Websoft University

www.radiomakalu.com || 021-522512


सुरक्षित रगत

blood_1
नेपालमा रक्त क्यान्सरको उपचारका लागि बोन म्यारो (अस्थिमज्जा) प्रत्यारोपणमा सफलता पाएको करिब चार वर्षपछि ‘ब्लड इराडिएटर’ र फ्लोसाइटोमेट्री उपकरण सञ्चालनमा ल्याइएको छ । रगतसम्बन्धी गम्भीर विकार, विशेषगरी विभिन्न खालका रक्तक्यान्सरको निदान र उपचारमा यी दुवै उपकरण नभई हुँदैन । काठमाडौँमा रहेको निजामती अस्पतालमा यो सेवा हाल उपलब्ध छ । यी उपकरण उपलब्ध गराउने संस्थाको कुरामा विश्वास गर्ने हो भने रगतसम्बन्धी रोगको उपचारका लागि नेपाललाई यी दुई उपकरण पर्याप्त छन् ।
आवश्यकताको पृष्ठभूमि
भरतपुरमा सरकारी र भक्तपुरमा ट्रस्टद्वारा सञ्चालित नेपालमा सुविधासम्पन्न दुईवटा क्यान्सर अस्पताल छन् । परिआएमा निजी अस्पताल वा नर्सिङ होमले समेत क्यान्सरको निदान र उपचारको कदम चाल्ने गरेको देखिन्छ । यी सबको बीचमा अचेल चर्चामा छ निजामती अस्पताल । रगतसम्बन्धी सामान्य र गम्भीर समस्या तथा रक्त क्यान्सरको निदान र उपचारका लागि यस अस्पतालले नेपालमा विशिष्ट पहिचान बनाएको छ । अस्पताल रक्त क्यान्सरका बिरामी थेग्न नसक्ने अवस्थामा पुगेको छ । उसको पूर्वाधारभन्दा बढी रक्त क्यान्सरका बिरामी अस्पतालमा भर्ना छन् ।
सत्र जनाका लागि शय्या उपलब्ध भएकामा रक्त क्यान्सरका २९ जना बिरामीलाई निजामती अस्पतालले उपचार गरिरहनुपरेको छ । यस तथ्याङ्कले रक्त क्यान्सरका बिरामीको चाप कत्तिको छ भन्ने स्पष्ट हुन्छ । यस अतिरिक्त रगतका अन्य गम्भीर समस्याका बिरामी अलग छन् । यस पृष्ठभूमिमा रगतसम्बन्धी रोगको उपचारमा विशिष्टिकृत हुँदै गएको निजामती अस्पताललाई प्रविधिबाट पनि सुसज्जित गरिनु आवश्यक थियो । विशेषगरी रगतका गम्भीर रोगमा प्रायः बिरामीलाई रगतसारीको आवश्यकता पर्दछ र त्यसका लागि दाताको रगत पूर्णतया सुरक्षित हुनु आवश्यक हुन्छ । उदाहरणका लागि जुनसुकै प्रकारको रक्त क्यान्सर होस बिरामीमा रगतसारी गर्दा उसको शरीरमा पुगेर कडा प्रतिक्रिया नदेखाओस भन्ने प्रत्याभूति गरिनु जरुरी हुन्छ । केही महिना पहिलेसम्म नेपालमा रगतका बिरामीका लागि स्वस्थ र सुरक्षित रगत दिन उपलब्ध गराउन सकिने अवस्था थिएन । अहिले देशमा पहिलोपटक निजामती अस्पतालमा ब्लड इराडिएटर उपकरण ल्याएर रगतसारीका लागि दाताको रगत स्वस्थ र सुरक्षित पार्न थालिएको छ । साथै रक्तकोषहरूमा उत्पन्न भएको बिकार सूक्ष्मतहबाटै पत्ता लगाउन सकिने फ्लोसाइटोमेट्री पनि सञ्चालनमा आएको छ ।
सटिक निदान र भरपर्दो उपचार
निजामती अस्पतालमा कार्यरत् वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट डा. विशेष पौड्याल रगतका रोगको निदान र उपचारमा सहयोगी अत्याधुनिक उपकरण भित्रिएपछि नेपालमै रगतको प्रायः सबै गम्भीर रोगको सटिक निदान गर्न सकिने र उपचारमा रहेका बिरामीलाई बचाउन सकिने सम्भावना बढेर गएको बताउनुहुन्छ । ‘संसारभरि रगतका रोगको उपचारमा यी मेसिन हुनुपर्ने मापदण्ड छ र हामीले यी मेसिनबाट सेवा सुरु गरिसकेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले पनि यही भन्छ । ’, डा. पौड्याल भन्नुहुन्छ । किमोथेरापी गराएका क्यान्सरका रोगी, बोनम्यारो प्रत्यारोपण गराएका बिरामी, कलेजो प्रत्यारोपण गराएका बिरामी, नवजात शिशु
(आवश्यक परेमा), रगतको विभिन्न खालको गम्भीर समस्या भएका बिरामी तथा अटोइम्युन समस्या भएका बिरामीलाई रगत दिनुपरेमा ब्लड इराडिएटरले उपचार गरेको रगत मात्र दिनुपर्ने हुन्छ । दाताले दिने रगतले ग्रहणकर्ताको शरीरमा गएर घातक प्रतिक्रिया उत्पन्न गर्ने जोखिम हुने जानकारी दिँदै डा. पौड्याल भन्नुहुन्छ– किमोथेरापी वा कुनै कारणले शरीरमा रोगसँग लड्ने क्षमता घटाइएका बिरामीलाई रगत दिन प¥यो भने दाताको रगत उपचार गरेर मात्र दिनुपर्छ, अन्यथा दाताको रगतमा हुने सेतो रक्तकोषको एक घटक लिम्फोसाइटले बिरामीको कमजोर शरीरलाई नराम्रोसँग प्रहार गरेर ज्यान लिनसक्छ । ब्लड इराडिएटरले उपचार गरी लम्फोसाइट मार्ने गरिन्छ । दाताले दिएको सामान्य रगतमा उसको शरीरको लिम्फोसाइटहरू हुन्छन् । उहाँका अनुसार ब्लड इराडिएटरले उपचार गरिएको रगत उपयोग गरेको खण्डमा लिम्फोसाइटको प्रतिक्रियाले बिरामी मर्ने सम्भावना समाप्त हुन्छ तर सामान्य रगत ती बिरामीलाई दिएमा लिम्फोसाइटको प्रतिक्रियाले ९० देखि ९५ प्रतिशत मृत्युदर देखिने गरेको छ । यसको प्रमुख कारण भनेको उही दाताको रगतमा हुने लिम्फोसाइट हो । ‘यसलाई हामी ‘ग्राफ्ट भर्सेज होस्ट डिजज’ भन्छौँ, रोगले होइन कि दाताको रगतमा हुने लिम्फोसाइटले बिरामीको ज्यान लिन्छ, ब्लड इराडिएटर आएको छ अब त्यो जोखिम सकियो । ’, डा. पौड्यालले भन्नुभयो ।
ब्लड इराडिएटर र लिम्फोसाइट
मानिसको शरीरमा रोगसँग लड्ने सेतो रक्तकोषभित्र मुख्यरूपमा पाँच तत्व लिम्फोसाइट, मोनोसाइट, न्युट्रोफिल, इसिनोफिल्स र बासोफिल्स हुन्छन् । यीमध्ये लिम्फोसाइटले रोगसँग लड्न सक्रिय भूमिका खेल्छ । दाताले दिने रगतमा उसको शरीरको लिम्फोसाइट पनि आएको हुन्छ । सामान्य अवस्था वा चोटपटक लागेका तर शरीरमा रोगसँग लड्ने क्षमता बलियो भएका बिरामीलाई रगत दिँदा उसको शरीरको रोगसँग लड्ने क्षमताले दाताबाट आएको लिम्फोसाइटलाई नियन्त्रणमा राख्छ र प्रतिरोधको अवस्था सकभर आउँदैन । तर विभिन्न कारणले रोगसँग लड्ने क्षमता कमजोर भएका बिरामीलाई दाताको सामान्य रगत दिएमा रगतसँगै गएका लिम्फोसाइटले कमजोर परेको ग्रहणकर्ताको शरीरलाई पराया ठानेर आक्रमण गरी क्षति पु¥याउँछन् । किमोथेरापी गरेका वा रोगसँग लड्ने क्षमता कम भएका वा औषधिले रोग प्रतिरोध क्षमता घटाइका मानिसमा दाताको रगत त्यतिकै दिइएमा ज्यान जोखिममा पर्ने प्रतिक्रिया उत्पन्न हुनसक्ने जानकारी डा. पौड्याल दिनुहुन्छ । त्यसले त्यस प्रकारका मानिसलाई ब्लाड इराडिएटरले उपचार गरिएको रगत मात्रा दिनुपर्ने उहाँको भनाइ छ । ब्लड इराडिएटरले दाताको रगतमा भएका सबै लिम्फोसाइटलाई नष्ट गर्छ तर रगतमा कुनै क्षति पु¥याउँदैन । ‘लिम्फोसाइट नष्ट गरिएको रगत ती बिरामीलाई दिनुपर्छ । यसमा भ्रम राख्नुहुँदैन । मेसिनले कुनै प्रकारको विकिरण फैलाउँदैन र बरु रगतसारीका लागि रगत सुरक्षित पार्छ । ’, डा. पौड्यालले भन्नुभयो ।
ब्लड इराडिएटरबाट रगत सुरक्षित पार्न थालिएपछि नेपालमै रगतका गम्भीर समस्याको भरपर्दो उपचार सम्भव भएको छ । स्वदेशी चिकित्सक र उपचारमा विश्वास गर्नेहरूले विदेश जानु नपर्ने भनाइ डा. पौड्यालको छ । तथापि सरकारले निजामती अस्पताललाई रगतसम्बन्धी रोगको विशिष्ट उपचार केन्द्र बनाउन खोजेको देखिएकाले अस्पतालको क्षमता वृद्धिका लागि तत्काल पहल गर्नुपर्ने छ । रगतका बिरामीको चाप अस्पतालले थेग्न नसक्ने भएको छ । एक महिनापछि बोन म्यारो प्रत्यारोपणको तयारीमा निजामती अस्पताल जुटेको छ । मन्त्रिपरिषद्ले यस सम्बन्धमा निर्णय गरिसकेकाले बोन म्यारो प्रत्यारोपण थालिएपछि बिरामीको चाप स्वतः बढ्ने छ ।
फ्लोसाइटोमेट्री
रगतको रोगमा ब्लड इराडिएटर जत्तिकै महìवपूर्ण यो उपकरणलाई पनि निजामती अस्पतालले प्रयोगमा ल्याएको छ । विशेषगरेर रक्त क्यान्सरको निदानमा यो उपकरण अत्यन्त जरुरी छ । ‘हामीले सूक्ष्मदर्शक यन्त्रले हेरेर रगतमा विकृत कोषको अवस्था हेर्ने गरेका थियौँ अहिले त्यो सबै कार्य फ्लोसाइटोमेट्रीले गरिरहेको छ । यस मेसिनले विकृत कोष पत्ता लगाउनमा कुनै गल्ती गर्दैन र प्रभावकारी उपचारमा धेरै सहयोग पुगेको छ । ’, डा. पौड्यालले भन्नुभयो । फ्लोसाइटोमेट्रीले रगतमा हुने विभिन्न खालका सङ्केतका आधारमा रक्त क्यान्सरको अवस्था र प्रकार छुट्याउँछ । यस उपकरणले कोष गणना गर्ने, कोषको प्रकार छुट्याउने, कोषमा रहेका सङ्केत पहिचान गर्नेलगायतका काम गर्दछ । उदाहरणका लागि बोन म्यारोमा सेतो रक्तकोषको प्रारम्भिक अवस्था लिम्फोसाइटमा सुरु हुने एक्युट लिम्फोसाइटिक ल्युकेमिया (एएलएल) क्यान्सर तथा बोन म्यारोले असामान्य सेतो रक्तकोष, रातो रक्तकोष वा प्लेटलेट्स बनाउँदा उत्पन्न हुने क्यान्सर एक्युट माइलोइड ल्युकेमिया (एएमएल)लाई सूक्ष्मदर्शक यन्त्रले छुट्याउन सकिने सम्भावना ७० देखि ८० प्रतिशत हुन्छ तर फ्लोसाइटोमेट्रीको प्रयोग गरी शत्प्रतिशत रोग छुट्याउन सकिन्छ ।
रोगको सबैअवस्था आँखाले हेरेर भन्न सकिन्न, फ्लोसाइटोमेट्री नै चाहिन्छ, दस हजार कोषमध्येमा एउटा कोष विकृत भए यस उपकरण पत्ता लगाउँछ, बिरामीलाई किमोथेरी दिएपछि त्यसको दोस्रो खुराक दिनु पहिले शरीरमा कत्तिको प्रभाव परेको छ भन्ने यकिन गर्न समेत फ्लोसाइटोमेट्री आवश्यक छ– डा. पौड्यालको भनाइ छ । – उमेश ओझा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget