Websoft University

www.radiomakalu.com || 021-522512


कृषि शिक्षामा लुरी केटीको आशक्ति


BINETA BARAL (6)
‘अशोक सर ।’

यो आवाज धेरै दिन भइसकेको थियो मेरो कानमा नगुञ्जिएको ।

म पढाउँदापढाउँदै कक्षाको पुछारमा पुगेको थिएँ । फर्केर ढोकातर्फ हेरें । कथा ढोकामा उभिरहेकी थिइन् । भेटुवालको घटनापछि कथासँग भेट भएको थिएन । उनी घाम झुल्केझैं झुल्किँदा त्यत्रो दिनसम्म ढुसी लागेको मेरो शरीर घामको किरणले एकैपटकमा सङ्लो भयो, सुकिलो भयो । मन एक्कासि प्रफुल्ल भयो । विद्यार्थी पनि कराउन थाले । मलाई झैं यिनीहरूलाई पनि कथाको उपस्थिति मन परेछ !

उनले मुस्काउँदै चोरी औंलाले एक मिनेट समय चाहियो भन्ने इसारा गरिन् ।

‘हुन्छ,’ मैले कुनै औपचारिकता नपुर्‍याई मुस्काउँदै भनें ।

नजिक गएर उनलाई गहिरिएर हेर्न थालें । यत्रो दिनसम्म आमुन्नेसामुन्ने नहँुदा प्याकप्याक हुने गरी लागेको उनको दर्शनको प्यास मैले मेटाउन खोजें । चैतको चर्को घाम र कृषि प्रयोगशालाले उनलाई कालो बनाएछ, उनको बेदाग गहुँगोरो अनुहार पहिलेभन्दा कालो देखियो । अलिकति दुब्लाएकी पनि रहिछन् । यसरी रूप नै बिग्रने गरी व्यावहारिक कृषि शिक्षा भनेर किन मर्न खोजेकी हुन् यी केटी ? अचम्म लाग्यो ।

‘विद्यार्थीलाई केही भन्नु थियो कृषि प्रयोगशालाको ओपनिङबारे । एक मिनेट समय लिऊँ कि ?’ उनले भनिन् ।

‘के छ ? कस्तो छ ?’ कमसेकम यति त सोध्नुपथ्र्यो । त्यस दिनका लागि धन्यवाद पनि त भन्न सक्थिन् । मेरो हालचाल जान्ने चासो नभए पनि औपचारिकता मात्र पूरा गरेकी भए पनि त हुन्थ्यो । खल्लो लाग्यो ।

आफूलाई केके न भन्न आइन् भन्ठानेको, विद्यार्थीका लागि प्रयोगशालाबारे जानकारी पो दिन आएकी रहिछन् । अरू नै शिक्षकको घण्टी हुँदा आएको भए नि हुन्थ्यो नि ।

खिन्न हुँदै भनें, ‘जानुस्, कथाजी । सोध्नुपर्दैन, स्कुल तपाईंको पनि त हो ।’

उनी कोठाभित्र छिर्नासाथ विद्यार्थी कराउन थाले ।

विद्यालय आउँदा पनि टाइट जिन्समा नै आउने, उत्ताउली । अनि किन नकराऊन् विद्यार्थी । मैले हल्ला नियन्त्रण गर्न विद्यार्थीलाई गाली गरें ।

कथाले विद्यार्थीलाई भन्न थालिन्, ‘नयाँ वर्षको अवसर पारेर हाम्रो स्कुलपछाडि बनेको कृषि प्रयोगशालाको उद्घाटन हुँदै छ । नयाँ वर्ष मनाउँदै अब हामी सबै मिलेर त्यहाँ विभिन्न प्राङ्गारिक मौसमे खेतीसम्बन्धी प्रयोगहरू गर्नेछौं । तपाईंहरूको कामचाहिँ बोटबिरुवालाई स्याहारसुसार गर्ने मात्र हो । आफूलाई मन पर्ने साथीहरूसँग मिलेर दस-दस जनाको समूह बनाउनुस् र त्यसको नाइके पनि छानेर अफिसमा लिस्ट छोड्दिनुस् । हामी शिक्षकहरू मिलेर दैनिक तालिका बनाएर तपाईंहरूलाई दिन्छौं ।’

विद्यार्थीले साह्रै ध्यान दिएर कथाले भनेको सुने । मलाई लाग्यो, मीठो स्वर र तरिकाले उनी सबै विद्यार्थीलाई किसान बनाउन खोज्दै छिन् ।

विद्यार्थी उत्साहित भएको देखेर उनी पनि मख्ख परिन् । क्लासबाट निस्कने बेला पनि भनिन्, ‘नाइके बनाउन नबिर्सिनू नि ।’

म ढोकामै दुई हात बाँधेर उनको सूचना सुन्दै उभिइरहेको थिएँ । भित्रभित्र रिस उठिरहेको थियो तर बाहिर मुस्कुराउने कोसिस गर्दै पनि थिएँ । उनी मेरो नजिकै आइन् र सोधिन्, ‘स्कुल सकिएपछि के गर्दै हुनुहुन्छ ?’

यसरी सोधिन् कि मानौं स्कुलको छुट्टीपछि उनी मसँग कतै घुम्न जान चाहन्छिन् । त्यत्रो दिनपछि भेट्दा पनि हालखबर नसोध्ने केटीले एक्कासि स्कुल सकिएपछि के गर्दै हुनुहुन्छ भनेर सोध्दा त म एकछिन जिल्लै भएँ ।

‘खासै केही छैन, किन र ?’

घुम्न जाऊँ नै भन्न खोजेकी भए झन् म के छोड्थें र ?

‘दुई दिनपछि प्रयोगशालाको उद्घाटन छ । अनि काम थुप्रै । विद्यार्थीको समूह विभाजन गर्न मलाई सहयोग गर्नुहुन्छ ?’

यसै त मायालु अनुहार, झन् मायालु बनाउँदै उनले मलाई यसरी आग्रह गरिन् कि मबाट नाइँ शब्द निस्कनु सम्भव थिएन । अब के चाहियो र ? उनीसँग समय बिताउन पाउने यो भन्दा सुनौलो अवसर अरू के हुन्थ्यो र ?

म उत्साहित भएँ । तर, अनुहार सकेसम्म स्वाभाविक बनाउँदै भनें, ‘अँ, हुन्छ नि त, कथाजी । तपाईं यत्रो मेहनत गर्दै हुनुहुन्छ, त्यसमा मैले केही सहयोग गर्न पाएँ भने म आफूलाई भाग्यमानी नै सम्झनेछु ।’

उनी फुरुङ्ग भइन् ।

‘म स्कुल छुट्टी भएपछि आउँछु,’ मैले भनें ।

गम्कँदै ‘थ्याङ्क्स’ भनेर उनी अफिसतिर लागिन् ।

अबको दुई दिन कथासँग बित्ने भयो भनेर उत्साहित थिएँ । नहुनु पनि कसरी ? स्कुलमा अरू शिक्षकहरू पनि त थिए । उनकै सहकर्मीहरू पनि नभएका होइनन् । मलाई नै किन त्यसरी फुर्किएर श्रीमतीले झैं अनुरोध गर्नुपर्थ्यो र ?

सायद भेटुवालसँगको भेटपछि उनको मलाई हेर्ने दृष्टिकोण फेरिएको थियो कि ?

यस्तै कल्पना गर्दै थिएँ, घण्टी बज्यो । विद्यार्थी किताब, कापी, कलम झोलामा राखेर घर र्फकने तरखर गर्न थाले ।

उनीहरूको हतारो देखेर भनें, ‘कथा म्याडमले के भन्नुभएको थियो, बिस्र्यौ ?’

‘सर, समूह भोलि बनाऔंला,’ एकजना विद्यार्थीले भन्यो ।

हुन त समूह भोलि बनाए पनि हुन्थ्यो तर कथाको काम … । मैले भनें, ‘आजै गरेर सक ।’

विद्यार्थीले मिलेर समूह बनाए, नाइके नियुक्त गरे र त्यसको विवरण मलाई दिए । त्यो लिएर म अफिसकोठातिर लागें ।

कथा ल्यापटपमा हेर्दै केही लेखिरहेकी थिइन् । वरिपरि सेता कागज छरपस्ट थिए । कसैकसैको बानी त्यस्तै हुन्छ, टेबलमा कागजपत्र छरपस्ट पारेर काम नगरे पनि गरेझैं देखाउने । कथाको पनि त्यस्तै बानी रहेछ जस्तै लाग्यो । नत्र चाहिने कागजपत्र मात्रै निकालेर काम गरेको भए के हुन्थ्यो ?

आज पनि आफ्नो कपाल सिसाकलमले गुटमुट्याएकी थिइन्, आँखामा त्यही सेतो चस्मा थियो । चैतको गर्मीले हो कि मलाई गर्मी बनाउन हो, उनले पातलो सर्टको अगाडिको दुइटा टाँक खोलेकी थिइन्, क्लिभेज देखिने गरी । मेरो ध्यान उनकै क्लिभेजमा टाँसिइरहृयो ।
‘अशोक सर,’ कथाले भनिन् । म झस्कें ।

‘काम सुरु गर्ने होइन ?’ उनले भनिन् । म आफूलाई सम्हाल्दै उनको अगाडि गएर बसें ।

‘ल भन्नुस्, कथाजी । के सहयोग गर्नुपर्‍यो मैले ?’

उनले आफ्नो सेतो चस्मा आँखाबाट निकालिन् । पढ्दा, लेख्दा चस्मा लगाउने र मान्छेसँग बोल्दा चस्मा खोल्ने उनको बानी रहेछ । बिचरी । चस्मा नलगाए अक्षर देख्तिनन्, लगाए मान्छे देख्तिनन् ।

‘तपाईं किन मलाई कथाजी भनेर सम्बोधन गर्नुहुन्छ ?’ उनले निधार खुम्च्याउँदै सोधिन् ।

‘अँ, अँ… किनकि तपाईंलेे पनि मलाई अशोक सर भनेर बोलाउनुहुन्छ ।’

‘मास्टरसाहेबभन्दा त अशोकसर नै ठीक होला नि ।’ उनका दुई आँखिभौं जोडिए । उनी मुसुमुसु हाँस्न थालिन् । मैले पनि उनको हाँसोमा हाँसो मिलाएँ ।

‘जोक्स अपार्ट, तपाईंं मलाई कथा मात्र भनेर बोलाउनुस् न है, अशोक सर । एन्ड फर गड्स सेक नो तपाईं एट अल,’ उनले इङ्लिस छाँटिन् ।
‘हुन्छ । तर मलाई पनि अशोक भनेर बोलाउनुपर्ने हुन्छ, सर हटाएर,’ मैले नेपाली छाँटें ।

‘तपाईं मभन्दा कति जेठो हुनुहुन्छ होला, तिमी त म भन्नै सक्तिनँ,’ उनी जिस्किन् ।

‘हो है ? त्यस्तो अप्ठ्यारो लागे हजुर आइस्योस् गैस्योस् नै भन्नुस् न, मलाई केही फरक पर्दैन ।’ मैले पनि जिस्कने मौका छोडिनँ ।

उनी अगिदेखि नै मुस्कुराइरहेकी थिइन् । मेरो कुरा सुनेर त उनी झन् टाउको माथि उठाईउठाई हाँस्न थालिन् । उनको हाँसोले शृङ्गारविहीन उनको अनुहारमा शृङ्गार थपिदियो ।

‘मैले जोक मात्र गरेको, तपाईं त यङ नै देखिनुहुन्छ । आई मिन यङ नै हुनुहुन्छ ।’

‘त्यही त, म त बिहै नगरी बूढो भएछु कि क्या हो भनेर पिर मान्न थालिसकेको थिएँ ।’

उनले कालो ब्यागमा केही खोज्न थालिन् । मैले विद्यार्थीले तयार पारेको विवरण उनको अगाडि तेस्र्याएँ ।

उनी अचम्भित भइन् । विवरण लिँदै भनिन्, ‘हाउ क्विक ! थ्याङ्क यु, अशोक ।’

कति छिटो मलाई मेरो नामले नै सम्बोधन गर्न भ्याइहालेकी !

