रचार गर्दा विद्यार्थी नेताहरुलाई आवश्यक खर्च सुशील प्याकुरेलले उपलब्ध गराएको स्रोतको भनाइ छ । उनीहरुले प्याकुरेललाई दैनिक प्रगतिविवरण पेश गर्ने गरेका छन् । त्यही सिलसिलामा गत असार १६ गते उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

नेताका छोरादेखि स्वकीय सचिवसम्म परिचालित

डा. केसीको आमरण अनशनको प्रचारका लागि एमाले सचिव युवराज ज्ञवालीका छोरादेखि घनश्याम भुसालका स्वकीय सचिवसम्मलाई प्याकुरेलले परिचालन गरेको पाइएको छ । प्याकुरेलले परिचालन गरेका विकास ज्ञवाली एमाले सचिव युवराज ज्ञवालीका छोरा हुन् भने गौतम राई एमाले नेता घनश्याम भुसालका स्वकीय सचिव हुन् ।

त्यस्तै रोमश खतिवडा अनेरास्ववियुको निर्वाचनमा केन्द्रीय सदस्यमा पराजित भएका व्यक्ति हुन् । विद्यार्थी राजनीति गरेर आएका उनीहरुलाई ललितपुरमा दर्ता भई काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा कार्यालय रहेको ‘सोसल साइन्स बाहा’को अलाइन्स फर सोसल डायलग भन्ने संस्थाले फन्डिङ गर्दै आएको स्रोतको भनाइ छ ।

‘सोसल साइन्स बाहा’ले विदेशबाट हालसम्म ४७ करोडभन्दा बढी रकम प्राप्त गरेको छ, जसमध्ये २६ करोडभन्दा बढी अलाइन्स फर सोसल डाइलगले खर्च गरेको समाज कल्याण परिषद् स्रोतले जनाएको छ । सो संस्थाको अध्यक्ष दर्ता भएको दिनदेखि आजसम्म सुशील प्याकुरेल रहँदै आएका छन् ।

हरि शर्मा निर्देश रहेको सो संस्थाको कनकमणि दीक्षित संस्थापक सदस्य हुन् । निर्देशक हरि शर्मा पूर्व राष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार थिए ।

यस विषयमा डा. केसीसँग प्रतिक्रिया लिने कोशिस जारी छ । उनले प्रतिक्रिया दिए लगत्तै उनको प्रतिक्रिया पनि प्रकाशित हुनेछ ।- राजेश भण्डारी,  रातोपाटीबाट  ,रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget