Websoft University

www.radiomakalu.com || 021-522512


पर्खाल भत्केर किच्दा दुई विद्यार्थीको मृत्यु

ललितपुर , असार १८ गते। गोदावरी टौखेलस्थित एक विद्यालयमा पर्खाल (रिटेलिङ वाल) ले भत्केर किच्दा दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएकामा पुष्पाञ्जली सेकेन्डरी स्कुलका कक्षा ३ मा अध्ययनरत टौखेल बस्ने कृपा राई र गोदावरी बस्ने अन्जना पुन मगर छन् ।



शुक्रबार गोदावरी नगरपालिका- ६ मा करिब पौने एघार बजे भएको घटनामा २४ जना घाइते भएका छन्, तिनमध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइते २४ जनामध्ये कसैको हात, कसैको टाउकोमा नराम्रोसँग चोट लागेको छ ।

घाइतेहरूको पाटन र बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएकामा गोदामचौरका अजय शाही, बाडेगाउँका अनुप महर्जन, रोजिना लामा, सुनिता परियार छन् । उनीहरूको आइसीयूमा उपचार भइरहेको छ ।

घाइते हुनेमा यमन लामा, कुसुम सदा शंकर, अन्सिखा सिंह, क्रिस्चल ढुंगाना र राम कार्कीको पाटन अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका क्रिस्चल ढुंगानालाई थप उपचारका लागि सुमेरू अस्पताल धापाखेलमा लगिएको छ । बी एण्ड बीमा उपचार गराइरहनेमा सुयोग्य ढकाल, आयुष आर्चाय, आभास नापित, महिमा बुढाथोकी, अजय शाही, अनुप महर्जन, बीना मगर, सुरोज लामा, रोजिना लामा, तासी गुरूङ, सुवर्ण हाङ लिम्बु, जानकी शाही, मञ्जु महर्जन, फुर्पा दोर्जी गुरूङ, फुर्पा टेन्जिङ, चित्रबहादुर कार्की र राजुमान झार्की छन् ।

पर्खाल भत्केपछि उद्धारमा खटिएका विद्यार्थीको हातमा ढुंगाले थिचिएका निल दाम र घाउ नै घाउँ छन् । कक्षा १० का विद्यार्थी मिनराज गोरालले घटना हुँदा दोस्रो पिरियड चलिरहेको बताए । ‘एक्कासी ग्याङगुडुङ आवाज आयो,’ उनले भने, ‘भुइचालो आयो भनी साथीहरूसँग जिस्किरहेका थियौं, पर्खाल पो भत्केको रहेछ ।’
‘मिस रूदै दैडिदै आएको देख्यौ । त्यसपछि कक्षा कोठामा पुग्दा विद्यार्थीहरू पुरिएको अवस्थामा भेटें,’ उनले भने, ‘उद्धार गर्नेक्रममा ३/४ जना बेहोस अवस्थामा थिए ।’

माथिल्लो भागमा रहेको जग्गा प्लटिङको पर्खाल (रिटेलिङ वाल) भत्केर होचो ठाउँमा रहेको प्रिफ्याब विद्यालय भवनको पर्खाललाई ठक्कर दिदा पर्खाल भत्केर कक्षा ३ र ८ का विद्यार्थी पुरिएका थिए ।

प्लटिङको लापरबाहीका कारणले विद्यार्थीहरू हताहत भएको विद्यालयले जनाएको छ । विद्यालयकी प्रिन्सिपल पुहमी कान्ति बज्राचार्य लेप्चाले उक्त पर्खाल नलगाउन प्लटिङका ठेकेदार कर्मा लामालाई पटक पटक आग्रह गर्दापनि जबरजस्ती लगाएको आरोप लगाइन् । ‘मैले विद्यालय होचो ठाउँमा परेकाले अग्लो ठाउँमा पर्खाल नलगाउन आग्रह गरेको थिएँ,’ उनले भनिन्, ‘तर मानेनन् ।’

उनले घटनाको सम्पूर्ण जिम्मेवारी जग्गा प्लटिङ गर्नेले लिनुपर्ने बताइन् । ‘ठेकेदार कर्मा लामा भने सम्पर्क बिहिन छन्,’ उनले भनिन् । मृतक विद्यार्थी राईका बुवा राजेन्द्रले घटनाको छानवीन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए । ‘घटनाको ढोषीलाई कानुन बमोजिम कडा कारबाही गर्नुपर्यो,’ उनले भने, ‘पिडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्यो ।’ उनले आफ्नो छोरी पढाइमा अब्बल भएको बताए । ‘पढाईमा सधै उत्किृष्ट ल्याउथ्यो,’ उनले भने, ‘छोरीको डाक्टर बन्ने सोच चकनाचुर भयो ।’

जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन स्थानीय प्रशासनसँग समन्वय गरि छानविन समिति गठन गरिने बताए । ‘दुखद घटना घट्यो,’ उनले भने, ‘स्कुल सञ्चालन र विद्यार्थीलाई पढ्ने वातावरण मिलाइनेछ ।’
उनले मृतकको परिवारलाई उचित क्षतिपूर्तिका लागि विभाग र मन्त्रालयमा पहल गरिने बताए । ‘घटनाको छानविन गर्न प्राविधिक टोली खटाइसकेका छौ,’ उनले भने, ‘दोषीलाई कडा कारबाहीका लागि सिफारिस गरिनेछ ।’

उक्त ठाउँमा गरिएको प्लटिङ स्वीकृति समेत नलिएको खुल्न आएको छ । काठमाडौ उपत्यका नगर विकास प्राधिकरण आयुक्तको कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भण्डारीले जग्गा प्लटिङका लागि कार्यालयबाट स्वीकृति नलिएको जानकारी दिए । घटना घटेको कक्षा कोठामा बेन्चहरू पुरिएका छन् ।

विद्यार्थीको झोला र किताबमा रगत र माटैमाटो लागेको छ । विद्यार्थीका जुत्ता यत्रतत्र छरिएका छन् । विद्यालयमा अभिभावकहरूको रूवाबासी चलेको थियो । घटना हुँदा कक्षा ३ मा ५१ र कक्षा ८ मा ५० विद्यार्थी अध्ययनरत थिए । विद्यालयमा जम्मा करिब ६ सय विद्यार्थी अध्ययनरत छन् ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget