काठमाडौं, साउन २ गते । जिल्ला प्रहरी कार्यालय भक्तपुरमा कार्यरत एसपी किरण बज्राचार्यले हालै मानव बेचबिखनविरुद्ध योगदान पुर्याएवापत अमेरिकी सरकारले दिने पुरस्कार थापिन् ।
आफ्नो २१ वर्ष लामो प्रहरी जीवनमा किरणले चुनौतिका थुप्रै पहाडहरु उक्लेकी छिन् । विशेषगरी मानव तस्करीविरुद्ध सफल अनुसन्धानले उनलाई देशभित्र र बाहिरसमेत चिनाएको छ । एसपी किरणले कसरी यो सफलता पाइन् त ? हामीले उनको प्रहरी जीवन र मानव तस्करीविरुद्धको अनुसन्धानका घटनाहरुलाई केलाएका छौं ।
राष्ट्रिय फुटबल खेलाडी किरण
पाल्पाको तानसेनमा जन्मेकी किरणको सानैदेखि खेल क्षेत्रमा विशेष अभिरुचि थियो । त्यसमा पनि उनी फुलबलको राम्रो खेलाडी थिइन् ।
०४१ सालमा नेपालगञ्जमा आयोजना भएको राष्ट्रिय फुटबल प्रतियोगितामा उनी लुम्बिनी अञ्चलको महिला टिममा सहभागी भइन्, फ्रन्ट स्ट्राइकरको रुपमा । लुम्बिनी अञ्चलले प्रतियोगितामा पहिलो पटक स्वर्णपदक हात पार्यो ।
त्यसपछि बुटबलमा भएको राष्ट्रिय प्रतियोगितामा किरणले सर्वाधिक गोलकर्ताको पुरस्कार जितिन् । उनले प्रतियोगिताभरी ११ गोल गरेकी थिइन् । ०४३ सालतिर फुटबलको महिला राष्ट्रिय टिमका लागि छनोट भइन् किरण । उनी ११ नम्बरको जर्सी लगाएर खेल्थिन् । राष्ट्रिय टिमबाट विभिन्न प्रतियोगिता खेल्न भारत हङकङ, फिलिपिन्स लगायतका देशहरु पुगिन् ।
प्रहरीको परेडले लोभ्यायो
किरणको घर प्रहरी चौकी नजिकै थियो । दैनिकजसो बाटोमा युनिफर्म लगाएका प्रहरीहरु परेड खेलेको देख्थिन् । त्यो देख्दा उनलाई पनि प्रहरी बन्ने रहर जाग्यो ।
०५१ सालमा नेपाल प्रहरीले ६० जनाको लागि प्रहरी निरीक्षकमा भर्ना आह्वान गर्यो । किरणले पनि इन्सपेक्टरमा भर्ना खुलेको थाहा पाइन् । र, शैक्षिक प्रमाणपत्र बोकेर पाल्पादेखि काठमाडौं हानिइन् । ‘आमा बाहेक मेरा अरु कोहि पनि आफन्तले म प्रहरीमा आएको मन पराएका थिएनन्,’ उनी भन्छिन् ।
आफन्तले मन नपराएर के फरक पर्दथ्यो र । किरण ०५२ साल वैशाखमा प्रहरी इन्स्पेक्टर भइन् । ६० जनाको सिटमा २ हजारले र्फम भरेका थिए । त्यसमा १५ जना मात्र महिला थिए । इन्स्पेक्टरमा पास हुनेमध्ये ४ महिला थिए । ती चारमध्ये किरण एक थिइन् ।
प्रहरीमा आएको केही समय एकेडेमीमा बसेर फुटबल नै खेलिन् । तर, पछि प्रहरीको दैनिक काममै उनी रमाउन थालिन् ।
उनको खेल जीबनमा यत्तिकै पूर्णविराम लाग्यो । किरण भन्छिन्, ‘खासमा मेरो सौख खेलमै हो, त्यहि खेल जीबन सुरक्षित हुने देखेर प्रहरीमा आएकी थिएँ । तर, पछि बाटो बदलियो ।’
मानव तस्करीविरुद्धको अठोट
२१ वर्षे प्रहरी जीबनमा किरणले अधिकांश समय मानव बेचबिखन विरुद्धकै अभियानमा खर्चेकी छिन् । उनको पहिलो पोस्टिङ जिल्ला प्रहरी कार्यालय काठमाडौंको महिला-बालबालिका सेलमा भएको थियो । त्यहाँ करिब २ वर्ष बिताउँदा महिलाहरु कसरी बेचिँदा रहेछन् र बालबालिकाको यौनशोषण कसरी हुँदो रहेछ भन्ने उनलाई थाहा भयो ।
‘आफ्ना आफन्त वा दलालले फकाएर भारतको कोठीमा लगेर बेच्नु मात्रै मानव वेचविखन होइन,’ किरण भन्छिन्, ‘त्यो भन्दा डरलाग्दो रुप अर्कै छ भन्ने मैले त्यतिबेलै थाहा पाएँ ।’
हनुमानढोकाबाट हेडक्वाटरमै महिला-बालबालिका बेचबिखन विरुद्ध अभियान चलाउने जिम्मेवारी पनि किरणले पाएकी थिइन् । त्यसपछि पर्यटन प्रहरीमा पुगिन् । डिएसपी भएपछि पनि लामो समय महिला तथा बालबालिका निर्देशनालयमै बताएकी उनलाई प्रहरीभित्र हुने महिला हिंसाका घटनाहरु पनि राम्ररी बुझेकी छिन् ।
‘महिला तथा वालवालिका निर्देशनालयमा हुँदा एक जना सिपाही सरुवा भएर आए । महिला मात्रै भएको ठाउँमा आएका ती पुरुष सिपाहीले एक दिन असईकहाँ गुनासो गरेछन्, महिलाको हुलमा काम गर्नुभन्दा बरु जागिरै छाडिदिन्छु ।’ त्यसो भए पुरुषै पुरुष भएका चौकीहरुमा महिला प्रहरीले कसरी काम गरेका होलान् ?’ किरणको प्रश्न छ ।
चीनमा युवती तस्करीको पर्दा च्यातियो
किरणलाई अमेरिकी अवार्ड दिलाउने काम भने केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा निभाएको जिम्मेवारीले खेल्यो । भारतका कोठीमा लगेर चेलिबेटी बेच्नु मात्रै मानव वेचविखन हो भन्ने भ्रम आफ्नो अनुसन्धानले चिरिएको उनको बुझाई छ ।
०७० साल पुसमा सिआइबीमा सरुवा हुँदा किरण डिएसपी थिइन् । नक्कली प्रमाणपत्र, सरकारी दस्तखत किर्ते लगायतका घटनाहरुको अनुसन्धान गर्ने तीन नम्बर पिल्लरको जिम्मेवारी उनले पाइन् ।
यद्यपि, मानव तस्करी सम्बन्धी अनुसन्धानमा उनको रुचि थियो । त्यति नै बेला हेडक्वाटरको अपराध अनुसन्धान विभागमा हङकङका वाणिज्यदूतमार्फत एउटा सूचना आयो ।
त्यो थियो, केही नेपाली युवतीहरु चीनमा बेचिएको खबर । पीडित नेपाली युवतीहरुले हङकङस्थित नेपाली महावाणिज्यदूतको कार्यलयमा उजुरी गरेपछि विभागमा सूचना आएको थियो । विभागले अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दियो । सिआइबीका तत्कालिन डिआइजी हेमन्त मल्लले डिएसपी किरण बज्राचार्यलाई कार्यभार सुम्पिए ।
किरण भन्छिन्, ‘चीनमा नेपाली युवती कसले र कसरी लगेर बेच्यो भनेर अनुसन्धान गर्नु निकै चुनौतिपूर्ण थियो । कहिलेकाहिँ पत्रपत्रिकामा विभिन्न म्यारिज ब्युरोहरुको बारेमा विज्ञापनहरु छापिएका हुन्थे । त्यसैको आधारमा अनुसन्धान अगाडि बढायौं ।’
उपत्यकामा रहेका म्यारिज ब्युरोहरुको अनुसन्धान गर्दै जाँदा चुनदेवीमा रहेको छेरु म्यारिज ब्युरोको सूचना प्राप्त भयो । त्यहि सूचनाका आधारमा किरणको टोली छापा मार्दा चीन लैजान ठीक्क पारिएका ६ जना युवतीसहित म्यारिज ब्युरोकी सञ्चालिका भनिएकी छेरु तामाङ पक्राउ परिन् । त्यहिँ भेटिए चीनमा नेपाली युवती तस्करी गर्ने गिरोहका सदस्य एक कोरियन नागरिक । त्यसपछि चीनमा नेपाली युवती बिक्री हुने गरेको सरकारका कुनै पनि निकायले सुइँको नपाएको गम्भीर रहस्य खुल्यो ।
त्यहि समूहले लगेर बिक्री गरेको एक युवतीलाई प्रहरी टोलीले उद्धार गर्यो । त्यहाँ अरु पाँच जना युवतीहरु पनि छन् भन्ने सुनियो । तर, निकै प्रयास गर्दा पनि उद्धार हुन सकेन । कोरियन नागरिक र नेपाली महिलालाई अदालतले १५ वर्ष जेल सजाय तोकेको छ ।
२१ वर्षको प्रहरी जीबनमा चार महिना लगाएर गरेको यो अनुसन्धान सबैभन्दा चुनौतिपूर्ण रहेको महसुस गर्छिन् एसपी किरण । ‘अपराधीले सजायँ पाउँदा मन आनन्दित बन्यो,’ उनले भनिन् ।
चीनपछि अफ्रिका
चीन तस्करीको सफल अनुसन्धानपछि किरणको आत्मबल बढेको थियो । त्यही बेला अफि्रकी मुलकमा पनि नेपाली युवतीहरु विक्री हुने गरेको सूचना आएपछि किरणले अनुसन्धान सुरु गरिन् ।
जागिरको लोभ देखाएर नेपालबाट भारत हुँदै तान्जानिया, केन्या जस्ता देशहरुमा पनि नेपाली युवतीहरु पुर्याउने गरिएको पत्ता लाग्यो । त्यसका मुख्य नाइके एक जना भारतीय नागिरक रहेछन् । उनलाई साथ दिने नेपालीहरु थिए ।
तान्जानिया, केन्या जस्ता देशमा नेपाली युवतीहरुलाई यौनकर्मी बनाउने र डान्सबारहरुमा मुजुरा नचाउने गरिएको पर्दाफास पनि एसपी किरणले गरिन् । गिरोहका नाइके भारतीय नागरिक र नेपालका एजेण्ट गरेर ११ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सफल भइन् उनी ।
यो उनको लागि अर्को कोसेढुंगा बन्यो । त्यसपछि नेपाली पुरुषहरु पनि अफि्रकन मुलुकमा बेचिन्छन् भन्ने तथ्यहरु पनि बाहिर आए । सीआइबीमा रहँदा एसपी बज्राचार्यकै टिमले २७ जना नेपाली युवतीहरुलाई भारतबाट उद्धार गर्न पनि सफल भएको थियो ।
पुरस्कारले बढायो हौसला
सिआइबीमा हुँदा मानव बेचबिखनविरुद्ध उनले गरेको अनुसन्धान उत्कृष्ट भएको भनेर अमेरिकाको एउटा संस्थाले उनलाई पुरस्कृत गरेको हो । अमेरिकी विदेशमन्त्री जोन केरीबाट उनले सो पुरस्कार थापेकी थिइन् ।
किरण भन्छिन्, ‘मैले त सामान्य सोचेकी थिएँ, तर त्यो निकै ठूलो पुरस्कार रहेछ । भव्य समारोहमा अमेरिकी विदेशमन्त्रीबाट पुरस्कार पाउँदा देशकै इजजत बढाएको महसुस भयो ।’
गत वर्ष उत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड पनि हात पारेकी उनी यसै वर्ष राष्ट्रपतिबाट पनि पुरस्कृत भइन् ।
केटा साथी धेरै, तर बिहे भएन
एसपी किरण बज्राचार्यलाई पहिलोपटक भेट्नेहरु प्राय झुक्किन्छन्, किनकी उनको नाम मात्र होइन, व्यक्तित्व पनि पुरुषको जस्तो छ । हक्की स्वभाव, छोटो कपाल, पुरुषकै जस्तो लवाई, हिँडाई, बोलाई । मान्छे नझुक्किउन् पनि किन ?
स्कुल पढ्दा होस् या कलेज, किरणका अधिकांश साथीहरु पुरुष थिए । किन त पुरुष साथी धेरै ? किरण भन्छिन्, ‘मेरो स्वभाव, बोली र खेलप्रतिको लगावले गर्दा महिलाभन्दा पुरुष साथी धेरै भए ।’
किरणको विवाह भने भएको छैन । यति धेरै पुरुष साथी बनाउनेले किन अहिलेसम्म जीबनसाथी चाहिँ छान्न सक्नुभएन ? भन्ने प्रश्नमा उनी केहिबेर अल्मलिइन् । अनि जवाफ दिइन्, ‘खै मलाई नै थाहा छैन । सायद त्यतातिर कहिल्यै सोचै आएन भनौं ।’
‘तपाईंले मन पराएको वा तपाईंलाई मन पराएका कोही थिएनन् ?’ अर्को प्रश्न सोधियो । ‘मलाई कोहि मान्छे मन पर्दथ्यो, तर उसलाई साथीको रुपमा मात्रै हेरियो । कसैले मलाई पनि मनपराउँथ्यो होला, तर त्यसलाई मैले बुझ्नै सकिन,’ किरणले जवाफ दिइन् ।
उनले थपिन्, ‘मलाई कुनै घटनाले यस्तो बनाएको होइन । पुरुषप्रति वितृष्णा जागेर पनि होइन । घर-परिवारबाट पनि विवाहको कुरा आउँथ्यो । तर किन-किन विवाह गर्न त्यत्तिकै भयो ।’
‘अनि अहिले चाहीँ जीवनसाथीको आवश्यकता वोध हुँदैन ?’ यो प्रश्नमा उनी अलि भावुक भइन् र भनिन्, ‘आफ्नो मनको सुख दुःख पोख्ने साथी चाहिँ चाहिँदो रहेछ जस्तो लाग्छ । तर, पछुतो छैन ।’-रमेश धमला, अनलाइनखबरबाट
Post a Comment