जस्तो सोचेको थिएँ उनको बारेमा, त्यस्तै रहिछन्- क्रान्तिकारी । हजुर, तपाईं र आइस्योस् गैस्योस्मा के झुलिराख्थिन् ?

ब्यागमा उनी टिफिन खोज्दै रहिछन्, निकालिन् ।

‘तिमीलाई भोक लाग्यो होला नि, अशोक,’ उनले सोधिन् ।

खुसी लाग्यो । आमा र भाउजूबाहेक मलाई भोक लाग्यो होला भनेर सोच्ने कथा तेस्रो व्यक्ति भइन् ।

टिफिन उनले आˆनो लागि ल्याएकी होलिन् । भनें, ‘तिमी खाऊ । मलाई त भोक लागेको छैन ।’

‘तर मैले त हामी दुवै जनालाई खाना ल्याएकी छु,’ कथाले मलाई हेर्दै भनिन् ।

मेरा लागि पनि खाना ? आजको हाम्रो भेट त आकस्मिक थियो । म जिल्ल परें । सायद उनको मनमा मेरो कुनै स्थान बनिसकेको थियो कि Û
म अलमल्लमा परेको उनले कसरी लिइन् थाहा भएन, एक्कासि भनिन्, ‘काम सुरु गरौं है ?’

तर मेरो मन खानामै थियो, भनें, ‘तिमीलेे आफैं बना’को ?’

मेरा आँखा सीधा उनका आँखामा थिए । उनले ल्यापटपमा हेर्ने निहुँले आँखा झुकाइन् । उनका झुकेका आँखा देखेर म त अधैर्य हुन थालें, च्याप्प समातेर किस खाइदिउ“m झैं लाग्यो । भित्रभित्रै कथालाई देखेर बहकिरहेको मनलाई समाल्दै फेरि भनें, ‘तिमीे आफैंले पका’को हो भने मात्र खान्छु नत्र खान्नँ ।’

अझ पनि उनी बोलिनन् । एकछिनपछि मलाई कापी र कलम थमाइदिँदै पर्सिको कृषि प्रयोगशाला उद्घाटन कार्यक्रमको स्केड्युल बनाउन अनुरोध गरिन् । मैले देब्रे हातले कापी र कलम लिएँ । उनलाई अरू थप केही भन्न चाहिनँ । एक त लुरी, यसै भाँचिएली जस्ती, त्यसमाथि मेरो एकोहोरो खेदाइको बोझ, ढल्लिन् भन्ने डर ।

‘तिमी लेˆटी हौ ?’ उनले सोधिन् ।

‘हो ।’

‘ए, कस्तो अचम्म !’ उनले अनौठो पाराले हाँसेर भनिन् ।

‘किन ? तिम्रो ब्वायफ्रेन्ड पनि लेफ्टी हो र ?’ यसै प्याच्च निस्कियो ।

उनले सीधै ‘हो’ भनिन् । मलाई नराम्ररी झारिदिइन् ।

‘के गर्छ तिम्रो ब्वायफ्रेन्ड ?’ टेबलमा पेन बेस्सरी गाडेछु, पेनको टुप्पो भाँचियो । देख्लिन् भनेर हत्त न पत्त टेबलमुनि लुकाएँ ।

उनी बेस्सरी हाँसिन् ।

‘खोइ के गर्छगर्छ, मेरो ब्वायफ्रेन्डले जे भए पनि हँसाइ मात्र राख्छ । तर युनिक छ । लेˆटीहरू युनिक हुन्छन् । उनीहरूको राइट ब्रेनले काम गर्छ जुन हामीलेे युज गरेकै हुँदैनौं ।’

‘खोइ म त कुनै कुरामा युनिक छु जस्तो लाग्दैन,’ बोल्न मन नलागीनलागी बोलें उनको अनुहारै नहेरी ।

‘लेफ्टीहरूको लिडरसिप क्वालिटी खतरा हुन्छ । बाराक ओबामा पनि लेˆटी त हुन् नि । उनी अमेरिकाजस्तो ठूलो राज्यमा शासन गर्न सक्छन् भने … !’
‘तिम्रो ब्वायफ्रेन्डले पनि तिमीलाई राम्रै शासन गर्‍या होला नि ?’

उनी फेरि मरीमरी हाँसिन् चर्को आवाजमा ।

‘तिमीलेे चाहिँ शासन गर्‍या छैनौ कसैलाई ?’

‘त्यो अहोभाग्य कहाँ पाउनु ? जोजो मेरो जिन्दगीमा छन्, ती शासन गर्नेहरू मात्रै छन्,’ मैले आफैंलाई व्यङ्ग्य गरें ।

उनले बुझिन् क्यारे । हाँस्न छोडिन् । अनि भनिन्, ‘मेरो कुनै ब्वायफ्रेन्ड छैन बाइ द वे ।’

त्यो सुनेर म चङ्गाझैं उड्न थालें, खुसीले ।

‘किन छ भन्यौ त ?’

‘किन सोध्यौ त ?’

म मुसुक्क हाँसें, उनी पनि मुसुक्क हाँसिन् ।

विशालले सिकाएको थियो, केटी पट्याउनुपर्‍यो भने उसको प्रशंसा गरिदिए पुग्छ । भनिदिएँ, ‘तिमी हाँस्ता सारै राम्री देखिन्छौ ।’
‘हाँस्ता मात्रै ?’ उनले सोधिन् ।

अरू के प्रशंसा गरूँ भनेर सोच्दै थिएँ, पाले दाइले खाना ल्याइहाले, भात, दाल, साग र खसीको मासु ।

‘मलाई खुवाउन भनेर मासु पकायौ कि क्या हो ?’ म फेरिफेरि जिस्किएँ ।

‘तिमीलाई होइन आˆनै लागि हो, म मासु नभई खाना खान सक्तिनँ । त्यसमा पनि खसीको मासु त मेरो अल टाइम फेब्रेट ।’

खसीको मासु प्रतिकेजी ८०० रुपियाँ पुगिसक्यो । मासु नभई नखाने रे । यिनलाई पाल्न गाह्रो हुने रहेछ ! भनिदिएँ, तिमीलाई पाल्न त गधाले झैं काम गर्नुपर्ने रहेछ,’ मैले खान सुरु गर्दै भनें ।

‘गधाझैं काम गर्ने कोही गधा नै होला ।’ जवाफ त यिनको ओठैमा ठिक्क परेर बसेको रहेछ । बोलेर जित्न नसकिने, युद्ध पाण्डेकै बुहारी हुन लायककी । उनी मुस्कुराउँदै थालमा मासु देखेर हो कि भोकले हो ग्वामग्वाम खान थालिन् । उनले खाएको हेर्न मलाई खुब रमाइलो लाग्यो । मेरो अगाडि खान कत्ति पनि लाज लागेन उनलाई, बरू म आफैंलाई खान अप्ठ्यारोे लाग्यो ।

खाएपछि काममा ध्यान केन्दि्रत गर्न थाल्यौं हामीले ।

मैले औपचारिक कार्यक्रमको पूरा खाका तयार पारें । उनका लागि नयाँ वर्षको शुभकामना मन्तव्य पनि तयार पारिदिएँ ।

काठमाडौंबाट बोलाउनुपर्ने पाहुना तथा कृषि पत्रकारहरूको नाम टाइप गर्न थालिन् उनले । प्रमुख अतिथि भने प्रयोगशाला बनाउन र अन्य आवश्यक सामग्री मल, बीउबिजन, औजारको सहयोग गर्ने एनजीओका अध्यक्ष हुने भए । कथाकै सुझावमा विद्यालयका अन्य शिक्षकलेे पनि यसबारे पहिल्यै सहमति जनाएका थिए ।

विद्यार्थीका १४ समूह बनिसकेका थिए । प्रत्येक समूहमा दस जना हुने भएकाले दुई समूहले दिनमा दुई घण्टा मात्र प्रयोगशालालाई दिए पुग्ने र प्रत्येक समूहले गरिसकेको र गर्नुपर्ने कामको विवरण प्रयोगशालाको सेतोपाटीमा राख्नुपर्ने जानकारी विद्यार्थीलाई दिने जिम्मा कथाले मलाई सुम्पिन् । उनले भनिन्, ‘आधुनिक औजार र थोपा सिँचाइको प्रयोगले गर्दा प्रयोगशालामा धेरै जनशक्ति खट्नुपर्दैन र विद्यार्थीले हल्का काम मात्र गरे पुग्छ ।’

उनले थपिन्, ‘विद्यार्थीलाई बीउ राख्ने बेलादेखि हार्भेस्ट गर्ने बेलासम्म गर्नुपर्ने काम र प्राङ्गारिक खेतीका चुनौतीका बारे म जानकारी दिन्छु । यसमा मलाई मेरा साथीले पनि सहयोग गर्नेछन् । विद्यार्थीलाई योजनाबद्ध र अनुशासित भएर गराउने जिम्मा तिम्रो, है ?’

लौ, कुरैकुरामा उनले मलाई अर्को जिम्मेवारी पनि सुम्पिन् ! त्यतिले नपुगेर सबै चीजबीजको विवरण राख्ने कामको जिम्मेवारी पनि मैलाई सुम्पिन् । त्यसमा मलाई कुनै आपत्ति हुने भएन किनकि ती कामको बहानामा म उनीसँग भेटिरहन पाउँथें । स्कुलबाट कृषि प्रयोगशालातर्फ जान मलाई प्रत्येक दिन कुनै नयाँ कारण खोज्नुपर्ने बाध्यता हुने भएन ।

कथाका कुरा सुन्दै जाँदा थाहा भयो, उनले व्यावहारिक कृषि शिक्षामा भइपरी आउन सक्ने समस्याहरू, जस्तै, जनशक्ति, रोग कीरा, प्रविधि र आयको समेत विकल्प खोजिसकेकी रहिछन् । अरू त अरू भइहाले, उत्पादन भएको तरकारी मदानपुरबाटै उठाउने व्यापारीसम्म खोज्न भ्याइसकेकी रहिछन् उनले ।

व्यावहारिक कृषि शिक्षालाई उनले यति बलियो ढङ्गले तयार पारेकी रहिछन् कि म त चकित भएँ । तीन महिनामा गरेको गृहकार्यको रहस्य बल्ल बुझें । यति बलियो योजना बनाएर कोही कृषिमा लाग्यो भने सफल कसरी नहोला ?

कम लागत र परिश्रममा प्रशस्तै उत्पादन लिने रहेछ कथाको योजना । त्यसै आएको होइन रहेछ उनको आत्मविश्वास । मेरो मनमा उब्जिएका व्यावहारिक कृषि शिक्षाप्रतिका नकारात्मक भ्रम धमिलिँदै गए । कथाले किन यसरी यस अभियानमा मरिमेटेकी रहिछन् भन्ने उत्तर पाएँ र विश्वस्त भएँ यस अभियानबाट हाम्रो स्कुल र कथा निकै माथि पुग्नेछन् ।

(नायिका बिनिता बरालको पुस्तक जुइनोको अंश) । -अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget