दीर्घकालीन रोग मधुमेहले मुटु, मृगौला, मस्तिष्क, स्नायु बाहेक आँखालाई पनि असर गर्दछ। यी मध्ये आँखा मात्र एउटा यस्तो अंग हो जसमा प्वाल (नानी\प्युपील) हुन्छ, जसबाट चिहाएर आँखाका भित्री भागमा असर भए नभएको हेर्न सकिन्छ । तसर्थ नियमित आँखा जाँचले समग्र रुपमा मधुमेहको असर हेर्न सकिन्छ । यसबाट हुन सक्ने नकारात्मक असरबाट समयमै बच्न सकिन्छ ।
कसरी मधुमेहले आँखामा असर गर्छ ?
मधुमेहका विरामीहरुमा अरुको तुलनामा कम उमेरमै मोतिबिन्दु देखा पर्दछ र यो चाँडै बढ्ने पनि गर्दछ । साथै मधुमेहका विरामीहरुमा जलविन्दु पनि दुई गुणा बढी पाइन्छ । तर यसमध्ये सबैभन्दा भयानक असर भने यो आँखाको पर्दा (रेटिना) मा पर्ने असर हो जसलाई “डायबेटिक रेटिनोप्याथी” भनिन्छ । आँखामा विशेष प्रकारको रगतको नली हुन्छ । मधुमेहले रगतको नलीमा असर गरेमा नली फुटेर रगत जम्ने, रगतको नलीबाट बिस्तारै बिस्तारै चिल्लो पदार्थ निस्किन थाल्छ । यसरी जम्दै जादाँ दृष्ट्रिमा कमी आउन थाल्छ । अर्को असर भनेको मधुमेहले पर्दामा भएका साना नली बन्द गरिदिन्छ जसले गर्दा रक्तप्रवाह अचानक बन्द भई आँखाका कोषहरु मरेर जान्छन् । यसबाहेक पर्दाका नसा फुटेर रक्तश्राव भई रगत जम्न सक्छ ।
यसका लक्षणहरु के हुन् ?
दृष्टि कम हुनु ।
दृष्टिमा एक रुपता नआउनु ।
आँखा अगाडी केही उडेको वा छेकेको जस्तो देख्नु ।
बत्तीको झिल्का आएझैँ हुनु ।
कुनै पनि वस्तुलाई हेर्दा दुइवटा देखिनु ।
यसको उपचार के हो ?
शरीरमा चिनी, रक्तचाप र कोलेस्टेरोललाई ठीक मात्रामा राख्नु सबभन्दा महत्वपूर्ण कदम हो । यदि पर्दामा भएको असर थोरै छ भने नियमित आँखा जाँच गराए पुग्छ नभए लेजरबाट सेकेर दृष्टि अझ बिग्रनबाट बचाउन सकिन्छ । यदि आँखाभित्र रगत जमेको छ भने अप्रेशन गर्नुपर्छ । तर यदि मधुमेहको असर धेरै छ भने दृष्ट्रि बचाउन गाह्रो हुन्छ। तसर्थ रोग लाग्नुभन्दा पहिले नै यसबाट जोगिनु राम्रो हुन्छ ।
यसबाट बच्ने उपाय के हुन् ?
नियमित आँखा जाँचले दृष्ट्रि गुम्नबाट बचाउन सक्छ । आँखा विशेषज्ञ डाक्टरकोमा गई कम्तीमा ६ महिनामा एक पटक आँखाको नानी फुलाई सम्पूर्ण आँखा जाँच गराएमा यसको जोखिमबाट बच्न सकिन्छ । यसरी नानी फुलाएर हेर्दा विरामीलाई ४–६ घण्टासम्म अलि धमिलो देख्ने र उज्यालो घामतर्फ हेर्दा सामान्य अप्ठ्यारो हुने भएकोले एक जना साथी लिएर आँखा जाँच्न आउनुपर्छ । साथै मधुमेहका रोगीहरुले आफ्नो रगतमा चिनीको मात्रा ठीक मात्रामा राख्नुपर्छ, जसका लागि डाक्टरको सल्लाह बमोजिम औषधिको सेवन गर्नुपर्छ । साथै समय समयमा फास्टिङ (पिपि) मात्र नभई विभिन्न ल्याब जाँच गराउनुपर्छ । प्रायः मधुमेहका विरामीहरुले आफ्नो शरीरको चिनीको मात्रा ठिक छ वा छैन भनी जाँच्न फास्टिङ÷पीपी मात्र गराउँदछन्, तर HbA1Cभन्ने जाँचले पछिल्लो तीन महिनाको चिनीको कन्ट्रोल देखाउने हुँदा यो HbA1C भन्ने जाँच गराउन आवश्यक छ HbA1C को मात्रा ७ भन्दा कम राख्न सकेमा मधुमेहको आँखामा हुने असरबाट धेरै हदसम्म बच्न सकिन्छ ।
मधुमेहका तीन शत्रु
मधुमेह विरामीका तीन शत्रु भनेका उच्च रक्तचाप, धुम्रपान र उच्च कोलेस्टेरोल हुन् । ब्लड प्रेशरलाई सधै १३०\८० भन्दा कम राख्न सकेमा बेश हुन्छ । र, मधुमेहका विरामीको कोलेस्टेरोल विभिन्न अंगका रक्तनलीमा गई टाँसिने किसिमको हुन्छ । यसलाई “आथ्रोजेनिक डिस्लिपिडेमिया” भनिन्छ । तसर्थ नियमित कोलेस्टेरोलका मात्रा १३० मि.ग्रा भन्दा कम राख्न आवश्यक छ । यसैगरि धुम्रपान गर्नेको कोलेस्टेरोल पनि फरक किसिमको हुन्छ । धुम्रपानले नराम्रो कोलेस्टेरोललाई रक्तनलीको भित्तामा टाँसिने प्रक्रिया बढाईदिन्छ ।
तसर्थ मधुमेहका विरामीले आफ्र्ना यी तीन शत्रुलाई परै राख्नुपर्छ ।
डा सुवाल रेयुकाई अस्पतालको नेत्र चिकित्सक हुन् । - डा. वर्षा सुवाल (नेत्र चिकित्सक), स्वास्थ्यखबरबाट
Post a Comment