Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा २९८ मा नयाँ सरकार गठनबारे स्पष्ट व्यवस्था नरहेकाले त्यसलाई संशोधनका लागि सहयोग गर्न काँग्रेस र माओवादी केन्द्रका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
नयाँ सरकार गठनका विषयमा संवैधानिक व्यवस्थामा अलमल रहेको भन्दै प्रधानमन्त्री ओलीले गाँठो फुकाउने गरी परामर्श गर्न काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोमबार साँझ बालुवाटार बोलाउनुभएको थियो ।
प्रधानमन्त्री अ‍ोलीले संवैधानिक व्यवस्थाको अन्योललाई चिर्न दुवै नेतालाई आग्रह गर्नुभएको बालुवाटार स्रोतले बताएको छ । संविधानले नयाँ सरकार गठनका विषयमा स्पष्ट व्यवस्था गरेको छैन, त्यसलाई फुकाउन संविधान संशोधन गरेर अगाडि जाउँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव थियो । तर दुवै नेताले प्रधानमन्त्रीको प्रस्तावमा विमति जनाउनुभएको थियो ।
बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर नयाँ सरकार गठनमा बाटो सहज गर्न आग्रह गर्नुभएको थियो । सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न प्रचण्ड र देउवाले प्रधानमन्त्रीसँग बैठकमा आग्रह गर्नुभएको बालुवाटार स्रोतले बतायो ।

जवाफमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा राजीनामा दिन नमिल्ने बताउनुभएको थियो । अविश्वासको प्रस्ताव पनि दर्ता गर्ने, राजीनामा पनि माग्ने तपाईँहरूको कार्यशैली मिलेन, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले जानकारी दिनुभयो ।
करिब एक घण्टा चलेको प्रमुख तीन नेताको बैठकमा संवैधानिक व्यवस्थालाई लिएर तर्क वितर्क भएको थियो । प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाको अलमलका विषयमा आइतबार र प्रचण्ड तथा देउवाले शनिबार कानुन व्यवसायीसँग छलफल गर्नुभएको थियो ।
संविधानले सङ्क्रमणकालीन अवस्थामा दुईवटा सरकार गठनको स्पष्ट व्यवस्था नगरेकाले संशोधन गरेर अगाडि बढ्न कानुनविद्ले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । बैठकमा संवैधानिक व्यवस्थाको अन्योललाई सल्टाउनेगरी सहयोग गर्न दुवै नेतालाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो सल्लाहकार खनालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले मुलुकलाई राजनीतिक सङ्क्रमणमा नपार्न आग्रह गर्दै संसद्बाट आर्थिक विधेयक (बजेट) पारित गर्नमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । सभामुखले बिनाछलफल संसद् बैठक स्थगित गरी ६ गतेका लागि डाक्नुभएको कार्यशैलीप्रति पनि प्रधानमन्त्री ओलीले गुनासो गर्नुभएको सल्लाहकार खनालले जानकारी दिनुभयो ।
नेता देउवा र प्रचण्डले राजीनामाका लागि प्रधानमन्त्रीसँग आग्रह गर्दा प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि राजीनामा नदिने स्पष्ट पार्नुभएको सल्लाहकार खनालले जानकारी दिनुभयो । प्रधानमन्त्रीको जवाफपछि देउवा र प्रचण्डले मतदानबाट विषय टुङ्गो लाग्ने बताउँदै बैठकबाट बाहिरिनुभएको थियो ।
संसद्मा सामना गर्नुस् ठीक छ, तर मतदान हुँदा तपाईँको विपक्षमा बहुमत आयो भने नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिनुहोस्, देउवा र प्रचण्डले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको सल्लाहकार खनालले जानकारी दिनुभयो ।
काँग्रेस र माओवादी केन्द्रले गत असार २९ गते संसद् सचिवालयमा सरकारको विरोधमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि ६ गतेदेखि तीन दिनसम्म संसद् बैठकमा छलफल गराउने तयारी सचिवालयले गरेको छ । वर्तमान सरकारको प्रमुख घटक माओवादी केन्द्रले आफन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर अविश्वासको प्रस्ताव दर्ता गरेपछिको प्रमुख तीन दलका शीर्ष नेताहरूको यो पहिलो बैठक हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget