क्रिकेटको 'लोभ'ले सेनामा होमिएका विक्रमको कथा
काठमाडौं, असार २६ गते । ‘जाऊँ हिँड हामीसँग देहरादून, क्रिकेट खेल्न …’
सँगै क्रिकेट खेल्ने गरेका त,र उनी भन्दा उमेरले पाका स्थानिय खेलाडीहरूको यस्तो निम्तो पाएपछि आठ कक्षामा पढ्ने बिक्रम शोब एक छिन खुसी भए ।
तर, त्यो खुसी छिट्टै नै निराशामा परिणत भयो ।
‘हामी (म, बुवाआमा र मेरा दाजुहरु) भारतको उत्तराखण्डको पिथोरागढमा बस्थ्यौं’ विक्रमले आफ्नो विगत यसरी सम्झिए, ‘क्रिकेट खेल्ने अफर आउँदा खुसी भएँ । तर यसो सोचेँ, बुबाले खर्च जुटाउन त सक्नुहुन्न नि ।’
टीभीमा दक्षिण अफ्रिकाका प्रख्यात बलर डेल स्टेनलाई हेरेर प्रभावित भएका बिक्रम शोबले न त अफर गर्ने टिमलाई कति पैसा लाग्छ देहरादुन जान भनेर सोधे, न आफ्ना बुबालाई पैसा चाहियो नै भने ।
उनका बुबा सुन चाँदीको व्यापार गर्थे । उनको परिवार महेन्द्रनगरबाट भारत बसाईँ सर्दा विक्रम मात्र ५ वर्षका थिए ।
भारतमा बस्दा उनी साथीहरूसँग क्रिकेट नियमित रूपमा खेल्थे । क्रिकेटका प्राविधिक पक्षबारे उनलाई थाहा थिएन, नियमहरू नै के-के हुन्छन् थाहा थिएन । तर क्रिकेट खेल्दा रमाइलो लाग्थ्यो ।
तर, देहरादून खेल्न जाने अफरलाई नाइ भनेपछि बिक्रमले लाग्यो,क्रिकेट खेल्नु उनको भाग्यमै रहेनछ ।
‘बुबा-आमाले राम्रोसित पढ । अनि आफूले चाहेको क्षेत्र चाहे त्यो सेनामा होस् या होटल म्यानेजमेन्टमा, त्यता तिर लाग भन्नु हुन्थ्यो’ उनले भने ।
त्यतिकैमा शोब परिवार भारतमा बसेको १० वर्ष बित्यो र बिक्रमले एसएलसी पनि पास गरे । ‘हामी भारतमा बसेको १० वर्ष भइसकेको थियो तर, रासन कार्ड पाउने कुनै छाँट थिएन । फेरि उच्च शिक्षाका लागि पनि हामीलाई पिथोरागढ छोड्नु थियो ।’
उनका बुबाले भने, ‘अब आफ्नै देश फर्किनु पर्छ ।’
पाँच वर्षको हुँदा नेपाल छाडेर हिँडेका शोबलाई आफ्नो देश कस्तो होला ? त्यहाँ गएर के गर्ने होला ? भनेर खुल्दुली लागिरहन्थ्यो ।
उनले जन्मभूमि फर्किएको क्षण सम्झिए, ‘नेपाल आउँदा त यहाँ त क्रिकेट ठूलो खेल पो भइसकेको रहेछ !
***
कुरा २०७२ सालको कात्तिक-मंसिर महिनाको हो । नेपालको टोली आबुधाबीमा खेल्न गएको थियो । कार्यक्रम अनुसार नेपालले पपुवा न्यूगिनीसँग विश्व क्रिकेट लिग अन्तरगतको २ वटा म्याच खेल्नु पर्ने थियो ।
त्यस अघि नेपालले हङकङविरुद्द दुई दिवसीय अभ्यास खेल खेल्ने तालिका थियो । टोलीमा पहिलो पटक शोक पनि परे । पहिलो दिनको खेलमा उनले खासै उम्दा प्रदर्शन गर्न सकेनन् । स्ट्राइक बलरको रुपमा छानिएका शोबले एउटै विकेट झार्न पनि सकेनन् ।
‘त्यस रात म अलि दुःखी थिएँ । म चाँडै नै आफ्नो कोठामा गएँ र मैले कहाँ गल्ति गरेछु भनेर रिभ्यु गरेँ’ नेपालको जर्सी लगाएर क्रिकेट खेल्ने सपना पुरा भएको क्षणलाई यसरी सम्झँछन् विक्रम ।
दोश्रो दिनको कथा भने बेग्लै थियो । आफ्नो दोश्रो ओभरको पहिलो बलमा हङकङका ओपनर वकास बर्कतलाई आउट गरे, त्यसपछिको बलमा आइजाज खानलाई उनले पभिलियन फर्काए ।
त्यसपछि तनविर अफजल क्रिजमा आए । हृयाट्रिक रोक्ने मात्र उनको ध्याउन्ना थियो । ब्याटले बल छुन भ्याए ।
तर, अर्को बलमा उनी पनि एल बी डब्लु धरापमा परे ।
***
भारतबाट नेपाल फर्किएपछि बिक्रमले बैतडीबाट यू-१६ र यू-१९ लेभलको क्रिकेट खेल्ने मौका पाए । उनी भन्छन् ‘२०६३ तिर नेपाल आइएछ, साथीहरूसँग खेल्दा खेल्दै टिममा परिएछ !’
‘बैतडीले ४ वर्ष अघि यू-१९ जित्दा म पनि थिएँ त्यो टिममा !’
तर, घगड्यान घागड्यान क्रिकेटरहरूको अगाडि भर्खरै क्रिकेटको नियम सिक्दै गरेका बिक्रमले सोचे जस्तो प्रदर्शन गर्ने सकेनन् । खाली इन्ट्रेस्ट र ट्यालेन्ट मात्र भएर नपुग्ने रहेछ क्रिकेटमा भन्ने उनले जाने ।
***
नेपाली उमेर समूहको राष्ट्रिय टोलीमा नपरेपछि क्रिकेट छाडेर पढाई तिर लाग्ने निर्णयमा उनी पुगे । तर, त्यस बखतसम्म क्रिकेट उनको मन मष्तिस्कमा बसिसकेको थियो । साथी-भाइसँग कुरा हुँदा पनि क्रिकेटकै बारेमा हुन्थ्यो ।
काठमाडौँको एक सैनिक तालिम केन्द्रमा रिकुटेहरु तालिम लिँदै थिए । उनीहरू बिहान ६ नबज्दै उठ्थे र दिनभर कसरत, दौड र युद्ध अभ्यास गर्थे ।
मै हुँ भन्नेहरू पनि तालिममा आएर पग्लिन्थे । त्यस्तो ठाउँमा क्रिकेट खेल्ने सपना बुनेका बिक्रमले आफूलाई पाए ।
‘ट्रेनिङ निकै गाह्रो थियो । यतिसम्म कि कहिले काहीँ छोडेर जाउँ जस्तो लाग्थ्यो’ उनले भने, ‘तर मलाई थाहा थियो मैले पाएको पीडा क्षणिक थियो र ट्रेनिङ सकिने बित्तिकै मैले क्रिकेट खेल्न पाउनेछु ।’
२०७० साल तिर क्रिकेटको क्रेज नेपालमा यसरी बढेको थियो कि नेपाली सेनाले पनि आफूलाई त्यसबाट टाढा राख्न सकेन । लगभग सबै खेलमा दह्रो पकड बनाएको सेनाले क्रिकेटमा पनि आफ्नै टिम बनाउने निर्णय गर्यो । सेनालाई चाहिएको थियो ‘लामो इनिङ’ खेल्ने सक्ने खेलाडीहरू ।
उनले पनि घरमा थाहै नदिइ सेनामा दरखास्त हालेका थिए । उनले भने, ‘क्रिकेटमा माथि पुग्ने केही एक्स्ट्रा चाहिन्छ । मेरो हकमा चाहीँ त्यो भनेको फिटनेस थियो । फिटनेस सुधार्ने थलो सेनाको तालिम भन्दा अरू कहाँ होला र !’
‘अनि सेनाले आफ्नो अग्रेसनलाई कसरी कन्ट्रोल गर्ने पनि सिकायो।’
‘रिस त उठ्छ नि ब्याट्सम्यानले चौका-छक्का हान्दा । तर, त्यसो भन्दैमा टाउकै उडाइदिन्छु भन्ने भन्न त भएन नि !’
***
हङकङसँगको खेलमा तीन विकेट झारे पनि बिक्रमले पापुवा न्यू गिनीसँग खेल्ने टोलीमा स्थान बनाउन सकेनन् । स्वभाविक रूपमा फ्यानहरूले यो निर्णय रूचाएका थिएनन् । तर, बिक्रमलाई भने त्यो निर्णय सहि लाग्छ ।
‘पापुवा न्यू गिनीले फास्ट बलरलाई राम्ररी खेल्थे । उनीहरुको समस्या स्पिनसँग थियो । त्यसैले स्पिनरले खेल्ने मौका पाए ।’
तर, नेपालले अर्को साता बेलायतको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्दा कथा अर्कै हुनेछ । फास्ट पिचमा तीव्रगतिका बलरहरूको माग हुनेछ, र सम्भवतः बिक्रमले फेरि रातो र निलो जर्सी लगाउन पाउने छन् ।
यसपालि ‘जाउँ हिँड बेलायत क्रिकेट खेल्न’ भन्दा बिक्रमको खुसी फरक छ । त्यो संसयमुक्त छ ! , अभय राज जोशी
Post a Comment