Websoft University

www.radiomakalu.com || 021-522512


हृदयघातः जति बेला पनि हुन सक्छ


milan

-डा. मिलन प्रकाश श्रेष्ठ. वरिष्ठ मुटुरोग विशेषज्ञ

काठमाडौं, सामाखुशी बस्ने कृष्णप्रसादजी बर्ष ४५ विगत ८ बर्षदेखि सुगरको औषधी सेवन गर्दैहुनुहुन्छ। उहां डाक्टरसंग नियमित चेकजांच गर्नुहुन्छ। सुगरको अवस्था सधैं नियन्त्रित हुन्छ। चेकजांचकै सिलसिलामा उहां एकदिन मुटुको इको जांच गर्न म कहां आइपुग्नुभयो। इको, इसीजी आदि जांचमा कुनै समस्या देखिएको थिएन। सुगर लामो समयदेखि भएकोले उहांलाई एकचोटि टिएमटि जांच पनि गर्नुस् है भन्ने सल्लाह दिंए। उहां पनि हुन्छ डाक्टरसाब्, म समय मिलाएर आंउछु भन्दै जानुभयो। त्यसको पर्सिपल्ट अस्पतालको इमरजेन्सी कक्षमा उहांलाई देखे। सोध्दा थाहा भयो। राति सुतिरहेको बखत पेट र छातीको बीच भागमा दुखेर निद्राबाट व्युंझिन पुग्नुभएछ। ग्याष्ट्र्कि भन्दै घरमा भएको औषधी, तातो पानी आदि खाएर पनि नभएपछि अस्पताल आएका रहेछन्। अस्पतालमा इसीजी आदि जांच गर्दा ह्दयाघात् भइसकेको पाइयो। आर्थिक अवस्था राम्रो भएकोले तुरन्त स्टेन्ट राख्ने लगायत सम्पूर्ण उपचार पाएपछि उनी अहिले स्वस्थ छन्।

किर्तिपुर बस्ने भरत शर्माजीलाई ब्लडप्रेसर हाइ भएको धेरै बर्ष भइसकेको रहेछ। स्वास्थ्यको कुरामा धेरै नै सचेत उनी चुरोट,सूर्ती, रक्सी, वियर केही खांदैनन्। दिनहुं आधा घण्टा हिंड्छन्। एकपटक ब्लडप्रेसर अलि अनियन्त्रित भएको पाएपछि म कहां आइपुग्नुभएको थियो। सबै जांचपड्ताल पश्चात् औषधीको मात्रामा फेरबदल गरेपछि ब्लडप्रेसर पूर्ण नियन्त्रणमा आएको थियो। तत्पश्चात करीब डेढ बर्ष म कहां चेकजांचको लागि आउनुभएन। एकदिन इमरजेन्सीमा मलाई बोलाए। उहांलाइ ल्याइएको रहेछ। नियमित औषधी सेवन गर्ने उनीलाई त्यसदिन विहान अचानक चक्कर आएछ। चक्कर आएर सम्हाल्न खोज्दाखोज्दै ढल्न पनि पुगेछन् र टाउकोमा चोट पनि लाग्न पुगेछ। वास्तवमा त्यो चक्करको जांच गराउन उनी अस्पताल आएका रहेछन्। अस्पतालमा इसीजी गर्दा प्रष्ट रुपमै ह्दयाघात भएको देखिएको थियो। उहांको पनि तत्काल स्टेन्ट राख्ने उपचार गरियो।अहिले स्वस्थ छन्।

नेपाल घुम्न आएका एकजना विदेशी पश्चिम नेपालको कतैतिर ट्र्ेकिड्. जांदैगर्दा उनलाई छाती दुखेको महसूस भयो। पहिला पनि मुटुका रक्तनली ब्लक भएर दुइवटा स्टेन्ट राखिसकेका उनलाई यो दुखाई मुटुकै हो भन्ने छुट्याउन गाह्रो परेन। टे्र्किंड.लाई तत्कालै रोकेर हेलिकोप्टर बाट उनलाइ अस्पताल ल्याइयो। इसीजी तथा रगत जांचबाट खासै केही पत्ता लाग्नसकेन। तर छाती दुखाइको प्रकृति मुटुकै दुखाइ जस्तो भएको हुंदा उनलाई आइसीयुमा राखेर हेर्नुपर्ने सल्लाह दिंए। ६, ६ घण्टाको फरकमा जांचहरु दोहोर्याउदै जांदा ह्दयाघात् भएको पत्ता लाग्यो। एन्जियोग्राम जांच गर्दा पहिला समस्या नभएको नलीमा यसपालि समस्या भएको देखियो। उनलाई पनि तत्कालै स्टेन्ट सहितको उपचार गरेपछि ठीक भएर स्वदेश फर्किए।

ब्लडप्रेसरको समस्या भएपनि कुनैपनि किसिमको लक्षण नदेखिने हुंदा वर्ष ४७ का नवराजजीलाई औषधी खानुपर्छ भन्ने कहिले लाग्दै लागेन। साथी पनि भएको हुंदा एकचोटि यतिकै ब्लडप्रेसर नाप्दा माथिको २२० र तलको ११० भेटेको थिएं। उसले नमानेपनि जबरजस्ती अस्पताल भर्ना गरेर औषधी खान लगाएको थिए र दुइदिनको अस्पताल बसाई पश्चात ब्लडप्रेसर नियन्त्रणमा आएपछि सधै औषधी खानुनै पर्ने,नखाएमा खतरा हुनसक्ने कुरा प्रष्ट रुपमा बताएर घर पठाएको थिए। तर साथी उस्तै परे, हुने खाने नै भएपनि सधै मसंग स्याम्पल माग्थे। भएको बेला दिन्थे पनि। तर फेरि फेरि कहिल्यै जांचको लागि आएन। अचानक सास फेर्न गाह्रो भएपछि एकैचोटि गंगालाल अस्पतालमा भर्ना भएको सुने। लामो समयको अनियन्त्रित ब्लडप्रेसरले उनलाई पनि ह्दयाघात भएछ। ह्दयाघात्पछि यसले निम्त्याउने अन्य समस्याले उनको ज्यानै झण्डै गएको रहेछ। करीब एक हप्ताको अस्पताल बसाई पश्चात् उनी घर आए। पछि उनको बाइपास अपरेशन गरियो।

बर्ष ६७ का विष्णु श्रेष्ठजी ब्लडप्रेसरका विरामी हुन्। उनी नियमित औषधी खान्छन्। नियमित व्यायाम गर्छन। खानपानमा लार्पवाही गर्दैनन्। एकदिन छाती गह्रुंगो भएको महसूस गरेछन्। घरायसी औषधीले काम नगरेपछि उनी आफ्नो डाक्टरकहां गए। उनले सधैंजस्तै ब्लडप्रेसर नापे र ब्लडप्रेसर बढी भएकोले सधैं खाने औषधीमध्ये एउटा औषधी बढी खानु भन्ने सल्लाह दिएर घर पठाए। तर २, ३ घण्टामा पनि उनको दुखाई कम भएन झन बढ्दै गयो। अति नै भएपछि अस्पतालको इमरजेन्सीमा पुगे। इमरजेन्सीमा इसीजी गर्दा ह्दयाघात् भएको प्रष्ट देखियो। तत्कालै सीसियू मा भर्ना गरेर उपचार शुरु गरियो। मुटुरोगको आधुनिक उपचार नपाइने त्यस ठांउमा बन्द रक्तनली खुलाउने इन्जेक्शन दिइयो। उनको अवस्था सामान्य त भयो। पछि अन्य जांच गरेर हेर्दा मुटुको धेरै मांसपेशीहरु फेरि सामान्य अवस्थामा आउन नसक्ने गरि मरिसकेको देखियो। यस्तो अवस्थामा स्टेन्ट राखेर वा वाइपास अपरेशन गरेर कुनै फाइदा नहुने देखिएकोले उनी हाल नियमित औषधी सेवन गरिरहेका छन् र त्यही औषधीले नै उहांको मुटु चलाइरहेको छ।


टीएमटी कस्ता व्यक्तिले गर्ने ?

चुरोट तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरु,

उच्च रक्तचाप तथा सुगरको समस्या भएका व्यक्तिहरु,

रगतमा बोसोको मात्रा बढी भइरहने व्यक्तिहरु,

मोटोपना बढी भएका व्यक्तिहरु,

शारिरिक व्यायाम पटक्कै नगर्ने तथा कम गर्ने व्यक्तिहरु,

कसैलाई ह्दयाघात भएको थियो भने त्यसता व्यक्तिका नजिकका नातेदारहरु,

सामान्यतया ह्दयाघात यस्तो यस्तो वर्गको मानिसमा हुन्छ भनेर मेडिकल विज्ञानले प्रमाणित गरेको छ। विशेषगरि सूर्तीसेवन गर्ने व्यक्तिहरु, ब्लडप्रेसरका, सुगरका विरामीहरु, मोटोपना बढी भएकाहरु, रगतमा बोसोको मात्रा बढी भएका विरामीहरु, तनावमा धेरै समय विताउनेहरु तथा शारिरिक व्यायाम कम गर्नेहरुमा ह्दयाघात बढी भएको पाइएको छ। तर यस्ता समस्याहरु नहुने व्यक्तिहरुमा पनि ह्दयाघात् भएको पाइएको छ भने यस्ता समस्या भएका व्यक्तिहरु पनि ह्दयाघात नभई ८०, ८५ बर्ष सम्म बांचिरहेको पनि हामीले देखेका छौं। त्यसैले आफ्नो स्वास्थ्यको राम्रो ख्याल नगर्ने हो भने कसैलाई पनि ह्दयाघात हुने सम्भावना रहन्छ।

ह्दयाघात एउटा जटिल परिस्थिति हो। ह्दयाघातको उपचार नेपालमा त्यति सुलभ छैन। तुरन्तै उपचार पाए बांच्न पनि सकिन्छ। उपचार नपाए तुरन्तै मृत्यु पनि हुनसक्छ। ह्दयाघात भइसकेपछि उपचारको लागि विरामीलाई मुटुरोग विशेषज्ञ सहितको सीसियू जस्तो सुविधायुक्त वार्डमा राख्नुपर्दछ। मुटुको रक्तनलीको जांच (एन्जियोग्राम) जांच गरेर मुटुका रक्तनलीको जांचपश्चात रगतको नली धेरै सांगुरो भएको छैन भने अरु केही नगरी नियमित औषधी खान सल्लाह दिइन्छ। नलीहरु धेरै सांगुरो छ भने स्टेन्ट राखेर खोल्ने प्रविधि अपनाइन्छ। मुटुका रक्तनलीहरु स्टेन्ट राखेर खोल्न योग्य छैनन् अथवा स्टेन्ट राखेर फाइदा हुने छैन जस्तो देखिएमा बाइपास अपरेशन गरिन्छ।

यी सबै उपचारका विधिहरु नेपालको परिस्थितिमा आर्थिक अवस्था राम्रो नभएको व्यक्तिलाई धान्न गाह्रो पर्छ। उपचारै गरेपनि एकचोटि ह्दयाघात भएको मानिसमा फेरि फेरि ह्दयाघात हुने सम्भावना रहिरहन्छ। ह्दयाघात भइसकेपछि खानपिन, मानसिक तनाव, शारिरिक व्यायाम, नियमित चेकजांच गर्नुपर्ने वाध्यता आदि इत्यादि सम्पूर्ण कुराहरुमा विचार पुरयाई अनुशासनपूर्ण जीवन विताउनुपर्दछ। शारिरिक परिश्रम गर्दा, नियमित कामकाजमा पनि निस्फिक्री भएर हिंड्न सकिंदैन।यसो गर, यसो नगर, यो औषधी विहान, यो सांझ, कुनै औषधी बिसिैएला कि, खोकी लाग्ला कि, सास फेर्न गाह्रो होला कि, हिंड्दा हिंड्दै केही हुने हो कि, आदि इत्यादि कुराहरुले विरामीले सधैंजसो तनाव महसूस गर्छन्। ह्दयाघात भएका विरामीले केही औषधी जिन्दगीभरि छोड्नुहुंदैन। एकचोटि ह्दयाघातबाट बांचेर निस्केपनि फेरि ह्दयाघात भएमा बांच्न गाह्रो पनि पर्नसक्छ। सबभन्दा मुख्य कुरो त ह्दयाघातपछिको मुटुको अवस्था पहिलेजस्तो हुनैसक्तैन। ह्दयाघात हुनु भनेको जीवनभरलाई नचाहेको बोझ थपिनु हो।

त्यसैले ह्दयाघातको सम्भावनालाई टार्न समय समयमा मुटुको जांच गर्न जरुरी छ। धूमपान र सूर्तीसेवनलाई त्याग्नुपर्छ। ब्लडप्रेसर, सुगर तथा रगतमा कोलेष्ट्रेललाई सधै नियन्त्रणभित्रै राख्नुपर्छ। नियमित शारिरिक व्यायाम लाई उच्च प्राथमिकता दिनुपर्छ। काम गर्नुपर्छ तर तनावलाई व्यवस्थित पनि गर्नुपर्छ। अत्यधिक तनावपूर्ण जीवनले पनि ह्दयाघात निम्त्याउनसक्छ।
के हो त हृदयघात ?

मानिसको मुटुमा तीन मुख्य रक्तनलीहरु हुन्छन । यी तीन नलीहरुको काम मुटुका मांसपेशीहरुमा रक्तसंचार गराउनु नै हो। रगतकै माध्यमबाट मुटुका मांसपेशीलाई चाहिने अक्सिजनको पूर्ति हुन्छ । मुटुले बढी काम गर्नुपर्दा रक्तनलीहरु फुलेर बढी रगत प्रवाह गरेर बढी अक्सिजनको आपूर्ति गर्दछन् ।

विभिन्न कारणहरुले गर्दा यदि रक्तनलीहरु साँघुरिन गयो र त्यो साँघुरिएको नलीमा रगत जम्न गर्ई मांसपेशीमा रक्तप्रवाह बन्द हुनपुगेमा मांसपेशीहरु मर्न गई कामै नगर्ने अवस्थामा पुग्छ । यो अवस्थालाई हार्ट अट्याक भनिन्छ ।

समयमै छिटो भन्दा छिटो उपचार गरि बन्द रक्तनली खोल्नसकिएमा मुटुको अवस्थालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ भने उपचार ढिला भएमा मांसपेशी पूर्णरुपमा मर्न गई कामै गर्न नसक्ने हुन्छ जसको कारण मानिसको मृत्यु हुन्छ।

मुटुका रक्तनलीहरु साँघुरिने प्रक्रिया बर्षौ लागेर हुने प्रक्रिया हो र साँघुरिने क्रम सानो अवस्थाबाट विस्तारै बढ्दै ठूलो रुप लिने किसिमको हुन्छ। उच्च रक्तचाप, सुगर भएका, मोटोपना बढी भएका, रगतमा बोसो कोलेष्ट्रोलको मात्रा अनियन्त्रित भएका व्यक्तिहरुमा रक्तनली साँघुरिने समस्या बढी हुन्छ।

यसका साथै मांसाहारी सेवन बढी गर्ने, तेल चिल्लो बढी खाने, सूर्तीजन्य पदार्थ सेवन गर्ने तथा बढी समय तनावमा रहने मानिसहरुमा पनि रक्तनली साँघुरिने समस्या बढी हुन्छ। अझ परिवारको नजीकको सदस्यमा कसैलाई हार्ट अट्याक भएको थियो भने त्यस्ता व्यक्तिमा पनि वंशानुगत नै साँघुरिने समस्या हुनसक्छ।
ट्रेडमिल टेष्ट

मुटुका रक्तनलीहरु साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन्। सबैको पहुँचभित्रको र धेरै खर्च पनि नलाग्ने साथै भरपर्दो जाँच भनेको ट्रेडमिल टेष्ट हो। ट्रेडमिल एक किसिमको मेसिन हो जुन हामीहरु घरमा वा फिट्नेश सेन्टरमा शारीरिक सुगठनको लागि पनि प्रयोग गर्दछौं। ट्रेडमिल टेष्टमा मेसिनसँग इसिजी पनि जोडिएको हुन्छ। बिरामीलाई मेसिनमा हिँड्न लगाइन्छ र लगातार मुटुको इसिजी अध्ययन गरिन्छ ।

इसिजीको साथै बिरामीको मुटुको चाल, रक्तचाप आदि पनि साथै अध्ययन गरिन्छ। यो जाँचको मुख्य उद्देश्य विरामीलाई हिँडाएर मुटुलाई बढी काम गराउनु नै हो। मुटुलाई बढी काम गर्नुपर्दा मुटु बढी धडकिन्छ। बढी धड्किँदा बढी अक्सिजनको आवश्यकता पर्दछ।

साधारणतया माथि भनिएजस्तै रक्तनली स्वस्थ छ भने मेसिनमा हिँड्दै जाँदा रक्तनलीहरु फुक्दै खुल्दै बढी रक्त प्रवाह गर्छन् र बिरामीलाई कुनै किसिमको समस्या महसुश हुँदैन। यदि रक्तनलीहरु साँघुरिन थालेका छन् भने बिरामी हिँड्दै जाँदा मुटुका मांशपेशीमा आवश्यक मात्रामा रक्त प्रवाह हुन पाउँदैन र विरामीलाई छाती दुखेको, सास फेर्न गाह्रो भएको महसुश हुन थाल्छ।

यसको साथै आवश्यक मात्रामा रक्तप्रवाह नभएपछि मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन पुग्दछ जुन कुरा इसिजीमा देखिन्छ। यसैको आधारमा रिपोर्ट दिइन्छ। यस जाँचको रिपोर्टमा नेगेटिभ भनेको राम्रो हो भने पोजिटिभ भनेको मुटुमा समस्या देखियो भनेको हा,े अर्थात् नराम्रो भन्ने हो।

छोटकरीमा टिएमटी भनिने यो जाँच मुटुरोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा गरिने जाँच हो। यो जाँचको लागि खाली पेट हुनु जरुरी छैन। यो जाँचमा कुनै किसिमको सुई दिने, घोच्ने काम गरिँदैन र बेहोश पनि पारिँदैन। १५ देखि २० मिनेटमा सकिने यो जाँच गर्न कुनै तयारीको जरुरी पर्दैन ।

तर यो जाँच गर्नुअघि मुटुरोग विशेषज्ञसँग आफ्नो स्वास्थ स्थितिबारे सल्लाह गर्नु जरुरी छ। किनकि विशेषगरि पहिल्यै अन्य समस्याले मुटुको अवस्था कमजोर भएका, विभिन्न भल्भका समस्या भएका, रक्तचाप अनियन्त्रित भएको अवस्था आदि विभिन्न अवस्थामा यो जाँच गर्नै मिल्दैन। साथै यो जाँच गरिने ठाउँमा आपतकालीन स्थितिमा चाहिने डिफिव्रिलेटर तथा अन्य उपकरणहरु पनि तयारी हालतमा रहेको हुनुपर्दछ।
ट्रेडमिल टेष्ट नेगेटिभ वा पोजिटिभ आए के गर्ने ?

नेगेटिभ आएमा हाललाई मुटुका नलीहरु साँगुरिने समस्या रहेनछ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । यसको मतलब मुटुका नली साँगुरिएर हृदयाघात हुने संभावना अहिलेलाई छैन भन्ने बुझ्नुपर्दछ। पोजेटिभ आएमा बिरामीलाई कोरोनरी एन्जियोग्राफी भन्ने जाँच गर्ने सल्लाह दिइन्छ।

यो जाँचमा मसिनो तारको माध्यमबाट मुटुका कुन कुन रत्तनलीहरु कहाँ कति प्रतिशत साँघुरिएको छ भन्ने प्रष्ट देखिन्छ । साँघुरोपन साधारण मात्रै छन् भने खाने औषधिहरु मात्र दिइन्छ भने नलीहरु धेरै साँघुरिसकेका छन् भने अवस्था हेरि त्यसलाई एन्यिोप्लाष्टि गरेर खोल्ने, स्टेन्ट राख्ने वा बाइपास अपरेशन गर्ने आदि उपायहरु अवलम्बन गरिन्छ । यसरी भविष्यमा हुनसक्ने ह्दयाघात्बाट समयमै जोगिन सकिन्छ ।

यस्ता समस्याहरु भएका व्यक्तिहरु हृदयघाट हुनसक्ने समूहमा पर्ने भएकोले अवस्था हेरीकन बढीमा छ महिनाको एकचोटी टीएमटी गर्न भनिन्छ भने यी माथिका समस्या नभएकाहरुमा बर्षको एकचोटिसम्म गरेमा ह्दयाघातको खतराबाट केही हदसम्म निश्चिन्त रहन सकिन्छ ।

१५ मिनेट समय खर्चेर ह्दयाघात्को जोखिमबाट बच्न सकिन्छ भने किन नगर्नेरु आजै नजिकको अस्पतालमा गएर यो जांच गराइहालौं र ढुक्क होऔं।

वरिष्ठ मुटुरोग विशेषज्ञ श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।- स्वास्थ्यखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget