दुई प्रहरीको अनुभवः धादिङ पहिरोबाट १४ जनालाई यसरी निकाल्यौं
काठमाडौं,असार २३ गते । गत असार १५ गते रातिदेखि परेको अबिरल वर्षाको कारण धादिङको विकट रि गाविसको वडानम्बर ९ स्थित चेप्राङ गाउँमा चारैतिरबाट पहिरो गयो । रातभर परेको पानीले बस्तीको आफूहरु जोखिममा परेको महसुस गरेपछि १६ गते बिहान स्थानीयले प्रहरीलाई फोन गरेर सहयोग मागे ।
६ घरमा रहेका २१ बालबालिका, बृद्ध बृद्धा, महिलाहरु पहिरोमा फसेको खबर जिल्ला प्रहरी कार्यलय धादिङमा आयो । बिहान खबर पाएलगतै जिल्ला प्रहरी कार्यालय धादिङका एसपी शरद खत्रीले नजिकको इलाका प्रहरी कार्यालयका प्रहरीहरुलाई तत्काल घटनास्थल जान आदेश दिए ।
इलाका प्रहरी कार्यालय दार्खाबाट असइको कमाण्डमा ७ जनाको टोली रि तर्फ लाग्यो । एकातिर अबिरल वर्षा अर्कोतिर पैदल जानुपर्ने करिब ६ घण्टाको बाटो । तै पनि ७ जनाको टोली उच्च मनोबलका साथ उकालो लाग्यो । केही बेरको उकालो हिँडेपछि दुई जना प्रहरी बिरामी परे र त्यहिँबाट दार्खातिरै फर्किए । बाँकी रहेका पाँच जना प्रहरीमध्ये पनि तीनजना घटनास्थल पुग्नै सकेनन् । पुगे त एक हवल्दार र एक सिपाही जसले तीन दिनदेखि पहिरोमा फसिरहेकाहरुको साहसिक तरिकाले उद्धार गरे ।
घटनास्थल यति दुर्गम थियो कि नजिकमा हेलिकोप्टर अवतरण गर्ने ठाउँ थिएन । उडिरहेको हेलिकोप्टरबाट प्यारासुट जसरी कोक्रो झारियो र त्यहि कोक्रोमा राखेर जोखिम क्षेत्रका बासिन्दालाई उद्धार गरिएको थियो । कसरी भएको थियो उद्धार सिपाही सन्दिप कुमालकै शब्दमा ।
सन्दिप कुमाल
जिल्ला प्रहरी कार्यालयको आदेश अनुसार १६ गते बिहान करिब ९ बजे हामी चेप्राङ जान निस्कियौं । ७ जना निस्कएकामध्य २ जना वर्षाको कारण हिंडन सक्नु भएन बिरामी परेर फर्किनु भयो । हामी पाँच जना उकालो लाग्यौं । अविरल वर्षा भैरहेको थियो करिब ३ घण्टा हिँडेपछि हामी पहिरोभन्दा वारीको डाँडामा पुग्यौं ।
डाँडाबाट पहिरो गएको र मान्छेहरु फसेको ठाउँसम्म पुग्न अझै २ घण्टाभन्दा बढी लाग्थ्यो । तर, एक त हिँड्ने बाटो थिएन, अर्कोतिर यति ठूलो पानी परिरहेको थियो की जान सक्ने सम्भावना नै थिएन । वास्तवमा भन्ने हो भने हाम्रो ज्यान नै खतरामा थियो । कुनबेला पहिरो लड्छ र हामीलाई बगाउँछ भन्ने मनमा लागिरहेको थियो । त्यसैले पानी रोकिएपछि मात्रै हिँड्ने भनेर त्यहाँबाट फर्कियौं र रि गाविसकै किकेट भन्ने ठाउँमा आएर बास बस्यौं ।
भोलिपल्ट बिहानै जान तयार भएको तर वर्षा रोकिएन । पानी पर्न केही हल्का नभएसम्म जानुको कुनै अर्थै थिएन । १६ गते नै हेलिकप्टर पनि आएको थियो तर बस्न नसकेर फर्कियो । हामी १७ गते पनि जान सकेनौं । जनताको लागि भरोसा हामी मात्रै थियौं त्यसैले जस्तोसुकै अवस्था भए पनि त्यहाँ पुग्नैपर्ने थियो र जोखिममा रहेकाहरुलाई हामीले नै उद्धार गर्नैपर्ने थियो ।
हामी १८ गते जसरी पनि माथि जाने निर्णयमा पुग्यौं । हामीसँग रहेकामध्ये ३ जना जान मान्नु भएन । तर बर्दी लगाएर सेवाका लागि पुगेका हामी नै डराउन थालेपछि जनताले कसको भरोसा गर्नु भन्ने जस्तो लाग्यो । वर्षा पनि हल्का रोकिएको थियो ।
हबल्दारसाब रुद्रबहादुर कुमाल र मैले जसरी पनि पहिरोमा फसेका जनताको उद्धार गर्ने निर्णय गर्यौं र घटनास्थलतर्फ लाग्यौं ।
अहिले सम्झिँदा पनि डर लाग्छ, बाटो यस्तो थियो की भिरमा खुट्टा कता टेक्ने, कता समाउने ? कुनै ठेगान थिएन । सिमसिम पानी परिरहेको थियो । बाक्लो हुस्सुले सबैतिर ढाकेको थियो । अलिकति खुट्टा चिप्लिो भने सिधै खोलामा खसिन्थ्यो, हाम्रो हाडखोर केहि भेटिदैनथ्यो होला । तै पनि भगवानले साथ दिएकाले हामी डाँडाबाट २ घण्टा हिंडेर घटनास्थलसम्म पुग्यौं ।
चारै तिरबाट पहिरो खसेको थियो । ६ वटै घरका २१ जना एउटै घरमा जम्मा भएर बस्नु भएको रहेछ । हामीलाई देख्नेबित्तिकै खुशीलेे रुन थाल्नु भयो । हामीले नआत्तिन भन्यौं । सबैलाई पहिरो पार गराउनु थियो तर २१ जनालाई २ जनाले बोकेर सम्भव थिएन ।
त्यसैले बालबालिका, झोलाहरु हामीले बोकिदिँयौं र हिँड्न सक्नेलाई हामीसँगै हिँड्न आग्रह गर्यौं । पहिरो छिचोल्दै हिँड्नु पर्ने । कसैको हात समाउँदै कतिलाई बोक्दै ३ घण्टा लगाएर पहिरो कटायौं । २१ जना फस्नु भएकोमा ७ जना बिरामी र बृद्धहरु हुनुहुन्थ्यो । त्यसेले उहाँहरुलाई ल्याउन सकेनौं । बाँकी १४ जनालाई किकेट ल्याइपुर्यायौं । हामीले छोडेर आएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरले कोक्रामा राखेर उद्धार गरेछ ।
किकेट नजिकै तासिम्राङ भन्ने गाउँ छ । साँझको ७ बजे त्यही गाउँमा गएर सबैलाई खाने र बस्ने व्यवस्था मिलाएर राख्यौं । पोलेको मकै खाएर रात काट्यौं । भोलिपल्ट बिहानै फेरि हिँड्न सुरु गर्यौं करिब ३ घण्टा हिँडेपछि तावल पुगिन्छ । त्यहाँ सेनाले बनाएको सामुहिक आवास भवन छ । हामीले उद्धार गरेका बालबालिका, महिलासहित १४ जनालाई त्यही आवास भवनमा पुर्याएपछि जिल्लामा खबर गर्यौं । जिल्लाको आदेश अनुसार त्यही दिन अर्थात १९ गते हामी आफनो कार्यालय अर्थात इलाका प्रहरी कार्यलय दार्खा आइपुग्यौं ।
जनताको सेवा गर्दा गर्व लाग्छः कुमाल
उद्धारमा संगै गएका रुद्रबहादुर कुमाल भन्छन्, ‘तीन रात हामीले पोलेको मकै खाएर बितायौं । त्यहाँ चामल पाइँदैन । पहिरो प्रभावित धेरै थिए सबैलाई भात त कहाँबाट पुर्याउनु ।’
उनले अघि भने, ‘हामीले मात्रै होइन सर हामीले उद्धार गरेका पीडितहरुले पनि त्यसरी नै रात काटेका रहेछन् । तर आज हामीले सच्चा जनताको सेवक बनेर काम गर्ने अवसर पायौं आत्मादेखि नै आनन्द महसुस हुन्छ ।’
०६३ सालमा प्रहरी सेवा प्रवेश गरेका नवलपरासीका सन्दिप कुमालले एउटा विकट गाउँमा पुगेर जनताको सेवा गरे पछि आनन्द शब्दमा भन्न नसकिने बताए ।
डेढ वर्ष अघि धादिङ पुगेका उनको २ महिना अघि मात्रै निकै विकट गाउँ दार्खामा सरुवा भएको थियो । हवल्दार रुद्रबहादुर कुमाल पनि १४ वर्षे जागिरे जीबनमा १८ गते जताको सेवा गर्दा जत्तिको आनन्द कहिलै मिलेको थिएन भन्छन् ।
उनीहरु दुबैजनालाई जिल्ला प्रहरी कार्यलय धादिङले पुरस्कृत गरेको छ । अञ्चल प्रहरी कार्यालय बाग्मतीका प्रमुख एसएसपी केदारसिंह भण्डारी र धादिङका एसपी शरद खत्रीले दुबै जनालाई पुरस्कृत गरेका हुन् ।
एसपी खत्री भन्छन्, ‘आज नेपाल प्रहरी वास्तवमै जनताको सेवक हो भन्ने कुरा यी दुई सिपाहीले प्रमाणित गरेका छन् । हामीलाई पनि गर्व लाग्छ ।’- रमेश धमला, अनलाइनखबर
Post a Comment