Websoft University

www.radiomakalu.com || 021-522512


डा. हरिहर: जसले १८ हजार शवमाथि छुरी चलाए

बच्चाको शवमा छुरी चलाउँदा अहिल्यै उठ्ने पो हो कि जस्तो लाग्छ



काठमाडौं,असार १८ गते । टिचिङ अस्पतालको फरेन्सिक ल्याबमा सडेगलेका सयौं लासको थुप्रो लागेको छ । त्यही लासका बीच हुर्किएका अनुभवी डाक्टर हुन् हरिहर वस्ती ।

शव परीक्षण गर्ने नेपालका अब्बल डाक्टरका रुपमा परिचित वस्तीले आफ्नो जीवनकालमा करिब १८ हजार लासमाथि छुरी चलाएका छन् । सेनाबाट बलात्कारपछि मारिएकी मैना सुनुवार हुन् वा माओवादीले टाउको छिनाएका कैयौं व्यक्तिका लास हुन्, यिनै डाक्टरले जाँचेका छन् । आँखा हेरिरहेका जस्ता लाग्ने बच्चादेखि विमान दुर्घटनामा परी नचिनिने भएका व्यक्तिका लासहरुमाथि उनले छुरी चलाएका छन् ।

डा वस्तीका अनुसार नेपालमा लास जाँच हचुवाका भरमा गरिने क्रम अझैसम्म रोकिएको छैन । यही देखेर उनले सरकारसँग आन्दोलन गरेर नेपालमा आधुनिक फरेन्सिक ल्याबको सुरुवातसमेत गराएका छन् । तर, उनी अझै पनि सन्तुष्ट बन्न सकेका छैनन् ।

‘सुरुमा त मलाई पनि शवसित खेल्ने रहर कहाँ पो थियो र ?’ डा.वस्तीले आफ्नो विगत सम्झिए । ०४७ सालमा पहिलोपटक मेडिकल अफिसरका रुपमा चिकित्साशास्त्रमा प्रवेश गरेका उनले सुरुमै फरेन्सिक विषय चुनेका होइनन् । परिस्थितिले उनलाई यो ठाउँमा धकेल्यो ।

हेपेर लगाइएको काम

उच्चशिक्षा पूरा गरेलगत्तै मेडिकल अफिसरका रुपमा काम गर्ने सिलसिलामा डा. वस्तीलाई दुई वर्षका लागि संखुवासभाको खाँदबारी पठाइयो । त्यहाँ उनले गर्ने मुख्य काम भनेकै शव परीक्षण थियो । ‘एक त जुनियर अफिसर, त्यसमा पनि नयाँ’, उनले सम्झिए, ‘त्यसैले कसैलाई गर्न मन नलाग्ने काम मलाई गर्न भनिएको थियो ।’

त्यसबेला अप्राकृतिक मृत्यु, मारपिटको जाँच, उमेर पत्ता लगाउनु पर्ने, यौन हिंसा लगायतका घटनासित सम्बन्धित थुप्रै शव परीक्षण गरेको उनको अनभुव छ ।
त्यसरी सुरुमै शवको परीक्षण गर्नुपर्दा उनलाई केही असजिलो, अप्ठेरो र आश्चर्यजनक त अवश्य नै महसुस भयो । तर, चिकित्साशास्त्र अध्ययन गर्दादेखि नै शवसित परिचित भएकै कारण त्यही काम उनलाई विस्तारै सामान्य लाग्दै गयो ।

शव जाँचका नाममा झारा टार्ने काम

अन्ततः दुई वर्ष खाँदवारीमा बिताएपछि उनी ०४८ सालमा काठमाण्डौस्थित केन्द्रीय कारागार अस्पतालमा सरुवा भए । तर विडम्बना, त्यहाँ पनि उनलाई शव जाँचकै काम सुम्पिइयो ।

‘पहिलो त त्यसबेला शव जाँच जति सबै वीर अस्पतालमा गएर गर्नुपर्ने रहेछ’ , उनले सम्भिmए, ‘फेरि यो काम गरौं-गरौं जस्तो नलाग्ने र यसमा आर्कषण नभएकाले पनि होला, यस्ता काम जुनियर डाक्टरले नै गर्ने भन्ने रहेछ ।’

वीर अस्पतालमा लास जाँच गर्दै जाँदा महिनामा ४० वटासम्म शव उनको थाप्लोमा पर्‍थ्र्यो । चार/पाँच वर्षको अन्तरालमा यो संख्या बढेर ८० सम्म पुगेको उनी सम्झन्छन् ।

शव परीक्षणको कामलाई अगाडि बढाउँदै लैजाँदा डा. वस्तीलाई त्यसबेला चलनचल्तीम्ाा हुने गरेको अभ्यास गलत छ भन्ने लाग्यो । विशेष गरी त्यसबेलाका डाक्टरहरुले शवको परीक्षण गर्न जान्दिँन नभन्ने, तर राम्ररी पनि नगरी झारा टार्ने काम गरिरहेका थिए । त्यसमा पनि मरेका मान्छेको शव परीक्षण जुनसुकै पनि डाक्टरले गर्न सक्छ भन्ने मान्यता थियो । यो मान्यता अहिले पनि दुरदराजका गाउँमा कायमै छ ।

विरोध गर्न जाँदा छात्रवृत्ति

‘विशेष गरी न्याय/अन्याय, अदालत तथा सामाजिक न्यायसित जोडिएको यस्तो महत्वपूर्ण विषयबारे कसैले ध्यान दिएको नपाएपछि चुप बस्न सकिँन र स्वास्थ्य मन्त्रालयसमक्ष आवाज उठाएँ,’ उनले अनलाइनखबरसँग भने ।

त्यही आवाज उठाउने क्रममा स्वास्थ्य मन्त्रालयले ‘यदि तपाईलाई यसबारे यति धेरै चासो छ भने आफैं किन दक्षता हासिल गरेर आउनुहँुदैन भनेर छात्रवृत्तिमा दुई वर्षका लागि श्रीलंका पढ्न जाने अवसर प्रदान गरेको’ उनी सम्झन्छन् । उनी भन्छन्, ‘आवाज उठाउन गएको मान्छे, मलाई नै मन्त्रालयले ‘त आफैं किन जाँदैनस्’ भनेर पो सोध्यो ।’

त्यसपछि श्रीलंका अध्ययनकै क्रममा वीर अस्पतालमा भइरहेको ‘शव परिक्षण’ सम्बन्धी अभ्यास सही अर्थमा ठीक नभएको उनले ठम्याए । र, पढाइ सकेर नेपाल र्फकनासाथ उनले यसको विरोध जनाए ।

विरोधकै क्रममा उनले ‘कि त वीरमा भइहेको अभ्यास बन्द गर , हैन भने नयाँ सेन्टर बनाउ भनेर माग गरे । यसरी माग गरेको एक/दुई वर्षसम्म पनि स्वास्थ्य मन्त्रालयबाट त्यसको सुनुवाइ नहुँदा उनले ‘छिटो भन्दा छिटो माग पूरा नभए जागिरै छोड्नेसम्मको धम्की मन्त्रालयसमक्ष दिएका थिए ।

टिचिङ अस्पतालमा कामचलाउ सेन्टर

डा. वस्तीले अनलाइनखबरसँग भने, ‘भर्खरै छात्रवृत्तिमा पढेर आएको मान्छे, जागिरै छोड्छु पो भन्छ भन्ने लागेर होला, बल्लबल्ल स्वास्थ्य र गृह मन्त्रालयले कुरा बुझेर अर्को आदेश नहुँदासम्मका लागि भनेर शव परीक्षणको नयाँ सेन्टर टिचिङ्ग अस्पतालमा बनाउने निर्णय गर्‍यो ।’

र, त्यही निर्णयलाई ०५६ साल चैतमा तत्कालीन मन्त्रिपरिषदबाट पारित गराई ०५७ साल भदौबाट उक्त सेन्टरलाई टिचिङ्ग अस्पतालबाट सञ्चालनमा ल्याइएको छ ।

यो सेन्टर सञ्चालनमा ल्याउँदा मन्त्रालयले अर्को आधुनिक सेन्टर निर्माण नहुदाँसम्म यसैलाई कार्यान्वयन गर्नु भनेर चिठ्ठी लेखेको थियो । डा. वस्तीका अनुसार ०५७ सालदेखि आजका मितिसम्म पनि उक्त सेन्टर त्यही चिठ्ठीका भरमा सञ्चालित छ । यसबाहेक सेन्टरले अहिलेसम्म अन्य कतैबाट कुनै सहयोग पाएको छैन ।
‘यस सेन्टर प्राविधिक विकासका लागि भनेर अहिलेसम्म अस्पतालबाट कुनै लगानी त भएको छैन नै, मन्त्रालयले समेत कुनै सुविधा उपलब्ध गराएको छैन’, डा. वस्तीले दुःखेसो पोखे ।

उनले उक्त सेन्टरमा ४/५ जना म्याचुरी सहायक चाहियो भनेको कयौं वर्ष बितिसक्दा समेत मन्त्रालय तथा अस्पतालबाट हालसम्म एकजना पनि नियुक्ति नगरिएको जानकारी दिए ।

त्यसैगरी यो सेन्टरलाई व्यवस्थित गर भन्दासमेत कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ । बरु उल्टै गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो सेन्टर आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिने गरेको उनी बताउँछन् ।

त्यसो त उक्त सेन्टरमा हाल तीनजना विशेषज्ञ छन् । दुई प्राध्यापक र डा. वस्ती । यो संख्यालाई विस्तार गर्न तथा यो विषयमा दक्षता हासिल गर्न सेन्टरले करिब ७ वर्ष पहिले मात्रै पोष्ट ग्राजुएड कोर्स सञ्चालनमा ल्याएको छ । जहाँ हरेक वर्ष दुई/तीनजना विद्यार्थीले छात्रवृत्तिमा पढ्ने अवसर पाउँछन् ।

त्यही अवसरका कारण अहिले टिचिङ्ग अस्पतालको फरेन्सिक डिपार्टमेन्टमा हाल ७ जना डाक्टर उत्पादित छन् । त्यसैगरी हाल आठजना विद्यार्थीहरु उक्त विषयमा अध्ययनरत छन् । यिनै डाक्टरहरुको समन्वयमा हाल टिचिङ्ग अस्पतालको फरेन्सिक डिर्पाटमेन्टमा हरेक महिना एक सय पचास भन्दा बढी शवको परीक्षण गरिन्छ ।

कस्ता कस्ता शव आउँछन् ?

धेरै शवहरु उमेर परिचानका लागि आउने गर्छन् । त्यसैगरी यातना पीडित, बाल हिंसा तथा यौन दुराचारसम्बन्धी शवहरु पनि परीक्षणका आइरहन्छन् । विभिन्न जिल्लाहरुबाट पनि परीक्षणका लागि पठाइने शव यहीँ ल्याइन्छ ।

यसबाहेकका जटिल मुद्दाका शव पनि डा.वस्तीकै नेतृत्वको टोलीलेे हेर्ने गर्छ । नेपालका चर्चित फुटवल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकरणका बेला उनको शवको परीक्षण पनि डा.वस्तीले नै गरेका थिए ।

दिनरात नभनी २४ अै घण्टा विभिन्न खालका शव परीक्षण गर्दा सुरुमा उनलाई पक्कै असजिलो भयो । विशेषगरी धेरै मानिस मरेका बेला, मसिना बालबालिकाको शव परीक्षण गर्नुपर्दा असजिलो महसुस हुने उनी बताउँछन् । ‘अझ द्वन्द्वकालमा खसी छिनाले जस्तो मानिसलाई नै छिनालेको देख्दा निकै दुःख लाग्थ्यो र गम्भीर पनि भइन्थ्यो । त्यस्तै, क्रुर हत्यामा संलग्न शवका परीक्षण गर्दा आङै सिरिङ्ग पनि भएको छ’, उनले आफ्नो अनुभव सुनाए ।

विभिन्न खालका शवको परीक्षण गर्दा कहिल्यै डर लागेन त ? अनलाइनखबरको यस्तो प्रश्नमा उनले भने, ‘पहिलो कुरा त मलाई सानैदेखि भूतप्रेतमा विश्वास थिएन, फेरि मरेकासित के डराउनु भन्ने पनि आयो । अहिले त यति शवको परीक्षण गरिसकियो कि बरु मरेकाले केही गर्दैनन्, जिउँदाले तर्साउलान् भन्ने डर लाग्छ ।’

डा. वस्तीले हालसम्म १८ हजार भन्दा बढीको शव परीक्षण गरिसकेका छन् । अहिले पनि कहिलेकाँही दिनमा १० देखि १५ वटासम्म शवको परीक्षण गर्ने गर्छन् ।
त्यसरी शव परीक्षण गरेको रात सपनामा लास देख्नु परेको र त्यसैले गर्दा ब्युझनु परेको उनको कुनै अनुभव छैन । बरुसाना बच्चाको शवमाथि छुरी लगाउँदा चाँहि ‘अहिले नै उठ्ने पो हो कि जस्तो उनलाई भाव हुन्थ्यो । त्यस्तै, आँखा खोलिरहेका बच्चालाई छुरी लगाउँदा अहिले नै कराउने हो कि जस्तो उनलाई लाग्थ्यो ।

‘पशुपति गएजस्तै हो’

शव परीक्षणमा दशकौं विताएका डा. वस्ती आफ्नो कामबारे भन्छन्- ‘मान्छे जन्मिए पछि मर्नु परिहाल्छ । त्यसैले यो यस्तै हो भन्यो, काम गर्‍यो ।’ यतिसम्म कि एउटा कोठामा शव परीक्षण गरेर अर्को कोठामा बसेर खाना खाने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘बाँच्नका लागि खानुपरिहाल्यो, यति हो कि कहिलेकाहीँ हात फोहर भएजस्तो लाग्यो भने चम्चाको प्रयोग गर्छु, अन्यथा यो विषय मेरा लागि पशुपति गए सरह हो ।’

डाक्टर वस्ती आफ्नो अनुभूति सुनाउँछन्, ‘पहिलोपटक पशुपति आर्यघाटमा जानेलाई जति डर लाग्छ, हरेक दिन जानेका लागि त्यो कुरा सामान्य हो, मेरा लागि पनि यो जाँच अहिले त्यस्तै हो, पशुपति गएजस्तो ।

मैना सुनुवारदेखि विमान दुर्घटनासम्म

शव परीक्षणका क्रममा कहिलेकाँही यस्तो समय पनि आयो कि अघिल्लो दिन ३०/३५ वटा लासको जाँच गरेर घर फर्किन लाग्दा तुरुन्तै फोन आयो । घरमा पुगेर मुख मात्रै धोएर पनि मैना सुनुवारको शवको परीक्षण गर्न काभ्रेको पाँचखाल गएका थिए उनी ।

त्यसबाहेक हवाइ दुर्घटना हुँदा दुई घण्टा सुतेर दिन रात काम गरेको पनि थुप्रै अनुभव छ ।

विशेषगरी हवाइ दुर्घटनामा शवहरु क्षतविक्षत अवस्थामा छरिएका हुन्छन् । तिनीहरुलाई अति सूक्ष्म तवरले जाँच गर्नु पर्ने हुन्छ । त्यस्तो बेला भोलि गरांै न भन्ने कुरा हुँदैन । दुर्घटनामा परेका व्यक्तिका आफन्त कतिबेला जाँच होला र शवको पहिचान होला भनेर बाहिर प्राङ्गणमा विलाप गरेर बसिरहेका हुन्छन् । त्यो अवस्थामा एकनासले काम गर्नुपर्ने परिस्थितिको विकल्प हुँदैन ।

डाक्टरीपछि कानूनमा हात

कतै दुर्घटना भयो वा कतै हताहत भए डा. वस्तीकै टोली घटनास्थल पुग्छ । दिनरात नभनी यस्ता जटिल मुद्दा हेरेवापत बयान दिन अदालत पनि गइरहनुपर्‍थ्र्याे । डा. वस्तीले पीडा पोखे ,’त्यसरी अदालत जाँदा के भन्ने, कसो भन्ने थाहा हुँदैनथ्यो । कहिलेकाँही किन अदालतले बोलायो भन्ने पनि डर रहन्थ्यो ।’

त्यही डरलाई चिर्न तथा शवको सही तरीकाले परीक्षण गरी सत्य तथ्य उजागर गर्न उनले कानुन विषय पढ्ने अठोट गरे । र, कानुनमा तीन वर्षे स्नातकको पढाइ सम्पन्न गरे ।

त्यतिमात्र हैन, अहिले त्यस्ता मुद्दामा ल्याइने शवको परीक्षणका क्रममा उस्तै परे उनले प्रहरीलाई पनि कानुन पढाइदिन्छन् । ‘कहिलेकाँही अरु व्यक्ति पनि विभिन्न कुरा भन्दै आउँथे । कानुन पढेपछि उनीहरुलाई पनि यो यसो हो भनेर पढाइदिन्छु । यसले गर्दा उनीहरु मसित तर्क गर्नै सक्दैनन्’, उनी भन्छन् ।

यही पढाइका कारण थुपै्र घटनामा सत्यतथ्य बाहिर ल्याउन सम्भव भएको उनको जिकिर छ । उनले कानुन विषयले केसलाई सही मोड दिने गरेको बताए ।
उनी भन्छन्,’ यो जाँच भनेको मुख्यतः दिमागी जाँच हो । यसमा सत्थ, तथ्य तथा तर्कका आधारमा चल्ने कुरा चल्छ’ । जसमा कानन विषयले धेरै हदसम्म मद्दत मिल्छ ।’

अहिले त उनीसँग अधिवक्ताको लाइसेन्स पनि छ । बारको चुनावमा वर्षेनी भोट हाल्न जान्छन् ।

कतिजना शव लिएर झगडा नै गर्न आउँछन् उनीकहाँ । त्यसबेला आफैले कानुनी आधार दिएर यो केस यस्तो हो, यो यो कारण पाइएको छ भनेर सम्झाउने गरेका छन् उनले । कतिपय शंकास्पद अवस्थामा प्रहरीलाई पनि कानुनी आधार दिएर यो केस यस्तो हो भन्ने गर्छन् ।

हत्या र आत्महत्या बीचको फरक

कहिलेकाही शंकास्पद शवलाई आत्महत्या भनेर ल्याइन्छ । त्यसबेला उनलाई कानुनी पढाइले पनि धेरै मद्दत पनि मिलेको छ । उनको विचारमा कानुनको पढाइले केसलाई सही मोड दिन्छ ।

उनी भन्छन्-‘यो सत्य, तथ्य र तर्कका आधारमा चल्ने कुरा हो । यसमा दिमाग लगाउने काम धेरै महत्वपूर्ण हुन्छ । धेरै कुरा त्यसैबाट थाहा हुन्छ । जस्तैः कसैले आत्महत्या गरेको भनेर किटान गर्छ भने त्यसको अध्ययन गर्ने केही तरिका हुन्छ । जस्तैः कुनै पनि व्यक्तिले आएर मलाई पासो लगाउ पक्कै पनि भन्दैन । उसलाई कसैले झुण्ड्याउन खोजेको छ भने कुनै न कुनै तरिकाले अवश्य नै प्रतिकार गर्छ । त्यसरी प्रतिकार गर्दा उसको शरीरमा घाउ तथा चोट अवश्य नै देखिन्छ ।’

डा. वस्ती भन्छन्- आफैले छुरा हान्ने मान्छेले आफुलाई धेरै घाउ बनाउन सक्दैन, उसको घाउ कहिल्यै पनि गहिरो हुँदैन । किनकि उसले आफूलाई एकपटक छुरा हानेपछि अर्कोपल्ट सक्दैन । उसले आफूलाई सकेसम्म कम चोटमा खत्तम गर्न चाहन्छ । त्यस्तै आफैं झुण्डिने व्यक्तिले पातलो सलको प्रयोग गर्दैन । साथै उसको वजनका कारण झुण्डिएको डोरीले उसको शरीरमा ठूलै निशान बनाइरहेको हुन्छ ।

बुझेका डाक्टर चाहिन्छ, झारा टारिनुहुँदैन

शव परीक्षणको लामो अनुभव संगालेका डा. अवस्ती अहिले पनि नेपाल सरकारसँग सन्तुष्ट छैनन् । दिनरात नभनी काम गर्दा समेत पर्याप्त ठाउँ र आधुनिक उपकरणको अभावमा सेन्टरले सोचेअनुरुप काम गर्न नसकेको वस्तीको दुखेसो छ ।

विशेषगरी यस विषयसित सम्बन्धित नीति नियम, तथा निर्देशिका नबन्नाले यसको विकास नभएको उनको बुझाइ छ । डा. वस्ती भन्छन्, ‘शव परीक्षणमा काम गर्ने पढेलेखेका तथा बुझेका डाक्टर धेरै कम भएकाले पनि यस्तो संवेदनशील विषयमा झारा टार्ने काम भइरहेको छ र यसैको परिणाम स्वरुप यो विषय अहिले पनि अपहेलित तथा पहिचान नगरिएको क्षेत्रका रुपमा रही आएको छ ।-ऋचा अर्याल, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget