जिन्दगीमा जब मान्छेले सम्मानको ताज पहिरिन्छ, उसको शिर झुक्छ।
‘पशुपति प्रसाद’ राष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट हुँदा दिपेन्द्र के खनाललाई त्यस्तै भयो।
त्यही फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय अवार्ड थापेका दिपेन्द्र त्यस दिन कार्यक्रमभरि डराइरहेका थिए। फोटो खिच्दा कत्ति पत्रकारले हाँस्न भने, उनी सकेनन्। त्यो बेलाका अधिकांश फोटोमा दिपेन्द्रको हाँसो खुलेको छैन।
यसको कारण के भने, त्यही दिन ‘चपली हाइट २’ को ट्रेलर रिलिज भएको थियो। राष्ट्रिय अवार्डले थिचिएका उनलाई आफ्नो नयाँ फिल्मको ट्रेलरले कस्तो प्रतिक्रिया पाउने हो भन्ने खुल्दुली थियो।
'अवार्ड थाप्दा मलाई एक्साइटमेन्ट केही भएन। मलाई त गर्हौं भइरहेको थियो, उचाल्नै गार्हो,’ उनले भने, ‘एकातिर ट्रेलर रिलिज भएको, अर्कातिर पुरस्कार लिइरहेको, मलाई त एकदमै जिम्मेवारीले थिचेजस्तो अनुभव भयो।’
...
हरेक सफलताका पछाडि मान्छेका आफ्नै संघर्ष र भोगाइ हुन्छन्।
त्यतिबेला देशमा संकटकाल थियो। नुवाकोट, बट्टारका दिपेन्द्रलाई आर्मी बन्ने भूत सवार भयो। छोराको यस्तो निर्णय आमाबाबुलाई किन मन पर्थ्यो! उनीहरूले बलजफ्ती छोरालाई जापान जान आवेदन भराए। अन्तर्वार्ता दिलाए। भिसा लाग्यो। उनी जापान पुगे। झन्डै साढे दुई वर्ष जापानी भाषा पढे।
उनी जसरी हुन्छ नेपाल फर्कन चाहन्थे। परिवारले अनुमति दिने कुरै भएन। उनले कुरा काट्न सकेनन्। मन नलागी, नलागी जापानमा होटल म्यानेजमेन्ट पढ्न थाले।
मध्यमवर्गीय दिपेन्द्रलाई परिवारले पठाइदिएको पैसाले मात्र जापानमा गुजारा चलाउन गाह्रो थियो। उनले खर्च जोहो गर्न त्यही काम गरे, जुन जापानमा रहेका अधिकांश नेपालीले गर्छन्। ‘म मनैदेखि मन नपरेको काम गरिरहेको थिएँ। होटल जाउ, तन्ना मिलाउ। एकचोटि त कलेज पनि छोड्न खोजेँ, कलेजले मानेन। जबर्जस्ती पढेँ,’ उनले भने।
मन मारेर जापान बस्दा उनको मनमा भने एउटै कुरा खेल्थ्यो– नेपाल फर्किने, फिल्म बनाउने। उनले जापानमै फिल्मसम्बन्धी केही कोर्स पनि गरे।
जसोतसो होटल म्यानेजमेन्टको पढाइ सकियो। भिसा ३ महिना बाँकी थियो। साथीहरू त 'फर्किने बेला केही काम गर, पैसा हुन्छ, नेपालमा सजिलो हुन्छ' भन्थे। जापानमा निस्सासिएका उनलाई त्यसले केही फरक पारेन।
उनी एउटा एचडी क्यामरा बोके र नेपाल फर्किएँ।
‘म रित्तै नेपाल फर्किएँ। एयरपोर्ट ओर्लदा मसँग घर फर्किन ट्याक्सी भाडासमेत थिएन,’ दिपेन्द्रले भने, ‘यहाँ आएको दुई दिनपछि नै मैले घरमा पैसा माग्नुपरेको थियो।’
उनी जसरी हुन्छ फिल्म क्षेत्रमा प्रवेश गर्न चाहन्थे। पहिले फिल्म भनेपछि नाक खुम्च्याउने आमाबाबु पनि छोराको व्यग्र इच्छाको अगाडि हार खाइसकेका थिए।
त्यही बेला उनको सम्पर्क भयो, नुवाकोटकै दाइ अर्जुनकुमारसँग।
‘रमाइलो छ साँझ’ गीतबाट चर्चा कमाएका अर्जुन पनि फिल्म बनाउन खोजिरहेका थिए। दिपेन्द्रले अर्जुनलाई आफ्नो फिल्मको योजना सुनाए। अर्जुनलाई मन पर्यो।
पहिलो फिल्म ‘द युगदेखि युगसम्म’ मा दिपेन्द्र युवाका कथा भन्न चाहन्थे। तर, नयाँ कलाकारलाई लिएर फिल्म बनाउने उनको चाहनामा वितरकहरुले सहमति जनाएनन्। आखिरमा स्क्रिप्ट परिवर्तन गर्नुपर्यो। र, हिरोका रुपमा ‘इन्ट्री’ भयो राजेश हमालको।
त्यो फिल्म काठमाडौंमा चल्न समय लाग्यो। उपत्यकाबाहिर राम्रै कमाइ गरेको फिल्म चार वर्षपछि बल्ल काठमाडौंमा प्रदर्शन हुँदा खासै चलेन।
‘काठमाडौं चल्ने बेला फिल्मका परिदृश्य परिवर्तन भइसकेका थिए। बाहिर राम्रो कमाए पनि काठमाडौंमा फ्लप भयो,’ उनले भने।
उनको दोस्रो फिल्म थियो, ‘धर्मा’। मनिषा कोइरालाले खेल्ने पक्कापक्की भएपछि फिल्मको लोकप्रियता ह्वात्तै चुलियो। पछि निर्माताका छोरा हिरो हुने भएपछि कथा रातारात फेर्नुपर्यो। ‘पहिलेको स्क्रिप्टअनुसार फिल्ममा खास हिरो मनिषा दिदी हुनुहुन्थ्यो। उहाँको रोल काटियो। उहाँ पनि त्यति सन्तुष्ट हुनुभएन, पछि त्यति मतलब पनि गर्नु भएन,’ दिपेन्द्रले भने, ‘मिडियाको खानुसम्म गाली खाइयो।’
जिन्दगीमा सफलता–असफलता भनेको सिनेमाको पटकथाजस्तै हो। फिल्म निर्देशक दिपेन्द्रले जिन्दगीको यो पटकथा राम्ररी नै बुझ्ने मौका पाए।
‘स्टार पावर’ का साथ बनाएका दुइटा फिल्म लगातार फ्लप भए। तै उनको विश्वास डगेन। उनले सोचे, ‘अब अन्तिम कोसिस गर्छु। आफ्नै टाइपको फिल्म बनाउँछु। मरे पनि खुट्टा तन्काएर मर्ने हो।’
त्यही समय एकदिन उनी एयरपोर्टको सेकुवा होटलमा रक्सी पिउँदै थिए। पल्लो टेबलका चार जना युवाको कुराकानी उनको कानमा पर्यो।
‘यार तेरो गर्लफ्रेन्ड क्या हट छे,’ एक जनाले भन्यो, ‘हामीलाई नि मिलाइदे न।’
उसको साथीले जवाफ फर्कायो, ‘पख न यार, बल्ल त पट्टयाएँ, दुई–चार दिन म मोज गरूँ अनि मिलाइदिउँला।’
ती केटाहरूको गफले सुरुमा त दिपेन्द्र छक्क परे। पछि दंग परे।
उनको दिमागमा नयाँ फिल्मको कथाले जालो बुन्यो।
र, लेखे– ‘चपली हाइट’।
स्क्रिप्ट तयार भएपछि उनले वितरक नरेन्द्र महर्जनलाई भेटे। कथा सुनाए। लगातार दुइटा फिल्म फ्लप भएका दिपेन्द्रका कुरा उनले पत्याएनन्। अरूलाई पनि भने। सबै पन्छिए। अन्ततः एक दिन उनैलाई फोन गरे, जसले उनको पहिलो फिल्म निर्माण गरेका थिए र फ्लप भएको थियो– अर्जुनकुमार।
अर्जुन होर्डिङ बोर्डको व्यसायमा थिए। उनले दिपेन्द्रलाई होर्डिङको काम भइरहेको बालाजुमै बोलाए।
‘दाइ एउटा कथा छ सस्तोमा बन्ने,’ दिपेन्द्रले भेट्नेबित्तिकै भने।
अर्जुनमा पनि फिल्मको कीरा मरिसकेको थिएन। उनले पूरै स्क्रिप्ट सुने। अनि भने, ‘ल ठिक छ, तेरो यो फिल्म पनि मै बनाउँछु।’
कलाकारमा त्यतिबेलाका चर्चित मोडलहरू विनिता बराल, आमिर गौतम र राज घिमिरे फाइनल भयो। फिल्म पनि १८–२० दिनमै पूरा भयो। बजेट जम्मा १५ लाख।
जब सहरका भित्तामा विनिता बरालको नांगो ढाड देखिने पोस्टर टाँसियो, फिल्म रातारात ‘टक अफ द टाउन’ बन्यो। प्रहरीले ‘अश्लिल’ भन्दै पोस्टर च्यात्यो पनि। तर, यसले फिल्मप्रति ‘क्रेज’ झनै बढाइदियो।
कम लागतमा बनेको यो फिल्म ‘सुपरहिट’ भयो।
दिपेन्द्रसँग तर्किएकाहरू यसपालि भने नराम्ररी पछुताए। फिल्म वितरक सुनिल मानन्धरले त मुखै फोरेर भनेछन्, ‘डायरेक्टरसाप, म झुक्किए नि!’
हुन पनि उनी झुक्किएकै थिए।
फिल्मको पोस्टर छाप्दासम्म वितरक उनी नै थिए। वितरण अधिकारबापत ६ लाख रुपैयाँ मागियो। उनले सोचे, कलाकार कोही चिनिन्न, त्यसमाथि डिजिटल प्रविधिबाट खिचिएको छ, यस्तो फिल्म के चल्ला!
उनले पैसा दिएनन्।
अन्तिम समयमा फिल्म रिलिज गर्ने बेला रञ्जना हलका वीरेन्द्रनारायण श्रेष्ठ ६ लाख दिएर वितरक बने। फिल्मले झन्डै डेढ करोड रुपैयाँभन्दा बढी कमायो।
फिल्म चल्यो, तर दिपेन्द्र सन्तुष्ट थिएनन्। कसरी पाइलैपिच्छे सम्झौता गरेर फिल्म पूरा गरियो भन्ने उनलाई मात्र थाहा थियो। उनले फिल्म खिच्दा न धेरै लेन्स प्रयोग गरेका थिए न फिल्टर। जुम लेन्सको भरमा पूरा फिल्म सके। अरूले जे भने पनि उनलाई थाहा थियो, यो कुनै भयंकर फिल्म होइन!
त्यसपछि उनले नेपालमै पहिलोपटक ‘थ्री-डी’ फिल्म बनाए– ‘भिजलान्ते’।
‘बलिउडमा पनि भर्खर यस्ता फिल्म बन्न थालेका थिए। मेरो एउटा विदेशी साथीले अलि होच्याएजसरी भन्यो, तेरो देशमा त थ्री-डी फिल्म बनेकै छैन,’ दिपेन्द्रले भने, ‘मलाई रिस उठ्यो, किन बन्दैन भनेर बनाएँ।’
यो निर्णय उनका लागि आर्थिक हिसाबले घातक भयो। उनले झन्डै ५० लाख घाटा बेहोरे।
‘सायद मैले छिटो गरेँ। त्यो बेला काठमाडौंमा थ्री-डी फिल्म चलाउन मिल्ने हल जम्मा दुइटा थिए, बाहिर छँदै थिएन,’ उनले भने, ‘अहिले बनाएको भए राम्रो हुन्थ्यो होला।’
यसैबीच उनले ‘डार्क कमेडी’ फिल्म बनाए– ‘झोले’। यो फिल्म पनि राम्ररी चल्यो। त्यसपछि दुई वर्ष कुनै फिल्म बनाएनन्। दुई-तीनवटा प्रस्ताव आए पनि मानेनन्।
उनका बुवा बेलाबेला भनिरहन्थे रे, ‘हेर बाबु जिन्दगीमा जोगी भए पनि आफ्नै बुद्धिले हुनु, अर्काको बुद्धिले नहुनु। त्यो भयो भने बडा मज्जा आउँछ।’
‘भिजिलान्ते’ को असफलताले उनलाई जिन्दगीमा धेरै कुरा सिकायो। साथीभाइ, आफन्तको वास्तविक व्यवहार सबै भोगे। जिन्दगीको एउटा भोगाइको अगाडि दर्जनौं किताबको पढाइ भुइँफुट्टा साबित हुन्छ भन्ने सत्यसँग उनी साक्षात्कार भए।
पाँच फिल्ममा तीन फ्लप भोगेका दिपेन्द्रले अझै आफ्नो मन रमाउने फिल्म बनाउन पाएका थिएनन्। त्यसैले, उनी भित्रैदेखि सन्तुष्ट थिएनन्।
आफ्नो मन जित्ने फिल्म बनाउने उनको रहर अधुरै थियो।
...
‘भिजिलान्ते’ फ्लप भएपछि सिनामंगलका सस्ता भट्टी चहार्न थालेका दिपेन्द्रलाई निराशाले पशुपति आर्यघाट पुर्यायो।
उनी बागमती वारी गाँजाको सर्को तान्दै पारी जलिरहेका शव हेर्थे। मानिसका रोदन–क्रन्दन सुन्थे। आँसु नियाल्थे। चिताबाट उठेको धुवाँ उड्दै–उड्दै आकाशमा विलिन हुँदा उनको मन एकतमासको भएर आउँथ्यो।
सोच्थे, ‘जिन्दगी भनेको धुवाँ त रहेछ। एकैछिनमा हराइजाने। न छुन सकिने, न छोप्न सकिने।’
जिन्दगीको जे अर्थ उनले बुझे, उनी अब यही अर्थ सिनेमामा देखाउन चाहन्थे।
संसारमा चम्किरहेको घाम छेक्ने उचाइ भएको कुनै हिमाल छैन। बादलले कहिलेकाहीँ धर्तीलाई धुम्म त पार्छ, तर एकैछिनमा आफैं फाटेर गइहाल्छ। सूर्यको किरण रोकेर राख्न सक्दैन। ‘भिजिलान्ते’ को निराशाले लागेको कालो बादल पनि जिन्दगीप्रतिको नयाँ बुझाइ र नयाँ सोचको किरणले छाँट्टियो।
उनको दिमागमा सल्बलाइरहेको थियो– ‘पशुपति प्रसाद’।
‘पशुपति प्रसादमा रिलेसनको, पैसाको र इमोसनको कुरा छ, त्यो मेरो आफ्नै भोगाइबाट आएको हो,’ दिपेन्द्रले भने, ‘भिजिलान्ते फ्लप भएपछि आफन्त, साथीभाइको व्यवहारबाट निस्केको मर्म हो। आर्यघाटमा देखेको रोदन र पीडाको अभिव्यक्ति हो।’
स्क्रिप्ट तयार भयो। साथीहरूलाई सुनाए। धेरैले भने, ‘यसमा फिल्म बन्न गाह्रो छ।’
उनलाई भने यो विषयवस्तुमाथि विश्वास थियो। त्यही भएर लगानी गर्न तयार साथीहरूले हात उठाइदिँदा पनि उनी विचलित भएनन्।
फिल्मको कथामा दम छ भन्ने अर्का व्यक्ति पनि थिए, खगेन्द्र लामिछाने। फिल्मको पटकथा–संवाद उनैले लेखेका थिए। लगानी गर्छु भनेकाहरूले हात झिकेपछि खगेन्द्र आफैं कस्सिए। दुवैको जोडबलमा फिल्म बन्यो।
प्रिमियर शोदेखि नै तारिफ बटुल्न थालेको ‘पशुपति प्रसाद’ ले दर्शकको पनि खुबै माया पायो। र, अन्ततः यसपालिको सर्वोत्कृष्ट फिल्मका रूपमा राष्ट्रिय अवार्ड हात पार्यो।
बुवाको कुरा दिपेन्द्र आज पनि सम्झिरहन्छन्।
‘हेर बाबु जिन्दगीमा जोगी भए पनि आफ्नै बुद्धिले हुनु, अर्काको बुद्धिले नहुनु। त्यो भयो भने बडा मज्जा आउँछ।’
उनी जोगी त भएनन्। तर, जे भए, आफ्नै बुद्धिले भए।
दिपेन्द्रलाई दुइटा फिल्मले बडा आनन्द दिन्छ– चपली हाइट र पशुपति प्रसाद। सफल भएकाले होइन, यी दुवै फिल्म उनले आफ्नै बुद्धिले बनाएका थिए।
‘कसैले ‘चपली हाइट’ के हो भन्यो भने म मनोरञ्जन हो भन्छु, ‘पशुपति प्रसाद’ के हो भन्यो भने जीवन दर्शन हो भन्छु,’ उनले भने। -अशेष अधिकारी
Post a Comment