Websoft University

www.radiomakalu.com || 021-522512


दुई राप्रपा एकीकरण गर्न सैद्धान्तिक सहमति






काठमाडौँ, साउन १३ गते । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ । दुई दिनसम्म लगातार काठमाडौँमा बसेको दुवै पार्टीको केन्द्रीय कार्यसमितिका अलग–अलग बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेका हुन् ।
पार्टी नेतृत्वका लागि राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा कार्यकारी अध्यक्ष हुनुहुनेछ । पार्टी एकीकरणको अवधारणापत्र अनुसार संयुक्त महाधिवेशन आगामी चैतसम्म गर्ने र एकीकृत पार्टी सञ्चालनका लागि अन्तरिम विधान बनाइने सहमति भएको छ ।
एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ रहनेछ भने चुनाव चिह्न ‘हलो हुने कि गाई हुने’ भन्ने निर्णय गर्न बाँकी छ । दुवै पार्टीले आ–आफ्नो दाबी गर्दै आएका छन् । राप्रपा नेपालले गाई नै हुनुपर्ने भन्ने औपचारिक निर्णय गरेको छ भने राप्रपाले यस विषयमा कुनै निर्णय गरेको छैन ।
गाई चिह्नले गएको संविधानसभा निर्वाचनमा करिब सात लाख मत प्राप्त गरेकाले राप्रपा नेपालले गाई नै हुनुपर्नेमा जोड दिएको छ । राप्रपा नेपालले साउन १६ भित्र एकीकरण हुन नसकेको अवस्थामा आवश्यक निर्णय गर्न बैठकले कार्य सम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।
राप्रपा अध्यक्षमा राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा दुई दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित संयुक्त वार्ता समितिले प्रस्तुत गरेको एकीकरणसम्बन्धी अवधारणापत्रलाई सर्वसम्मत रूपले पारित गरेको जानकारी पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले दिनुभयो ।
बैठकले पार्टी एकीकरणका लागि अन्तरिम विधान बनाउन राप्रपाका तर्फबाट बुद्धिमान तामाङ, ठाकुरप्रसाद शर्मा र भुवन पाठक रहेको मस्यौदा समिति गठन गरिएको छ । बैठकले अध्यक्ष चन्दले दिनुभएको राजीनामा स्वीकृत ग¥यो ।
साथै बैठकले अध्यक्ष पदमा पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणालाई सर्वसम्मतिले चयन गरेको छ । वरिष्ठ नेता चन्द प्रस्तावक र डा. प्रकाशचन्द्र लोहनी समर्थक रही बैठकमा नेता राणालाई अध्यक्षमा निर्वाचित गरियोस् भनी राखिएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले पार्टी एकता र दुई पार्टीबीच मेलमिलाप कायम गर्न अध्यक्ष राणालाई सर्वाधिकार सुम्पिएको छ ।
आगामी सरकारमा जाने विषयमा कुनै छलफल भयो कि भन्ने जिज्ञासामा प्रवक्ता शर्माले यो विषय बैठकमा एजेन्डा थिएन तर बोल्ने केन्द्रीय सदस्यबाट जान नहुने र हुने विषयमा मिश्रित भनाइ आएका छन्, यस विषयमा कुनै निर्णय भएन भन्नुभयो ।
यसैगरी उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पत्रकार सम्मेलनमार्फत पार्टी एकीकरण गर्न बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको जानकारी दिनुभयो । बैठकले एकता प्रयोजनका निमित्त दुवै पार्टीका वार्ताटोलीले सहमतिका आधारमा तयार गरेको एकीकरणको नीति र आधारपत्रलाई अनुमोदन पनि गरेको छ ।
बैठकले सरकारमा पार्टीको सहभागिताको समीक्षा गरेको छ । दुवै छिमेकीसँग पारस्परिक समानता र हितमा आधारित सम्बन्धको विकास एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठाको अभिवृद्धिका निमित्त सरकारमा रहेर पार्टीले खेलेको भूमिकाको बैठकले उच्च मूल्याङ्कन गरेको छ ।
‘ब्यारेजको सुरक्षा गर्न नेपाल सक्षम’
परराष्ट्रमन्त्रीसमेत रहनुभएका राप्रपा नेपालका अध्यक्ष थापाले सप्तकोसीमा निर्माण गरिएको कोसी ब्यारेजको सुरक्षा गर्न नेपाल सरकार सक्षम छ र यस विषयमा मित्रराष्ट्र भारतलाई विश्वस्त पारिसकेको बताउनुभयो ।
उहाँले पार्टीको निर्णय सार्वजनिक गर्दै सरकार गठन भएको नौ महिनाको बीचमा नै सरकार परिवर्तन हुनुले देशमा पुनः राजनीतिक अस्थिरता बढ्ने, संविधान कार्यान्वयनमा जटिलता खडा हुने, आर्थिक विकासको गति अवरुद्ध हुने तथा राष्ट्रिय हित र स्वार्थमा आँच पुग्न जाने सम्भावनाप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको जानकारी दिनुभयो ।
प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले नयाँ संविधान जारी भइसकेपछि पनि राजनीतिक अस्थिरताबाट जाने सन्देश तथा पर्ने नकारात्मक प्रभावप्रति गम्भीर बन्न प्रमुख राजनीतिक दलसँग आह्वान गरेको छ । यस्तै बाढीपहिरोबाट ठूलो जनधनको क्षतिप्रति बैठकले दुःख प्रकट गर्दै पीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
संविधानले नै सनातन धर्मको संरक्षण गर्नु राज्यको दायित्व हुने उल्लेख गरिए पनि निर्वाध रूपले धर्म परिवर्तन भइरहेकोप्रति चिन्ता प्रकट गर्दै बैठकले तत्काल धर्म परिवर्तनमाथि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget