Websoft University

www.radiomakalu.com || 021-522512


नागरिकताका निम्ति कष्टकर यात्रा



जाजरकोट, साउन ७ गते । खगेनकोट–५ जयबहादुर खत्री नागरिकताको प्रमाणपत्र बनाउन सदरमुकाम आउन र जान अनि सदरमुकाम बस्न मात्र पाँच दिन लाग्यो । पाँच दिनको बसाइँका सिलसिलामा जयबहादुरको रु सात हजारभन्दा बढी खर्च भयो ।

सदरमुकामबाट झन्डै १५ कोषभन्दा टाढाको दूरीमा रहेको खगेनकोटबाट आउन जान अनि नागरिकताको प्रमाणपत्र बनाउँदा रु सात हजार खर्च गर्न यो गरिब परिवार बाध्य भएको छ ।

घरमा खानका लागि अन्न छैन, साहुबाट पछि काम गरिदिने सर्तमा रु सात हजार काढेर नागरिकता बनाउन आएको उहाँ बताउनुहुन्छ । नागरिकता बनाउनका लागि जयबहादुर र सनाखत गर्नका लागि उहाँको बुबा सदरमुकाम आएका हुन् ।

त्यस्तै दह गाविसका रामबहादुर पुन नागरिकताको प्रमाणपत्र बनाउनका लागि बाबुलाई लिएर तीन दिन हिँडेर सदरमुकाम पुग्नुभयो । एक दिन त सदरमुकाममा गाविस कार्यालय खोज्न लाग्यो अर्को दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएर पुन तीनदिन हिँडेर दह पुगेको बताउनुहुन्छ, रामबहादुर ।

उहाँले यो समयमा करिब रु १० हजारभन्दा बढी खर्च भएको दुःखेसो पोख्नुभयो । एकातिर पैसा खर्च भयो अर्कोतिर दुःख निकै पाइयो । यो दुःख हेर्दा त नागरिकता नै नबनाउँ जस्तो भएको रामबहादुरले पीडा सुनाउनुभयो ।

यहाँ रामबहादुर र जयबहादुर मात्र होइन दैनिक सयौँ नागरिक हजारौँ खर्च गरी सदरमुकामका नागरिकताको प्रमाणपत्रदेखि गाविसबाट पाइने सेवा सुविधा लिन सदरमुकाम आउने र जाने गर्दछन् ।

शरीरिक रुपमा सपाङ्गलाई त जति हिँडे पनि सामान्य पीडा मात्र हो तर टाढाको अप्ठ्यारो बाटोमा अपाङ्ग भएका मानिसलाई नागरिकता बनाउन र अपाङ्ग परिचयपत्रदेखि सिफारिस गर्न आउँदा बोकेर ल्याउनु र लिनुपर्दा निकै सास्ती हुने गरेको छ । टालेगाउँबाट नागरिकताको प्रमाणपत्र बनाउन डोकोमा बोकेर ल्याउन र लिँदा निकै यातना हुनुका साथै खर्चसमेत बढी भएको टालेगाउँमा रणबहादुर सिंहले बताउनुभयो ।

जिल्लाका सरकारी कार्यालय अपाङ्गमैत्री कुनै पनि नहुँदा थप समस्या भएको छ । दैनिक दिन प्रशासनबाट सेवा लिन आउने अपाङ्गहरु निकै पीडा पोग्नुपरेको छ ।

ग्रामीण क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना नहुनु र गाविसको सेवा सुविधासमेत सदरमुकाममै पाइने हुँदा दैनिक यहाँका सयौँ नागरिक यसरी आर्थिक, भौतिक रुपमा दुःख, मानसिक रुपमा पीडा भोग्न बाध्य छन् ।

जिल्लाको सेवा विकेन्द्रित बन्न नसक्दा यस्तो भएको हो । जिल्ला प्रशासन मात्र होइन जिल्ला मालपोत कार्यालय, नापी कार्यालयसमेत सदरमुकाममा मात्र भएका कारण स्थानीयवासी मर्कामा परेका छन् ।

राजनीतिक रुपमा दुई क्षेत्र भएको जाजरकोटका प्रत्येक राजनीतिक क्षेत्रमा एक इलाका प्रशासन र मालपोत, नापी कार्यालय स्थापना गरिदिएको आर्थिक भार र दुःख कम हुने स्थानीयवासीको भनाइ छ ।

जिल्लाका सबै ठाउँमा मोटरबाटो नपुगेका कारण हिँडेर आउनुपर्दा दुःख धेरै भएको हो । हिउँदयाममा भन्दा वर्षायाममा निकै समस्या पर्ने गरेको छ । खोलानाला, बाटो जताजतै भत्किएका कारण जान आउनसमेत मुस्किल हुँदा सरकारी सेवा लिन ज्यानको बाजी लगाउनुपर्ने अवस्था छ ।

जिल्लाका एक ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भने पनि अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget